जनता बैंकले शुरु गर्यो चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड
काठमाडौं । जनता बैंकले बुधबारदेखि चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । कार्ड सम्बन्धि कारोवारलाई अझ सुरक्षित बनाउँदै कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उद्येश्य बमोजिम चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । पारम्परिक म्याग्नेटिक स्ट्राइप प्रविधिका कार्डहरुभन्दा चिप प्रविधिका कार्डहरु बढी सुरक्षित मानिन्छन् । आफ्ना ग्राहकहरुसँग रहेका म्याग्नेटिक स्ट्राइप प्रविधिका कार्डहरुलाई क्रमशःप्रतिस्थापन गर्ने बैंकको योजना रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिटिजन्स बैंकद्वारा बर्दियाको विद्यालयलाई कप्युटर सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको गुलरियामा श्री जानकी प्राथमिक विद्यालयलाई १ थान कप्युटर वितरण गरेको छ । बैंकले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक सहयोग स्वरुप १ थान कप्युटर वितरण वितरण गरेको हो । बुधबार गुलरियामा आयोजित एक समारोहकाबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक मुन्नालाल यादवलाई हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुर्याउदै आएको बताएका छन् । साथै, भविष्यमा पनि बैंकले यस्तै सहयोग पुर्याउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले दिएका छन् ।
२ अर्बबाट ८ अर्ब पूँजी पुर्याउन ४ बर्ष समय चाहिन्थ्योः इच्छाराज तामाङ
आइएमएफका बिभिन्न अध्ययनहरुले नेपालमा बैंक तथा वित्तिय संस्थाहरुको संख्या धेरै भयो भनेर प्रतिवेदनहरु बुझाईरहेका छन् । यस्तो अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटाउनु उपयुक्त नै हो । त्यति नै बेला नेपाल राष्ट्र बैंकले पूँजी वृद्धिको योजना अघि सार्यो । तर एकै पटक २ अर्बबाट ८ अर्ब पुर्याउन भनियो । २ अर्ब पूँजी भएका बाणिज्य बैंकहरुलाई ८ अर्ब पूँजी पुर्याउन कम्तिमा पनि ४ बर्षको समय आवश्यक थियो तर राष्ट्र बैंकले थोरै मात्र समय दियो । पूँजी वृद्धिको योजनाले पनि बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटाउन सक्ने आंकलन गरिएको थियो तर त्यस्तो भएन । बैंकहरुले मर्जर वा एक्विजिसन भन्दा हकप्रद र बोनसको बाटो रोजे । अहिले मोटो रकम हकप्रदका लागि खर्च भएको छ भने बैंक तथा वित्तिय संस्थाले दिनुपर्ने लाभांश पनि बोनस सेयरका रुपमा पूँजीकृत भएको छ । यस्तै कारणले अहिले बजारमा लगानी योग्य पूँजीको अभाव भएको हो । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्र भन्दै घरजग्गा कर्जामा कटौती गरेको छ, यो राम्रो कदम होइन् । घर जग्गा कर्जालाई रोक्ने होइन व्यवस्थित गर्ने हो । तर यहाँ त रोक्ने काम भैरहेको छ । संसारमा कुनै पनि देशमा घर जग्गा कर्जालाई अनुत्पादक भनिदैन्। अर्काे कुरा भनेको बैंकलाई यसमा यति लगानी गर, उसमा उति लगानी गर भनेर राष्ट्र बैंकले भन्न मिल्दैन् । केन्द्रिय बैंकको यस्तो निर्देशनले सर्वसाधारणलाई अलमलमा पार्छ । बैंकले ऋण दिने भएर भनेर सर्वसाधारण जनता बैंकमा लाइन बस्न आउँछन तर बैंकले त्यसरी कर्जा दिन सक्ने अवस्था रहँदैन् । बैंकले दिने कर्जाबारे सर्वसाधारणमा अफवाह फैलाइनु हुन्न । यतिबेला बैंकहरुले मौकामा चौका हानेको कुरा चाँही सहि नै हो । सबैले निक्षेप संकलनको दर भन्दा बढि कर्जा लगानी गरे । त्यतिले मात्रै नपुगेर अहिले ब्याजदर अनावश्यक रुपमा वृद्धि गरिरहेको पनि देखिन्छ । बैंकहरुको यस्ता गतिविधि भने नियमन हुनुपर्छ । (सिभिल बैंकका अध्यक्ष समेत रहेका सांसद तामाङले व्यवस्थापिका संसदको अर्थ समितिमा व्यक्त गरेको विचार)