वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन
काठमाडौं । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । गत आवमा रु छ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले रु छ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा रु दुई अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यसैगरी, सोही अवधिमा रु दुई अर्ब एक करोड मूल्यका नौ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा नै रु एक अर्ब ३७ करोड मूल्यका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा रु एक अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा रु ७१ करोडका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने रु ७४ करोडको तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन् । त्यसैगरी, सोही अवधिमा रु ४३ करोड ३१ लाख मूल्यका चार हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन् । वीरगञ्ज नाका हुँदै गत आवमा रु एक अर्ब ६४ करोड मूल्यका साना–ठूला दुई हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । वीरगञ्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।
पोखरामा प्रोटोनको नयाँ शोरुम सञ्चालनमा, सरल फाइनान्स योजना
पोखरा । विद्युतीय सवारीको क्षेत्रमा अग्रणी बन्ने लक्ष्यसहित प्रोटोन नेपालले पर्यटकीय शहर पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पोखराको बुद्धचोकमा उद्घाटन गरिएको उक्त शोरुमले कम्पनीको प्रमुख ईभी मोडल प्रोटोन ईमास ७ को प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । काठमाडौंमा सफल सुरुवातपछिको यो दोस्रो शोरुम हो । कम्पनीले सन् २०२५ भित्रै नेपालभर विद्युतीय सवारी साधन (ईभी) को व्यापक नेटवर्क विस्तार गर्ने रणनीति लिएको छ । पोखराको शोरुम यही लक्ष्यतर्फको महत्वपूर्ण पाइला हो । शोरुम उद्घाटन अवसरमा ग्राहकहरूका लागि टेस्ट ड्राइभ, व्यक्तिगत परामर्श, सरल फाइनान्स योजना र सरकारी अनुदानबारे जानकारी उपलब्ध गराइएको थियो । बिक्रीपछि सर्भिसलाई थप प्रभावकारी बनाउन, प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामै तेस्रो सर्भिस सेन्टर स्थापना गरेको छ । शोरुमको उद्घाटन वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, होटल संघ नेपाल (पोखरा च्याप्टर), एनवाईईएफ, विभिन्न मिडियाकर्मी र अटोमोबाइल क्षेत्रका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । शोरुम उद्घाटनसँगै प्रोटोन ईमास ७ सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त सवारीको स्मार्ट प्रविधि, दिगो ऊर्जा प्रयोग र सस्तो सञ्चालन खर्चका विशेषताहरूबारे जानकारी दिइयो । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, 'पोखरामा प्रोटोनको उपस्थिति केवल व्यापारिक विस्तार मात्र होइन, स्वच्छ ऊर्जा अभियानतर्फको हाम्रो दृढ प्रतिबद्धताको पनि प्रतीक हो । हामी पश्चिमी क्षेत्रभर स्वच्छ र स्मार्ट मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं ।' नेपाल विद्युतीय यातायात र वातावरणीय जागरणतर्फ अघि बढिरहेको सन्दर्भमा पोखरामै प्रोटोनको उपस्थिति विस्तार हुनु राष्ट्रिय स्वच्छ ऊर्जा अभियानका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । यस अवसरमा जगदम्बा मोटर्सले पहिलो साता प्रोटोन खरिद गर्ने ग्राहकहरूका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि घोषणा गरेको छ ।
टेस्लालाई टक्कर दिने तयारीमा वेइमो
काठमाडौं । अल्फाबेटको स्वामित्वमा रहेको वेइमोले सन् २०२६ मा अमेरिकाको ड्यालास सहरमा आफ्नो स्वचालित राइड–हेलिङ सेवा सुरु गर्ने घोषणा गरेको छ । यो सेवा सुरुवातसँगै वेइमोले अमेरिकाभर आफ्नो विस्तारलाई तीव्र बनाउँदैछ । यसैबीच विद्युतीय सवारी निर्माता टेस्लाले पनि हालै सुरु गरेको रोबोट्याक्सी व्यवसायलाई बढावा दिइरहेको छ । वर्षौंको मेहनतपछि वेइमोले पछिल्ला दिनमा आफ्नो सेवा विस्तार तीव्र बनाएको छ । उसले विभिन्न सवारी सेवा प्लेटफर्महरू र फ्लीट अपरेटरहरूसँग साझेदारी गरी नयाँ सहरहरूमा सेवा सुरु गरिरहेको छ । ड्यालासमा वेइमोले कार भाडामा दिने कम्पनी एभिस बजेट ग्रुपसँग बहुवर्षीय साझेदारीमा सेवा सञ्चालन गर्नेछ । यो साझेदार कम्पनीले फ्लीट सञ्चालन, मर्मत र डिपो पूर्वाधार व्यवस्थापन गर्नेछ । वेइमोले एक ब्लग पोस्टमार्फत यो जानकारी दिएको हो । हाल वेइमोले फिनिक्स, सान फ्रान्सिस्को, लस एन्जलस र अस्टिनजस्ता सहरहरूमा करिब १ हजार ५०० सवारीसाधनमार्फत हप्तामा २.५ लाखभन्दा बढी सशुल्क यात्रा सेवा दिइरहेको छ । टेस्लाले करिब दर्जनजति मोडेल वाई एसयूभीहरूमा अगाडि सिटमा मानव सुरक्षाकर्मी राखेर सीमित परीक्षण सुरु गर्नु केही महिनाअघि नै वेइमोले अस्टिन सहरमा केवल उबर प्लेटफर्ममार्फत सेवा सुरु गरेको थियो । टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले कम्पनीले छिट्टै अन्य अमेरिकी सहरहरूमा पनि रोबोट्याक्सी सेवा विस्तार गर्ने योजना बनाएको बताएका छन् । यसका लागि टेस्लाले क्यालिफोर्निया, नेभाडा, फ्लोरिडा र एरिजोनाबाट नियामक स्वीकृति लिने प्रयास गरिरहेको छ । स्वचालित सवारी साधनलाई व्यवसायिक रूपमा सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको छ । जेनरल मोटर्सको क्रूज जस्ता केही कम्पनीहरूले दुर्घटना, रिकोल र संघीय अनुसन्धानपछि सेवा बन्द गरिसकेका छन् । अमेजनको समर्थन प्राप्त जुक्स ती थोरै कम्पनीहरूमध्ये एक हो जुन अझै सञ्चालनमा छ र यसै वर्षको अन्त्यसम्म व्यावसायिक सेवा सुरु गर्ने तयारीमा छ । टेस्लाले अस्टिनमा सुरु गरेको परीक्षणभन्दा अगाडि वेइमो मात्र यस्तो कम्पनी थियो जसले अमेरिका भित्र सशुल्क चालकविहीन ट्याक्सी सेवा सञ्चालन गरिरहेको थियो । वेइमोको सेवा वेइमो मोबाइल एपमार्फत उपलब्ध हुनेछ । कम्पनीले सन् २०२६ भित्र मियामी र वाशिङ्टन डीसीमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ । यो साझेदारी एभिसको दीर्घकालीन रणनीतिअन्तर्गत पारम्परिक कार भाडा सेवा कम्पनीबाट मोबिलिटी सेवा प्रदायकमा रूपान्तरण गर्ने योजनाको हिस्सा हो ।