शुक्रबारबाट इटहरीमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज, अत्याधुनिक ईभी र मानव रोबोट अनुभव गर्न पाइने
काठमाडौं । दिपलले प्रदेश नं. १ को प्रमुख सहर इटहरीमा नयाँ सोरुम उद्घाटन गर्दै विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम सुरु गर्ने भएको छ। एमएडब्लु वृद्धिले आफ्नो इटहरी डिलर सर्ब मोटर्ससँग मिलेर आयोजना गर्न लागेको कार्यक्रममा भाद्र २० देखि २३ गतेसम्म दिपलका अत्याधुनिक ईभीहरूको टेस्ट ड्राइभ गर्ने मौका मिल्नेछ । सो अवसरमा ग्राहकले दिपलका मानव रोबोट र रोबोट कुकुरको अनुभव पनि प्रत्यक्ष पाउनेछन् । कम्पनीका अनुसार विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रममा नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ का साथै नेपालमा केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् । भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ । कार्यक्रममा सहभागीले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा चारवटा रिकन्डिसन हाउसबाट सर्वोत्तम मूल्यांकन पाउनुका साथै निश्चित मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र ट्राभल चार्जर पनि पाउनेछन् । यसका साथै प्रदर्शनीमा राखिने दिपलका ह्युमनोइड रोबोट र रोबोट कुकुरले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष झल्को दिनेछन् ।
एलएस अटोको फेस्टिभ अफर सार्वजनिक : एलईभी ०१ गाडी खरिद गर्दा ८ लाखसम्म फाइदा
काठमाडौं । एलएस अटोको आधिकारिक नेपाली आयातकर्ता ब्लू कर्पोरेशनले चाडपर्वहरूलाई लक्षित गर्दै 'फेस्टिभ अफर ' ल्याएको छ । अफरमा ग्राहकहरूले न्यूनतम डाउन पेमेन्ट, आकर्षक उपहारहरू र नगदमा भारी छुटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक नवीन फुयाँलका अनुसार यस फेस्टिभ अफरमार्फत गाडी खरिद गर्दा ग्राहकले कुल ८ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् । ‘एलईभी-०१’ गाडी अफरअन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सकिने फुयाँलले बताए । अफरअन्तर्गत गाडी किन्ने ग्राहकका जोडीले निःशुल्क ५ रात ६ दिनको सिंगापुर र मलेसिया भ्रमणको अवसर पाउने कम्पनीले जनाएकाे छ । यसैगरी, फेस्टिभ अफरमा १ लाख रुपैयाँको नगद छुट, १ लाख रुपैयाँको एक्सचेन्ज बोनस र निःशुल्क बीमा सुविधा पनि प्रदान गरिएको छ । कम्पनीका अनुसार यो अफरभित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन पनि निःशुल्क दिइनेछ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ ।
नाडामा भाँडभैलोः विशेष साधारणसभा स्थगित, प्रशासनको हस्तक्षेप विरुद्धअदालत जाने तयारी
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) भित्रको आन्तरिक कलह छताछुल्ल भएको छ । भदौ २४ गतेका लागि बोलाइएको नाडाको विशेष साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक्न निर्देशन दिएको छ । नाडालाई महासंघ बनाउने महत्वाकांक्षी एजेण्डा लिएर अगाडि बढेका वर्तमान नेतृत्वलाई यो निर्देशनले ठूलो झट्का लागेको छ भने संस्थाको भविष्य थप अन्योलग्रस्त बनेको छ । नाडाभित्र झाङ्गिदै गएको विवाद विशेष साधारण सभाको स्थगनले नयाँ मोडमा प्रवेश गरेको छ । विशेष गरी ४७ औं वार्षिक साधारण सभाबाट पारित विधान संशोधनको विषयमा तत्कालीन अध्यक्ष ध्रुव थापा र वर्तमान अध्यक्ष कर्ण चौधरी पक्षबीच लामो समयदेखि किचलो चल्दै आएको छ । निवर्तमान अध्यक्ष ध्रुव थापा र वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा लगायतका ९ जना कार्यसमिति सदस्यहरुले नाडाको वर्तमान नेतृत्वले मनोमानी ढंगले संस्था चलाएको, विगतका निर्णयहरु कार्यान्वयन नगरेको र विधान मिचेर काम गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुको मुख्य आपत्ति ४७ औं साधारण सभाले पारित गरेको विधान संशोधनलाई जिल्ला प्रशासन कार्यालयबाट विधिवत दर्ता नगराइएको र सोही कारणले आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट सदस्य पदमा घटुवा गरिएको विषयमा छ । ‘हामीले पहिला भएकै विधान संशोधन नगरिकन किन जाने भनेर गयौं,’ ध्रुव थापाले भने, ‘गृहकार्य नै नगरी हतारमा महासंघमा लैजाने कुरा गरियो, जसले नाडालाई झन् ड्यामेज गर्थ्याे ।’