विगतको जस्तो बनेन अटो व्यवसायीको दसैँ

काठमाडौं । यतिखेर नेपालीहरू दसैँ मनाउन व्यस्त छन् । तर, अटो व्यवसायीहरूमा दसैँको खासै रौनक छैन । अटो क्षेत्रका लागि दसैँ विशेष मान्निछ । तर, यसपटक यस क्षेत्रका व्यवसायीहरू उत्साहित देखिँदैनन् ।  नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष करन चौधरी दसैँ र अन्य चाडपर्वहरू अटोमोबाइल क्षेत्रको मेरुदण्ड भए पनि यो वर्ष खासै उल्लास नभएको बताउँछन् । उनका अनुसार वार्षिक बिक्रीको ५५ प्रतिशतभन्दा बढी हिस्सा दसैँ तिहारमै हुन्छ ।  परम्परागत रूपमा यो नयाँ सवारीसाधन खरिदको लागि शुभ समय मानिने भएकोले पनि ग्राहकले दसैँ तिहारमा बढी सवारी साधन खरिद गर्ने गरेको उनको भनाइ छ । तर, यस वर्षको जेनजी आन्दोलनले उपभोक्ताको उत्साहमा कमी ल्याएको अध्यक्ष चौधरी बताउँछन् ।  ‘परम्परागत रूपमा दसैँ नयाँ खरिदको चरम समय हो । किनभने यसलाई शुभ मानिन्छ । तर यस वर्ष आर्थिक चुनौती र जेनजी आन्दोलनले उत्साहमा कमी ल्याएको छ,’ उनले भने । यद्यपि अध्यक्ष चौधरीले दसैँलाई अझै पनि उपभोक्ताको विश्वास पुनःस्थापित गर्ने र अटो व्यवसायलाई पुनर्जीवित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरेका छन् । ‘दसैँ अझै पनि उपभोक्ता विश्वास पुनःस्थापित गर्ने र व्यवसाय पुनर्जीवित गर्ने महत्वपूर्ण अवसर हो,’ उनले थपे ।  व्यावसायिक चुनौतीहरूका बाबजुद व्यक्तिगत रूपमा भने व्यवसायीहरुले यस दसैँलाई आत्मीयता र आत्मचिन्तनको अवसरका रूपमा हेरेका छन् । अध्यक्ष चौधरी स्वयंले पनि दसैँ काठमाडौंमै परिवारसँगै रमाइलो गर्दै मनाउने बताए ।  ‘दसैँ मेरो लागि आत्मीयता, आशीर्वाद र खुशी बाँड्ने अवसर हो,’ उनले भने । तर, यो वर्ष विगतजस्तो सहज नभएको उनले स्वीकारे ।  व्यवसायीहरू यस वर्षको दसैँलाई केवल हर्षोल्लासको पर्वका रूपमा मात्र नभई चुनौतीहरूका बीचमा पनि आशा, एकता र आत्म चिन्तनका साथ अगाडि बढ्ने अवसरको रूपमा लिएका छन् । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता अनुसार यस वर्षको दसैँमा बजारमा माग २० प्रतिशतले कमी आएको छ ।  उनले भने, ‘जेनजी आन्दोलन र त्यसले सिर्जना गरेको अनिश्चितताका कारण मानिसको आत्मविश्वास घटेको छ । यसले गर्दा जुन तालले व्यापार अगाडि बढ्नुपर्ने थियो, त्यो स्लो भएको छ ।’  यसवर्षको दसैँले देशलाई नै पीडा दिएको उनी बताउँछन् ।  अर्का अटो व्यवसायी तथा नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले जेनजी आन्दोलनका कारण सबैको व्यावसायिक योजनामा असर परेको बताए । ‘दसैँको समयमा धेरै मान्छेहरू घुम्न तथा पैदल यात्रामा जान्थे । यस वर्ष सबै बाटो अवरुद्ध छ । केही गर्न मिलेको छैन । जसले पर्यटन क्षेत्रमा पनि असर परेको छ,’ उनले भने ।  यद्यपि व्यवसायमा अघिल्लो वर्षभन्दा यस माग केही बढ्ने हुने अपेक्षा उनको छ । उनले यस वर्षको दसैँ काठमाडौं घरमै मनाउने बताए । थपलियाका अनुसार हुन्डाईले यस वर्ष आफ्नो १० वर्षको अवसर पारेर १० वटा विशेष अफर ल्याएको छ । जसमा स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्ने मौका समेत रहेको उनको भनाइ छ ।  एक ग्राहकले सानो गाडी किन्दा १० लाख रुपैयाँ जितिसकेको समेत उदाहरण दिँदै थपलियाले यी अफरहरू छठसम्म जारी रहने जानकारी दिए ।  यसैगरी, अर्का व्यवसायी आकाश गोल्छाले भने यस वर्ष बिक्रीमा वृद्धि नहुने बरु घट्ने बताए । ‘बिक्रीमा वृद्धि हुँदैन, घट्छ नि । देश नै संकटमा छ । गाडीको बढ्दैन,’ उनले भने ।  आकाश गोल्छाले दसैँलाई धार्मिक दृष्टिकोणबाट भन्दा पनि सामाजिक सद्भाव र परिवारिक मिलनको रूपमा हेरेको बताएका छन् । ‘हाम्रोमा दसैँ हुँदैन । तर यो चाड हो । यो समयमा मुड फ्रेस गर्नुपर्छ । घरमै रमाइलो गरेर बस्नुपर्छ,’ उनले भने ।  यद्यपि सबै कम्पनीहरूले यसवर्ष विशेष अफर ल्याएका छैनन् । आईएमई ग्रुपका प्रबन्ध निर्देशक निसान ढकालले आफूले यसवर्ष कुनै पनि अफर नल्याएको बताए ।  उनका अनुसार अहिले ग्राहकहरुको रुचिमा पनि केही परिवर्तन देखिएको छ । पहिले विद्युतीय सवारीसाधन (ईभी) को माग बढी भए पनि अहिले सडकको अवस्था, स्पेयर पाट्र्सको उपलब्धता र मोबिलिटीको सहजताका कारण आईसीई (डिजेल÷पेट्रोलबाट चल्ने) गाडीप्रति आकर्षण बढेको देखिन्छ ।  हुन्डाईका थपलिया पनि आईसीईको माग कम भएको बताउँछन् । उनीहरूका अनुसार दसैँ अगाडि सर्भिसिङको माग २०/३० प्रतिशतसम्म बढ्ने गर्छ ।  हुन्डाईले बिक्री पछि युनिटलाई आफ्नो बलियो पक्ष मान्दै १७/१८ वटा नेटवर्क, हाइवेमा रिल्याक्स र रिपेयर सर्भिस सेन्टरहरु (जस्तै बुटवल, कुरिनटार) समेत सञ्चालन गरेको छ  ।  त्यस्तै, अन्य कम्पनीहरूले पनि सर्भिसिङका लागि आवश्यक तयारी गरेका छन्, आवश्यकता परे ओभरटाइम समेत बसेर ग्राहकलाई सेवा दिने उनीहरूको प्रतिबद्धता छ । थपलियाले हाल जेजस्तो अवस्था भए पनि दसैँ भने आफन्तीसँग भेटघाट गरी परिवारसँग बसेर मनाउने बताउँछन् । यसैगरी टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठका अनुसार यसपटकको दसैँ अटोमोबाइल क्षेत्रका लागि परम्परागत उत्साहभन्दा बढी चिन्ता र अनिश्चितताले भरिएको देखिन्छ ।  ‘बजारमा माग कम हुनु, आन्दोलनले सिर्जना गरेको कन्फिडेन्सको कमी र समग्र आर्थिक मन्दीका कारण व्यवसायिक लक्ष्यमा धक्का पुगेको छ । तर, व्यवसायीहरू दसैँपछि अवस्था सामान्य बन्ने र वर्षको अन्त्यसम्ममा केही सकारात्मक परिणाम आउनेमा आशावादी छन्,’ उनले भने ।   जेनजी आन्दोलनकर्ताले थापाथलीमा रहेका अधिकांश गाडीका सोरुमहरु तोडफोड तथा आगजनी गर्दा पनि उनीहरु समस्यामा परेका हुन् । 

