विकासन्युज

कुमारी बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ३० लाख थान ऋणपत्र कार्त्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो । ‘१० प्रतिशत केबीएल डिबेन्चर २०८९’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै कार्त्तिक २९ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

दुर्गम गाउँका मतदाताको पीडा : भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँँदैनन्

गुमेला । चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दसैँ तिहारकै जस्तो रमाइलो वातावरण छ । विदेश तथा स्वदेशका विभिन्न ठाउँमा छरिएर रहेकाहरु मतदान गर्नकै लागि घर फर्किने क्रम जारी छ । उम्मेदवारलाई घरदैलो गर्न र मतदातालाई रिझाउन होडबाजी नै चल्छ । उम्मेदवार र तिनका कार्यकर्ताहरु मतदातालाई खेतबारीमै गएर भेटेर मत माग्दै गरेका छन् । कतिपय उम्मेदवारले खेतमै गएर किसानलाई काममा सघाएको पनि देख्न पाइएको छ । निर्वाचनले गर्दा पाँच वर्षमा एक पटक हुने मतदाता र उम्मेदवारको प्रत्यक्ष रुपमा भेटघाट हुन पाएको छ । मतदाताले आफ्ना तीतामीठा कुरा धित मरुञ्जेल उम्मेदवार, पार्टीका नेता कार्यकर्तालाई सुनाउन पाएका छन् । एक आपसमा राम्रोसित घुलमिल हुने तथा चिनजानको अवसर पनि यही नै हो । उम्मेदवारहरु अरु बेला गाउँघरमा त्यति धेरै गएको र मतदातालाई भेट्ने गरेको हामीकहाँ कमै पाइन्छ । यतिबेला गाउँघरमै गएर मतदातालाई भेट्नु हरेक उम्मेदवारको बाध्यता जस्तै पनि हो । मतदातालाई पनि आफ्नो प्रतिनिधिलाई चिन्ने र आफ्ना समस्या राख्ने महत्वपूर्ण अवसर पनि यतिबेला नै हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ को गुमेला गाउँँको दृश्य भने एकदमै फरक रहेको छ । दूधकोशी नदी किनारको फाक्दिङबाट एक घण्टा उकालो पार गरेपछि पुगिन्छ गुमेला । खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा पर्ने ११ गाउँमध्येको एउटा गाउँ हो यो । यसलाई ठूलो गुमेला र सानो गुमेला भनेर छुट्याएको छ । माथिल्लो वस्ती ठूलो गुमेला र तल्लो वस्ती सानो गुमेलाका नामले चिनिन्छ । यहाँ पुग्दा गाउँ सुनसान थियो । घरमा महिला र बालबालिका मात्र थिए, पुरुष जति सबै काममा । यो विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पदमार्गमा पर्ने गाउँ हो । त्यसैले यहाँँका पुरुष महिनौँँदेखि आन्तरिक तथा बाह्य पर्यटक सँगसँगै छन् । कोही भारी बोक्न, कतिपय पथप्रदर्शक बनेर त कतिपयले अरु व्यापार व्यवसाय गर्न गाउँ छाडेका छन् । गाउँमा पग्दा लाक्पाफुटी शेर्पा चिया पकाउँदै हुनुहुन्थ्यो । निर्वाचनबारे जिज्ञासा राख्दा उनले भने, ‘मङ्सिर ४ गते भोट हाल्न जानुपर्छ भन्ने मात्र थाहा छ, अरु कुरा केही थाहा छैन ।’ गाउँमा चुनावी गफगाफ केही नहुने शेर्पा बताउँछन् । ‘सबै आ–आफ्नो काममा हुन्छन्, कसैलाई फुर्सदै हुँँदैन, एक ठाउँमा भेला हुँदा पनि अरु नै कुराकानी हुन्छ, चुनावको त केही कुरा नै हुँदैन’, उनले भने । शेर्पालाई जस्तै सर्मिला बराइलीलाई पनि चुनावबारे खासै केही थाहा छैन । मोबाइलमा बज्ने रिङटोनका कारण मङ्सिर ४ गते निर्वाचन हुने र भोट हाल्न जानुपर्नेसम्म उनलाई जानकारी छ । ‘यहाँँ कोहीले पनि चुनावको कुरा गरेको सुन्दिन, भोट माग्न त अहिलेसम्म कोही पनि आएका छैनन्’, निरक्षर बराइलीले भने । जिल्लामा कुन कुन पार्टीबाट को को उम्मेदवार छन् भन्ने पनि उनलाई थाहा छैन् । ठूलो गुमेला र सानो गुमेलामा झण्डै ८० परिवारको बसोबास छ । यहाँ शेर्पा, राई, बराइली, कुलुङलगायत जातिको बसोबास छ । गाउँका केही घरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका