विकासन्युज

इको प्यानलसँगै पर्यटनमा पनि जम्दै कृष्णभक्त

काठमाडौं । कम्पनी खोलेर मात्र हुँदैन, एउटा सफलताको श्रेणीमा पुर्याउनको लागि निकै मेहनत र लगनशिलता चाहिन्छ । यतिले मात्र पुग्दैन, समय पनि चाहियो । एउटा व्यक्तिले दुई/तीन पेशा अगाँल्नु आफैमा चुनौतिको विषय पनि हो । तर, भक्तपुरका कृष्ण भक्त दुवाललाई तीन वटा पेशा सँगै आत्मसाथ गरेर अगाडि बढ्ने बानी परिसकेको छ । बिहान–बेलुकाको समयमा कलेज पढाउने र दिउँसो उद्योग व्यवसाय सम्हाल्नमै उनको दिन बित्छ । भक्तपुरको एउटा सामान्य परिवार । बुबा कृषक । आमा घरको काम सम्हाल्थिन् । सानैदेखि चनचले कृष्णभक्त पढाइमा भने अब्बल । वि.सं २०३६ सालमा भक्तपुर नगरपालिकाको थाल्छेमा जन्मेका उनी कक्षा ४ सम्म घर नजिकैको विद्यालयमा पढे । वि.सं २०४९ सालदेखि उनले पढ्दै गरेको विद्यालयलाई छाडेर सिद्धार्थ वनस्थली इन्स्टिच्युट बालाजुमा पढ्न थाले । उनले कक्षा १० सम्मको पढाइ सोही विद्यालयबाट पूरा गरे । पढाइमा पनि लगनशील भएकै कारण उनलाई सबैले प्रोत्साहन गरे । एसएलसीमा टप, डाक्टर बन्ने सपना कृष्ण भक्त दुवाल सानैदेखि तिक्ष्ण दिमागको भएको बताउँछन् । सानैदेखि पढाइमा अब्बल भएकै कारण उनी एसएलसी (हालको एसईई) भक्तपुर जिल्ला टप भए । ‘सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट त्यतिखेर एसएलसी परीक्षा दिनेको संख्या ७ सय थियो, हामीसँगै पढ्ने ४ जना साथीले बोर्ड टप गरे, मैले जिल्ला टप गरेँ, भक्तपुरबाट पढ्न काठमाडौं गए पनि भक्तपुर जिल्लाको टपर थिएँ,’ उनले विगत स्मरण गर्दै भने । एसएलसी पास भएपछि उनी डाक्टर बन्न चाहन्थे । उनी सोही सपनालाई पछ्याउँदै पुगे तिनकुनेमा रहेको भीएस निकेतनमा । उनले सो कलेजमा विज्ञान संकायमा प्लस टुको पढाइ सुरु गरे । ‘एसएलसीमा राम्रो अंक आएपछि मैले डाक्टर बन्नु पर्छ भनेर सोचिसकेको थिएँ, सोही कारण प्लसटुमा विज्ञान संकायमा बायोलोजी विषय लिएर पढ्न सुरु गरेँ, प्लस टुको परीक्षा पश्चात् डाक्टर पढ्न भनेर विभिन्न कलेजमा छात्रवृतिमा फाराम पनि भरेँ,’ कतै नाम निस्किएन, त्यसपछि डाक्टर बन्ने सपना तुहियो,’ उनी भन्छन्,‘त्यसपछि डाक्टर बन्छु भन्ने सपना देख्न पनि छोडेँ ।’ उनले आफैले शुल्क तिरेर डाक्टर पढ्न सक्ने अवस्था उनको थिएन । डाक्टर बन्ने सपना बिचमै हराएपछि उनी अब इञ्जिनियर बन्छु भन्ने दृढ इच्छाका साथ अगाडि बढे । दुवालले काठमाडौं इन्जिनियरिङ कलेजमा इञ्जिनियरिङ पढ्नका लागि नाम निकाले । सो कलेजमा उनले वि.सं २०५८ सालमा इञ्जिनियर पढ्न सुरु गरे । ‘विज्ञानमा प्लस टु र इञ्जिनियररिङको पढाई पनि सकियो, खासै राम्रो रिजल्ट आएन तर पढ्दै गएँ हिम्मत हारिन,’ उनले भनी भन्छन्,‘ कर्म गर फलको आशा नगर भन्ने जस्तै सोचेँ ।’ दुवालले वि.सं २०६२ मा काठमाडौंको पुल्चोक क्याम्पसमा स्नातकोत्तरको पढाइ सुरु गरे । खुसीको कुरा, उनले स्नातकोत्तर उच्च अंकका साथ वि.सं २०६८ सालमा पास गरे । यस्तै, उनले भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट एडमिनिस्टरीमा स्नातकोत्तर पनि गरेका छन् भने चीनबाट पीएचडी गर्ने तयारी गरिरहेका छन् । दुवाल शिक्षक पनि दुवाल सफल व्यवसायीका रुपले मात्रै परिचित छैनन् उनी एक शिक्षक पनि हुन् । एसएलसीको परीक्षा दिएलगत्तै पढाउन सुरु गरेका उनी अहिलेसम्म पनि शिक्षण पेशा अँगालिरहेका छन् । एसएलसीको परीक्षा दिएर आफूले घर नजिकैको विद्यालयमा कक्षा ९ र १० लाई गणित विषय पढाएको दुवाल बताउँछन् । स्नातक तहको पढाइ सकेपछि वि.