विकासन्युज

मङ्गलबार लाग्ने चन्द्रग्रहण सामाखुशीको एष्ट्रोनमी क्लबबाट नजिकबाट हेर्न सकिने

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनमी क्लबले देखाउने व्यवस्था मिलाएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ । बेलुकी ५ः२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताउनुभयो । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।

नेपालमा लगानी र प्रविधि ल्याउन सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी र प्रविधि ल्याउन सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई आग्रह गरेकाे छ । महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालसहित महासंघका पदाधिकारीहरूले साेमबार कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनलाई भेटी यस्ताे आग्रह गरेका हुन् । भेटवार्तामा नेपाल कोरियाबीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदान प्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भएकाे छ । सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष ढकालले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए । उनले दुवै देशका निजी क्षेत्र बीचको सम्बन्ध बलियो बन्न सके लगानी, प्रविधि तथा अनुभव समेत ल्याउन सहज हुने बताउँदै निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरे । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागि सो भेटवार्तामा महासंघकातर्फबाट कोरियन उत्पादनमुलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भैरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो । भेटका अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुभव सुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधै तयार रहेको बताए । स्याङगन तीन सदस्यीय प्रतिनिधिमण्डलसँग हाल नेपाल भ्रमणमा रहेका छन् ।

‘यो देशमा एमालेबाहेक कुनै पनि दलसँग मुलुक बनाउने भिजन नै छैन’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ को चुनावमा आफू नेतृत्वको पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । आज बागलुङको बुर्तिबाङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै देश बनाउने योजना, नीति र कार्यक्रम एमालेबाहेक अरु कुनै दलको नभएको बताए । ‘यो देशमा एमालेबाहेक कुनै पनि दलको मुलुक बनाउने भिजन नै छैन, अरुको दलको कसरी सत्तामा पुगौँ र बाँडीचुँडी खाउँ भन्ने छ, अबको चुनावबाट एमालेले एकल बहुमत ल्याउँछ, सबैभन्दा ठूलो दल भन्ने नै भइहाल्यो, हामीले ल्याएका नीति कार्यक्रमलाई कार्यान्वयन गछौँ, अरुले चुनाव जित्नलाई बनाएको अस्त्र मात्रै हो उनीहरुमा त्यो क्षमता छैन,’ अध्यक्ष ओलीले भने । उनले एमालेले एकल बहुमत आए पनि अहिले गठबन्धन गरेका दललाई पनि सरकारमा समावेश गर्ने बताए । देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वाभिमानका लागि एमालेको जीत अनिवार्य रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले आफ्नो सरकार बने सुकुम्बासी, आदिवासी, जनजाति र दलितका समस्या समाधान गर्ने बताए ।

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार

काठमाडाैं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो । फोनपे नेटवर्क मार्फत हाल दैनिक ४ अर्ब बढिको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठुलो परिवर्तन ल्याउँदै जान थालेकोे छ । मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन कम्पनीकाे नगद रहित समाजको परिकल्पनले छाटो समयमै राम्राे नतिजा दिँदा निकै खुशी भएकाे बताए । यसले नगदको प्रयोगमा कमी ल्याउँदै डिजिटल इकोनोमीको बाटोमा अझ रफ्तारमा लगेको उनले बताए । क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय मर्चेन्टहरु समेत उत्साहित देखिन थालेका छन् । काठमाडौ नरेफाँटका किराना व्यवसायी सम प्रसाद आपागाइँ भन्छन्, ‘सुरु सुरुमा त मलाई त्यति पत्यार लागेको थिएन, कसले पो तिर्ला भनेर ? बैंकले नै भनेपछि मर्चेन्ट बने, आजभोली मेरो पसलमा आउने धेरैले क्यूआर मार्फत भुक्तानी गर्नुहुन्छ । यसरी कारोबार भएकोमा म दंग छु, खुद्रा पैसाको झञ्जट नहुने र बैंकमा पनि जान नपर्ने रहेछ, अहिले त मलाई धेरै सहज बनाएको छ यसले ।’ यता आम प्रयोगकर्तालाई पनि यसले सहज बाएको ग्राहकको अनुभव छ । भक्तपुरकी गृहणी जमुना भट्टराईको अनुभव छ, ‘श्रीमानले हरेक महिना घर खर्चको लागि बैंकमा पैसा राखिदिनुहुन्छ, मलाई तरकारी देखि फलफुल, मासु सबै किन्न पैसा बोक्न पनि परेन, खुद्रा भएन भन्न पनि परेन यसले निकै सजिलो बनाएको छ ।’ नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आवद्ध छन् । एक करोड ७० लाखभन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।

सातै प्रदेशमा विस्तार हुँदै मेडिसिटी अस्पताल, साकार हुँदै डा. महतोको सपना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानीमा ललितपुरको नख्खुमा निर्माण भएको मेडिसिटी अस्पतालले ०७४ असोजदेखि उपचार सेवा शुरु गरेको हो । ३० रोपनी क्षेत्रफलमा १२ अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भएको अस्पतालले उपचार सेवा प्रारम्भ गरेको ५ वर्ष पुरा गरिसकेको छ । विशाल भौतिक संरचना र क्षेत्रफलमा फैलिएको अस्पतालले सातै प्रदेशमा स्याटेलाईट अस्पताल विस्तारको प्रकृया अगाडि बढाएको छ । अस्पतालका लगानीकर्ता उपेन्द्र महतोले सेवा प्रारम्भको अवसरमा आफ्नी आमाले उपचारको अभावमा ज्यान गुमाउनुपरेको र कयौं नेपालीको सोही स्थिति रहेको  अनुभवमा आफूले सो अस्पताल निर्माण गरेको बताएका थिए । नेपालको स्वास्थ्य क्षेत्रमा एउटै अस्पतालमा धेरै ठूलो लगानीका साथ सुरु गरिएको सो अस्पताललाई दक्षिण एसियाकै राम्रो अस्पताल बनाउने योजना महतोको छ । अस्पतालले उपलब्ध गराउने सेवा ७ सय ५० बेड क्षमता रहेको अस्पतालले ५ वर्ष पुरा गर्दा ३ सय ५० बेडलाई सञ्चालनमा ल्याएको छ । जसमा साधारण, सेमी–प्राइभेट, प्राइभेट र आइसियु बेड रहेका छन् । संरचनात्मक रुपमा हेर्दा अस्पतालले बाँकी अझै ४ सय बेड विस्तार गर्ने क्षमता राख्छ । अस्पतालले आकस्मिक, ओपीडी र रिफरल सेवा उपलब्ध गराउँदै आएको छ । अहिले अस्पतालमा दैनिक रुपमा औसत ६ सय देखि १ हजार सम्मको संख्यामा बिमारीहरु ओपीडी सेवा लिन आउने गरेका छन् । जसको दर्ता शुल्क ८ सय २५ रुपैयाँ लिने गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमा संख्या र शुल्कमा यो झण्डै मिल्दोजुल्दो रहेको देखिन्छ । ओपिडी सेवा बिहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन हुने गरेको छ । ‘एक अस्पताल एक डाक्टर’ को अवधारणालाई मेडिसिटीले अंगिकार गरेको छ । अहिले अस्पतालमा १ सय ५० जना कन्सल्ट्यान्ट डाक्टर, ४ सय जना भन्दा धेरै नर्स र ४ सय भन्दा धेरै कर्मचारीहरुले काम गर्दै आएका छन् । जसमा ८० प्रतिशत भन्दा बढी डाक्टरहरु सोही अस्पतालमा मात्रै कार्यरत रहेर सेवा प्रवाह गर्दै आएको अस्पतालले जनाएको छ । जसले गर्दा अस्पतालमा उपचार गर्न आउने बिमारीहरुले २४सै घण्टा कन्सल्टेन्ट सेवा पाउने अवस्था रहेको छ । तर, केही विषयगत उपचारमा अर्थो, लगायत केही विषयगत कन्सल्टेन्ट भने अस्पतालले पार्ट टाइम रुपमा खरिद गरेको छ । अस्पतालले १७ वटा उपचारका विषयमा केन्द्र तथा विभाग बनाएर उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा डाइग्नोस्टिक मेडिसिन, न्यूरोसाइन्स, कार्डिया साइन्स, डाइजेस्टिभ डिजेज, अर्थोपेडिक, मदर एण्ड चाइल्ड केयर, रेनल साइन्स, क्यान्सर केयर, इएनटी हेड निक सर्जरी, इन्टरनल मेडिसिन–इन्डोक्राइनोलोजी एण्ड वेलनेस, पेरी अपरेटिभ मेडिसिन, इमर्जेन्सी मेडिसिन एण्ड प्रि–हस्पीटल केयर र साइकोथेरापी एण्ड रिहाबिलेसनलाई उपचार सेन्टरको रुपमा रहेका छन् । त्यस्तै डामार्टोलोजी, डेन्टीस्ट्री, ओप्थोमालोजी र साइकाट्रीलाई अस्पतालले विभागको रुपमा सञ्चालन गर्दै आएको छ । अस्पतालको विशेष सेवा