पर्चा पम्पलेट घरका भित्तामा टाँसिएका देखिन्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे भने कुनै पनि सामग्री भने यहाँ कहीँँकतै भेटिदैनन् । मतदान गर्न र निर्वाचनबारे जानकारी दिन गाउँमा कोही नआएको यहाँका मतदाता बताउँछन् । हालसम्म कुनै पनि पार्टी र तिनका नेता कार्यकर्ता तथा उम्मेदवार भोट माग्न यहाँ आएका छैनन् । ‘दुर्गम र विकट गाउँ भएका कारण कोही नआएका होलान्’, स्थानीय ७१ वर्षीया विमला कुलुङ भन्छिन्, ‘यसअघिका निर्वाचनमा पनि यस्तै भएको थियो ।’ स्थानीय तहको निर्वाचन ताका भने गाउँमा निकै चहलपहल भएको उनले सुनाइन् । ‘उम्मेदवार पनि यहीँका भएर होला, त्यो बेला उम्मेदवार भोट माग्न घरदैलोमै आएका थिए ।’ स्थानीय तह बाहेकका अन्य निर्वाचनमा भने यो गाउँँमा कुनै पनि उम्मेदवार भोट माग्न आएको कुलुङलाई सम्झना छैन । यहाँँका बासिन्दा खेती किसानी गर्दैनन् । खेतबारी नै पर्याप्त छैन । केहीले बारीमा तरकारीसम्म लगाउन भ्याएका छन् । यतिबेला स्थानीयका लागि वर्षभरिको खानपिनको जोहो गर्ने समय हो । पुरुष सबैजसो कमाउन सगरमाथाको आधारशिविर, नाम्चे, खुम्बु, लुक्लातिर गएका छन् । ‘दुई वर्ष कोरोना महामारीले हाम्रो गरिखाने बाटो छेक्यो’, सगरमाथा पदमार्गको फाक्दिङमा पर्यटकको भारी बोक्दै गरेका नोर्बु शेर्पाले भने, ‘यतिबेला घर नछाडे वर्षभरि भोकै बस्नुपर्ने हुन्छ ।’ कोरोना महामारीका कारण दुई वर्ष यहाँका बासिन्दाले कष्टकर दिन बिताउनुप¥यो । आन्तरिक र बाह्य पर्यटक आएनन् । स्थानीयले भारी बोक्ने, पथप्रदर्शकको काम तथा अय व्यवस्या गर्नै पाएनन् । यस वर्ष भने पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ । त्यही भएर यहाँका मतदातालाई एकछिन फुर्सद छैन । ‘अहिले गाउँघरमा सितिमिति कोही भेटिदैनन्’, स्थानीय पर्यटन व्यवसायी एवं हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा भन्छन्, ‘सबैजना काममै व्यस्त हुन्छन्, अहिले कमाएको पैसोले अफ सिजनमा खाने हो, घरखर्च बालबच्चा पढाउने खर्चको जोहो गर्ने बेला पनि यही हो ।’ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २० उम्मेदवार चुनावी मैलदानमा छन् । सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार प्रतिनिधिसभातर्फ आठ र प्रदेशसभातर्फ १२ उम्मेदवार मत माग्न व्यस्त छन् । कोही पनि उम्मेदवार खुम्बु पासाङल्हामु गाउँपालिकामा भोट माग्न आएका छैनन् । कांग्रेस, एमाले र माओवादी केन्द्रको जिल्ला नेतृत्वले दुर्गम क्षेत्र भएका कारण मत माग्न गाउँगाउँ पुग्न नसकेको स्वीकारेको छ । इच्छा हुँदाहुँदै पनि सीमित समय र जिल्लाको भूगोल ठूलो भएका कारण सबै ठाउँमा मतदातालाई घर घरमा गई भेट्न नसकिएको उनीहरुको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीका स्थानीय तहका नेता कार्यकर्ताले नै उम्मेदवारका तर्फबाट मत मागिरहेको बताए । ‘लुक्लासम्म त चुनावी सभा गरेका हौँ, त्यहाँदेखि उत्तरतर्फका वस्तीमा समय अभावका कारण पुग्न सकिएन’, उनले भने, ‘मतदाता आफ्नो काममा व्यस्त छन्, घरमा भेटिने सम्भावना पनि कमै छ, त्यसैले सो क्षेत्रमा चुनावी सभा र घरदैलो गरेका छैनौँ ।’ सत्ता गठबन्धनको प्रचारप्रसारका क्रममा आज जिल्लाको लिखु पिके गाउँपालिकामा रहनुभएका सभापति शेर्पाले सकेसम्म लुक्लादेखि उत्तरतर्फको क्षेत्रमा पुग्ने प्रयासमा आफू रहेको बताए । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष डुफाकुमार बास्तोलाले खुम्बु पासाङल्हामु गाउँपालिकामा आफ्नो पार्टीको सङ्गठन मजबुद भएकाले मतदाताको घरदैलोमा उम्मेदवारले धाउन नपर्ने बताए । गत वैशाखमा स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा एमालले जितेको प्रसङ्ग उल्लेख गर्दै उनले यस क्षेत्रमा मतदाता घरमा नभेटिने समस्या रहेको बताए । ‘सबै हिमाली भेगमा गएका छन्, घरमा खासै भेटिदैनन्, त्यही भएर चुनावी सभा र घरदैलोमा उम्मेदवार गएनन्’, अध्यक्ष बास्तोलाले भने । भौगोलिक विकटताका कारण गाउँगाउँ जान समस्या भएकाले एक/दुई दिनमै पार्टीको उम्मेदवार हेलिकप्टरमा खुम्बु क्षेत्रमा मत माग्न जाने उनले जानकारी दिए । एमालेले यही कात्तिक २१ गते लुक्लामा चुनावी सभा आयोजना गरेको थियो । यसैगरी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक असिम राई भौगोलिक विकटताका कारण खुम्बु पासाङल्हामु क्षेत्रमा पुग्न नसकिएको बताउँछन् । ‘मिलेसम्म अझै पनि सत्ता गठबन्धनका उम्मेवारसहित पुग्ने प्रयासमा छौँ’, उनले भने, ‘त्यहाँका मतदाता काममै बढी व्यस्त हुन्छन्, घरमा भेटिने सम्भावना पनि न्यून हुन्छ, त्यसैले कम प्राथमिकता दिएका हौँ ।’ उम्मेदवार नै प्रत्यक्ष रुपमा पुग्न नकसे पनि स्थानीय नेता कार्यकर्ताले मतदातालाई रिझाउने काम गरिरहेको उनको भनाइ छ । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसी, नेकपा एमाले बाट मानवीर राई, जनता समाजवादी पार्टीबाट ल्हाक्पा शेर्पा, राप्रपाबाट ज्ञानेन्द्रबहादुर बस्नेत, नेपाल मजदूर किसान पार्टीबाट तारानाथ कट्टेल, नेकपा एमालेबाट विष्णुप्रसाद बास्तोला र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ल्हामु शेर्पा उम्मेदवार छन् । एक मात्र महिला उम्मेदवार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शेर्पा रहेकी छिन् । यस्तै प्रदेशसभा क मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट गोम्बु शेर्पा, एमालेबाट उत्तमकुमार बस्नेत, राप्रपाबाट नरबहादुर बस्नेत, जसपाबाट भक्तबहादुर राई, नेमकिपाबाट चेतनाथ खनाल र मंगोल नेश्नल अर्गनाइजेशनबाट खेमकुमार राई तथा प्रदेशसभा ख मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट शिवबहादुर बस्नेत, एमालेबाट बुद्धिकुमार राजभण्डारी, राप्रपाबाट प्रेमहरि दाहाल, जसपाबाट महेशकुमार राना मगर, नेमकिपाबाट कमलबहादुर मगर र मंगोल नेश्नल अर्गनाइजेशनबाट शानीमाया राना मगर उम्मेदवार रहनुभएकी छिन् । कांग्रेसका ७३ वर्षीय केसी लामो समयदेखि चुनावी प्रतिस्पर्धामा उत्रिने एक्लो उम्मेदवार छन् । उनी सातौँँ पटक सांसदका लागि भिड्दै छन् । उनी २०४८ सालदेखि लगातार प्रतिस्पर्धा गर्दै आएका छन् । केसी चार पटक चुनाव जितेका भने दुई पटक पराजित भए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका केसीलाई हराउँदै माओवादी केन्द्रका हेमकुमार राई विजयी भएका थिए । राईले २० हजार ७४७ तथा केसीले १७ हजार २९४ मत प्राप्त गरेका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । अहिले भने कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । कांग्रेसका केसी २०४८, २०५१, २०५६ र २०७० मा चुनावमा विजयी भएका थिए । उनी २०६४ र २०७४ सालको निर्वाचनमा पराजित भए । सत्ता गठबन्धनबाट प्रदेशसभाका दुवै सिटमा माओवादी केन्द्रका उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभा ‘क’ मा गोम्बु शेर्पा तथा प्रदेशसभा ‘ख’ मा शिव बस्नेत उम्मेदवार छन् । यस्तै एमालेबाट प्रतिनिधिसभामा मानवीर राई उम्मेदवार छन् । एमालेबाट प्रदेशसभा ‘क’ उत्तमकुमार बस्नेत र प्रदेशसभा ‘ख’ मा वुद्धिकुमार राजभण्डारी उम्मेदवार रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा कांग्रेसले