सेन्चुरी र्बैंकको नाफा ३९ प्रतिशतले बढ्यो, ६ महिनामा बैंकको नाफा २२ करोड

काठमाडौं १३ माघ । सेन्चुरी बैंकले नाफा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २२ करोड ३९ लाख रुपैयाँ कमाएको छ । यो नाफा बैंकको गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशले बढेको छ । बैैंकले गत वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिसम्ममा ६ करोड ३१ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । गत वर्ष यो बैंकको नाफा १६ करोड थियो । यो बैंकले गत पुस मसान्तसम्म ३२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो निक्षेपबाट २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उल्लेख छ । बैंकले यो अवधिसम्ममा २ अर्ब ८४ करोड रुपैयाँ लगानी रहेको छ । बैंकको चुक्ता पूँजी तीन अर्ब ६८ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ८३ करोड छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७८ दशमलव २८ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ४७ प्रतिशत रहेको । यो बैंकको प्रति सेयर आम्दानी भने १२ रुपैयाँ १४ पैसा रहेको छ । बैंकको प्रतिसेयर हाल ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महँगिदै बैंकको ऋण, बैंककै ऋणमा सहकारी सरह व्याज

काठमाडौं १३, माघ । अनामगरकी अप्सरा पौडेलले गत वर्ष गाडी किन्न एक वाणिज्य बैंकबाट १४ लाख कर्जा लिएकी थिइन् । वार्षिक ७ प्रतिशत ब्याजदरमा लिइएको उनको कर्जाको ब्याजदर बढेर अहिले १२ प्रतिशत पुगेको छ । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ । ऋण दिएको बैंकले उनलाई एक महिनाअघि नै डाकेर ब्याज बढेको जानकारी गराएको थियो । यस्तै चोभारका रामशरण केसीले पनि डेढ वर्षअघि घर बनाउन बैंकबाट ८.४९ प्रतिशत ब्याजमा ऋण लिएका थिए । बैंकमा तरलता अभाव हुन थालेपछि ऋण दिएको बैंकले किस्ता बढेको जानकारी गराएको छ । हाल उनले मासिक ५० हजारका दरले साँवा र ब्याज बुझाउँदै आएका छन् । १५ वर्षका लागि उनले ऋण लिएका हुन् । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी रित्तिएपछि बैंकर्सले कर्जाको ब्याजदरसमेत धमाधम बढाउन थालेका हुन् । आफ्ना ऋणीलाई बोलाएर बैंकले ब्याजदर बढेको सूचना दिन थालेका छन् । नयाँ ऋणीका लागि अहिले लिएको निक्षेप ब्याजदरको आधारमा नयाँ कर्जाको ब्याजदर तय गरिएको छ भने धेरै जसो बैंकहरूले पुराना ऋणीको समेत ब्याजदर बढाइसकेका छन् । कतिपय बढाउने प्रक्रियामा छन् । दुई वर्षअघि १० प्रतिशतमा लिएको कर्जाको ब्याजदर बढेर अहिले १२ देखि १५ प्रतिशत पुगेको छ । बजारमा लगानीयोग्य पुँजी अभाव भएपछि निक्षेप संकलनलाई आकर्षित गर्न अहिले बैंकले ब्याजदर बढाएका हुन् । नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले निक्षेपमा ब्याजदर बढेपछि कर्जामा पनि ब्याजदर बढाउनैपर्ने बाध्यता भएको जानकारी दिए । ‘अब १२ प्रतिशतमा निक्षेप संकलन गरेपछि १८ देखि १९ प्रतिशतसम्म कर्जामा ब्याज नलिए व्यवसाय धान्न गाह्रो हुन्छ’, उनले भने, ‘सम्पूर्ण लगानीमा कर्जा र निक्षेपको ब्याजदर अनुपात ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ ।’ राष्ट्र बैंकको व्यवस्थाअनुसार कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाइन्छ । बाँकी २० प्रतिशत रकम बैंक आफैंले राख्नुपर्छ । ८० प्रतिशत कर्जाबाट बाँकी २० प्रतिशत र शून्य ब्याजदरको ६ प्रतिशत कर्जाको ब्याजलाई समेत समेट्नुपर्ने भएकाले कम्तीमा पनि १८ प्रतिशतभन्दा तलको ब्याजमा कर्जा दिँदा अप्ठ्यारो अवस्था आउने बैंकर्सको भनाइ छ । दुई साताअघि निक्षेप संकलनमा होडबाजी गरेका बैंकर्सले पछिल्लो समय मुद्दती खातामै १२ प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन् । केही समय अघि सिभिल बैंकले ११.१ प्रतिशत ब्याजमा १११ दिने मुद्दती बचत माग गरेको थियो । एनसीसी बैंकले न्यूनतम एक लाख बचत गर्नेलाई वार्षिक १२ प्रतिशत ब्याज दिने गरी छोटो अवधिका निक्षेप माग गरेको छ । बैंकले १२० दिने (चार महिना) अवधिको लागि उच्च ब्याजदरको निक्षेप संकलन गर्न लागेको हो । यो मुद्दतीमा ९० प्रतिशत कर्जा सुविधा हुने र त्रैमासिक ब्याज भुक्तानी दिने जनाएको छ ।अन्नपूर्ण पोस्टबाट ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं, १२ माघ । स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले एनएमबी क्यापिटल मार्फत एफपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।