एभरेष्ट बैंकको “सौगात बचत खाता”, नाम बचत खाता, विशेषता मुद्दती खाता जस्तो
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो एक बिषेश योजना ‘सौगात बचत खाता’ पुनः सरुवात गरेको छ । यस खातामा बैंक पैसा राख्ने ग्राहकले ७ देखि ९ प्रतिशतसम्म ब्याज प्राप्त गर्ने बैंकले जनाएको छ । बचत खाताको नाम भएपछि यसको विशेषता र सुविधा मुद्दती खाताको जस्तो छ । पाँच वर्षको लागि बचत गर्दा बैंकले ९ प्रतिशत व्याज दिन्छ । त्यसका बैंकले विभिन्न सर्त राखेको छ । ‘बचत तथा मुद्दती खाता दुबैको मिश्रण भएको यस खातामा स्वीप इन र स्वीप आउटको सुबिधा रहेको छ । उपभोक्ताले यस खातालाई बचत खाताको रुपमा प्रयोग गर्न सक्दछन् र लामो अवधिको लागि रहने रकममा अति आकर्षक ब्याजदर पाउछन्’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
५०० र १००० दरका भारु साट्न भारतीय टोली नेपाल आउँदै
काठमाडौं । ५०० र १००० दरका भारु साट्नेबारे अध्ययन गर्न भारतीय टोली नेपाल आउने भएको छ । रिजर्भ बैंक अफ इण्डियाको नेतृत्वमा आउने टोलीमा भारत सरकारको समेत प्रतिनिधित्व रहनेछ । ‘नेपालीसँग भएको बैधानिक भारु कसरी साट्ने भन्नेबारे अध्ययन गर्न आरबीआईको टोली चाँडै नेपाल आउँदैछ’, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने । उनले नेपाली टोलीले भारु सटहीको मोडालिटी र नेपालको तयारीबारे भारतलाई ब्रिफिङ गरिसकेको बताउँदै अब भारतीय टोली आफैं अध्ययन गर्न लागेको बताएका हुन् । ‘५०० र १००० दरका भारतीय नोट प्रतिबन्ध लगाउने निर्णय भारत सरकारको हो, त्यसमा आरबीआईको भूमिका छैन, अब उनीहरु आफैं आएर अध्ययन गर्ने भनेका छन्, त्यसको तयारी भैरहेको छ’, गभर्नर डा. नेपालले भने । तर भारतीय टोली कहिले आउने भन्नेबारे चाही उनले केहि बताउन चाहेनन् । गभर्नर डा. नेपालले आरबीआई गभर्नर अर्जित पटेलसँग आफ्नो दैनिक दुई चार पटक छलफल भैरहेको पनि जानकारी दिए ।‘अर्जित पटेल मेरा मित्र पनि हुन, उनी आरबीआईको डेप्युटी गभर्नर हुँदा देखि नै मेरो राम्रो सम्बन्ध थियो, अहिले पनि दैनिक दुई चार पटक फोनमा कुरा हुन्छ, भारत सकारात्मक रहेको उनले बताईरहेका छन’, डा. नेपालले व्यवस्थापिका समितिको लेखा समिति बैठकमा भने । उनले नेपाली जनताले बैधानिक रुपमा आर्जन गरेको भारतीय रुपैंयाँ सटहीको व्यवस्था गर्न केन्द्रिय बैंकले सबै खाले प्रयास गरेको जानकारी पनि दिएका थिए । केहि समय अघि मात्रै नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तमणी सिवाकोटी नेतृत्वको नेपाली टोलीले भारत पुगेर भारु सटहीबारे जानकारी दिएको थियो ।
१३ वटा वाणिज्य बैंक राष्ट्र बैंकको अनुसन्धानमा, जथाभावी ऋण लगानी गरेको आरोप
काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ वटा बाणिज्य बैंकहरुमा सुक्ष्म अनुगमन गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले १३ वटा समुह खटाएर ती बैंकहरुको कर्जा लगानीको तथ्यांकको अध्ययन गरेको गरेको हो ।‘१३ वटा बाणिज्य बैंकमा सुक्ष्म अनुसन्धान गर्यौं, उनीहरुले कर्जा लगानीमा जथाभावी गरेको देखियो, अहिले माफी मागेका छन’, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने । उनले ती बैंकहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल भैरहेको पनि जानकारी दिए । व्यवस्थापिका संसदको लेखा समिति बैठकमा वर्तमान तरलताको अवस्था र त्यसको समाधानका लागि राष्ट्र बैंकले अवलम्बन गरेको कार्ययोजनाको जानकारी दिँदै गभर्नर डा. नेपालले भने–‘यो तरलता अभावको अवस्था होइन, केहि बैंकहरुले मार्जिन लेण्डिङमा धेरै लगानी गरेकाले आएको समस्या मात्रै हो ।’ डा. नेपालले माघ १३ गतेपछि तरलताको अवस्थामा सुधार आउँदै गरेको बताउँदै केहि समय भित्रै सहज अवस्थामा पुग्ने दावी समेत गरे । उनले साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशत कर्जा वृद्धि आवश्यक ठानेर राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको तर ३० प्रतिशत कर्जा बढेपछि तरलताको अवस्था खडा भएको जानकारी पनि दिएका थिए । केन्द्रिय बैंकले तरलताको व्यवस्थापनका लागि १९० अर्ब लैजान भनेको तर बैंकले ३२ अर्ब मात्रै लगेकाले पनि बजारमा तरलताको अवस्था नरहेको दावी गरेका थिए । उनले बैंकरहरु कर्जा निक्षेप अनुपात(सिसिडी रेसियो) घटाउन लबिङमा उत्रिएको बताउँदै तत्काललाई सिसिडी रेसियो नघटाउने पनि बताए ।‘सिसिडी रेसियो हटाउँदा जोखिम बढ्छ, बैंकहरु डुब्छन, जनताको पैसा पनि डुब्छ, त्यसकारण यो मामिलामा राष्ट्र बैंक सचेत छ’, नेपालले भने । उनले बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न निर्देशन दिएको पनि जानकारी गराएका थिए ।‘बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न भनेका छौं, कर्जा लगानी घटाउन निर्देशन दिएका छौं’, डा नेपालले भने । लेखा समितिको बैठकमा अर्थ सचिव शान्तराज सुवेदीले बैंकरहरुले तरलताको गलत हल्ला फैलाएको आरोप लगाएका थिए । उनले बैंकरहरुको नाफा बढाउने योजनाका कारण बजारमा तरलता अभाव जस्तो देखिएको बताउँदै त्यसका लागि अर्थ मन्त्रालय र केन्द्रिय बैंकले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए ।