सातामै २१ अर्बले बढ्यो निक्षेप, घट्यो कर्जा लगानी र सीडी रेसियो
काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । नेपाल बैंकर्स एशोसिएसन (एनबीए)का अनुसार कार्त्तिको तेश्रो सातामा बैंकहरुको निक्षेप २१ अर्बले बढेको हो । दोश्रो साता ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो साता बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । जुन कार्त्तिको पहिलो सातामा भने ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । समीक्षा अवधिमा निक्षेप बढेपनि कर्जा लगानी भने घटेको छ । दोश्रो साता ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले तेश्रो सातामा ४२ खर्ब २४ अर्ब रुपैयाँमा सीमित भएका छन् । जुन पहिलो साता भने ४२ खर्ब २५ अर्ब रुपैयाँ थियो । असोजको अन्तिम सातामा बैंकहरुले ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । समीक्षा अवधिमा बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८७.२१ प्रतिशतमा सीमित भएको छ । अघिल्लो साता उक्त रेसियो ८७.५८ प्रतिशतमा थियो ।
जाडो सुरु हुन थालेपछि डेङ्गु सङ्क्रमण ह्वातै घट्यो
काठमाडौं । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ । वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए । अहिले त्यो सङ्ख्या निकै घटेको छ । गत मङ्गलबार यही कात्तिक १५ देखि कात्तिक २० गते सम्म छ सय २४ जनामा मात्र डेङ्गुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जवकी अंग्रेजी महिना अक्टोबरमा ९गत असोज १५ देखि कात्तिक १५ सम्म मा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेङ्गुको सङ्क्रमण विगत दुई हप्तादेखि घटेको बताए । उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेङ्गुका बिरामी घटेको बताए । महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा गोकर्ण दाहालले जनवरीदेखि ३७औँ हप्तासम्म डेङ्गुको सङ्क्रमण बढेको र त्यसपछि ३८औँ हप्तादेखि घटन सुरु भएको जानकारी दिए । उनका अनुसार ४३औँ हप्तामामा हजारभन्दा कमको सङ्ख्यामा डेङ्गुका बिरामी भेटिएका छन् । ४४औँ हप्तामा आइपुग्दा छ सय २४ जनामा मात्र डेङ्गुको सङ्क्रमण देखिएको छ । उनले अवको १५ दिनभित्र यो सङ्ख्या निकै कम हुने बताए । महाशाखाका निर्देशक डा दासका अनुसार सङ्क्रमण दर उच्च भएको बेला नेपालमा डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ चार प्रकारका देखिएका थिए । महाशाखाका निर्देशक डा दासले सङ्क्रमण अघि गरिएको १२ वटा नमूनामा सात वटामा डेङ्गु–१ र पाँच वटा नमूनामा डेङ्गु–३ देखिएको जानकारी दिए । अहिले फेरि कुन तहको डेङ्गु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ । त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी रहेका छन् । तीमध्ये तीन जना सघन उपचार कक्ष आइसियु र छजना साधारण शय्यामा उपचाररत रहेका छन् । अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसे विगत १५ दिनदेखि डेङ्गुका बिरामी आउनेको सङ्ख्यामा कमी भएको बताए । उनले जाडो भएसँगै डेङ्गुको सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेङ्गुका बिरामी घटेको बताउँछन् । उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी घटेको बताउनुहुन्छ । अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरेपनि अहिले त्यो सङ्ख्या घटेको छ । साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्दथ्यो । नेपालमा यसवर्ष सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका हुन् । यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेङ्गुका बिरामी भेटिएका छन् । तीमध्ये ५४ जनाको डेङ्गुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले डेङ्गुका बिरामी घटेको बताउँछन् । उनका अनुसार अहिले २० जना मात्र डेङ्गुका बिरामी उपचारत रहेका छन् । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेङ्गु बढेको पाइन्छ । तिमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेङ्गुको रोग लाग्ने गर्दछ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको थियो ।
