प्राइम बैंकका सिईओ नारायणदास मानन्धरलाई काम गर्न दिन सर्वोच्चको आदेश
काठमाडौं । उमेरहदका कारण प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदबाट हटाइएका नारायणदास मानन्धरलाई सर्वोच्च अदालतले काम गर्न दिन अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजालशले मानन्धरलाई आज मंगलबार काम गर्न दिनु भन्ने अन्तरिम आदेश दिएको हो । सो आदेशसँगै मानन्धरले अब फेरि प्राइम बैंकमा सिईओको कार्यभार सम्हाल्न पाउने भएका छन् । राष्ट्र बैंकले गत २० गते परिपत्र जारी गर्दै बैंकका सिईओका लागि ६५ वर्ष र सञ्चालकको लागि ६९ वर्ष उमेर हद तोकेको छ । सो उमेरभन्दा माथिका व्यक्तिले सो पदमा बस्न योग्य हुने छैनन् । बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा उमेरहद नतोकिएको हुँदा राष्ट्र बैंकको निर्देशन कानून विपरीत भएकाले पदबाट हटाउन नमिल्ने सर्वोच्च अदालतको ठहर छ । सर्वोच्च अदालतले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ ।
लुम्बिनी विकास बैंकको साधारण सभा, १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित
काठमाडौँ । लुम्बिनी विकास बैंक लि.को ११औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष पराजुलीले प्रस्तुत गरेको प्रतिवेदन, आव २०७४/७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस सेयर वितरण गर्ने निर्णय समेत पारित गर्यो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ । बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५/०७६ को असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै साधारण सभामा बताइयो ।
मेगा बैंकले नेपाल प्रहरीलाई दियो ५ हजार पकेट डायरी
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरिन् । शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो । मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दै डिएसपी घिमिरेले बैंकलाई धन्यवाद दिए ।