इन्भेष्टमेन्ट बैंक र सेनाको कल्याणकारी बोर्डद्धारा लघुवित्त व्यवसायी सम्मानित

काठमाडौं । नेपाली सेना कल्याणकारी बोर्ड तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा संचालित लघुवित्त कार्यक्रम अन्तर्गत नेपाली सैनिक परिवार तथा भूतपूर्व सैनिकहरूको जीवनस्तर उकास्न र  स्वरोजगारका अवसरहरू सिर्जना गर्न सूदुरपश्चिममा चालेको अभियानमा सफल रुपमा उद्यम चलाए वापत सर्वोत्कृष्ट उद्यमीलाई सम्मान गरिएको छ । नेपाली सेना कल्याणकारी बोर्डद्वारा धनगढीमा माघ २० र २१ गते आयोजित सूदुरपश्चिमाञ्चल भूपु सैनिक सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुतm रुपमा सर्वोत्कृष्ट उद्यमीका रुपमा  जानकीदेवी बमलाई चाँदीको सिक्कासहित प्रशंसा–पत्रले सम्मान गरे । बमले बैंकबाट लघुवित्त कर्जा लिई वंगुर र कुखुरा पालन गरेर  आफ्नो जिवनस्तर उकासेकी छिन । वोड र बैंकले मिलेर कल्याणकारी कोषका हिताधिकारीहरुको आर्थिक एवम् सामाजिक जीवनस्तर उत्थानको लागि स्थानिय स्रोतमा आधारित विभिन्न कृषि, पशुपालन लगायतका लघुउद्यम तथा व्यापारमा सरिक गराई स्वःरोजगारको अवसर श्रृजना गर्न सहयोग गर्दै आएको छ । उक्त कार्यक्रममा  नेपाल राष्ट्र बैंकको नियम अनुसार असल वर्गमा परेका ३ जना बैंकका ऋणीहरुलाई जनही सात लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो  साथै बहालवाला सैनिक परिवार र भूतपूर्व सैनिकलाई लघुव्यवसाय संचालनका लागि सुरूवाती पुँजीका रूपमा विपन्न वर्ग कर्जा अन्तर्गत ६ जनालाई चेक हस्तान्तरण गरियो । हालसम्म १६ हजारभन्दा बढी नेपाली सेनाका बहालवाला सैनिक परिवार र भू.पु. सैनिकहरुले करिव रु. २ अर्व ५१ करोड ६८ लाख कर्जा लिइ लघुव्यवसाय संचालन गरिरहेका छन् । सोही कार्यक्रममार्फत नेपाल इन्भेष्टमेन्ट बैंकले डडेल्धुरा, दार्चुला र बैतडीमा शाखारहित बैंकिङ सेवा पनि  सुरु गरेको छ । सेवा सुरु गरेसंगै प्रत्येक जिल्लामा बैंकिङ कारोबार गर्न पस मेसिन उपलव्ध गराइएको छ । अब बैंकले यो सहित ६२ वटा शाखारहित बैंकिङ सेवामार्फत सुविधा दिने छ । यो समयावधिमा बैंकको चुक्ता पूँजी रू. ८ अर्ब ७१ करोड पुगेको छ भने कुल पूँजी रू. १६ अर्ब ३० करोड पुगी निजी बैंकहरूमध्ये सर्वाधिक पूँजी भएको बैक बनेको छ । गत आ. व. को अन्त्य सम्ममा बैंकको खराब कर्जा प्रतिशत ०.६८ प्रतिशत रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्ना ४७ वटा शाखा तथा ८४ वटा ए.टि.एम.मार्फत देशभर सेवा दिदै आएको छ र हाल ५ लाख ५० हजारभन्दा बढि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू रहेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सन् २०१०–११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइ.सि.आर.ए.) बाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ ।

’क्रेडिट क्रन्च’ समस्या वाणिज्य बैंकबाट विकास बैंकमा सर्यो, कर्जाको व्याज १७ प्रतिशतसम्म

