विहीबार मन्त्रिपरिषद बैठक बस्ने, गभर्नर सिफारिस समिति बन्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राख्ने भएका छन् । मिर्गाैला प्रत्यारोपणका लागि १२ दिन अस्पताल बसेर प्रधानमन्त्री ओली फर्केका एक साता वित्न लागेपनि उनको स्वास्थ्यको कारण मन्त्रिपरिषद बैठक बसेको थिएन । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसबाट बच्न र यसको सन्त्रासबाट उत्पन्न भएको आर्थिकलगायतका संकटन सामना गर्न मन्त्रिपरिषदले नीतिगत निर्णय गर्नुपर्ने वाध्यात्मक अवस्था आएपछि मन्त्रिपरिषद बैठक बोलाउन लागिएको हो । यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएपनि सो पदमा नियुक्तिको लागि प्रक्रिया सुरु गर्न मन्त्रिपरिषदले नै अग्रसरता लिनुपर्ने भएकोले बैठक बोलाउन लागिएको प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जानकारी दियो । ‘कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनिकरण र आवश्यक सावधानीका विषयमा केही नीतिगत निर्णय गर्नुपर्ने अवस्था छ, यस्तै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति पनि बनाउनु पर्ने भएकोले मन्त्रिपरिषद बैठक बोलाउन लागिएको हो,’ सचिवालय स्रोतले भने । सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका केही नीतिगत निर्णय मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने भएकोले तत्काल मन्त्रिपरिषद बैठक डाक्नुपर्ने भएको हो । मन्त्रिपरिषद बैठक विहीबारको लागि बोलाइएको स्रोतको दाबी छ ।
मेगा बैंकका ग्राहकले घरमै नर्सिङ सेवा पाउने
काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंकसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो । सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले चाहेमा शुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शुलभ हेल्थ होमले बृद्धबद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकहरुलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले बिभिन्न अस्पताल तथा स्वास्थय संस्थासँग सम्झौता गरिसकेको छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई त्रिपुरेश्वरको ब्लूक्रस हस्पिटलमा विशेष छुट
काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकले काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटलको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई कम्पनीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १२ प्रतिशतसम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिँदा १० प्रतिशतसम्मको छुट पाउने छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकले हाल १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।