मंसिर १४ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान हुने
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० मङ्सिर १४ गते यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । जनवरी १ पुस १७ गते देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन हुने बताए । ‘जनवरी १ देखि पोखरा विमानस्थल सञ्चालनमा आउँछ, तर उडान सङ्ख्या तत्कालका लागि सीमित हुनेछ’, उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको सुनिश्चितता जरुरी हुन्छ ।’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । एरो थाईको जहाजबाट यान्त्रिक उडान यान्त्रिक उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यसका लागि २५ तारिखमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउनेछ । उक्त जहाजले यान्त्रिक उडानमार्फत् विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेको चेकजाँच गर्नेछ । एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ । सोही कम्पनीले गत वर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो । चराविज्ञले छोटो रिसर्च गरी चराचुरुङ्गी अनुकूल उडान हुने गरी सुरुवातमा रातिको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना छ । हालको आन्तरिक विमानस्थल दिउँसो र अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान गर्ने योजना रहेको महानिर्देशक अधिकारीले बताए । ‘विमानस्थल नजिकै ‘डम्पिङ साइट’ र चरा बासस्थानबारे विज्ञहरुबाट ‘असिसमेन्ट अडिट’ गरी साँझ परेपछि सञ्चालन गर्ने वा उपयुक्त वातावरणमा सञ्चालन गर्ने निर्णय हुनेछ । चराचुरुङ्गीको गतिविधि कम हुने मौसममा विमानस्थलमा उडान गरिनेछ ।’ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रवद्र्धधन गर्ने सरकारी लक्ष्य छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरामा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि बढाउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । उक्त विमानस्थल सञ्चालन भएसँगै पोखरा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालमा सिधा जोडिनेछ । करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी हुने प्राधिकरणको भनाइ छ । विमानस्थलमा हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । एटिसी टावर, सातवटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोभिड १९ महामारी लगायतका कारण निर्माण सम्पन्न हुने केही समय ढिलाइ भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसीले विमानस्थल निर्माण गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको मापदण्डअनुसार ‘फोरडी मोडल’मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्नेछ । विमानस्थलमा तीन वटा न्यारोबडी, चार वटा एटिआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ । रिट्ठेपानी डाँडा कटान सुरु ठूला जहाजको उडान एवम् अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थल नजिकै पर्ने रिट्ठेपानी डाँडा कटानको कार्य आजदेखि सुरु भएको प्राधिकरणले जनाएको छ । डाँडा कटानका लागि आवश्यक टेन्डर प्रक्रिया पूरा गरी काम सुरु गरिएको प्राधिकरणका महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । दुई हप्तामा १४ मिटर डाँडा काटेर यान्त्रिक उडान गर्ने विमानस्थलको योजना छ । आयोजना प्रमुख मुनाकर्मीका अनुसार आइकाओ मापदण्डअनुरुप जहाज उडान एवम् अवतरण गर्ने मार्गमा अवरोध हुनु हुँदैन । रिट्ठेपानी डाँडा धावनमार्गको ‘अप्रोच’मा पर्छ । धावनमार्गमा ‘४० मिटर ‘अप्स्ट्र्याकल’ परेकाले रिट्ठेपानी डाँडा काटेर समतल बनाइने उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोचबाट उडान तथा अवतरण हुनेछ । डाँडा कटान भएपछि दुवै खाले उडान सहज हुनेछ । रासस
कुमारी बैंकको रणनीति : मर्जरपश्चात् ‘नम्बर वान’ बन्ने, पुसभित्रै एकिकृत कारोबार
