क्रिसमस-नयाँ वर्षलक्षित दीपलको ‘फेस्टिभ ड्राइभ’ सुरु

काठमाडौं । दीपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमस तथा नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम ‘दीपल फेस्टिभ ड्राइभ’ सुरु गरेको छ । पुस १० देखि १७ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत ग्राहकहरूले नक्सालस्थित चांगान शोरुम मा दिपलका प्रिमियम इभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल इभी एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकलाई अत्याधुनिक ईभी प्रविधिको प्रत्यक्ष अनुभव गराउन यो अभियान सुरु गरिएको हो । ‘फेस्टिभ ड्राइभ’ अवधिमा शोरुमलाई विशेष फेस्टिभ डेकोरेसन गरिएको छ भने ग्राहकहरूले सान्टा रोबोटको अनौठो अनुभव, साथै आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

हुन्डाई नेपालको ‘विन्टर डिलाइट’ अभियान सुरु, ५ लाखसम्म छुट

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ अभियान सार्वजनिक गरेको छ ।  बिहीबार (आज) देखि लागू हुने यस सीमित अवधिको अभियानमार्फत ग्राहकलाई आकर्षक छुट, नयाँ वर्ष बोनस तथा थप विशेष सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत हुन्डाईका छानिएका मोडलहरूमा ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छुट तथा १ लाख रुपैयाँसम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन् ।  साथै १ वर्षको निस्शुल्क बीमा सेवा र निस्शुल्क सडक कर सुविधा पनि समावेश गरिएको छ, जसले नयाँ वर्षको अवसरमा गाडी खरिदलाई अझ लाभदायक बनाएको छ । हुन्डाई गाडीहरूमा उपलब्ध ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी तथा ६ वर्षको निस्शुल्क सर्भिसिङ सुविधाले हुन्डाईको गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ । देशभर रहेका हुन्डाई शोरूमहरूमा लागू हुने यस ‘विन्टर डिलाइट’ अभियानका अफरहरू सीमित अवधिका लागि मात्र उपलब्ध रहने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । 

टेस्लाको आपतकालीन ढोका फेरि विवादमा, मोडेल थ्रीमाथि अमेरिकी सुरक्षा एजेन्सीको नजर

काठमाडौं । अमेरिकी सवारी सुरक्षा नियामक निकायले बुधबार टेस्ला मोडेल थ्री कम्प्याक्ट सेडानमाथि सम्भावित दोषसम्बन्धी अनुसन्धान सुरु गरेको जनाएको छ । आपतकालीन अवस्थामा ढोका खोल्न प्रयोग गरिने ‘इमर्जेन्सी डोर रिलिज’ नियन्त्रणहरू सजिलै भेटिन नसक्ने वा स्पष्ट रूपमा चिनिन नसक्ने सम्भावित जोखिम देखिएपछि नियामक निकायले टेस्लासम्बन्धी अनुसन्धान सुरु गरेको हो । दोष अनुसन्धान कार्यालय अफिस अफ डिफेक्ट्स इन्भेस्टिभेसनका अनुसार यो अनुसन्धान सन् २०२२ मोडेल वर्षका अनुमानित १ लाख ७९ हजार ०७१ वटा सवारीसाधनमा लागू हुनेछ । एजेन्सीले डिसेम्बर २३ मा दोषसम्बन्धी उजुरी प्राप्त गरेपछि अनुसन्धान सुरु गरेको हो । उक्त उजुरीमा सवारीसाधनको यान्त्रिक ढोका रिलिज लुकाइएको, लेबल नभएको र आपतकालीन अवस्थामा सजिलै पत्ता लगाउन नसकिने आरोप लगाइएको छ । यस विषयमा प्रतिक्रिया दिन टेस्लाले तत्काल कुनै जवाफ दिएको छैन । टेस्लाका सवारीसाधनहरू मुख्यतया इलेक्ट्रोनिक ढोका ल्याचमा निर्भर हुन्छन्, जसले परम्परागत यान्त्रिक ह्यान्डलको सट्टा बटनमार्फत ढोका खोल्छन् । यद्यपि टेस्लाले आपतकालीन अवस्था वा विद्युत् आपूर्ति बन्द हुँदा प्रयोगका लागि म्यानुअल ढोका रिलिज उपलब्ध गराएको भए पनि विज्ञहरूले लामो समयदेखि यी यान्त्रिक रिलिजहरू सधैं देखिने, स्पष्ट रूपमा लेबल गरिएको वा सहज रूपमा बुझिने नहुने बताएका छन् । विशेषगरी पछाडिको सिटमा बस्ने यात्रुमा यो समस्या देखिएको छ ।   गत महिना विस्कन्सिनमा भएको भीषण आगलागीसहितको दुर्घटनामा टेस्ला मोडेल एसका पाँचै जना यात्रुको मृत्यु भएपछि टेस्लामाथि मुद्दा दायर गरिएको थियो । ढोका नखुल्ने डिजाइन त्रुटिका कारण उनीहरू सवारीभित्रै फसेको आरोप लगाइएको छ । यसैगरी, गत वर्ष नोभेम्बरमा सान फ्रान्सिस्को नजिकको उपनगरमा भएको साइबरट्रक दुर्घटनामा जलेको सवारीभित्रै थुनिएर दुई कलेज विद्यार्थीको मृत्यु भएको भन्दै उनीहरूको परिवारले पनि ढोका ह्यान्डलको डिजाइनका कारण टेस्लामाथि मुद्दा दायर गरेका छन् । दोषसम्बन्धी उजुरी खोलिनु भनेको अनिवार्य रूपमा रिकोल (फिर्ता बोलाउने) जारी हुनेछ भन्ने होइन, तर यसले नियामक समीक्षा प्रक्रियाको पहिलो चरण जनाउँछ । यदि सुरक्षासम्बन्धी दोष पुष्टि भएमा थप कदम चालिन सक्छ। अमेरिकी सवारी सुरक्षा नियामक एनएचटीएसए (एनएचटीएसए) ले सेप्टेम्बरमा करिब १ लाख ७४ हजार २९० वटा मोडेल वाई सवारीसाधनमा इलेक्ट्रोनिक ढोका ह्यान्डल काम नगर्ने रिपोर्ट आएपछि प्रारम्भिक मूल्यांकन सुरु गरेको पनि जनाएको छ ।