हरेक नेपालीको खल्तीमा साढे १५ हजार रुपैयाँ, बजारमा भएका सबै नोटको बराबारी हिसाव गणनामा मात्रै सिमित
काठमाडौं १, कात्तिक । तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफै जानुन्न्। नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँडने हो भने एक जना नेपालीको भागमा साढे १५ हजार रुपैयाँ परेको समाचार राजधानी दैनिकमा छ। नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन्। केन्द्रीय तथ्थांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ । यो तथ्यांक अनुसार एकजना नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए। राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर बजारमा पठाएका र पुनः राष्ट्र बैंक नफर्केका नोटलाई चलन चल्तीमा रहेका नोट भनिन्छ । यसमा बैंक तथा बित्तीय संस्था, सहकारी संस्था तथा एटिएम मेसिनमा रहेका नोटसमेत गणना हुन्छ ।
सिभिल बैंक र इन्टरनेशनल लिजिङ्गको सोमबारदेखि एकिकृत कारोवार शुरु
काठमाडौं, ३० असोज । सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी एक आपसमा गाभिई सोमबारबाट (२०७३ कार्तिक १) संयुक्त कारोवार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भई उक्त कम्पनीको कारोबार भोलिदेखि हुन लागेको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ । यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । सिभिल बैंकले २३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको युनिक फाईनान्स र २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यो खरिद पछी बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यस मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्धि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस शेयर र हकप्रद शेयर दिने बताएको छ । साथै, अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए ।
कञ्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस दिने, पूँजी २४ करोड रुपैयाँ पुग्ने
काठमाडौं, ३० असोज । कञ्चन डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंकको १०५औं सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको अगामी साधारणसभाले परित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी २४ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर करिब साढे ६ सय रुपैयाँमा कारोबार भएको छ ।