काठमाडौं । कुमारी बैंकको वार्षिक साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जानका लागि अख्तियारी दिएको छ । बैंकको सोमबार भएको २२औं वार्षिक साधारणसभाले विशेष मर्जरमा जानका लागि अख्तियारी दिएको हो । कुमारी र एनसीसी बैंकले गत असोज ९ गते मर्जर सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार कुमारी बैंकको साधारणसभाले मर्जरको सम्झौता अख्तियारी दिएको हो । दुवै बैंकले मर्जरका लागि राष्ट्र बैंकबाट स्वीकृति पनि पाइसकेका छन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको थियो । दुबै बैंकले पुस १७ गतेभित्र एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । एनसीसी बैंकले पनि मर्जर सम्झौता पारित गर्नका लागि मंसिर २ गते साधारणसभा बोलाएको छ । यस्तै, सोमबार बसेको बैंकको साधारणसभाले लाभांश पनि पारित गरेको छ । साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने धारणा राखे । ‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डिडिए रिपोर्ट आउँछ,’ उनले साधारणसभामा उठेका प्रश्नको जवाफ दिँदै भने । यस्तै, उनले कुमारी बैंकले राष्ट्र बैंकले प्राथमिकतामा राखेको क्षेत्रमा फोकस गरेर कर्जा प्रवाह गरिरहेको बताउँदै आजको दिनमा कुमारी बैंक सुरक्षित रहेको पनि धारणा राखे । उनले अब भोलिदेखि नै सेयरधनीकोे खातामा लाभांशको रकम जम्मा गर्ने बताउँदै आगामी दिनमा सकेसम्म बढी लाभांश वितरणमा ध्यान दिने बताए । ‘बैंककाे क्यापिटल एडुकेसी १३ प्रतिशत पुगेको छ, राष्ट्र बैंकको नीति अनुसार ११ प्रतिशत भए पुग्छ, यस पटक तरलता सहज पार्नका लागि नगद लाभांश दिएको हौं, आगामी दिनमा पनि लाभांशको दर बढाउँदै जाने हाम्रो योजना छ,’ अध्यक्ष राणाले भने । उनले ठूला बैंकहरुसँग प्रतिस्पर्धा गर्नैका लागि भएपनि मर्जर सम्झौता गरेको धारणा राखे । उनले अब कुमारी बैंक नम्बर वान बैंक बन्ने रणनीतिका साथ अगाडि बढेको उनको धारणा छ । उनले कुमारी बैंकले दिनप्रतिदिन प्रगति गर्दै गएको धारणा राख्दै एनसीसी बैंकसँग मर्जरपश्चात नम्बर वान बैंक हुने किसिमले काम हुने बताए । ‘विगत दुइ वर्षसम्म कमजोर रहेको बैंक अहिले टप टेनमा छौं, अब नम्बर वान बैंक बन्ने लक्ष्य हो, यसलाई छिट्टै पूरा गर्ने छौं,’ उनले भने । दुई बैंक मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारीका सीईओ रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । यस्तै, गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस्तै, कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कूल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । यस्तै, कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ र एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यस्तै, गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बिजनेसमा बढ्दो ग्राफ बैंकको विगतका वर्षहरुको वित्तीय परिसूचकहरु सकारात्मक, व्यवस्थित तथा प्रगति उन्मुख रहेका छन् । हालका वर्षहरुमा आएर निष्क्रिय सम्पत्तिहरू निक्कै नै व्यवस्थित भएको छ भने बैंकको व्यापार व्यवसायहरु जोखिमको उचित मूल्यांकन गर्दै सीमित दरमा वृद्धि भैरहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा, निक्षेप तथा लगानी क्रमशः १०.९० प्रतिशत, १६.४० प्रतिशत र १.५० प्रतिशतले वृद्धि भई १५९ अर्ब ४४ करोड, १८२ अर्ब ९६ करोड र २३ अर्ब ४२ करोड रुपैयाँ पुग्न गएको छ । यसैगरी खुद ब्याज आम्दानी २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने संचालन खर्च कुल ११.२९ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ हुन पुगेका छ । आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा २५.५२ प्रतिशतले बृद्धि भई ४ अर्ब ३६ करोड रुपैयाँ हुन पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड रुपैयाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि राम्रो प्रगति गरेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कुमारी बैंकको कुल कर्जा १ खर्ब ४३ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षको अन्त्यमा १०.