काठमाडौं, माघयता समय ’ख’ वर्गका विकास बैंकमा समेत लगानी योग्य पुँजीको अभाव हुन थालेको छ । वाणिज्य बैंकहरूमा मंसिर देखिनै  यस्तो पुँजीको अभाव भए पनि विकास बैंकमा माघ पहिलो साताबाट असर देखिन थालेको विकास बैंक एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए । ‘५५ वटा विकास बैंकमा भएको पौने तीन खर्ब लगानीयोग्य पुँजी रित्तिएको छ,’ उनले भने ‘थप लगानी गर्न सक्ने अवस्थामा विकास बैंकहरू छैनन् । वाणिज्य बैंकहरूले ब्याजदर बढाउँदा विकास बैंक र वित्त कम्पनीलाई चुनौती थपिएको छ ।’ वाणिज्य बैंकले नै विकास बैंक र वित्त कम्पनीको जति ब्याजदरमा निक्षेप लिन थालेपछि उनीहरूलाई कर्जा प्रवाह गर्ने रकमको अभाव हुन थालेको हो । ‘६ महिना अघि विकास बैंकले मुद्दती खातामा ६/७ प्रतिशत व्याज दिएका थिए । वाणिज्य बैंकले ५ प्रतिशतभन्दा कम दिएका थिए’ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल भन्छन्–‘अहिले मुद्दती खातामा वाणिज्य बैंक र विकास बैंकले दिने व्याजदर समान छ ।’ यसैसाता देखि फाइनान्स कम्पनीहरुले मुद्दती खातामा १३ देखि १४ प्रतिशत व्याज दिन थालेपछि विकास बैंकहरुलाई व्याज बढाउन दवाव पर्न थालेको छ ।  गुडविल फाइनान्सले १३.५ प्रतिशत र प्राेगेसिभ फाइनान्सले १४ प्रतिशत व्याज दिएर निक्षेपक संकलन गरिरहेका छन्र । ४ महिनाअघिसम्म बचत खातामा पाँच प्रतिशत ब्याजदर दिँदै आएका विकास बैंकहरूले अहिले ब्याजदर वृद्धि गरेर ६ देखि ७ प्रतिशत व्याज दिन थालेका छन्  । एनसीसी बैंकले बचत खातामा ६ प्रतिशत व्याज दिने योजना ल्याएपछि एभरेष्ट बैंकले मुद्दती प्रकृतिको विशेषता राखेर ९ प्रतिशत व्याजमा बचत खाता योजना ल्याएको छ । बचत खाता भनिए पनि यो बैंकले ५ वर्षसम्म पैसा झिक्न नमिल्ने सर्त राखेको छ । अहिले विकास बैंकले कर्जा प्रवाह प्रडक्टअनुसार १३ देखि १६ प्रतिशतसम्म उपलब्ध गराइ रहेका छन् । पुराना ऋणीलाई पनि दुई प्रतिशसम्ममात्र ब्याजदर बढाएको लामिछानेले बताए । वित्त कम्पनी पनि अहिले लगानी गर्न सक्ने अवस्थामा छैनन् । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधार भन्छन्–‘फाइनान्स कम्पनीहरु सञ्चालनमा समस्या छैन, तर नयाँ कर्जा विस्तार गर्न फाइनान्स कम्पनीहरुसँग पनि लगानी योग्य पुँजी छैन ।’ वित्त कम्पनीले १४ प्रतिशतमा निक्षेप लिन थालेकोले उनीहरुले कर्जा प्रवाह गर्ने नयाँ कर्जाको व्याज १५ देखि १७ प्रतिशत पुगेको छ ।

हिमालयन बैंकले ६ महिनामा कमायो १अर्ब २ करोड, १० अर्ब निक्षेप बढाउँदा १७ अर्ब कर्जा वृद्धि

काठमाडौं । हिमालय बैंकले चालु आर्थिक वर्षको प्रथम छ महिनामा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तुलनमा २७ प्रतिशतले वृद्धि हो । गत आर्थिक वर्षको प्रथम छ महिनामा ८० करोड नाफा गरेको थियो । यस बैंकको चुक्ता पुँजी ६ अर्ब ४७ करोड रुपैयाँ छ भने संचित कोषमा ४ अर्ब रुपैयाँ छ । बैंकको विजनेश एक खर्ब नजिक पुगेको छ । पुस मसान्तसम्ममा निक्षेप ९१ अर्ब रुपैयाँ छ भने कर्जा सापटी ७५ अर्ब, लगानी करिव १८ अर्ब रुपैयाँ छ । एक वर्षमा बैंकले निक्षेप १० अर्बले बढाएको छ भने कर्जा १७ अर्ब रुपैयाँ वृद्धि गरेको छ ।  बैंकको सीडी रेसियो ७९.२२ प्रतिशत छ  भने क्यापिटल एडेक्वसी ११.२५ प्रतिशत छ ।