सं २०६३ बाट कलेज पढाउन थालेको उनी बताउँछन् । उनले त्यतिबेला स्नातकोत्तर पढ्दै स्नातक तहका विद्यार्थीहरुलाइ इन्जिनियर पढाएको सुनाउँछन् । उनले शिक्षण पेशालाई निरन्तरता भने दिएनन् । बीचमा उनी व्यवसायिक क्षेत्रतर्फ पनि लागे । ‘रिडिङ र टिचिङ मेरो प्यासन हो, पढाइ सँगसँगै मैले शिक्षण पेसालाई पनि निरन्तरता दिएँ, केही सयम व्यावसायिक व्यस्तताको कारण अध्यापन छाड्नु पर्यो तर अहिले पुनः पढाइरहेको छु,’ उनले सुनाए । हाल उनले नेपाल इजिनरिङ र खोको इञ्जिनियरिङ कलेजमा अध्यापन गराउँछन् । इट्टाको सट्टा इको प्यानल कृष्णभक्त दुवालका बुबा र दाजु इट्टा भट्टा व्यवसाय गर्थे । परम्परागत ढंगले हुने इट्टा भट्टा कृष्ण भक्त आधुनिक र नयाँ किसिमले काम गर्न चाहन्थे । उनले स्नातकोत्तर पढाइ गर्दै गर्दा नेपालमा इको प्यानलको सम्भावनाको विषयमा पनि अनुसन्धान गर्ने अवसर पाए । पढाइ पनि इञ्जिनियरिङ भएकोले मैले स्नातकोत्तर पढ्दै गर्दा नेपालमा इको प्यानलको विषयमा अनुसन्धान पनि गरेको थिएँ, बुबाको इट्टा भट्टा तथा निर्माण सामाग्रीको वैकल्पिक उपाय अर्को के हुन सक्छ भनेर धेरै सोचेँ, त्यसपछि इट्टाको सट्टा प्यानलको अवधारणा ल्याएँ,’ उनले भने । उनले अनुसन्धान गर्दै जाँदा विभिन्न देशहरुमा पुगेको पनि बताए । उनले इको प्यानलकै विषयमा बुझ्न कोरिया, बहराइन, जापान चीन इटालीलगायतका देशमा पुगेको सुनाए । त्यसपछि उनी जोडिए गोर्खा इको प्यानलमा । वि.सं २०७० मा उनी गोर्खा इको प्यानलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने । गोर्खा इको प्यानल स्थापना केही लगानीकर्ताहरु मिलेर स्थापना गरेका थिए । उनले सो कम्पनीमा ६ वर्ष काम गरे । गार्खा इको प्यानल स्थापना गर्न आफ्नो भूमीका पनि महत्वपूर्ण रहेको उनी बताउँछन् । सो कम्पनीले वातावरणमैत्री प्रिफाइबका घर बनाउने सामानको उत्पादन तथा खरिदबिक्री गर्दै आइरहेको छ । गोर्खा इको प्यानललाई एउटा सफलताको श्रेणीमा पुर्याएपश्चात् दुवालले सो कम्पनी छाड्नु पर्याे । उनले गोर्खा इको प्यानल छोडेर आफ्नै लगानीमा खोले नेपाल इको प्यानल । उनले सन् २०२१ मा नेपाल इको प्यानलको स्थापना गरे । हाल नेपाल इको प्यानल पनि छोटो समयमा नै लोकप्रिय कम्पनीको रूपमा स्थापित भइसकेको छ । दुवाल सो कम्पनीको सीईआको रूपमा कार्यरत छन् । ‘आफूसँग ज्ञान नभएको काम गर्दा सफलता पाउन मुस्किल हुन्छ, जान्नको लागि सिक्नु नै पर्ने हुन्छ, पहिलाको कम्पनी स्थापना गर्नको लागि धेरै मेहनत गर्नु पर्यो, यो कम्पनीको स्थापना गर्न पहिलाको जस्तो समस्या परेन, धेरै ज्ञान भएकै कारण पनि छोटै समयमा धेरै उपलब्धि हासिल गर्न सफल भइयो,’ उनले आफ्नो अनुभव सुनाउँदै भने । नेपाल इको प्यानलबाट डेढ सय भन्दा बढीले रोजगारी पाएको पनि उनले बताए । कम्पनीलाई एउटा ठूलो कर्पोरेट हाउसको रूपमा विकास गरी थप रोजगारी सिर्जना गर्ने योजना दवालको छ । होटलमा पनि लगानी  दुवालले होटल व्यवसायमा पनि कारोडौं रुपैयाँ लगानी गरेका छन् । उनको नगरकोटमा आफ्नै होटल छ । सन् २००७ सालमा उनले नगरकोटमा होटल खोलेका थिए । एक वर्ष उनले सो होटल आफैले सञ्चालन गरे । शिक्षण पेसामा पनि भएको र कम्पनी पनि हेर्नु पर्ने कारणले उनले पछि होटल भाडामा लगाए । तर, विश्व महामारीका कारण अहिले सो होटल बन्द अवस्थामा रहेको उनी बताउँछन् । उनी अब होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यसका साथै दुवालका १५ जना साथी मिलेर रारामा आन्तरिक तथा वाहिय पर्यटनलाई लक्षित गर्दै रिसोर्ट पनि निर्माण गरिरहेका छन् । ६ करोड रुपैयाँको लगानीमा बनेको उक्त रिसोर्ट सञ्चालमा ल्याउने तयारी गरिरहेका छन् । सो कम्पनीले पनि विभिन्न ठाउँमा पर्यटकलाई लक्षित गर्दै होटल बनाउँदै जाने योजना बनाएको पनि उनले सुनाए ।

