पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत
काठमाडौं । लक्जरी स्पोर्ट्स कार निर्माता पोर्शेले आफ्ना सीईओ ओलिभर ब्लुमेको उत्तराधिकारी खोज्ने प्रक्रिया सुरु गरेको स्रोतले जनाएको छ । यसले पोर्शे र प्यारेन्ट कम्पनी फक्सवागनमा उनको दोहोरो भूमिका अन्त्य हुने संकेत गरेको छ । २०२२ सेप्टेम्बरमा पोर्शे छुट्टै कम्पनीका रूपमा सूचीबद्ध भएपछि ब्लुमेको दोहोरो पद सेयरधनीहरूबीच विवादास्पद बनेको थियो । लगानीकर्ताहरूले शासन प्रणालीसम्बन्धी चिन्ता औंल्याउँदै बारम्बार उनलाई एउटा पदबाट हट्न दबाब दिँदै आएका छन् । ब्लुमेले यो दोहोरो भूमिका स्थायीका लागि नभएको बताउँदै आएका भए पनि उनले यसै महिना सम्बन्ध विच्छेदको मिति तोकिएको छैन भन्दै ‘यस वर्ष कसरी अघि बढ्छौं, हेर्नेछौं’ भनेका छन् । फक्सवागन, पोर्शे एजी र पोर्शे एसईले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । समाचार बाहिरिएसँगै पोर्शेका सेयर १.१ प्रतिशतले बढे, जसलाई पहिलोपटक जर्मन पत्रिका विर्ट्सचाफ्ट्सवाेचले प्रकाशन गरेको थियो । पत्रिकाले कम्पनी र वित्तीय स्रोतहरूलाई उद्धृत गर्दै उत्तराधिकारीबारे छलफल भइरहेको र शरद ऋतुमा नियुक्ति हुने अपेक्षा गरिएको जनाएको छ । यसका लागि आन्तरिक र बाह्य दुवै उम्मेदवारलाई विचाराधीन राखिएको बताइएको छ । पोर्शे र पियेख परिवारले गत मे महिनामा पोर्शे एसईको वार्षिक साधारण सभामा ब्लुमेप्रति निरन्तर समर्थन व्यक्त गरेका थिए । हाल पोर्शेले चीनमा आफ्ना स्पोर्ट्स कारहरूको कमजोर माग, सुस्त विद्युत् सवारीतर्फको संक्रमण र अमेरिकाले लगाएको उच्च ट्यारिफका कारण नाफा लक्ष्य घटाउनुपरेको अवस्थाबीच महँगो पुनर्संरचना प्रक्रिया अघि बढाइरहेको छ । २०२२ मा फक्सवागनभन्दा उच्च मूल्याङ्कनसहित सूचीबद्ध भएको पोर्शेको सेयर त्यसयता करिब ४५ प्रतिशत घटिसकेको छ । निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति
बजाज मोटरसाइकल किन्दा नगद उपहार र क्रिकेटको मजा लिन पाइने
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँ र तिहारलाई लक्षित गर्दै नयाँ क्याम्पेन ‘बजाज प्रिमियर लिग’ सार्वजनिक गरेको छ । मोटरसाइकललाई यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीकका रूपमा स्थापित गर्न कम्पनीले उपभोक्तालाई अझ नजिक ल्याउने उद्देश्यले यो अभियान सुरु गरेको हो । क्याम्पेनको विशेषताअनुसार हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीअनुसार ‘जति धेरै रन, त्यति धेरै नगद पुरस्कार’ पाउनेछन् । साथै, नागरिकताको आधारमा सहज वित्तीय सुविधा (फाइनान्सिङ) मार्फत पनि मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस योजनामा सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रुपैयाँको नगद पुरस्कार, ‘प्लेयर अफ द वीक’ बन्ने ग्राहकलाई १ लाख रुपैयाँ नगद, साथै चर्चित क्रिकेटरहरूसँग भेट्ने अवसर प्रदान गरिनेछ । यसरी खरिदकर्ताले नगद उपहारसँगै क्रिकेटसँग जोडिएका विशेष अनुभव पनि प्राप्त गर्नेछन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बजाज