सिन्धुली पुग्याे ट्रियो इलेक्ट्रिक अटो
हेटौंडा । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सिन्धुलीमा सार्वजनिक भएको छ । सिन्धुलीका नगर प्रमुख मेयर उपेन्द्र कुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका साथै अग्नि अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितीमा सार्वजनिक गरेका थिए । सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो । ८ लाख ४० हजार मूल्य तोकिएको यस अटोले पेट्रोल अटोको तुलनामा दुई लाख रुपयाँ बचाउने कम्पनीले दावी गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालि रहेकाे छ ।
उपायले सुरु गर्यो ट्रक चालकका लागि विश्राम केन्द्र
काठमाडौं । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपायले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजनाअनुरुप विराटनगरमा ‘उपाय स्टेशन’ सञ्चालनमा ल्याएको छ । करिब तीन बिगाहा क्षेत्रफलमा फैलिएको उपाय स्टेशनमा ड्राइभरहरुलाई विश्राम केन्द्र, ७० वटाभन्दा बढी ट्रकहरु पार्किङ गर्न मिल्ने व्यवस्था, लुगा धुने र नुहाउने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुविधा उपल्ब्ध रहेको छ । पूर्वपश्चिम राजमार्गको टंकीशीनवारीमा अवस्थित उपाय स्टेशन नेपालकै पहिलो विश्राम केन्द्र हो । स्टेशनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था छ । उपायका सञ्चालक तथा सह–संस्थापक समेत रहेका रञ्जित श्रेष्ठले उपायको पहिलो सेवामा प्रविधिको माध्यमबाट दुई पाङ्ग्रेदेखि २१ टनको ट्रकसम्मको गाडी नेपालका ठूला सहरमा बुक गर्न मिल्ने सुविधा रहेको जानकारी दिए । दोस्रो सेवामा साना पार्सल, क्युआर कोड र सबै खालका सामानहरु नेपालभर सेवाग्राहीको घरदैलोमा पुर्याउने र अन्तर्राष्ट्रिय मापदण्डको सुविधासम्पन्न गोदामको व्यवस्थापन, भण्डारण र मागअनुसारको वितरणको सुविधा प्रदान गर्ने व्यवस्था गरिएको उनले जानकारी गराए । हालसम्म उपायले देशका ६० भन्दा धेरै सहरमा आफ्ना शाखाहरु विस्तार गरिसकेको छ भने आगामी वर्षहरुमा आफ्ना शाखा, फ्रेन्चाइज साझेदारहरु, अन्य उपाय स्टेशन र अन्तर्राष्ट्रिय स्तरको भण्डारण केन्द्रमार्फत नेपालका सातवटै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।
एक कम्पनीलाई मात्र फाइदा हुनेगरी प्रस्ताव खोलेको भन्दै रोकियो यातायात अटोमेसनको प्रक्रिया
फाइल फाेटाे काठमाडौं । यातायात कार्यालयलाई अटोमेसनमा लैजाने प्रक्रिया तत्काल रोकिएको छ । बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल उक्त प्रक्रिया राक्न श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई परिपत्र गरेसँगै प्रक्रिया रोकिएकोे हो । मुख्यमन्त्री कार्यालयले कुनै एक कम्पनीलाई मात्र लाभ हुनेगरी यातायात मन्त्रालयले प्रस्ताव आह्वान गरेको भन्दै रोक्न परिपत्र गरेको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालयले सबै यातायात कार्यालयलाई अटोमेसन गर्नका लागि प्रस्ताव आह्वान गरेको थियो । प्राविधिक सहयोगका लागि खोलिएको प्रस्तावमा आशंका गर्दै मुख्यमन्त्री कार्यालयले रोक्न निर्देशन दिएको हो । मन्त्रालयले प्रस्ताव खोलेर मूल्यांकनको चरणमा मुख्यमन्त्री कार्यालयबाट रद्द गर्न परिपत्र गरेसँगै यातायात कार्यालय अटोमेसनमा जाने प्रक्रिया रोकिएको मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए । उनका अनुसार पुरानो प्रक्रिया रोकेर नयाँमा जानुपर्दा केही समय लाग्ने भएको छ । ‘हाम्रो योजना आगामी आर्थिक वर्ष सबै यातायात कार्यालयलाई अटोमेसनमा लैजाने थियो, सोही योजना अनुसार काम पनि भएको थियो’, उनले भने, ‘मुख्यमन्त्री कार्यालयको निर्देशनसँगै तत्काल अटोमेसनको काम रोकिएको छ, पुन नयाँ प्रस्तावसँगै बोलपत्र आह्वान गरेर प्रक्रिया सुरु गर्दा समय लाग्छ ।’ प्रक्रिया सुरु गर्दा नै ४ महिना लाग्ने उनको भनाई छ । मन्त्रालयले अटोमेसनका लागि ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो । तर मन्त्रालयले तोकिएको रकमभन्दा कम हुनेगरी अटोमेसनका लागि प्राविधिक प्रस्ताव आह्वान गरेको थियो ।