काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकहरूले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेकाे आयाेजकले जनाएकाे छ ।
आयाेजकका अनुसार नाइमा एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनरहरू सिद्धार्थ र एनएमबी बैंकले विशेष योजनासहित ग्राहकलाई मेलास्थलमा सुविधा दिएका हुन् ।
आफूलाई मन परेको सवारी साधन छनोट गरिसकेपछि मेला अवलोकनकर्ताहरू बैंकका स्टलहरूमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने गरेका छन् ।
बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्ममा कर्जा सुविधा दिइरहेका छन् भने सेवा शुल्क पनि ०.५ प्रतिशतमात्र लिइरहेको आयोजकले जनाएको छ ।
मेलामा अवलोकनकर्ताहरूको उपस्थिति बढिरहँदा बैंकका स्टलहरूमा पनि उल्लेख्य भीड बढेको छ।
ग्लोबल आइएमई बैंकका एसएमई रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टले एक्स्पोमा हरेक दिन अवलोकनकर्ताको संख्या बढिरहँदा बैंकको स्टलमा आएर कर्जाका बारेमा जानकारी लिनेहरुको संख्या पनि उल्लेख्य बढेको बताए ।
मेला अवलोकनपछि कर्जाका लागि नाम दर्ता गराउनेहरुलाई शाखासँग जोड्ने कार्यमा बैंकका स्टलहरुले सहजीकरण गरिरहेका छन् ।
सिद्धार्थ बैंकका लाजिम्पाट शाखाका प्रबन्धक विष्णुप्रसाद शर्माले स्टलमा संकलन भएका डेटा केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रीय कार्यालयले अवलोकनकर्तालाई सम्पर्क गरी सम्बन्धित शाखासँग जोडाइदिने काम गरिरहेको बताए ।
त्यस्तै, एनएमबी बैंकले पनि मेला अवलोकनकर्तालाई मेला स्थलमा रहेको स्टलबाट राम्रो सेवा दिइरहेको जनाएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ ।
एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।