टाटाको ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रको भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । टाटाको ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । टाटाको मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले हालसालै आफ्नो ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमको दौरानमा विभिन्न संचारकर्मीहरुलाई थापाथली स्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी (इभी) प्रयोग गरी नैकाप एवं बागडोल पुर्याइएको थियो । नैकापमा सिप्रदीको ‘इभी लर्निङ्ग सेन्टर’ अवस्थित छ जहाँ उनीहरुलाई विद्युतीय गाडी संचालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले यस सेन्टरमा विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय संचार मार्फत कसरी कार्य गर्दछ भन्ने बारे जानकारी हासिल गरेका थिए । कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा यसका निश्चित अवयवहरु जस्तै ‘मोडुल’ र ‘सेल’ परिवर्तन गरी यसको समाधान अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकिन् । यसबारे पनि सम्बन्धित पत्रकारहरुलाई विस्तृत जानकारी प्रदान गरिएको थियो । नेपाली अटोमोबाइल बजारमा यदि इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरीएको सिप्रदीले जनाएको छ । त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी संचारकर्मीहरुलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको ‘सर्भिस सेन्टर’को अवलोकन गराईएको थियो । अवलोकनको क्रममा इभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरु बारे सूचित गारिएको थियो । यसको अतिरिक्त इभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो । केवल टाटाको मात्र नभई नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले यस भ्रमण कार्यक्रमको आयोजना गरिएको सिप्रदीको दावी रहेको छ । यस कम्पनीले केही समयदेखि टाटाका वातावरण, आराम, सुरक्षा एवं डिजाइनको दृष्टिकोणले उत्कृष्ट इभीहरू नेपाली बजारमा विक्री वितरण गरिरहेको छ । यसैगरी यसले यस्ता गाडीहरुको बजारलाई प्रभावकारी एवं दिगो रुपमा विकास गर्न आवश्यक पूर्वाधार (जस्तै चर्जिङ्ग स्टेसन) एवं जनशक्तिको विकास पनि तिब्र गतिमा गरिरहेको बताएको छ ।

टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड

काठमाडौं । टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड पाएको छ । टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको उत्पादन ‘टिभिएस एनटर्क रेस एक्सपी’ले २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड पाएको हाे । एक सय २५ सिसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकाले यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको जनाइएको छ । स्कुटर उद्योगमै पहिलोपटक भोइस असिस्ट फिचर ल्याएर टिभिएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको दाबी गरिएको छ । भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डुनट डिस्टर्बजस्ता फिचरहरू उपलब्ध रहेको उल्लेख छ । योे भोइस असिस्ट फिचरलाई टिभिएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटीले सपोर्ट गरेको जनाइएको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फ्युलइन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपिएमका साथ १०.२ पिएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ । तीन बल्ब सिभिटिआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवालले टिभिएस एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो रहेको बताए । ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई आत्मसात् गरेकाले नै अवार्ड प्राप्त गर्न सफल भएको उनको भनाइ थियो ।

गाडी निर्माता र बैंकर्सको चेपुवामा अटो व्यवसायी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा नयाँ गाडीहरु ल्याउन नसकिएको व्यवसायीहरुले बताएका छन् । चार पाँग्रे गाडी आयात खुला भएतापनि बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको उनीहरुले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्र कुमार उप्रेती बैंक तथा वित्तीय संस्थाले सहज रुपमा कर्जा नदिँदा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको बताए । ‘आयात खुल्यो तर व्यवसायीले गाडी ल्याउन सकेका छैनन्, राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा कडाइ गरेका छन्, नगद तिरेर गाडी खरिद गर्ने मानिस नहुँदा भएका गाडी समेत बिक्री भएन’, उनले भने । उनले अटो लोनमा गरिएको कडाई तथा जोमिख भारलाई नहटाईएसम्म अटो व्यवसाय सामान्य अवस्थामा फर्कन नसक्ने बताए । ‘अटो लोनमा कडाई गर्दा नयाँ गाडी खरिद गर्नेहरुलाई समस्या भयो, बैंक तथा वित्तीय लोन दिएनन, नगद पैसा तिरेर गाडी किन्नेहरु न्यून छन्’, उनले भने, भएका गाडी बिक्री भएका छैनन्, गाडी आयात रोकिनुभन्दा खुल्दा झन समस्या भयो ।’ उनले गाडी निर्माता कम्पनीहरुले व्यवसायीहरुलाई नयाँ गाडी लैजान प्रेसर गर्न थालेको बताए । ‘पहिला गाडी आयातमा प्रतिबन्ध लाग्दा हामी व्यवसायीलाई सजिलो थियो, अहिले आयात खुलेको छ, गाडी किन्ने मानिस नहुँदा तथा बैंकले फाइनान्समा कडाई गर्दा गाडी ल्याउन सक्ने अवस्था छैन’, उनले भने, ‘आयात खुला भयो, गाडी लैजाउँ भन्दै कम्पनीले फोर्स गर्न थालेको छ, पहिला एकलौटी काम भएको थियो, अहिले एलसी खेल्न र नयाँ गाडीहरु ल्याउन कम्पनीले दबाब दिन थाल्यो ।’ कर्जा नदिँदा ३२ सय गाडी रोकिए नाडाले बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा ७ महिनादेखि विभिन्न भन्सार नाकामा गाडीहरु रोकिएको जनाएको छ । नाडाले व्यवसायीहरुले ल्याएका कमर्सियल तथा निजी प्रयोजनका भेकल भन्सारमै राखिएको जनाएकोे छ । नाडा अध्यक्ष धुब्र थापा ७ महिनाादेखि ३ हजार २ सयभन्दा बढी गाडिहरु नाकामै राखिएको बताउँछन् । उनले बैंक तथा वित्तीय संस्थाले अटो लोन, हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्नुपर्ने, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गर्नुपर्ने लगायतका कुरा सम्बोधन नहुँदासम्म व्यवसायीहरु समस्यामा पर्ने बताए । यस्तै, नाडाले चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यवाहारिक बुँदाहरुको संशाेधनका लागि आग्रह गर्दै आएको छ । देशमा विदेशी मुद्राको सञ्चितीलाई देखाउँलै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात माथि प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध लगाएको साढे ८ महिनापछि सरकारले गत पुस १ गतेदेखि आयातमा लगाईएको प्रतिबन्ध फुकुवा गरेको थियो । नाडाले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै सरकार र राष्ट्र बैंक विरुद्ध आन्दोलन नै गरेका थिए ।