बजाज पल्सर एनपीएलको ‘टु ह्विलर पार्टनर’ : तीन खेलाडीलाई पल्सर मोटरसाइकल दिइने

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच सम्झौता भएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल (N160) पुरस्कारस्वरूप प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ। सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडीले उक्त मोटरसाइकल प्राप्त गर्नेछन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गर्दै भने- ‘पल्सर मोटरसाइकल सधैँ खेलकुद र युवा उर्जासँग जोडिएको ब्रान्ड हो, एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप उर्जा र प्रेरणा मिल्ने विश्वास छ ।’ नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले पल्सरसँग सहकार्य गर्नु नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए । उनले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको भन्दै केही दिनभित्रै पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी सार्वजनिक गर्ने धारणा राखे। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सञ्चालन हुनेछ ।

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते हुने

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' अन्तर्गतको लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते गर्ने भएको छ । कार्तिक २० गतेसम्म यो योजनामा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन् । विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणद्वारा सार्वजनिक गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ । यस अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ । प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सीसी मोटरसाइकल राखिएको छ, जससँगै टीभीएस एनटर्क १२५ सीसी स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ। साथै हरेक खरिदमा १,००० रूपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधनका प्रयोगकर्ताहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । अफर कार्तिक २० गतेसम्म मात्र मान्य रहने भएकाले, सिप्रदीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ । सिप्रदी अटोपार्ट्सका अनुसार टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूलाई दीर्घायु बनाउँछन् र गाडीको गति अझ उत्कृष्ट बनाउँछन् । यी पार्ट्स उच्च गुणस्तरका र पूर्ण रूपमा टाटाद्वारा प्रमाणित भएकाले, नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सलाई सबैभन्दा भरपर्दो र विश्वसनीय विकल्पको रूपमा रोज्दै आएका छन् ।

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान आयात र बिक्री गर्न अदालतले रोक्यो

काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । 'नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नु,' अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ । यो निर्णयसँगै, अदालतको अघिल्लो आदेश उल्लङ्घन गरी नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानुनी संकटमा परेको छ । गत २०८२ साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै कम्पनीले केवाइसी  गाडी आयात नगर्न आदेश दिएको थियो । तर उक्त आदेशलाई बेवास्ता गर्दै केवाइसी गाडीको नाम फेरेर ‘नियोसियारस्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो । अदालतको आदेश छलेर गरिएको यो कदमले व्यवसायिक जगतमा ठूलो विवाद खडा गरेको थियो । यो विवादमा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएको थियो । अचम्मको कुरा के भने, दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका रहेका छन्, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै उही मोडेलका गाडी नयाँ नाममा भित्र्याउने प्रयास गरेका थिए । भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको थियो । यसरी कानुनी आदेशको उल्लङ्घन गरी गरिएको आयातले गाडी खरिदकर्ताहरू भविष्यमा समस्या र कानुनी जोखिममा पर्ने समेत अवस्था देखिएको थियो ।  केवाइसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो । सीजी मोटर्सले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै सार्वजनिक यातायातमा स्वच्छ, किफायती र दिगो यात्राको सुरुवात गरेको थियो । तर पछिल्ला वर्षहरूमा सो ब्रान्डको आधिकारिक विक्रेता अधिकार कब्जा गर्न विभिन्न खेल र विवाद उत्पन्न भएका थिए ।   केवाइसीको उत्पादक कम्पनी चोंगकुइंग चाइना ले पनि सोही गाडीको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ । मोडेल, बनावट र फिचरहरू उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानुनी प्रश्न उठाएको छ । नेपाल उद्योग परिसंघका एक पदाधिकारीका अनुसार, 'अदालतको आदेशपछि उही व्यवसाय नयाँ नाममा दोहोर्‍याउने कार्य कानुनी शासनका लागि खतरनाक उदाहरण हो । यस्ता घटना दोहोरिए विदेशी लगानीकर्ता र स्थानीय उद्यमी दुवैको विश्वासमा नकारात्मक असर पार्छ ।' अदालतको ताजा आदेशपछि नियोसिया ब्रान्डका गाडी नेपालमा आयात वा बिक्री गर्ने प्रयास तत्कालै रोकिएको छ ।