५५ वटा चार्जिङ स्टेशन बनाउँदै एमएडब्लू वृद्धि, फोटोनका गाडी मात्र चार्ज गर्न मिल्ने

काठमाडौं । फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले देशका विभिन्न ठाउँमा ५५ वटा चार्जिङ स्टेशनको निर्माण गर्ने भएको छ । विद्युतीय सवारीको विस्तारसँगै चार्जिङ स्टेशनको आवश्यकता ठम्याई कम्पनीले चार्जिङ स्टेशनको निर्माण गर्ने योजना बनाएको हो । पहिलो चरणमा १५ र दोस्रो चरणमा ४० वटा गरी जम्मा ५५ वटा चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार केही चार्जिङ स्टेशन निर्माण भई सञ्चालनमा आइसकेका छन् भने केही स्टेशनहरु निर्माणको चरणमा छन् । महेन्द्रनगर, जनकपुरमा चार्जिङ स्टेशन तयार भई सञ्चालनमा आइसकेको एमएडब्लू वृद्धिका सेल्स हेड रविन आचार्यले बताए । चियाबारी, मुलकोट लगायतका ठाउँमा केही दिनभित्र चार्जिङ स्टेशन सञ्चालनमा आउने उनको भनाइ छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ मा चार्जिङ स्टेशन निर्माणको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ । आचार्यका अनुसार कम्पनीले यो वर्ष करिव ३५ वटा चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्य राखेको छ । कम्पनीले जडान गरेको चार्जरबाट सबै गाडी भने चार्ज गर्न मिल्दैन । उक्त चार्जरबाट फोटोनका गाडी र कारहरू मात्र चार्ज गर्न मिल्ने आचार्यले बताए । नेपाल विद्युत् प्राधिकरणले तोकेको शुल्क अनुरूप नै शुल्क बुझाएर गाडी चार्ज गर्न सकिने उनको भनाइ छ । सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार ४० किलोवाटको चार्जरले १ घण्टा १५ मिनेटमा फुल चार्ज हुन्छ । कम्पनीका अनुसार स्टेशन अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । पहिलो चरणमा तयार हुने १५ वटा चार्जिङ स्टेशन मध्ये १२ वटा ६० किलोवाटका र बाँकी ३ वटा क्रमशः १२०, ४० र ३० किलोवाट क्षमताका हुनेछन् । विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेशन स्थापना गरिएको आचार्यले बताए । ‘फोटोनका ईभी गाडी किनेर सञ्चालन गर्दा सहज रूपमा ती गाडीलाई चार्ज गर्न सकियोस् भनेर स्टेशनको निर्माण गर्ने योजना बनाएका छौं’, उनले भने, ‘चार्जिङ स्टेशनले गाडी चार्ज साथै सुरक्षित यात्रा गर्नमा मद्दत पुर्याउने छ ।’ कम्पनीले अधिकांश रुटमा चल्ने गाडीलाई लक्षित गर्दै चार्जिङ स्टेशनको निर्माण गरिरहेको छ । ईभी गाडीका प्रयोगकर्ता बढेसँगै ईभीका लागि चाहिने पूर्वाधारको कमी नहोस् भन्ने उद्देश्य राखी चार्जिङ स्टेशन निर्माण गरिएको आचार्यको भनाइ छ । सर्भिस सेन्टर पनि विस्तार गर्दै एमएडब्लू वृद्धिले गाडी बिक्री पछिको सर्भिसलाई पनि मध्यनजर गर्दै सर्भिस सेन्टर पनि विस्तार गर्दै जाने योजना बनाएको छ । कम्पनीले हाल १० वटा सर्भिस सेन्टर सञ्चालन गर्दै आएकोमा २ वटा थपेर १२ वटा सर्भिस सेन्टर बनाउने योजना बनाएको कम्पनीले जनाएको छ । ‘हामी सबै डिलरलाई थ्रीएस दिन्छौं, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कभर हुने गरी सर्भिस र सेल्स नेटर्वक विस्तार गर्दै छौं,’ विकासन्युजसँग कुरा गर्दै आचार्यले भने । विश्वभरी फोटोन मोटर्सका एक करोड १० लाख गाडी बिक्री भएका छन् । नेपालका सडकमा करिब ५ सय वटा फोटोनका गाडीहरू कुद्ने गरेको कम्पनीको भनाइ छ । एमएडब्लू वृद्धिका अनुसार फोटोनका डिजेल, पेट्रोल, हाइड्रोजन, इलेक्ट्रिक, आदि गाडी उपलब्ध छन् । पछिल्लो समय एमएडब्लू वृद्धिले नेपालमा १४ र १५ सिटर ‘हाई रुफ ईभी भ्यान’ पनि सार्वजनिक गरेको छ । फोटोन मोटर्सले सन् २००३ देखि ईभी गाडी र २००५ मा इलेक्ट्रिक बसको उत्पादन गर्दै आएको छ । हाल फोटोनले विश्वभर २२ वटा फ्याक्ट्रीबाट आफ्ना उत्पादन गरिरहेको छ ।

फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक, ५७ लाखमै पाइने

काठमाडौं । नेपालमा फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक भएको छ । फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमबार एक कार्यक्रम आयोजना गर्दै उक्त ईभी भ्यान सार्वजनिक गरेको हो । गाडी सार्वजनिक गर्ने क्रममा एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले उक्त गाडी नेपाल सडकका लागि उपयुक्त भएको बताए । ‘यो गाडी लामाे र छाेटाे दुवै रुटका लागि उपयुक्त छ,’ उनले भने, ‘गाडी धेरैको रोजाइमा पर्ने हाम्राे आशा छ, हामीले गाडी बिक्रीलाई मात्र हाेइन गाडी बिक्रीपछिको सर्भिसलाई पनि उत्तिकै ध्यान दिएका छौं ।’ कम्पनीका अनुसार हाई रुफ ईभी भ्यान १४ र १५ सिटरको रहेका छन् । कम्पनीले उक्त ईभी भ्यान युरोपियन युनियन डब्लूभीटिए–प्रमाणित सवारीसाधन रहेको बताउँदै यसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्यान्डद्वारा गरिएको छ । कम्पनीले १५ सिटर ईभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकेको छ । गाडीको खरिदमा ८० प्रतिशत फाइनान्सिङको सुविधा रहेको पनि बताइएको छ । कम्पनीका अनुसार फोटोनले गाडीको स्थायित्वका लागि ३ लाख किलाेमिटर वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । ईभी भ्यानमा ८५ किलोवाटको पावर रहेको छ । उक्त भ्यानभित्र फराकिलो भाग र आरामदायी सवारीका लागि फुल एसी लगायतका सेवा सुविधा जडान गरी तयार गरिएको छ । आधुनिक प्रविधि प्रयोग भएको उक्त भ्यानमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ । फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले फोटोन हाई रुफ ईभी भ्यानले कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न सघाउने बताए । उनले भ्यानलाई नेपालको मौलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको पनि बताए । कम्पनीले उक्त ईभी गाडी पेट्राेलबाट चल्ने गाडीहरूसँग एक्सचेन्ज गर्न सक्ने बताएको छ । कम्पनीका अनुसार  हाई रुफ ईभी भ्यानको बुकिङसमेत खुल्ला गरिएको छ ।

हुन्डाईले ल्यायो नयाँ वर्ष स्कीम, ५ लाखसम्म नगद छुट पाइने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई न्यू इयर डिलाइट-२०२४’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकलाई नगदै नगद छुट अफर गरेको हो । सोमबारबाट लागु भएको यो स्कीम देशभर रहेका हुन्डाईको शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त स्कीममा हुन्डाईका गाडी किन्ने ग्राहकले मोडल अनुसार अधिकतम ५ लाखसम्म नगद छुट पाउने छन् । त्यस्तै ईभी किन्दा ‘गो-ग्रीन’ स्कीममा अतिरित्त ५० हजार नगद छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी मोडल इयरको आधारमा अघिल्ला वर्षहरुमा बनेका कारमा ५ लाखसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र वार्षिक सवारी कर पनि कम्पनीले दिने छ । साथै, तुरुन्तै मूल्य पुराना गाडी मूल्याङ्कन र एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । कम्पनीले आफ्नो पेट्रोलियम पदार्थबाट चल्ने कारमा ३ वर्ष वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ दिएको छ भने ईभीको ब्याट्रीमा ८ वर्ष र गाडीमा २ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भर १७ शोरुम र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिदै आएको छ ।