काठमाडौं । भारतको विद्युतीय व्यावसायिक सवारीसाधन निर्माता कम्पनी मोन्ट्रा इलेक्ट्रिकले नेपाली बजारमा प्रिमियम प्यासेन्जर विद्युतीय तीनपाङ्ग्रे सवारी सुपर अटो सार्वजनिक गरेको छ ।
नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा छनोट गर्दै कम्पनीले हिप्को ट्रेडिङ प्रालिमार्फत यो अटो बिक्री-वितरण सुरु गरेको हो । एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यस सुपर अटोको बजार मूल्य ८ लाख ६४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
नेपालको भौगोलिक अवस्था र सडकको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको यस अटोमा ९ किलोवाट आवरको ब्याट्री र ६० न्युटन मिटर टर्क उत्पादन गर्ने पीएमएसएम मोटर प्रयोग गरिएको छ ।
करिब साढे चार घण्टामा पूर्ण चार्ज हुने यो अटोले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिन्छ भने यसको अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

३२ प्रतिशतसम्मको उकालो सहजै चढ्न सक्ने क्षमता रहेको यस अटोमा सुरक्षाका लागि हिल-होल्ड असिस्ट जस्ता आधुनिक फिचरहरू उपलब्ध गराइएको छ ।
सवारीमा यात्रुको आरामका लागि पर्याप्त हेडरुम, लेगरुम र सहज सिटिङ व्यवस्था मिलाइएको छ । विद्युतीय भएकाले सञ्चालन खर्च निकै कम भई चालकको आम्दानी वृद्धिमा यसले प्रत्यक्ष सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
कार्यक्रममा हिप्को ट्रेडिङका निर्देशक हिमांशु गोल्छाले स्वदेशी विद्युत्को उपभोग बढाउँदै इन्धन आयात र निर्भरता घटाउन सुपर अटोले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कम्पनीले देशभर डिलर तथा सर्भिस नेटवर्क विस्तार गर्दै प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने जनाएको छ ।