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १६ गते नाडालाई पत्र लेख्दै तत्कालका लागि विशेष साधारण सभा रोक्न निर्देशन दिएको छ । प्रशासनले नाडालाई गैरकानुनी तरिकाले विशेष साधारण सभा बोलाइएको भन्दै उजुरी परेको जानकारी गराएको छ । प्रशासनले नाडा नेतृत्वलाई विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई किन विशेष साधारण सभा बोलाइएको, पटक/पटक छलफल गर्दा पनि विवाद समाधान नहुनुको कारण के हो भन्दै स्पष्टीकरण समेत सोधेको छ । विशेष साधारण सभा बोलाउनका लागि गरिएका निर्णयहरूसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिइएको छ । महासंघ बनाउने सपनामाथि प्रशासनको ब्रेक नाडाको वर्तमान नेतृत्वले भदौ ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट नाडालाई महासंघमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । यसै एजेन्डासहित भदौ २४ गते विशेष साधारण सभा डाकेको थियो । तर, जिल्ला प्रशासनको निर्देशनले यो प्रक्रियामाथि पूर्णविराम लागेको छ । ध्रुव थापाका अनुसार सिडिओ कार्यालयले कुनै पनि संघलाई महासंघमा लग्न नमिल्ने र यदि नाडालाई महासंघ बनाउने हो भने यसलाई पहिला विघटन गर्नुपर्ने र यसका सबै सम्पत्ति सरकारमा जाने जानकारी गराएको छ । ‘सिडिओले रोकिदिएको छ,’ थापाले भने, ‘यसले गर्दा झन् नाडालाई ड्यामेज हुन्थ्यो । कानुनी सल्लाह नलिकन हतारमा निर्णय गरिएको हो ।’ यस्तै, आकाश गोल्छाले नाडालाई महासंघमा लैजाने वर्तमान कार्यसमितिको प्रयास कानुनसम्मत नभएको र आफूलाई उपाध्यक्ष पदबाट हटाएकोबारे उनीहरुले स्पष्टीकरण नदिएको आरोप लगाए । उनले भने, ‘मैले आफूलाई पदबाट किन हटाएको हो भनेर स्पष्टीकरण खोजिरहेको छु । हालसम्म कसैले यसको जफाव दिएको छैन् । नाडाभित्र मनोमानी चलिरहेको छ । ’ साधारणसभाबारे आफूहरुमा कुनै छलफल नै नभएको गोल्छाको भनाइ छ । यस विषयमा अध्यक्ष करण चौधरीलाई बुझ्दा उनले आफु पोखरा रहेको बताए । यो प्रसंगबारे उनले महासचिव सुरेन्द्र उप्रेतीलाई सोध्न आग्रह गरे । सुरेन्द्र उप्रेतीलाई हामीले बारम्बार सम्पर्क गर्दा उनको फोन नै उठ्न सकेन् । अदालत जाने तयारी विशेष साधारण सभा स्थगित भएपछि असन्तुष्ट पक्ष थप सशक्त बनेको छ । ध्रुव थापाको नेतृत्वमा रहेका ९ जना कार्यसमिति सदस्यहरुले संयुक्त विज्ञप्ति जारी गर्दै संस्थालाई महासंघमा लैजाने निर्णय असामयिक र संस्थाको हित विपरीत रहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको नियमित वार्षिक साधारण सभा हुन जम्मा बढीमा चार महिना मात्र बाँकी छ, तर त्यसो नगरी आफ्नो कार्यकाल लम्ब्याउने दुषित मनसाय राखी वार्षिक साधारण सभालाई बाइपास गर्दै तदर्थ समिति गठन गर्ने उदेश्यले संस्थालाई महासंघमा लैजाने निर्णयार्थ भन्दै विशेष साधारण सभा बोलाइएको जुन सम्बन्धित सबैलाई गुमराहमा पार्ने प्रपन्च भएको महसुस गरेका छौं ।’ उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट ४७ औं साधारण सभाको निर्णयलाई मान्यता नदिएमा अदालत जाने चेतावनी समेत दिएका छन् । ‘यदि जिल्ला प्रशासन कार्यालयबाट ४७ औं साधारण सभाको निर्णय कार्यान्वयन तर्फ अगाडि बढे नभने हामी अदालत जान्छौं,’ थापाले भने । विज्ञप्ति जारी गर्ने ९ जना कार्यसमिति सदस्यहरुमा ध्रुव बहादुर थापा नाडाका निवर्तमान अध्यक्ष, आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष, कार्य समिति सदस्यहरू निराकार श्रेष्ठ, सुनिल रिजाल, यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रदिपमान प्रधान, सोहन श्रेष्ठ, सौरभ थापा रहेका छन् । नाडाभित्रको यो विवादले अटोमोबाइल व्यवसायीहरुमा चिन्ता बढाएको छ ।