मेडिसिटी अस्पतालले अपेक्षित रुपमा द्रुत गतिमा विकास नगरेको देखिएतापनि केही उपचार सेवाको केही विषयमा तुलनात्मक रुपमा विकसित नयाँ गरेको बताउँछ । एउटै छातामुनी सबै स्पेशियालीटी सुविधा दिने उद्देश्यलाई प्रमुखताकासाथ अवलम्बन गरेर काम गर्दै आएको अस्पतालको दाबी रहेको छ । भर्खर केही समयअगाडि मात्रै अस्पतालले मृगौला प्रत्यारोपण गर्ने अधिकार प्राप्त गरेको छ । तर, अब केही समयमा नै सो सम्बन्धी सेवा सुचारु गर्ने तयारी गरेको छ । मेडिसिटीले ठूलो लगानीमा ‘ए’ लेभलको प्रयोगशाला निर्माण गरेर सञ्चालन गरिरहेको छ । अन्य धेरै सुविधाकासँगै ‘फ्लो साइटोमेट्री’ ल्याब अस्पतालले सञ्चालनमा ल्याएको छ । त्यसको सञ्चालनका लागि अस्पतालले विशेषज्ञहरुको समेत व्यवस्था गरेको छ । यो ल्याबले क्यान्सर रोगबारे अनुसन्धान गर्न सहयोग पुर्याउँछ । अस्पतालले एफ्रेसिस (APHERESIS) प्लाज्मा थेरापी सुविधा सञ्चालनमा गरेको छ । जुन थेरापी गम्भिर रोगहरुको उपचारमा गर्ने गरिन्छ । तत्कालिन प्रधानमन्त्री केपी ओली मृगौलामा समस्या देखिएपछि प्लाज्मा थेरापीको लागि सिंगापुर गएका थिए । अस्पतालले आइसियु उपचारमा अन्तर्राष्ट्रिय उपचार मापदण्डअनुसार सम्पूर्ण केयर गर्ने पद्दतीलाई लागु गरेको छ । जहाँ बिमारीको उपचार, स्याहारसुसार र खानपिनको काम अस्पताल कर्मचारीबाट नै गर्ने गरिन्छ । आइसियु उपचारमा रहेको बिमारीलाई खानाको व्यवस्था समेत अस्पतालले नै गर्ने गर्छ, बाहिरबाट लैजान पाईंदैन । यस्तो सुविधा अन्य केही निजी अस्पतालहरुले पनि गर्ने गरेका छन् । अस्पतालले फेटल मेडिसिनको सञ्चालन गरेको छ । यो सेवामार्फत गर्भमा रहेको शिशुको विकास कसरी भइरहेको छ र स्वास्थ्य कस्तो अवस्थामा छ भन्ने विषयमा अनुसन्धान गरिन्छ । अस्पतालले यसको लागि प्राविधिक र जनशक्तिको व्यवस्था गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तथा प्रवक्ता जयन्द्र बज्राचार्यका अनुसार यो सुविधा नेपालको हकमा नयाँ हो । दुर्घटना अथवा हेलिकप्टरमार्फत आकस्मिक सेवा लिन पर्ने बिमारीहरुलाई मध्यनजर गरेर अस्पतालले हेलिप्याडलाई सञ्चालनमा ल्याएको छ । यस्तो सुविधा सिमित अस्पतालहरुमा मात्रै पाउने अवस्था रहेको छ । पछिल्लो समय अस्पतालले क्यान्सरका रोगीहरुलाई लक्षित गरेर ‘मेडिसिटी अंकोलोजी सेन्टर’को विकास गरेको छ । जसको लागि भिन्दै फ्ल्याट संरचनाको व्यवस्था गरिएको छ । क्यान्सर रोगीहरुलाई मेडिकल अंकोलोजीको सेवा प्रदान गर्दै आएको अस्पतालले छिट्टै नै बोनम्यारो ट्रान्सप्लान्ट र रेडियोथेरापी प्रविधि सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ । क्यारोप्याट्रिक उपचार पनि मेडिसिटीले शुरुवात गरेको नयाँ उपचार सेवा हो । डा. बज्राचार्यका अनुसार नन रिफरल सेवा नै मेडिसिटीको अन्यको तुलनामा नयाँ विशेषता हो । उनले अस्पतालले सबै कुराको उपचार गर्ने हुँदा बिमारीले सम्पूर्ण उपचार अस्पतालबाट नै प्राप्त गर्न सक्छ । अनुसन्धानमा सहकार्य मेडिसिटीले आफ्नो क्षमता विस्तारको लागि सहकार्यलाई पनि जोड दिँदै आएको छ । त्यसका लागि देशभित्रका विभिन्न मेडिकल कलेज, अनुसन्धानकर्ता र विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गरिरहेको छ । नेपाल इन्टेन्सिभ केयर फाउन्डेसन’सँग पनि अनुसन्धानमा सहकार्य गर्ने गरेको छ । जसले आइसियुमा आधारित उपचार पद्दतीको विषयमा अनुसन्धान गर्ने गरेको छ । त्यस्तै, अस्पतालले काठमाडौं उपत्यका र बाहिरका केही अस्पताल तथा क्लिनिकहरुमा उपचारको लागि सहकार्य समेत गर्दै आएको छ । बीमा, जेष्ठ नागरिक तथा विपन्न उपचार सेवा अस्पतालले नेपाल सरकारद्वार सञ्चालित स्वास्थ्य बीमा बोर्डको कार्यक्रम सञ्चालन गरेको छैन । तर, घातक रोगहरुमा जेष्ठ नागरिक र विपन्नले उपचारमा पाउने सहुलियत कार्याक्रमलाई भने सञ्चालन गर्दै आएको छ । त्यस्तै अस्पतालले भारतीय सेनाका पूर्व सैनीकहरुको उपचारमा सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमसँग जोडिएर ठूलो संख्याका बिमारीहरुले अस्पतालबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ । अस्पतालले उपचार सेवा प्रारम्भको प्रकृयामा प्रिमियर इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको थियो । तर, सो कार्यक्रम त्यति प्रभावकारी नदेखिएको जनाएको छ । आगामी दिनमा स्वास्थ्य बीमा प्याकेज ल्याउने विषयमा पनि छलफल प्रारम्भ भएको अस्पतालले जनाएको छ । देशव्यापी विस्तार हुँदै मेडिसिटी निजी क्षेत्रबाट सञ्चालन गरिएका अस्पतालहरु पनि एक प्रकारका सेवामुखी व्यवसाय हुन् । नाफा आर्जन नगरी ती व्यवसायहरु लामो समयसम्म सञ्चालन हुन वा टिक्न सक्दैनन् । त्यसमा पनि दक्षणि एसिया स्तरकै अस्पताल बनाउने भनेर शुरु भएको मेडिसिटीले किन तुलनात्मक रुपमा गति लिन सकेन रु भौतिक पूर्वाधार, प्रविधि र जनशक्तिको अनुपातमा मेडिसिटी अस्पतालको व्यवसाय भने मिल्दोजुल्दो देखिँदैन । सेवा प्रारम्भबाट ५ वर्षको अवधिसम्म आइपुग्दा कतिपय प्रविधि सञ्चालन गर्ने कुरामा अस्पतालले ढिलाई गरेको स्वयम् अस्पताल पनि स्वीकार्छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तथा प्रवक्ता  बज्राचार्यका अनुसार कपितपय प्रविधिको जडानमा लागत धेरै हुने हुँदा पनि ढिलाई भएको हो । अस्पतालले स्थापनाकालदेखि निरन्तर रुपमा प्रविधि र सेवाको पाटोमा विकास गर्दै गएकाले विकास नभएको भन्न नमिल्ने बताए । ‘अस्पताल शुरु गरेपछि धेरै सर्भिस थपेका छौं, ट्रान्सप्लान्ट शुरु गरेका छौं, यो प्रगति नै हो’, डा. बज्राचार्यले बताए । अस्पतालले रेडियोलोजी सेवा थप्ने तयारी गरेको तर ढिलाई हुनुको कारण लागत बढी भएको डा। बज्राचार्यले बताए । ‘रेडियोथेरापीको सञ्चालनका लागि धेरै लगानी लाग्छ, त्यसको लागि सरकारले पनि सुविधा दिनुपर्छ’, उनले भने, ‘लगानी धेरै हुने कारणले नै ढिला भएको हो ।’ रेडियसन कन्ट्रोल हुने ठाउँ सरकारले नै बनाउने वा बनाउनेलाई सहयोग गर्नुपर्ने उनले बताए । संस्थाको आर्थिक पाटोको विषय ‘प्राइभेसी’को कुरा भएकाले सो सँग सम्बन्धित विकासको अवस्थाको विषयमा आँफूले बताउन नमिल्ने उनले बताए । तर, मेडिसिटीले ७ प्रदेशमा आफ्नो स्याटेलाइट अस्पताल विस्तार गर्ने कार्यक्रम अगाडि बढाएको उनले बताए । सोही क्रममा वीरगञ्जको वयोधा अस्पताल प्राप्ति गरिएको डा‍.बज्राचार्यको भनाइ छ ।

