दुर्घटनामा परेका दजर्नाैं यात्रु उद्दार गर्ने सोनाम तामाङलाई महालक्ष्मी विकास बैंककाे सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाले सोनाम तामाङ (र्याफटिङ गाइड) लाई पन्ध्र हजार रुपैया सहित सम्मान गरेको छ । सोनामले अरनिको राजमार्ग, सुकुटेमा बस दुर्घटना हुँदा दर्जनाैं यात्रीको उद्दार गरेका थिए । उनको साहसिक कार्यको कदरस्वरुप बैंकले सो रकमसहित सम्मान गरेको हो । कात्तिक १७ गते मागा देउराली देखि काठमाण्डौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले तामाङलाई सम्मान गरेको थियो ।

प्रभु बैंकको १९९औं शाखा सर्लाहीको बयलबासमा

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको बयलबासमा १९९ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन् । कार्यक्रममा देवकोटाले प्रभु बैंकको यस अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् । शाखा विस्तारले स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्दि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने विश्वास बैंकले लिएको छ ।

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको चरिकोट शाखाले चरिकोटमा दोलखा चेम्बर अफ कमर्ससँगको संयुक्त आयोजनामा वित्तीय साक्षरता अभियान सम्पन्न गरेको हो । कार्यक्रममा बैंकिङ्ग कर्जा, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, आधारभूत कर्जा, लेखा तथा कर सम्बन्धी जानकारी गराइएको थियो । साथै, बैंकले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुंच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान  शुरु गरिरहेको छ ।