पाक्ने समय हुँदा पनि धानमा लागेन दाना, किसान चिन्तित
वालिङ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिका-१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो। स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए। विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो। ‘विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ’, उनले भने, ‘यसपटक त के भयो-भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन।’ डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नै नलागेको हो। मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उनी चिन्तामा छन्। ‘धान ठटाउनै पर्दैन, पराल हरियै छ, बल्ने भए आगो लगाइदिन्थे’, उनले भने, ‘विगत वर्षहरुमा यही क्षेत्रफलमा १४-१५ मुरी धान उत्पादन हुन्थ्यो, यसपटक त मेहनत, परिश्रम, लगानी सबै माटोमै मिल्यो।’ यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए। कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए। ‘यो ठाउँमा अन्य कृषकले लगाउनुभएको उही जातको धान राम्रो फलेको छ तर चार कृषकको खेतमा लगाइएको धानमा दाना नै छैन’, उनले भने, ‘यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाका कारण क्षति भएको हो।’ ‘युएस ३१२’ जातको हाइब्रिड धान यस ठाउँका लागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको उनको दाबी छ। केही दिनअघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा चार/पाँच दिनको अविरल वर्षा मुख्य कारण भएको उनी बताउँछन्।
नारायणगढ-मुग्लिन सडकखण्ड : छेउका घरटहराको क्षतिपूर्ति छैन, पुल निर्माणमा ढिलाइ
भरतपुर । घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए । ‘सडकखण्डमा पर्ने पुल आसपासका घरको ५० हजार रुपैयाँ देखि सात लाख रुपैयाँ सम्म क्षतिपूर्ति दिनुपर्ने छ’, उनले भने, ‘एक करोड २५ लाख रुपैयाँ माग गरेका छौँ ।’ उनले गतवर्ष क्षतिपूर्तिको रकम विनियोजन नहुँदा समयमै पुल निर्माण सम्पन्न गर्न नसकिएको बताए । ‘यस वर्ष जसरी पनि क्षतिपूर्तिको रकम व्यवस्थापन गर्नुपर्ने छ, त्यसका लागि विभाग र मन्त्रालय धाइरहेका छौँ’, कार्कीले भने । तिहारअघि भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले समेत स्थलगत निरीक्षण गरेको भन्दै यस वर्ष क्षतिपूर्तिको रकम विनियोजन हुनेमा आशावादी रहेको उनले बताए । ‘कतिपय स्थानको छेउछाउमा घरटहरा भए पनि बिचमा काम गरिरहेका छौँ’, कार्कीले भने, ‘स्थानीयसँग आपसी सहमति गरेर भए पनि काम गरेका छौँ ।’ स्थानीयले क्षतिपूर्तिका लागि दैनिक अनुरोध गर्ने गरेको उनले बताए । मुग्लिनबाट नारायणगढतर्फ जाने पहिलो पुलमा जग खन्ने बित्तिकै घरटहरा भत्किने भएका कारण क्षतिपूर्ति नदिँदासम्म काम सुरु गर्न नसकिएको कार्कीले बताए । नाम्सी, रिद्धीखोला, खहरे, खोर, लामोबालुवा, भोर्ले र सिमलताल पुलका छेउमा रहेका घरटहरालाई क्षतिपूर्ति दिनुपर्ने प्रमुख कार्कीको भनाइ छ । विश्व बैंकको ऋण सहयोगमा निर्माणाधिन १५ पुलमध्ये चालु आर्थिक वर्षभित्र १२ वटाको निर्माण सकिने आयोजनाले जनाएको छ । निर्माण पूरा भएका पुल नजिकै सडकमा जोडिएका घरटहरालाई दिने क्षतिपूर्ति भने ऋण सहयोगमा परेको छैन । उक्त क्षतिपूर्ति सरकारले दिनुपर्ने छ । सरकारले त्यसका लागि बजेट निकासा गरेको छैन । आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तिहारपछि पुल निर्माण धमाधम भइरहेका छन् । आयोजना प्रमुख कार्कीले १५ मध्ये १२ पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताए । १९ पुलमध्ये चारवटा यसअघि नै निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो । उनले पाँच पुल निर्माणको काम अन्तिम चरणमा रहेको र घरटहराको क्षतिपूर्ति दिलाउन सके तीन महिनाभित्र सात पुल निर्माण सम्पन्न हुने बताए । तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । समग्रमा १५ पुल निर्माणको काम ६० प्रतिशत सकिएको छ । सडकखण्डअन्तर्गतका पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रिग्दीखोलासम्मका पुल छन् । जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा भरतपुर महानगरपालिकाअन्तर्गत सिमलतालबाट जुगेडीसम्मका पुल पर्छन् । जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन् । यो प्याकेजअन्तर्गत जुगेडीबाहेक अन्य पुलको ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । कार्कीका अनुसार प्याकेज–१ का सातवटा पुल चार सय ४२ मिटर लामा छन् भने प्याकेज–२ का आठ पुल ३ सय ८१ मिटर लामा छन् । पुलको गाडी गुड्ने ठाउँ ७।५ मिटर फराकिलो हुनेछ । दुवैपट्टि १।५ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । ठेकेदार कम्पनीलाई नक्साङ्कनसहित ठेक्का दिइएकाले कूल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ । दुवै ठेक्का एउटै कम्पनीको रहेको छ । पन्ध्र पुलका लागि २०७६ चैत १० गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी ‘अनक कन्स्ट्रक्सन’ले ठेक्का लिएको थियो तर सम्झौताको म्याद सकिन दुई महिनामात्रै बाँकी छ । एक वर्ष म्याद थप गर्ने आयोजनाको तयारी छ । रासस
पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ ल्याउँदै
नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् । नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोेपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चार दिने ‘टुर प्रोडक्ट डेभलपमेन्ट र टिकेटिङ’ तालिम आयोजना गरेर सो घोषणा गरेका हुन् । नाट्टाका केन्द्रीय सचिव युविका भण्डारीले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न तालिम फलदायी हुने उल्लेख गर्दै कोभिड–१९ पछि पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति पलायनको अवस्थाले अभाव बढेको बताए । उनले त्यही अभाव न्यूनीकरणका लागि नेपाल पर्यटन बोर्डको योजनामा मुलुकका विभिन्न ठाउँमा यस्ता तालिम चलाउन थालिएको जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पर्यटननै मुलुकको अर्थतन्त्रका लागि बलियो र स्थायी आधार बन्न सक्ने धारणा व्यक्त गरे । उनले देशको अर्थतन्त्र सवलीकरणमा निजी क्षेत्रको भूमिका रहेको उल्लेख गर्दै तीन प्रदेशका पर्यटन व्यवसायीले तालिमपछि बनाउने टुर प्याकेजमा एकरुपता आउने बताए । नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालमै पहिलोपटक आयोजना गरिएको तालिमले व्यवसायीलाई भ्रमण प्याकेज बनाउन गन्तव्य पहिचानदेखि विश्वभरका गन्तव्यमा जाने पर्यटकका लागि आवश्यक टिकट व्यवस्थापन गर्नसक्ने उल्लेख गरे । सो कार्यक्रममा होटल व्यवसायी महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका उपाध्यक्ष डिल्लीराम रेग्मी, सुदूरपश्चिम अध्यक्ष पवनविक्रम सिंह, नेपाल पत्रकार महासङ्घ बाँकेका सचिव कमल डाँगी, पूर्वअध्यक्ष झलक गैरेलगायतले पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए । तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० टुर अपरेटर सहभागी छन् । नाट्टाका केन्द्रीय सचिव युविका भण्डारी र सुनिल दाहालले तालिमको सहजीकरण गरिरहेका छन् ।
हप्तामा १० मिनेट फुर्तिलो व्यायाम गर्दा ५ सालसम्म उमेर बढ्न सक्ने
एजेन्सी । अहिले धेरैजसो मानिसको जीवन निकै व्यस्त अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा या त हामीलाई व्यायाम गर्ने समय मिल्दैन वा हामी त्यसबाट भाग्छौं। यदि तपाईको पनि यस्तै अवस्था छ भने अमेरिकाको सिड्नी विश्वविद्यालयले तपाईको लागि खुसीको खबर ल्याएको छ । नयाँ अध्ययनका अनुसार हरेक हप्ता मात्र १० मिनेटको कडा व्यायाम गर्दा आयु लामो हुन सक्छ । व्यायाममाथि अनुसन्धान अनुसन्धानकर्ताहरूको टोलीले युके बायोबैंकका ७० हजारभन्दा बढी मानिसको डाटा विश्लेषण गरेको थियो। उनीहरुको उमेर ४० देखि ६९ वर्षको बीचमा थियो र उनीहरुलाई क्यान्सर वा हृदय रोग थिएन। अध्ययनका सबै सहभागीहरूलाई एक्टिभिटी ट्र्याकर लगाउन भनिएको थियो। यससँगै एक सातासम्म उनीहरुको शारीरिक गतिविधिको जानकारी संकलन गरिएको थियो । त्यसपछि वैज्ञानिकहरूले औसत ७ वर्षसम्म सबै सहभागीहरूको स्वास्थ्य रेकर्डलाई फलो गर्ने काम गरे। यस अवधिमा उनीहरुको कडा व्यायाम, क्यान्सर र मुटुरोगजस्ता गम्भीर रोग र मृत्युको सम्भावनाबीचको सम्बन्धलाई निगरानी गरिएको थियो । फुर्तिलो कसरत के हो ? बेलायतको नेशनल हेल्थ सर्भेका अनुसार कडा व्यायाम भनेको कुनै पनि शारीरिक गतिविधि हो, जसमा व्यक्तिको श्वासप्रश्वास छिटो हुन्छ। यस्तो क्रियाकलाप गर्ने व्यक्तिले एकैपटक धेरै शब्दहरू उच्चारण गर्न नसक्ने गरी फेरि बोल्नको लागि बीचमा सास फेर्छ। यसका उदाहरणहरूमा पौडी खेल्ने, पहाडमा साइकल चलाउने, सीढी चढ्ने आदि समावेश छन्। अनुसन्धानको नतिजाले के भन्छ ? बैज्ञानिकहरुका अनुसार आरामका साथ व्यायाम गर्नुको सट्टा जोसका साथ व्यायाम गर्दा मानिसको स्वास्थ्यमा सुधार आउने गरेको पाइएको छ । यदी तपाईं छोटो समयमा छिटो व्यायाम गर्नुहुन्छ भने तपाईंको स्वास्थ्यलाई निकै फाइदा हुन्छ । अध्ययनमा सहभागी व्यक्तिहरू जसले व्यायाम गरेनन् उनीहरुमा ५ वर्ष छिटो मर्ने जोखिम ५ प्रतिशत देखियो भने सोही समयमा हप्तामा एकपटक १० मिनेट फुर्तिलो व्यायाम गर्नेहरुलाई २ प्रतिशत र ६० मिनेट व्यायाम गर्नेहरुलाई १ प्रतिशत मात्रै जोखिम देखियो । भास्कर दैनिकबाट ।
सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरको निर्णय
काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराएकी हुन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिइन् । महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनु भएकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरुमाथि कुनै पनि किसिमको विभेद नहुने पनि बताइन् । ‘महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौं, न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो, कुनै पनि द्वन्द्वको निरुपण गर्ने विधि भनेको मेलमिलाप नै हो, मेलमिलाप गराउनका लागि वडावडामा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ, महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरपण गरिन्छ, अब वडा वडामा एकहप्ता भित्र महिला सञ्जाल गठन गरिसक्न हुन म आग्रह गर्दछु,’ उनले भनिन् । काठमाडौं महानगरपालिकाले यस अघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन् ।
बन्द हुने अवस्थामा प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग
पथरी । पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेकाे प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखिनै घाटामा चल्दै आएको छ । तीन करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहले एक बिघा क्षेत्रफल भाडामा लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् । जैविक मल उद्योग काठमाडौंले उपत्यका बाहिर प्रदेश नं १ शाखा सञ्चालनमा ल्याए पनि प्रदेशमा नै बजार नपाउँदा उद्योग घाटामा चलिरहेको हो । प्रतिघण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहेको उद्योगले माग नभएका कारण वार्र्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ । मलको अभाव र माटोको संरक्षण गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उद्योगले सरकार र स्थानीय पालिकाको सहयोग नपाएका कारण बन्द हुने अवस्थामा पुगेको हो । तर यता सरकारले छठलगत्तै ६० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीले तिहार र छठ सकिए लगत्तै युरिया र डिएपी मल भित्र्याउने कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । पथरी शनिश्चरेका पूर्वनगर प्रमुख दिलीपकुमार राईले वार्षिक १० लाखको मल खरिद गरी किसानलाई वितरण गर्दै आएको थिए । तर उक्त सहयोग पनि नयाँ जनप्रतिनिधि आएलगत्तै रोकिएपछि उद्योग सङ्कटमा परेको छ । सरकारले बाहिरबाट खरिद गर्ने रासायनिक मलको सट्टा जैविक मलको प्रयोग गरे बाहिरिने अर्बौ रुपैयाँ रोकिने उद्योगका सञ्चालक कृष्णचन्द्र महर्जन बताउँछन् । जैविक मलमा सरकारले चासो देखाए, किसानलाई अभिप्रेरित गरे माटोको सुरक्षा र अन्न उत्पादनमा वृद्धि हुने उनले बताए । जैविक मल प्रयोगमा ल्याए किसानको र राज्यको समस्या दुवै हल हुनुका साथै धेरैले रोजगारी पाउने छन् । तर नेपाल सरकारले रासायनिक मल युरिया प्रतिमेट्रिकटन छ सय ९३ डलरले खरिद गर्दैछ । सरकारले बाहिरबाट खरिद गरेर ल्याएको युरिया मल किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको छ । उ द्योगले मल बनाउन धानको ढुटो (ब्रन), प्रेसमड, चिउरीको पिना, तोरीको पिना, हड्डीको धुलो र कृषि चुनको प्रयोग गर्ने गरेको छ । आठ केजी मलले एक कठ्ठा जमिनलाई पर्याप्त हुने बताइएको छ । रासस
भायानेटले छिट्टै आइपीओ जारी गर्ने
काठमाडाैं । इन्टरनेट र टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले छिट्टै आइपिओ जारी गर्ने भएको छ । कम्पनीले यसकाे लागि आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखिसकेकाे छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेटले सन् २०११ मा नेपालमै पहिलो पटक फाइबर–टू–द–होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेकाे थियाे । त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आइपिटिभी सेवाहरूमध्ये एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनाएको छ । उपत्यका र सहर क्षेत्रमा बलियो रूपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ । हाल देशका ३० सहरमा विस्तारित भइसकेको कम्पनीले आगामी दिनहरूमा अझ धेरै शहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ ।
ग्लोबल आइएमई बैंककाे पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन
काठमाडाैं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ । बैंकले पोखरा महानगरपालिकाको वडा नं. १७, बिरौटा र वडा नं. २४, पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।