कोरोला नाकाबाट ईभीको ओइरो, २ सातामै उठायो २ अर्ब बढी राजस्व

काठमाडौं । नेपाल-चीन उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा २ अर्ब २ करोड ९६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौमा पूर्णरुपमा सञ्चालनमा आएको यहाँको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।  यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व सङ्कलन भएको हो । यहाँ दैनिक औसत भन्सार राजस्व १३ करोड ६६ लाख रुपैयाँ बढी अनुपातमा राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ । यसअघि यहाँको भन्सार कार्यालयले बर्सेनि सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तु राजस्व १० देखि १५ लाख रुपैयाँमै सीमित रहन्थ्यो । यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो रहेको हो । सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको हो । यस भन्सार कार्यालयमा चीनबाट कोरला नाका हुँदै भित्रिएका एक हजार १०९ विद्युतीय सवारी साधनमध्ये ९६५ को भन्सार जाँचपास भइसकेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । भन्सार कार्यालय न्हेचुङमा हाल १४४ विद्युतीय सवारी साधनको भन्सार जाँच पाँस हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ ।  यसैगरी कोरला नाकाबाट मालवस्तु आयात गरिएका ३७५ मालबाहक कन्टेनरमध्ये सबैको भन्सार जाँचपाँस भई गन्तव्यतर्फ प्रस्थान गरेका भन्सार प्रमुख खड्काले उल्लेख गरे। यहाँको भन्सार कार्यालयका कर्मचारी दसैँ बिदामा घरतर्फ प्रस्थान गरिसकेका छन् । असोज १८ गते अर्थात पूर्णिमासम्म दसैँको सार्वजनिक बिदा भएको र दसै मनाएर कार्यस्थलमा फर्किन दुई दिन समय लाग्ने भएकाले सम्भवत २१ गतेदेखि पुनः भन्सारका नियमित कार्यसम्पादन सुरु हुने भन्सारका नायब सुब्बा उत्तम राईले जानकारी दिए।  नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै मुस्ताङमा व्यापारिक चहलपहलसमेत बढेको छ । नाका सञ्चालनले यहाँको आन्तरिक व्यापार व्यवसाय राम्रो चलेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।  यसैगरी नाकामा स्थानीय नागरिक र सवारी चलाउन जान्ने युवाहरुले राम्रो आम्दानी गरेको अध्यक्ष गुरुङको भनाइ छ ।  नाकाको सीमापारी भन्सारमा लोड अनलोड गर्ने तथा त्यहाँ चीनको भन्सारमा ल्याएका विद्युतीय सवारी साधन चलाएर बाहिर निकाल्ने युवाहरूले मनग्ये आम्दानी गर्ने बाटो खुलेको उनले उल्लेख गरे । 

दशैंमा हुन्डाईको 'हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम' अभियान सुरु

काठमाडौं । दशैंका अवसरमा हुन्डाई गाडी प्रयोगकर्ताका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई गाडीको आधिकारिक विक्रेता) ले 'हुन्डाई हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम' अभियान सञ्चालन गर्ने भएको छ । असोज ११ देखि १४ गतेसम्म बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत मुख्य राजमार्गका विभिन्न स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध हुनेछ । कम्पनीका अनुसार हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र तनहुँलगायत ११ स्थानमा दक्ष प्राविधिकमार्फत २६–प्वाइन्ट निःशुल्क चेकअप सुविधा दिइनेछ । साथै, गाडीका लागि आवश्यक लुब्रिकेन्ट र कुलेन्ट निःशुल्क उपलब्ध गराइनेछ भने विद्युतीय सवारीका लागि पोर्टेबल डीसी चार्जर पनि उपलब्ध हुनेछ । २०१४ देखि सञ्चालनमा आएको यो अभियान हुन्डाईको बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ । चाडपर्वको यात्रामा ग्राहकलाई सुरक्षित, सहज र झन्झटरहित बनाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।