पाँच पालिका, एमालेले दुई तथा माओवादी केन्द्रले एउटा पालिकामा जित निकालेको थियो । यद्यपि सत्ता गठबन्धन र एमाले दुवैले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । सोलुखुम्बुमा आठ स्थानीय तह छन् । कांग्रेसले पाँँच पालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । कांग्रेसले सोलु दूधकुण्ड नगरपालिकासहित नेचासल्यान, महाकुलुङ, सेताङ र लिखु पिके गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । एमालेले खुम्बु पासाङल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा माप्य दूधकोसीमा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले घुलुङ दूधकोसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा माप्य दूधकोसी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । कूल ५१ वडा रहेको सोलुखुम्बुमा कांग्रेसले १८ हजार ५३९ मतसहित २३ वडामा वडाध्यक्ष जितेको थियो । एमालेले १६ हजार ५९७ मतसहित १८ वडाध्यक्ष तथा माओवादी केन्द्रले १२ हजार ४२५ मतसहित नाौ वडाध्यक्ष जितेको थियो । कूल एक लाख पाँच हजार एक सय १९ जनसङ्ख्या रहेको यस जिल्लामा मतदाता सङ्ख्या भने ८१ हजार पाँच सय दुई रहेको छ । पुरुष मतदाता ४२ हजार एक सय ३३ तथा महिला मतदाता ३९ हजार तीन सय ६९ रहेको छ । सल्लेरी कारागारका ९० कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ४८ कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्र घिमिरेले बताउनुभयो । त्यहाँँ कारगारमै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । जिल्लाका सबै ठाउँमा मतपत्र पुर्याइसकेको घिमिरेले जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिकामा हेलिकप्टरमा तथा अन्यमा सडकमार्ग भएर मतपत्र ढुवानी गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समन्वय समितिका प्रमुख अनिल खरेलले निर्वाचनका लागि जिल्लाभर एक हजार आठ सय ५२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा एक सय २२ मतदान स्थल तथा एक सय ३५ मतदान केन्द्र कायम गरिएको छ । रासस

नेपाल बैंकका कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडाैं । नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा काठमाडाैं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल बैंक यही कार्तिक ३० गते ८६ औं वर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा बैंकले कार्तिक २५ र २६ गते कर्मचारी मैत्री ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेकाे थियाे । प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएका थिए । यस्तै, दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुव दाहाल र महिला सिंगल तर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदी एवम् ध्रुव दाहालको समूह र महिला डबल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गरेका थिए । बैंकले नेपालभर २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।  

पोखराबाट बनारस उडान भर्दै बुद्ध एयर

