सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ । नक्सालमा आयोजित उक्त कार्यक्रममा सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको हो । कार्यक्रममा अस्पताललाई बैंकले उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताएका छन् ।
सनराइज बैंककाे क्यास ब्याक योजना, अनलाइन काराेबार गर्दा एक हजार फिर्ता पाइने
काठमाडौं । सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले माघ १ गतेदेखि तीन महिनासम्म लागू हुने गरी उक्त याेजना ल्याएकाे हाे । यस योजना अन्तर्गत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल (पीओएस) टर्मिनल वा ई-कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल (पीओएस)टर्मिनलमा कारोबार गर्दा २५० रुपैयाँ क्यास ब्याक र ई-कर्मशमा कारोबारमा २५० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५०० रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५ हजार रुपैयाँ वा सो भन्दा बढिको खरिद कारोबार गरेमा एक हजार रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम ३ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।
ज्योति विकास बैंकको १२ प्रतिशत बोनस पारित, सञ्चालकमा शेयरधनी महर्जन निवार्चित
काठमाडौं । ज्योति विकास बैंकको प्रस्तावित १२.७५ प्रतिशत बोनश शेयर पारित भएको छ । पुस २९ गते सम्पन्न विकास बैंकको १२ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै बैंकले तीन अर्ब १० करोड चुक्ता पुँजीको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने छ । १२.७५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी तीन अर्ब ४९ करोड रुपैयाँ नाघेको छ । बैंकले वितरण गर्न लागेको उक्त लाभांशदर हालसम्मकै उच्च हो । साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने शेयरधनी मन महर्जनलाई सञ्चालकमा निर्विरोध निवार्चित गरेको छ ।