एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट

काठमाडौं । चाडपर्वको अवसरमा एनएमबि बैंकले ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको छ । उक्त सहकार्यअन्तर्गत एनएमबि बैंकका ग्राहकले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत भुक्तानी गरेमा प्रत्यक्ष ५ हजार रुपैयाँसम्म छुट पाउनेछन् । यो छुट कुजु नेपालका याडिया शोरुमहरूमा मात्र उपलब्ध हुनेछ र चाडपर्वको अवधिसम्म सीमित रहनेछ । छुट लिन ग्राहकले भुक्तानी अघि शोरुमलाई जानकारी गराउनुपर्ने र एनएमबि बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । बैंकले यस योजनाले ग्राहकलाई फाइदा दिलाउने मात्र नभई वातावरणमैत्री र दिगो सवारीसाधनप्रति आकर्षण बढाउने विश्वास लिएको छ । साथै, नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याइरहने बैंकले जनाएको छ ।

६० प्रतिशत गाडी दशैँमा बिक्री हुन्थे, आन्दोलनले स्वाट्टै घट्यो: अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै  अध्यक्ष चौधरीले दसैं, तिहार लगायत  चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरबदल गर्न आग्रह गरेका हुन् ।  राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’ को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गरे ।   राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेको छ । यसअघि विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोल तथा डिजेलजन्य इन्धनबाट चल्ने  गाडीमा ५० प्रतिशत ऋण लिन सक्ने व्यवस्था रहेको थियो । अटो व्यवसायीहरूले ८० प्रतिशत पुर्याउन माग गर्दै आएका छन् ।   ‘आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । अहिलेको सबैभन्दा ठुलो चुनौती राजस्व संकलन देख्छु,’ अध्यक्ष चौधरी भन्छन् ‘अटो क्षेत्रले सबैभन्दा बढी राजस्वमा योगदान दिँदै आएको छ । दशैँको समयमा कुल अटो बजारको ६० प्रतिशत बिक्री  हुने गरेकोमा आन्दोलनले  घट्दा राजस्व पनि घट्छ ।’  चौधरीले थपे ‘गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छ । राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनु पर्नेछ ।’  चौधरीले नेपालमा विद्युतीय गाडी (इभी) को संख्या बढेको बताउँदै व्यवसायीले चार्जिङ स्टेसन राख्न नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर दिन माग गरे । आन्दोलनका कारण अटो हब रहेको थापाथली  पूर्ण रुपमा  क्षति भएको भन्दै  उत्तरी नाकाबाट आउने केरुङ र तातोपानी नाकाबाट गाडी ल्याउन नसकिने अवस्था रहेको बताए । ‘कोरला नाकाबाट केही गाडी आएका छन् तर पानी पर्ने बित्तिकै रोकिन्छ । सडकको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्छ, ’ उनले भने ।  चौधरीका अनुसार नेपालमा अटो उद्योगको दुई पांग्रे र चार पांग्रेमा लगानी भइरहेको छ । नेपालमा ब्याट्री, टायर, केही स्पेयर पार्टस् समेत उत्पादन हुन थालेका छन् । एसेम्बल उद्योगले केही रोजगारी दिएका छन् ।  नेपालमै उत्पादन हुने ब्याट्री टायर लगायतका उद्योगलाई एसेम्बलसँग जोड्ने नीति बनाउन  सरकारसँग उनले आग्रह गरे ।

स्कोडा नेपालले ल्यायो ‘फेस्टिभ डिलाइट २०८२’, कतार ग्रान्ड प्रिक्स हेर्ने सुनौलो मौका

काठमाडौं । स्कोडा नेपालले यस चाडपर्वलाई लक्षित गर्दै ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ अफर सार्वजनिक गरेको छ।  ‘फास्ट एण्ड फियरलेस’ भन्ने थिमसहित सुरु गरिएको यो अभियानले ग्राहकलाई प्रिमियम ड्राइभिङ अनुभव र  रोमाञ्चक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । अभियानअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट सुविधा, ४ लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष रूपमा कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।  आकर्षक डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डसहित स्कोडा नेपाली अटोमोबाइल बजारमा परिचित छ । नेपालभरका सबै अधिकृत स्कोडा सोरूममा बुकिङ खुला भइसकेको जनाइएको छ ।