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा विमानस्थबाट भारतको बनारस सिधा उडानको तयारी थालेको छ । सन् २०२३ को जनवरीबाट पोखरामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि बुद्धले बनारस उडानको तयारी थालिएको जनाएको छ । ‘जनवरीदेखि विमानस्थल सञ्चालनमा आउने जानकारी नेपाल नागरिक उडड्न प्राधिकरणले हामीलाई दिएको छ, सोही जानकारी अनुसार हामीले प्रथम उडान पोखरा–बनासर–पोखरा सातामा तीन दिन आईतबार, मंगलबार र बिहीबार बनारस उडानको तयारी थालेका छौँ ’, बुद्ध एयरले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बुद्धले एयर ट्राफिक सर्भिस रुटको लागि नेपाल सरकारको भारतीय सरकारसँग पहल भैरहेको भन्दै भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन २ उडान र पोखरा देहरादुन–पोखरा हप्तामा तीन उडान गर्ने तयारी थालिएको जनाएको छ । हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा बनारस उडान गर्दै आएको छ । यसअघि बुद्धले पोखरा विमानस्थललाई आधार बनाएर प्रादेशिक उडान विस्तार गरेको थियो । काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पछिल्लो समय अन्तरप्रदेश उडान विस्तार गर्दै पोखराबाट भैरहवा र भरतपुर (चितवन) र नेपालगञ्जमा सिधा उडान विस्तार गरेको थियो ।

स्किल सेवाले ल्यायो दुई एपकाे बेटा भर्जन, अब डेरावलसँग माेबाइलबाटै सम्झाैता

काठमाडौं । घरको डाक्टर भनेर चिनिएको स्किल सेवाले सेवा एप कस्टमर र सेवा एप प्रोभाइडर बेटा भर्जन सार्वजनिक गरकाे छ । सेवा एप कस्टमर घरबेटी लक्षित गरेर बनाइएको एप हो भने सेवा एप प्रोभाइडर प्लम्बिंग, इलेक्ट्रिसीयन, पेन्टिङ जस्ता ३० भन्दा धेरै सेवाहरु दिनको लागि बनाएको एप हो । जसमा रजिस्टर गरेर सेवा दिने व्यक्तिले यो एपमार्फत निरन्तर काम पाउने र पैसा उठाउनको लागि कुन पैनि किसिमको झन्झट नहुने बताइको छ । सेवा एपमा स्थानीय क्षेत्रमा रहेको पसलेहरुले आफ्नो पसलमा राखिएको सामान, त्यसको मुल्य उल्लेख गरि व्यापारलाई अझै प्रवर्धन गर्ने मौका पाउनेछन् । यो सेवा अहिलेको लागि पुर्णरुपमा निशुल्क गरिएको छ र यो सेवाले गर्दा व्यवसायिहरुलाई पनि ठुलो मद्दत पग्ने र डिजिटल उपस्थिति पनि बढ्ने कम्पनीको दाबी छ । ग्राहकले कुन समान कुन पसलमा पाउन सकिन्छ र त्यसलाई कति मूल्य पर्छ भन्ने जानकारी मोबाईलबाट नै थाहा पाउने भएकाले समय र पैसाको बचत गर्न सक्नेछन् । साथै थप जानकारीको लागि पसलमा सम्पर्क गर्न सक्नेछन् । यस फिचरमा व्यवसायीले आफ्नो पसल सेवा एपमा लिष्टिङ्ग गर्न पाउने व्यवस्था सेवा एपमा रहेका छ । सेवा एपबाट जोसुकैलेल पनि समान किनबेच गर्न पाउनेछन् । सेकेन्ड हेन्ड समानहरु पनि किन बेच गर्नको लागि पनि सजिलो हुने कम्पनिले बताएको छ । यो एपले पछिल्लो समय राजधानीमा रुम फाइन्डरको नाममा भइरहेको बिचौली यातन्त्रलाई समेत अन्त्य गर्ने कम्पनीको दाबी छ । घरबेटीलेकोठा खाली भए नभएको जानकारी एपमा सजिलैसँग अपडटे गर्न पाउनेछन् । सेवाले डेरावालसँग मोबाइलबाट सम्झौता पत्र बनाउने फिचर ल्याएकाे छ । जसको प्रयोग गरेर डेरावालसँग मोबाइलबाट सम्झौता पत्र बनाउन सकिनेछ । साथै, मासिक बहाल सम्बन्धि जानकारी जस्तै महिनावारी बहाल रकम, विधुतिय खर्च, पानी, फोहोर सकंलन जस्ता अन्य रकमहरु पनि डिजिटली एपमै राख्न सकिने छ । घरबेटी सम्झौता पत्र घरबेटी र बहालमा बस्ने बिचको भाडाको कानुनी अभिलेख सम्झौता पत्र हो । सम्झौता पत्र अहिलेको समयमा अति आवश्यक बनि सकेको छ । प्राय मानि सलेसम्झौतापत्र बनाउनको लागि झन्झट मान्नेगर्दछन सम्झौतापत्र बिना कोठा भाडा दिने गर्दछन् । यस समस्यालाई समाधान गर्न गर्नको लागि सेवा एपले यो फिचर ल्याएको हो । घरबेटी र डरोवाल बिच केही समयमै बिना शुल्क सम्झौता गर्न सकिन्छ । आवश्यक सुचना दर्ता गरेपछि केही समयमै समझौतापत्र जेनिरिट गर्न सकिन्छ । यो सम्झौतापत्रलाई सजिलै सँग डाउनलोड गर्न सकिन्छ । आफनो क्षेत्रका वार्ड र नगरपालि कालेजारी गरेको सुचना थाहा एकदमै महत्वपुर्ण हुन्छ । यस्तो प्रकारको जरुरी सुचनाहरु छुट्दा धेरै समय खर्च हुन सक्ने र कुनैकुनै