मुक्तिनाथका ग्राहकलाई संजीवनी र विराट आँखा हस्पिटलमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विराटनगर स्थित संजीवनी हस्पिटल तथा आईभिएफ सेन्टर प्रालिसंग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा संजीवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गगरेका छन् । साथै, विकास बैंकले विराटनगर कै विराट आँखा हस्पिटलसंगपनि बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ । उक्त सम्झौता पत्रमाविराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया बैंक र उपाय सर्भिसेस लिमिटेडबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एनआईसी एशिसा बैंकका ग्राहक महानुभावहरुले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । उपाय सर्भिसेज लिमिटेड कानून, वित्त व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित एक डिजिटल प्ल्याटफर्म हो । कम्पनीले सेवाग्राहीहरुलाई विभिन्न सार्वजनिक सेवा तथा त्यससँग सम्बन्धित अन्य कार्यहरु सरल, गुणस्तरीय र पारदर्शी तरिकाले सम्पन्न गर्न मद्दत गर्दछ । कम्पनीका सेवाग्राही तथा ग्राहकहरुले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवाहरु, करसँग सम्बन्धित कागजात तयार लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी कम्पनीले बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि एनएफआरएसको मापदण्ड अनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिमसमेत प्रदान गर्ने सम्झौता भएको छ । यस बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् १७ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दैै आएको छ ।

२ करोड ३५ लाख खाताको निक्षेप सुरक्षणमा ६ खर्ब २८ अर्ब, निक्षेपकर्तालाई राहत

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले गत आर्थिक वर्षमा दुई करोड ३५ लाख १२ हजार वटा निक्षेप खाता सुरक्षण (बीमा) गरेको छ । कोषले उक्त खातामा रहेको प्रति खाता दुई लाख रुपैयाँका दरले ६ खर्ब २८ अर्ब ५ करोड निक्षेप सुरक्षण गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७४/७५ सम्म एक करोड ९३ लाख खाता सुरक्षण भएकोे थियो । उक्त खातामा रहेको चार खर्ब ३० अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरिएको कोषले जानकारी दिएको छ । कोषमा प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेपमा रहेको निक्षेप सुरक्षण हुने व्यवस्था छ । सुरक्षण गरिएको निक्षेप बैंक तथा वित्तीय संस्था डुबे पनि निक्षेपकर्ताले प्रतिव्यक्ति प्रतिबैंक खाता दुई लाख रुपैयाँका दरले फिर्ता पाउँछन् । कोषले प्रतिबैंक दुई लाखका दरले प्रतिव्यक्तिको खाता सुरक्षण गर्दै आएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ मा कोषले प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको दुई लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्ने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्था डुबे पनि निक्षेपकर्तालाई प्रतिबैंक प्रति खाता दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति कोषले दिने कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले बताए । मिश्रले भने-‘एउटै बैंकमा धेरै रकम राख्दा बैंक डुब्न गएको खण्डमा निक्षेपकर्ताको धेरै रकम डुब्ने जोखिम हुन्छ । यसबाट निक्षेप डुब्न सक्ने अवस्था न्यूनीकरण हुनुको साथै आम निक्षेपकर्ताको खातामा रहेको न्यूनतम रकम सुरक्षण हुने छ ।’ कुनै पनि निक्षेपकर्ताले एउटै बैंक तथा वित्तीय संस्थामा एकभन्दा बढी निक्षेप खाता सञ्चालन गरेमा वा संयुक्त निक्षेप खाता भएमा वा तेस्रो पक्ष लाभकारी निक्षेप खाता भएका सबै खातालाई समष्टीकृत गरी एकै खाता सरह मान्यता दिइने प्रावधान छ । ती खातालाई अलग अलग गणना गर्न पाउने छैन । कोषले सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थामा रहेको पुँजी एउटै बैंकमा नराखी ‘क’ वर्गका वाणिज्य बैंकदेखि ‘घ’ वर्गका लघुवित्त बैंकहरूसम्म परिचालन गरेर एउटा बैंकमा एउटामात्र खाता राख्न मार्ग निर्देश गरेको हो । कोषले निक्षेप सुरक्षण बढाउनुको साथै सुरक्षण शुल्क समेत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७५/७६ को असारमसान्तसम्म कोषले निक्षेप सुरक्षणबाट २५ करोड १२ लाख रुपैयाँ शुल्क आम्दानी गरेको छ । गत आवमा एक करोड ९६ लाख ६६ हजार ‘क’ वर्गका वाणिज्य बैंकको खाता सुरक्षण गरिएको छ । ‘उक्त खातामा रहेको पाँँच खर्ब १९ अर्ब २२ करोड निक्षेप सुरक्षण भएको छ,’ मिश्रले भने–‘सो अवधिसम्म कोषमा २९ वटा विकास बैंकमा रहेका खातामध्ये ३२ लाख ८७ हजार खातामा रहेको ९५ अर्ब ३४ करोड निक्षेप सुरक्षण भएको छ ।’ त्यस्तै ‘ग’ वर्गका २२ वटा वित्तीय संस्थाले १२ अर्ब ५४करोड रुपैयाँको निक्षेप सुरक्षण गराएका छन् । सो निक्षेप ५१ लाख ६५ हजार निक्षेपकर्ता हो । ‘घ’ वर्गका २ वटा लघुवित्त वित्तीय संस्थाले ४१ हजार पाँच सय १८वटा खातामा रहेको रकममध्ये प्रतिखाता दुई लाखका दरले ९३ करोड ९८ लाख निक्षेप सुरक्षण गराएका छन् ।