प्रिमियर लिगमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउन खोजिएको बताए । उनले भने, 'नेपालमा बजाजलाई भरपर्दो र लोकप्रिय ब्रान्डका रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनीले यो क्याम्पेनमार्फत ग्राहकलाई मात्र होइन, आम सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलोमा जित र उपहारको नयाँ अनुभव दिलाउने विश्वास लिएको छ ।' यसैगरी, मोबाइल गेमप्रेमीका लागि पनि यो अभियानमा अवसर दिइएको छ । ग्राहकले मोबाइलमा क्रिकेट खेल्दै रन बनाउन सक्ने र त्यसको आधारमा विभिन्न उपहार प्राप्त गर्ने सुविधा उपलब्ध गरिएको कम्पनीले जनाएको छ । यस खेलमा जोसुकैले सजिलै सहभागी भई उपहार जित्न सक्नेछन् ।
बीवाईडीको याङवाङ यु ९ ट्रयाक एडिसनले राख्यो नयाँ रेकर्ड
काठमाडौं । बीवाईडीको प्रिमियम सबब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेहिकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ । जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो । याङवाङको सबैभन्दा नयाँ मोडल यु ९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र गतिको ईभीको रूपमा सो रेकर्ड कायम गरेको हो । जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले गाडी चलाएर सो रेकर्ड कायम गरेका हुन् । योभन्दा पहिले गत वर्ष पनि उनले यस्तै ग्लोबल ईभी स्पिड रेकर्ड कायम गरेका थिए । उनले गत वर्ष नै जितेको सोचे पनि नयाँ प्रविधिका कारण उही ट्रयाकमा नयाँ रेकर्ड कायम गर्न सफल भएको र आफ्नै रेकर्ड तोडेकोमा खुसी व्यक्त गरे । याङवाङ यु ९ हाल चीनमा बिक्री भइरहेको छ । अहिले रेकर्ड ब्रेक गरेको याङवाङ यु ९ ट्रयाक एडिसन त्यसैको सुधारिएको भर्सन हो । यसमा पनि यु ९ मा प्रयोग गरिएको ई ४ प्लेटफर्म र डिसस–एक्स कोर टेक्निकल आर्किटेक्चर प्रयोग गरिएको छ । यसमा विश्वकै पहिलो १२०० भोल्टको अल्ट्रा–हाई–भोल्टेज भेइकल प्लेटफर्म फिचर उपलब्ध छ र एक्स्ट्रिम कन्डिसनमा पनि सहजताका लागि थर्मल म्यानेजमेन्ट सिस्टमसँग पेयर गरिएको छ । याङवाङ यु ९ ट्रयाक एडिसनमा भएको ई४ प्लेटफर्ममा विश्वकै पहिलो विशेष प्रकारको मोटर सिस्टम प्रयोग गरिएको छ, जसमा ३० हजार आरपीएमको हाई–पर्फमेन्स मोटर रहेको छ । जसले प्रतिमोटर ५५५ किलोवाटको पिक पावर डेलिभर गर्छ । याङवाङ यु ९ मै प्रयोग भएको एरोडाइनामिक डिजाइन यु ९ ट्रयाक एडिसनमा पनि प्रयोग गरिएको छ । त्यसैगरी यसमा अझै सुधारिएको अप्सनल कार्बन–फाइबर फ्रन्ट स्प्लिटर प्रयोग गरिएको छ । अल्ट्रा–हाई स्पिडमा समेत चलाउन सहज हुने गरी यसमा पुरै साइन्टिफिक डिजाइन र टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा प्रयोग भएको टायर पनि विशेष किसिमको छ । यसका लागि ट्रयाकमा केन्द्रित सेमी–स्लिक टायर प्रयोग गरिएको छ । यसरी पहिले नै उपलब्ध विशेष प्राविधिक दक्षता र थप सुधारका कारण याङवाङ यु ९ ट्रयाक एडिसनले सो उपलब्धि हासिल गर्न सफल भएको हो । यी सबैका कारण यो ग्लोबल अटोमोटिभ इन्डष्ट्रीकै टपमा पर्न सफल भएको हो ।