९० प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ पुगेको देखिन्छ । बैंकले आफ्नो कर्जा तथा सापटीलाई विविधिकरण गर्दै व्यक्तिगत कर्जा, शिक्षा कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, कृषि तथा उत्पादनशील कर्जा, विपन्न वर्ग कर्जा, संस्थागत कर्जा तथा विकास परियोजना क्षेत्रमा कर्जा प्रदान गर्दै आएको विभिन्न तथ्यांकहरुले देखाउँछ । समीक्षा अवधिमा बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.११ प्रतिशत रहेको छ । समीक्षा वर्षमा कर्जा लगानीमा वृद्धि भएता पनि उल्लेख्य मात्रामा समस्याग्रस्त कर्जाहरुको असुली भएको बैंकले जनाएको छ । बैंक आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा तथा लगानीबाट प्राप्त ब्याज आम्दानी ४३.६६ प्रतिशतले वृद्धि भई १८ अर्ब ३५ करोड रुपैयाँ पुग्न गएको छ भने ब्याज खर्च ५७.६५ प्रतिशतले वृद्धि भई १२ अर्ब १३ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी करिब २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको बैंकको संचालन नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५.५२ प्रतिशतले वृद्धि भई ४ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड ७ लाखरुपैयाँ रहेको कमाुरीको खुद नाफा आर्थिक वर्ष. २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्ता छन् बैंकको वित्तीय योजना बैंकले आगामी दिनमा थप शसक्त रुपमा अघि बढ्नका लागि विभिन्न वित्तीय योजनाहरु अगाडि सारेको छ । बैंकले चालू आर्थिक वर्षमा बैंकको कर्जा तथा लगानी क्रमशः १३.०९ प्रतिशत र ६०.३४ प्रतिशतले वृद्धि गरि १८० अर्ब ३१ करोड रुपैयाँ र ३७ अर्ब ५५ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । यसैगरि बैंकको कुल निक्षेप ६.३३ प्रतिशतले वृद्धि गरी १९४ अर्ब ५४ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । बैंकको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत तथा अन्य संचालन खर्च ८.१७ प्रतिशतले वृद्धि भै क्रमशः ७ अर्ब ३६ करोड र ३ अर्ब ८४ करोड रुपैयाँ रुपैयाँ पुग्ने अनुमान बैंकको छ । बैंकको संचालन मुनाफा १७.४३ प्रतिशतले वृद्धि गरी ५ अर्ब १३ करोड पुग्ने अनुमान रहेको छ । यस्तै, समीक्षा वर्षमा बैंकको निष्क्रिय कर्जा अनुपात बिगत वर्षभन्दा केहि वृद्धि भई १.११ प्रतिशतमा रहेको छ । चालू वर्षमा निष्क्रिय कर्जाहरु असुली गराउने तर्फ प्रयास भई रहेको छ । यस प्रकार चालु वर्षमा बैंकको खुद मुनाफा २८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३० करोड २२ लाख पु¥याउने लक्ष्य कुमारी बैंकको छ । यस्तै, बैंकलाई सवल र सुदृढ बनाउन बैंकको सम्पत्तीको गुणस्तर वृद्धि गर्ने र यसलाई कायमै राख्ने, बंैकको कर्मचारीहरुको उत्पादकत्व वृद्धि गर्ने, बैंकलाई नाफामुखी बनाउनुका साथसाथै ग्राहकहरुलाई सर्वसुलभ गुणस्तरीय सेवा पु¥याउने यस बैंकका योजना रहेको अध्यक्ष राणाको भनाइ छ । ग्राहकहरुको जीवन सरल र सुलभ बनाउन आधुनिक सेवा तथा सुविधाको विकास गरी वित्तीय क्षेत्रको सुधारमा योगदान पु¥याउने, वित्तीय पहुँच नभएको जनसंख्यालाई बैकिङ्क परिधिभित्र ल्याउने, साना तथा मझौला व्यवसायहरुलाई ऋण प्रदान गरी देशको समग्र आर्थिक विकासमा टेवा पु¥याउने यस बैंकको कार्य योजना बैंकको छ । देशको परिस्थितिलाई मध्यनजर गर्दै थप शाखाहरु विस्तार गर्दै जाने, बैंकको उपस्थिति नभएका क्षेत्रहरुमा कुमारी मोवाईल बैंकिङ्ग, शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैंकिङ्ग सेवा उपलब्ध गराउने, आफ्नो प्रविधि तथा सेवालाई विस्तार गरी प्रतिस्पर्धात्मक बैंकिङ्ग सेवा उपलब्ध गराउने कार्यक्रमहरु तथा योजनाहरु बैंकले अघि सारेको छ ।
निर्माण उपकरणमाथिको आक्रमण नरोकिए महासंघले देशव्यापी आन्दाेलन गर्ने
