जेनजी आन्दोलनमा काठमाडौंमा एक हजारभन्दा बढी सरकारी गाडी जले

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा मात्रै एक हजारभन्दा बढी सरकारी सवारीसाधनमा आगजनी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । विभिन्न सरकारी निकायहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार आन्दोलनका क्रममा ४४१ वटा चारपांग्रे र ६०१ वटा दुईपांग्रे गरी कुल १ हजार ०४२ वटा सरकारी सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् । यद्यपि, अधिकारीहरूले दुईपांग्रे सवारीसाधनको संख्यालाई तुलनात्मक रूपमा न्यून भएको बताएका छन् । सरकारी तथा निजी सवारीसाधनमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको कुल आर्थिक क्षतिको मूल्याङ्कन गर्न अझै केही समय लाग्ने सरकारी अधिकारीहरूको भनाइ छ ।  विवरणअनुसार सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारीसाधन नष्ट भएका छन् । त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा गाडी जलेका छन् ।  यस्तै, शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी आगजनीबाट नष्ट भएका छन् । भदौ २३ गतेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि उच्चपदस्थ कर्मचारीहरूले सरकारी सवारीसाधनहरूलाई कार्यालय परिसरमै पार्किङ गर्न निर्देशन दिएका थिए । तर, भदौ २४ गते आन्दोलन अझ हिंसात्मक बनेपछि सिंहदरबार परिसरभित्र र बाहिरका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट र आगजनीका घटना घटेका थिए ।  त्यसक्रममा आगो लागेका सवारीसाधनहरू अहिले पनि सरकारी कार्यालय परिसरहरूमा देखिन सकिन्छ । 

अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न नाडाको आह्वान

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले हालै देशभर भएका आन्दोलन र प्रदर्शनहरूले मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रमा गहिरो प्रभाव पारेको भन्दै चिन्ता व्यक्त गरेको छ । नाडाले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ज्यान गुमाउन बाध्य भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।  साथै घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाले देशमा शान्ति र स्थायित्वको वातावरण कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संघले अटोमोबाइल उद्योगलाई देशको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला ठहराउँदै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको र कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढाएको जनाएको छ ।  ‘देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पारेको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा चुनौती थपिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। नाडाले हरेक जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट खोज्न सकिने विश्वास व्यक्त गर्दै सरकारलाई व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न, अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन र आवश्यक सहजीकरण गर्न आह्वान गरेको छ । संस्थाले सदस्य कम्पनीहरूको हित र उपभोक्ताको विश्वास सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्दै मुलुकलाई स्थायित्वतर्फ अघि बढाउन सबै सरोकारवालालाई सकारात्मक संवाद र जिम्मेवार नेतृत्वको आग्रह गरेको छ । नाडाले नयाँ सरकारले आउँदो ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेको छ ।

अवरुद्ध यातायात सेवा तत्काल सुचारु गर्नुपर्छ: ट्रक व्यवसायी

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हाल अवरुद्ध भएको सडक यातायात सेवा तत्काल सुचारु गर्न सबै पक्षलाई आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका मागहरूलाई शान्तिपूर्ण संवाद र सहकार्यको माध्यमबाट सम्बोधन गर्न सम्बन्धित पक्षलाई आह्वान गरेको हो ।  महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा राजनीतिक, सामाजिक र आर्थिक सुधारका विषयमा उठाइएका मागहरू सरकार, सम्पूर्ण राजनीतिक दलहरू तथा सरोकारवाला निकायहरूले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइएको छ ।  विज्ञप्तिमा कठिन परिस्थितिमा पनि नेपालका सुरक्षा निकाय तथा नागरिक समाजका अगुवाहरूप्रति विश्वास व्यक्त गर्दै, सहकार्यद्वारा देशलाई शान्ति, समृद्धि र स्थायित्वतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।  महासंघले संविधानको रक्षा गर्दै सडक यातायात सञ्चालन गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ ।  महासंघका अनुसार यातायातको सहज प्रवाह विना मुलुकको आर्थिक गतिविधि असम्भव हुन्छ । उद्योग–व्यापार, कृषि उत्पादन र सर्वसाधारणको दैनिकी समेत यसैमा निर्भर हुने भएकाले सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। ।  विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भौतिक, सामाजिक र आर्थिक जीवनको मेरुदण्ड मानिने यातायात क्षेत्र पछिल्ला केही दिनदेखि पूर्ण रूपमा ठप्प छ । सवारीसाधन नचल्दा दैनिक उपभोग्य वस्तु, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसम्म गम्भीर असर परेको छ । यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविका संकटमा पारेको छ भने सर्वसाधारण नागरिकले पनि ठूलो कठिनाइ भोगिरहेका छन् । ’ महासंघले कानुनसम्मत रूपमा व्यवसाय सञ्चालन गर्ने, कर तिर्ने, रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्र चलायमान बनाउने यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने माग गरेको छ । साथै, आन्दोलनका कारण दैनिक रूपमा घाटा बेहोरिरहेको यो क्षेत्रका व्यवसायीलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि महासंघले सरकारसँग माग गरेको छ ।