चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता
काठमाडौं । चीनको प्रख्यात कमर्शियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ । हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो । कमर्शियल सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन् । चीनमा करिब दुई दशकदेखि कमर्शियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी ९चाइना० लिमिटेड पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ । अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको हो । अक्वेलले कमर्शियल सवारीको सम्पूर्ण लाइनअप उत्पादन गर्दै आएको छ । ११ सिट क्षमताको विद्युतीय भ्यानदेखि ठूला विद्युतीय बस तथा विद्युतीय पिकअपसमेत उत्पादन गरिरहेको छ । अक्वेल ब्रान्डका विद्युतीय कमर्शियल सवारी ७० भन्दा बढी देशहरूमा बिक्री हुँदै आइरहेको छ । अब अक्वेलका विद्युतीय कमर्शियल सवारी ईभी गो प्रालिमार्फत नेपालमा उपलब्ध हुने भएका छन् । सुरुमा अक्वेलका ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आउने ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनुमकुमार बरालले जानकारी दिए । यी माइक्रोबस नेपाल आएपछि कम्पनीले अक्वेलका १९ सिट, २५ सिट र २६ सिटभन्दा ठूला विद्युतीय बस नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले बजारको माग र आवश्यकताअनुसार कार्गो ईभी भ्यान, विद्युतीय पिकअप, मध्यम खालका विद्युतीय ट्रक ल्याउने उल्लेख गरेको छ । अक्वेलको विद्युतीय सवारी उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने कम्पनीको केन्द्रीय कार्यालय सान्डोङ प्रान्तमा रहेको छ । अक्वेलको आफ्नै आर एन्ड डी सेन्टर पनि छ, जहाँ सवारी उत्पादनसँग सम्बन्धित अनुसन्धान र विकासको काम हुन्छ । अक्वेल ब्रान्डको मुख्य विशेषताका रूपमा सवारी उत्पादनसँगै स्पेयर पार्ट्समा स्पेसियालिटी रहेको छ । चीनका अन्य विद्युतीय कमर्शियल सवारी उत्पादकको तुलनामा अक्वेलले उत्पादन गरेका स्पेयर पार्ट्स कम मूल्यमा उत्पादन तथा उपलब्ध गराउँदै आएको छ । अक्वेलको आधिकारिक बिक्रेता ईभी गो नेपाल प्रालिले विद्युतीय माइक्रोबस र भ्यान आयातसँगै सर्भिस सेन्टरको निर्माण थालिसकेको छ । सुरुमा काठमाडौंमा सर्भिस सेन्टर निर्माण थालेको कम्पनीले अक्वेलको माइक्रोबस बिक्री हुन थालेसँगै देशका प्रमुख शहरहरूमा सर्भिस सेन्टर विस्तार गर्दै जाने जनाएको छ । त्यस्तै कम्पनीले अक्वेलका विद्युतीय माइक्रोबस र भ्यानका लागि आवश्यक स्पेयर पार्ट्सको पर्याप्त उपलब्धताका लागि काम सुरु गरिसकेको छ ।
नाडा अटो शो २०२५ ले तोड्यो रेकर्ड, ४ दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ता
काठमाडौं । नाडा अटो शो २०२५ ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शो सुरु भएको चार दिनमै १ लाख ४ हजार ३४७ दर्शकले अवलोकन गरिसकेका छन् । यसले नेपाली जनतामा अटोमोबाइल प्रविधिप्रतिको चासो र उत्सुकता उच्च रहेको प्रष्ट पारेको छ । यसपटकको अटो शो अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च राजनीतिक नेतृत्व उपस्थित भएका थिए । यस्तै, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना र नेपाल प्रहरीका उच्च अधिकारी, पूर्व गभर्नर, बैंक तथा वित्तीय संस्थाका शीर्ष व्यक्तिहरू, उद्योगी–व्यवसायी, खेलकुद क्षेत्रका प्रतिनिधि तथा महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सबित्रा भण्डारीसम्मले समेत अटो शोको अवलोकन गरेका छन् । अन्तर्राष्ट्रिय स्तरबाट पनि सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (सियाम) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एसोसिएशनका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले यस सफलतालाई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउनको लागि नयाँ प्रेरणा भएको बताए । नाडाले यो अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको जनाएको छ ।
साउनमा भित्रिए आधा अर्ब बढीका विद्युतीय गाडी, सरकारले कमायो ३० करोड राजस्व
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामै विद्युतीय सवारी साधनको आयात उत्साहजनक देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मात्रै नेपालमा ५२ करोड ४० लाखरुपैयाँभन्दा बढीका विद्युतीय कार, जीप, भ्यान र माइक्रो बस भित्रिएका छन् । विभागका अनुसार साउनमा कुल १९७ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । यी सवारीको आयातबाट सरकारले ३० करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसले विद्युतीय सवारी साधन सरकारी राजस्वको पनि महत्त्वपूर्ण स्रोत बन्दै गएको देखाउँछ । कुन क्षमताका कति भित्रिए गाडी ? साउन महिनामा आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका रहेका छन् । विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २१ वटा कार, जीप र भ्यान छन् भने ५१ देखि १०० किलोवाटसम्मका १०७ वटा कार, जीप र भ्यान रहेका विभागले जनाएको छ । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ३१ वटा तथा ११ देखि १४ सिटे माइक्रोबस ३८ वटा आयात भएका छन् । पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्न विद्युतीय सवारीमा कर छुट तथा विभिन्न सहुलियत दिँदै आएको छ । यसैको प्रभावस्वरूप नेपाली बजारमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण तीव्र गतिमा बढिरहेको छ । आर्थिक वर्षको सुरुवातमा देखिएको यो तथ्यांकले आगामी दिनमा विद्युतीय सवारीको आयात थप बढ्ने संकेत गरेको छ ।