सुचना छुटे भने दण्ड एंव जरिवानाको भागेदार हुनुपर्ने हुन्छ । सेवामा एपबाट महत्वपुर्ण सुचनाहरु अब मोबाइलमै दैनिक रुपमा नोटिफिकेसन रुपमा प्राप्त गर्न सकिनेछ । आधिकारिक सुचनाहरु सबलै थाहा पाउन जरुरी हुन्छ सुचनाको सहज पहुँचको लागि यो फिचर ल्याएको हो । यो फिचरका कारण जनता र स्थानिय सरकार बीचको सम्बन्ध राम्रो हुने कमपनीले विश्वास लिएको छ । मोबाइल एपमा रजिस्टर गर्दा नै आफ्नो वार्ड र नगरपालिका छान्नुपर्ने छ सोहि बमोजि न आफ्नो वडा र नगरपालिकाको सुचनाहरु सुचना प्रकशन भए नभएको केही समयमै थाहा पाउन सकिन्छ ।    

विश्व मधुमेह दिवस : युवाहरुमा मधुमेहको समस्या बढ्दै

काठमाडौं । आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ। विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक याली गरी विश्व मधुमेह दिवस मनाइएको हो। अल्का अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी र्याली गरेको थियो। साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ। अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ। शिविरमा बोल्दै अल्का अस्पताल प्रा।लि।का प्रशासन प्रमुख भगवान केसीले मधुमेह सम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए। उनले अस्पतालले मधुमेह सम्बन्धी बिरामीहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविरसञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरुको चाप रहेको बताए। शिविर आज बिहान ९ बजेबाट शुरु भइ दिउँसो ३ बजेसम्म चल्ने बताए। उनले भने, ‘आज हामीले बिहान मधुमेर रोग सम्बन्धी सचेतनामुलक ¥याली कार्यक्रम गर्यौं। अहिले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिरहेका छौँ। आजको शिविरमा दुई सय भन्दा बढी बिरामीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका हौँ। आज यो सेवामा उपचार गर्न आउने बिरामीले १० दिनको लागि निःशुल्क औषधि पाउनुहुनेछ भने आज बिहान साढे नौ बजेबाट शुरु भइ ३ बजेसम्मका लागि हो। लामो समयदेखि मधुमेह रोगसँग लडिरहेका मानिसलाई लक्षित गरेर नै शिविर सञ्चालन गरेका हौँ। उत्साहजनक रुपमा बिरामीको सहभागिता भइरहेको छ।’ त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा।प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरुमा आँखाको समस्या हुने गरेको भन्दै शतर्कता अपनाउन आग्रह गरे। उनले पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढीरहेकाले त्यसतर्फ सबै जनाले शतर्कता अपनाउन जरुरी रहेको बताए। उनले अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने बताए। उनले नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको बताए। अहिले ३० वर्ष भन्दा माथिका मानिसहरुमा यो समस्या धेरै देखिन थालेको उनको भनाइ छ। खानपानमा ध्यान नदिने,जङफुडहरु बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरुमा पनि मधुमेहको समस्या बढ्दै गएको बताए। मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भन्दै उनले ३० वर्ष भन्दा माथिका हरेकमानिसहरुले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने बताए। उनले मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने लगायतका समसया हुनेपनि बताए। उनले भने, ‘विश्वमा नै पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको छ। हरेक दिन मधुमेहका बिरामीहरु ओपीडीमा जाँच गर्न आउँछन्। अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको छ। अबको १० देखि १५ वर्षमा अझ बढ्दै जाने देखिएको छ। नेपालमा मधुमेह लाग्नेहरुको