सेगवे–नाइनबटको नयाँ हाई–पावर ई–स्कुटर एन-१०० आकर्षक मूल्यमा नेपाली बजारमा सार्वजनिक

काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रा.लि लेएन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ । अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट एन-१०० एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो । एन-१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान भएको कम्पनीको दाबी छ । जसले सवारी चालकहरुलाई नयाँ र उच्चस्तरको सुविधा प्रदान गर्दछ । सेगवे ले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन-१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना गर्ने जनाएको छ । कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ । सहभागीहरूले सेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरूसँग रेसिंग सेगवेमार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुने कम्पनीले अपेक्षा गरेको छ ।

अटो व्यवसायी पानी बिनाका माछा भए : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अञ्जन श्रेष्ठले अटो व्यवसायी पानी बिनाका माछा भएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो बताएका हुन् । ‘अटो व्यवसायी पानी बिनाका माछा भए, राज्यले सोचेर नीति बनाउनु पर्छ,’ उनले भने । उनले आयात प्रतिबन्ध गर्दा ठूलो समस्या व्यहोर्नु परेको समेत बताए । ‘आयात प्रतिबन्ध सफल भएन, अनाधिकृत व्यापार बढ्यो, राजश्व घट्यो, बजार सुस्त भएर अर्थतन्त्र सुस्त भयो,’ उपाध्यक्ष श्रेष्ठले बताए । पछिल्लो समय बजारमा नैराश्यता रहेको बताउँदै उनले भने- ‘२ दर्जनले आत्महत्या गरे, कयौं डिप्रेसनको औषधि खाइरहेका छन्, यसको समाधान कसले गर्ने हो ? राज्यले जवाफ दिनु पर्छ ।’ साथै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्ध वार्षिक मौद्रिक नीतिको समीक्षा अपुग भएको उपाध्यक्ष श्रेष्ठको धारणा छ ।

सवारी साधनलाई विलासिता होइन, अत्यावश्यक वस्तुको रुपमा बुझ्नु पर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधनलाई अत्यावश्यक वस्तुको रुपमा बुझ्नु पर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले सवारी साधन विलासिता नभई अत्यावश्यक वस्तुको रहेको बताएका हुन् । ‘अटोमोबाइल्स क्षेत्र विलासिताको होइन, आवश्यकताको क्षेत्र हो, हिजो मोबाइल फोन चलाउन विलासिताको वस्तु मानिन्थ्यो, तर आज अत्यावश्यक भएको छ, सडक पूर्वाधारमा गुड्ने सवारी साधन विलासिताको वस्तु होइन,’ उनले भने । पछिल्लो समय नाडाले धेरै राम्रो काम गर्दै आएको बताउँदै अर्थमन्त्री पौडेलले विद्युतीय सवारी साधनको प्रयोगमा द्रुत गतिमा अगाडि बढ्नु पर्छ बताए । ‘विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ, यो राम्रो विषय हो, यसले उर्जा खपतसँगै वैदशिक मुद्रा पनि बचत गर्न टेवा पुग्छ, यसमा हामी द्रुत गतिमा अगाडि बढ्नु पर्छ,’ अर्थमन्त्री पौडेलले भने । साथै, लोडसेडिङको अन्त्य भएसँगै अब विद्युतीय सवारी साधनको चाप बढोस् भनेर प्रोत्साहन नीति बनाएका उनले सुझाए । त्यस्तै, अर्थतन्त्रका बाह्य क्षेत्रमा सकारात्मक संकेत देखिएको समेत उनले बताए । ५ वर्षभित्र विद्युतीय सवारीको संख्या ५० प्रतिशत पुग्ने नाडाको अनुमानमा अर्थमन्त्री पौडेलले यसमा अझै बढ्नु पर्ने बताएका छन् । त्यस्तै, राजश्व परामर्श समितिले नाडाको संस्थाको सुझाव मान्ने बताउँलै उनले नेपाल थोत्रा विद्युतीय सवारी साधनको डम्पिङ नबनाउन आग्रह गरेका छन् ।  साथै, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र उद्घाटन हुने चरणमा रहेको र यसको भरपुर प्रयोग गर्न उनले व्यवसायीलाई आग्रह गरेका छन् ।