लुम्बिनी बिकास बैंकले नेशनल प्याब्सन मधेश प्रदेश समितिकालाई बीमा सेवा दिने

काठमाडाैं । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबीच सम्झौता भएको छ । बैंक र विद्यालयबीच सेवा सुविधा आदान प्रदान गर्ने सम्झाैता भएकाे हाे । सो सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आवद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीलाई लुम्बिनी विकास बैंकले दुर्घटना बीमाका साथै स्वास्थ्य बिमा सुविधा प्रदान गर्ने छ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका छन् । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ ।  

एसियाली विकास बैंकले नेपालकाे ओखर र फलफूलमा ९ अर्ब लगानी गर्ने

काठमाडौं । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब एक अर्ब ३० करोड अनुदान व्यहोर्ने छ । परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट एक अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब एक अर्ब ८८ करोड लगानी गर्नेछ । उक्त परियोजनाबाट प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । सम्झौता अनुसार, जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइनेछ ।

पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रन्छौं : लगानीकर्ता

काठमाडौं । सेयर लगानीकर्ताको साझा ९ संस्थाले पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रिने जनाएका छन् । सोमबार विज्ञप्ती जारी गर्दै ९ संस्थाले यस्तो बताएका हो । उनीहरुले माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारबाट अन्य निकायहरुद्धारा चालिएका कदमहरु रोक्ने काम भए ५८ लाख लगानीकर्ताको तर्फबाट सबै संघ संस्थाहरु सडकमा उत्रने विज्ञप्तिमार्फत जनाएका छन् । नेपालको पूँजी बजारलाई सिमित व्यक्ति र संस्थाले पकडमा मात्र राखिरहन खोज्दा ४० खर्बभन्दा बढीको पूँजीकरण अहिले २८ खर्बमा झरेको र लाखौ लगानीकर्ता पलायन हुन बाध्य भएको जारी उनीहरुको भनाइ छ । अहिले हुन लागेका सुधार र विस्तारको काम रोकिए नेपालको पूँजी बजारले झन ठुलो क्षति  भोग्नुपर्ने र वर्षै पछाडि धकेलिने बताउँदै उनीहरुले विरोध सिर्जना नगरी लगानीकर्ताको लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्न माग गरेका छन् ।