तथ्याङ्क हेर्दा ८ प्रतिशत मानिसहरुलाई मधुमेह रोग लागिसकेको छ। नेपालमा पनि मधुमेहका बिरामी हेरक दिन बढी नै रहेका छन्। विगतमा युवा उमेर कटेपछि मात्रै लाग्छ भन्ने सोच रहेको थियो। तर अहिले बालबालिका तथा युवाहरुमासमेत मधुमेह देखिन थालेको छ। धेरैजसो ५० वर्ष भन्दा बढी उमेर भएपनिअहिले ३० वर्ष उमेर भएका मानिसहरु पनि मधुमेह बिरामी भएर जाँच गर्न आएका छन्। नेपालीहरुको जीवनशैली परिवर्तन भएको छ। फिजिकल गतिविधि नहुने,हिँड्न कम गर्ने,एउटै समय लामो समय बस्ने,खानपानमा ध्यान नदिने,जङफुडहरु खाएर घरको खाना कम खाने,तौल बढ्दै जाँदा युवाहरुमा पनि मधुमेह देख्न शुरु भएको छ। मधुमेहको कारण आँखामा देखिने समस्या १० देखि १५ वर्ष नाघेपछि देखिन्छ। अहिले विश्वभरमा मधुमेह रोग लाग्ने ३५ प्रतिशत मानिसहरुमा आँखाको समस्या देखिएको छ। मधुमेह नियन्त्रणमा छैन भने आँखाको समस्या छिट्टै आउँछ। सुगर नियन्त्रणमा छैन,लामो समयदेखि तीन महिनाको सुगर बढीरहेको छ भने आँखा नै ड्यामेज हुने डर हुन्छ। प्रेसर र कोलस्टोर नियन्त्रणमा छैन भनेपनिआँखालाई छिटै असर गर्छ। मधुमेह उपचारको लागि आफूलाई मधुमेह छ वा छैन थाहा हुनुपर्छ। अस्पतालमा स्वास्थ्य परीक्षणको लागि कुनै समस्या नभई जाँदैनौं। मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने हुन्छ तर सबैमा देखिँदैन। ५० प्रतिशत मानिसहरुमा हुँदैन त्यस्तो लक्षणहरु। ३० वर्ष उमेर कट्नेहरुले हरेक वर्ष सुगर जाँच गर्नुपर्छ। सुगर हुने बढी जोखिम हुन्छ। जसको तौल बढी हुने वा घरमा बुबा, आमालाई मधुमेह, कोलस्टोर, सुगरको समस्या छ भने ३० वर्ष नपुग्दै पनि सुगर ६/६ महिनामा जाँच गर्नुपर्छ। सुगर जाँच गर्दा आँखा चेक गर्नुभन्दा केही भएको छैन भन्छन्। तर आँखाको पर्दामा असर गर्ने भएकाले शुरुमा कुनै लक्षण हुँदैन। मधुमेह भएका बिरामीहरुले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउनुपर्छ। औषधिहरु समयमा नै खानुपर्छ ।’

ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो । कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो ।

स्वास्थ्य र शिक्षामा अर्बौं लगानी गरेका डा. श्रेष्ठ चुनाव जित्ने दाउमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले स्याङ्जा–२ को प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । ०७४ सालको निर्वाचनमा एमालेले हार व्यहोरेको उक्त प्रदेश क्षेत्रमा यसपटक त्यसलाई उल्ट्याउने हिसाबले डा. श्रेष्ठ चुनावी मैदानमा उभिएका छन् । डा. श्रेष्ठले सन् १९९७ मा काठमाडौं महाराजगन्जमा कान्तिपुर स्कुल अफ डेन्सिटी एन्ड डेन्टल हस्पिटलको स्थापना गरेर कामको शुरुवात गरेका थिए । पछिल्लो समयमा काठमाडौं बसुन्धारमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं महाराजगन्जमा कान्तिपुर स्कुल अफ डेन्सिटी एन्ड डेन्टल हस्पिटल र पोखरा न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेन्स सञ्चालन गर्दै आएका छन् । शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेका डा. श्रेष्ठले सो क्षेत्रबाट व्यवसायिक रुपमा पनि सफलता हासिल गर्दै पछिल्लो २ दशकको समयमा आफ्नो संस्थाको राम्रो विस्तार गरेको देखिन्छ । विद्यार्थी कालदेखि नै एमाले राजनीतिमा जोडिदै आएका डा. श्रेष्ठ एमालेको विभिन्न केन्द्रीय विभागहरुमा समेत रहेर काम गर्दै आएका थिए । पछिल्लो समयमा उनी एमालेको गण्डकी प्रदेश कमिटी अन्तर्गत सचिवालय सदस्यको रुपमा रहेका छन् । स्याङ्जा–२ को प्रदेश ‘ख’ मा चापाकोट नगरपालिका, गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ बाहेक सबै र कालीगण्डकी नगरपालिकाको भूगोल पर्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो प्रदेश क्षेत्रभित्र पर्ने पालिकाहरु मध्ये चापाकोट र गल्याङ नगपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ भने कालिगण्डकी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजयी हासिल गरेको छ । तर, वडागत तहमा मतको अवस्था हेर्दा २८ वटा वडामा नेपाली कांग्रेसले १५ र एमालेले १३ वटा वडामा जित हासिल गरेको अवस्था छ । उम्मेदवार डा. श्रेष्ठले लामो समयदेखि कान्तिपुर डेन्टल कलेजको तर्फबाट स्याङ्जाको धेरै ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेका स्वास्थ्य शिविरहरुमार्फत ठूलो संख्याका विमारीहरुले स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् । जसले गर्दा मतदाताहरुमार्फत उनले व्यक्तिगत सहानुभुति र अपेक्षाको थप मत प्राप्त गर्ने अनुमान एमालेले गरेको छ । गल्याङ नगर अस्पतालमा आफ्नै ठूलो लगानीमा डेन्टल विभाग निर्माण निर्माण गरेर २ वर्षको लागि आवश्यक मेशिनरी सामग्री र जनशक्तिको व्यवस्था डा. श्रेष्ठले नै गरेका छन् । जसको सो क्षेत्रमा नै सकारात्मक परेको अनुमान एमालेले गरेकोे छ । ‘उहाँले विगतदेखि सञ्चालन गर्दै आउनुभएको स्वास्थ्य शिविर र पछिल्लो समयमा नगरपालिकासँग सम्झौता गरेर गल्याङ नगर अस्पतालमा गर्नुभएको सेवा प्रारम्भले निर्वाचन प्रचारप्रसारको क्रममा हामीले निकै सकारात्मक शन्देश पाएका छौं’, एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरेले भने । गैरेका अनुसार उम्मेदवार डा. श्रेष्ठ सफल व्यवसायी भएको र उनले आफ्नो व्यवसायबाट प्राप्त हुने मुनाफाको ठूलो हिस्सा कुनै न कुनै रुपमा सो क्षेत्रका सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । स्याङ्जाको दक्षिणी भेगमा पर्यटनको विकासका निम्ति २ दशक अगाडि देखि डा.श्रेष्ठले अगाडि बढाउँदै पहललाई पनि एमालेले चुनावी प्रचारको राम्रो साधनका रुपमा प्रयोग गर्दै आएको छ । कालीगण्डकी नदीमा र्याफ्टिङ शुरुवातका निम्ति अध्ययन र प्रचारको पहलकदमी लिँदै डा. श्रेष्ठले ०६४ सालदेखि नेपालमा नयाँ नदी महोत्सव आयोजना गर्ने मुख्य भूमिका निर्वाह गर्दै आएका थिए । सोही कारण कालीगण्डकी नदीमा र्याफ्टिङ व्यवसायको विषयमा पछिल्लो समयमा केही व्यवसायीहरुले चासो देखाइरहेका छन् । त्यस्तै उनले गण्डकी र लुम्बिनी प्रदेशमा प्रशिद्ध रहेको राम्दी धामको दीगो विकास तथा व्यवस्थापनको लागि गुरुयोजना निर्माण गर्ने पहल गरेका थिए । त्यस्तै उनकै सक्रिय सहभागितामा चापाकोट बहुप्राविधिक शिक्षालयको निर्माण भएको छ । डा. श्रेष्ठको पहलमा स्याङ्जाको दक्षिणी भेगमा पर्यटन, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका विषयहरुमा भएका काम र शुरुवातको विषयहरुलाई लिएर एमालेले उनलाई केन्द्रीय राजनीति बुझेको, क्षमतावान र दीर्घकालिन दृष्टिकोण भएको सो क्षेत्रको विकासका निम्ति अति आवश्यक नेताको रुपमा प्रचार गरेको छ । ‘उहाँ स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेर सफलता हासिल गरेको प्राविधिक ज्ञान भएको मान्छे हो, प्राविधिक रुपमा क्षमता भएको मान्छेले राजनीतिक तथा सामाजिक विकासको नेतृत्व गर्दा त्यसले समाजलाई निकै ठूलो योगदान पुर्याउन सक्छ, त्यसैले डा.श्रेष्ठ हाम्रो क्षेत्रको समृद्धिको निम्ति चुनाव जित्नै पर्ने मान्छे हो’, अध्यक्ष गैरेले बताए । अध्यक्ष गैरेका अनुसार केन्द्रीय राजनीतिमा राम्रो पहुँच भएको र अहिलेसम्म गरेका कामको कारण पनि चुनावी प्रतिस्पर्धा डा. श्रेष्ठलाई सहज रहेको छ ।