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिए देशव्यापी आन्दाेलन गर्ने जनाएकाे छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् । उनले राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा कात्तिक १४ गतेका दिन ओखलढुंगा जिल्लामा पर्ने वाङगेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको एस्काभेटरमा आगजनी गरिए बताउँदै उक्त आक्रमणको भत्सर्ना गरेका छन् । ‘शान्तिपूर्ण र सुरक्षित वातावरण बिना विकास निर्माणका काममा गम्भीर असर पर्ने मात्र नभई निर्माण उद्योग समेत धाराशायी हुने र यसमा आवद्ध हजारौ व्यवसायी पेशाबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ, विगतमा झै हाम्राे सहिष्णुतालाई कमजोरीको रुपमा लिए देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको माग सहित देशव्यापी प्रदर्शनमा उत्रन बाध्य हुनेछाैं,’ विज्ञप्तिमा भनिएकाे छ । विज्ञप्तिकाे अनुसार ओखलढुंगा निर्माण व्यवसायी संघका सदस्य सृजनशील कन्स्ट्रक्शन काठमाडौंको स्वामित्वमा रहेको बा ३ क ४३०६ नम्बरको एस्काभेटरम चिसङ्खगढी गाउँपालिका वडा नम्बर-२ मा अज्ञात समुहबाट आगजनी भएकाे थियाे । महासंघले पीडित निर्माण व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिलाउन र घटनामा संलग्न आपराधिक समुहलाई कडा कानूनी कारबाहीकाे लागि सरकारसँग माग पनि गरेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक र दराजबीच दराजको ११ः११ अफरमा बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराज अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म भएका छन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दैआएको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
सेयर बजारमा दुई अर्बको कारोबार, सबैभन्दा धेरै कमाउने र गुमाउने दुवै लघुवित्त
काठमाडौं । सोमबार सेयर बजार ६.४३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घट्दा सेयर विन्दु १९५२.९४ मा पुगेको छ । नेप्सेको अनुसार केही अंकले घटेको सेयर बजारमा कारोबार रकम भने उच्च देखिएको छ । आज ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, सबैभन्दा कमाउन र गुमाउनेमा दुवै लघुवित्त रहेका छन् । सबैभन्दा बढी कमाउनेमा धौलागिरी लघुवित्त रहेको छ भने गुमाउनेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ ।
नेप्सेको डाटा प्रयोग गर्न २ लाखसम्म तिर्नुपर्ने, कसले कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ‘तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७९’ सार्वजनिक गरेको छ । आफ्नो तथ्यांकलाई सुरक्षित र भरपर्दो बनाउनको लागि नेप्सेले कार्यविधि मार्फत शुल्क तोेकेर काम गर्न लागेको हो । कार्यविधिका अनुसार अब विभिन्न व्यक्ति तथा संघ संस्थाले नेप्सेको तथ्यांक प्रयोग गर्नको लागि शुल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेन्ट कम्पनी, सञ्चार माध्यम, तथ्यांक वितरक, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्था लगायत विदेशी कम्पनी वा व्यक्तिले नेप्सेको तथ्यांक प्रयोग गर्नको लागि तोकिएको शुल्क तिर्नुपर्ने भएको हो । कार्यविधिमा उल्लेख गरिएअनुसार अब विभिन्न व्यक्ति तथा संस्थाले एक मिनेटदेखि ५ वर्षसम्मको समयावधि तोकेर शुल्क निर्धारण गरेको छ । नेप्सेले व्यक्ति तथा संस्थालाई मासिक न्यूनतम एक हजार रुपैयाँदेखि ५ वर्षसम्म अधिकतम २ लाख रुपैयाँसम्म शुल्क तोकेको छ । उक्त शुल्क तथ्यांक प्रयोगकर्ताले नेप्सेलाई अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । सबै घाटा र खर्चहरुको क्षतिपूर्ति दिनुपर्ने दोश्रो पक्षले प्रयोग गरेको प्रणालीको कारणले प्रथम पक्षका प्रणालीमा क्षति पुगेमा वा आफ्नो तर्फबाट भएको सम्झौताको शर्तहरुको उल्लंघनबाट अर्को पक्षलाई हानी पुग्न गएमा सबै घाटा र खर्चहरु क्षतिपूर्ति दिनु पर्नेछ । कुनै वारेन्टी तथा ग्यारेण्टी नरहने नेप्सेले तथ्यांक जे जस्तो छ सोही अवस्थामा प्रदान गरिने कार्यविधिमा उल्लेख छ । यस्तो छ कार्यविधि [pdf id=362576]