‘बेन्कार्डो’ नेपाली बाथरुम वेयर उद्योगमा क्रान्ति गर्दै

काठमाडौं । बाथरुम वेयरमा देशकै सबैभन्दा ठूलो च्यानल पार्टनर नेटवर्क रहेको ब्रान्ड बेन्कार्डोले, सबै पर्यावरण अनुकूल उत्पादनहरुको प्रयोगद्वारा प्रवेश स्तरदेखि लक्जरी बाथरूमसम्मको उत्कृष्ट डिजाइन प्रदान गर्दछ । ISO,SASO, CE प्रमाणीत बेन्कार्डोमा फिक्स्चर र फिटिंगहरूमा सफा, सुरुचिपूर्ण, कार्यात्मक र कालातीत बेसिनहरू, शौचालयहरू, बाथरूम भ्यानिटीहरू र नुहाउने ठाउँहरू यसको दायराहरूमा समावेश छन् । बिक्री पछिको सेवालाई समयमै सुनिश्चित गर्न हरेक क्षेत्रमा सबैभन्दा ठूलो सेवा नेटवर्क रहेको बेन्कार्डोले नेपालमैे पहिलो बाथरूम वेयर एप ल्याएको छ जस पस्चात उपभोक्ताले बजारमा उपलब्ध सबै उत्पादनहरू, नजिकै अवस्थित डिलरहरू, बिक्री सेवा र प्लम्बिंग सेवाहरू सजिलैसँग हेर्न सक्नेछन् । आफ्नो घरको समस्या, फोटो वा भिडियो अपलोड गरी ४८ घण्टा भित्र प्लम्बिङ सेवाहरू प्राप्त गर्न सक्नेछन् । एक पटक प्लम्बरले कार्य पूरा गरेपछि , दुबै उपभोक्ता र प्लम्बरले आफ्नो एपमा समस्या हल भएको जानकारी टिपाउन सक्छन् । किफायती मूल्यमा लक्जरी सपनाको बाथरूम प्रस्तुत गर्ने पहिलो कम्पनी बेकार्डोका मुख्य खण्डहरू सेनेटरी वेयर, फसेट, किचन सिंक र टाइलहरू हुन् । बेन्कार्डोका उत्पादनहरूमा इको फ्लस वाटर सेभर, जर्म–फ्री, डुअल फ्लस र सफ्ट क्लोज सीट कभर प्रणाली लगाइएको छ । जर्म फ्री सेनेटरी वेयरलाई विशेष सिल्भरनानो ग्लेजले लेपित गरिएको छ जसले किटाणु वृद्धिमा रोक लगाउँछ, उल्लेखनीय रूपमा गन्धबाट मुक्त राख्छ । डुअल फ्लस प्रणाली अर्को एक विशेषता हो जसले एकल १० लिटर फ्लश प्रदान गर्ने परम्परागत फ्लस ट्याङ्कहरूको तुलनामा ६ लिटर फुल फ्लस र ३ लिटर हाफ फ्लसको लागि पानी बचत गर्न सक्षम बनाउँछ । बेन्कार्डो आफ्नो पहिचान “भव्यता र सादगी“ लाई कायम राख्दै क्लासिक र समकालीन शैलीहरूमा नयाँ उचाई तथा विशेषता प्रदान गर्दछ ।

ज्योति र सूर्या लाइफ मर्जपछि सूर्यज्योति बन्ने, सीईओ खत्री, स्वाप रेसियो कति ?

काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभाले उक्त मर्जर प्रस्तावलाई पारित गरेको हो । सभाले मर्जरका लागि तय भएको सेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गरेको छ । जसअनुसार दुई कम्पनी १ बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज हुने भएका छन् । त्यस्तै, सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पारित गरेको छ । सभाले मर्जर पश्चात् बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी राख्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ । त्यस्तै, मर्जर कार्यसँग सम्बन्धित प्रचलित कानुन, नियम, निर्देशिकाहरु बमोजिम अपनाउनुपर्ने तथा गनुपर्ने सम्पूर्ण कार्यहरु वा प्रकृयामा पुरा गरि अन्तिम स्वीकृति लिने सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले संचालक समितिले प्रस्तुत गर्ने आथिर्क वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आथिर्क वर्ष २०७७/७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ । बाह्य लेखापरिक्षक नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरिक्षक नै नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

लाभांश घोषणाका लागि राष्ट्र बैंक पुगे १९ लघुवित्त

काठमाडौं । लाभांश घोषणाका लागि डेढ दर्जन लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंकका अनुसार १९ वटा लघुवित्त वित्तीय संस्थाहरु वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेका हुन् । तर राष्ट्र बैंकले कुनै पनि लघुवित्तलाई स्वीकृति नदिएको जनाएको छ । ‘१९ वटा लघुवित्तहरु वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएका छन्, त्यस विषयमा हामी अध्ययन भइरहेको छ, हालसम्म आवेदन दिएका कुनै पनि लघुवित्तले स्वीकृति पाएको छैन,’ राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले भने । लघुवित्तहरु वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरेपनि स्वीकृति नपाउँदा लाभांश वितरणमा ढिलाइ हुने भएको हो । वित्तीय विवरण स्वीकृति नदिँदा लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरु राष्ट्र बैंक पुगेका थिए । अन्य लघुवित्तहरु पनि स्वीकृतिका लागि राष्ट्र बैंकमा आउनेक्रम जारी रहेको छ । एजिएम क्लियरेन्सका लागि आफ्नो फाइनान्सियल स्टेटमेन्टहरु राष्ट्र बैंकमा पठाएका सबै लघुवित्तको अध्ययन भइरहेको राष्ट्र बैंकका सहायक प्रवक्ता पोख्रेलले बताए । सेवा शुल्क बढी असुल गरेका लघुवित्तलाई रकम फिर्ता गराएर फाइनान्सियल स्टेटमेन्ट करेक्सन गरेर आउनु भनेको उनले बताए । ‘जुन लघुवित्तले राष्ट्र बैंकको निर्देशन भन्दा बढी सेवा शुल्क असुल गरेका छन्, उनीहरुलाई एजिएम क्लिेरेन्सका लागि आउँदा फिर्ता पठाएर फिर्ता शुल्क गर्न निर्देशन दिएको छ,’ उनले भने ।

नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे । ‘निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्’, प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश दिनुपर्यो ।’ उनले नेपाली कला क्षेत्रको समस्या समधानका निमित आफू सदैव तयार रहेको बताए । भेटघाटमा सहभागीहरूले फिल्म, सङ्गीतलगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए । उनीहरूले फिल्म छायाङ्कनको समस्या, छायाङ्कनमा अनुदान, फिल्ममार्फत पर्यटन प्रवर्द्धन, सङ्गीतको रोयल्टी, ओटीटीको विषयमा देखिएको केही समस्या उठान गरेका थिए । ‘समस्याहरूलाई हामीले सम्बोधन गर्नेछौँ । हामीलाई समस्याका बारेमा अवगत गराउँनु । म सदैव सकारात्मक छु’, प्रधानमन्त्री देउवाले भने । प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेत्री देउवाले चुनावपश्चात पनि यस्ता छलफल अझै बढाउने बताए । ‘निरन्तर संवादले नै समस्याको हल दिन्छ । हामी आफ्नो कला, संस्कृतिको प्रवर्द्धधन गर्न तत्पर छौँ । छलफलसँगै आउँदो दिनमा निकास दिनेछौँ’, उनले भने । भेटघाट तथा छलफलमा नयाँपुस्ताका कलाकर्मीहरू पूर्णिका सिजापति, उषा उप्रेती, एलिना चौहान, एलिजा गौतम, जेबिका कार्की, रिस्ता बस्नेत, सुधीर श्रेष्ठ, युवराज चौलागाईं, निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज बिसीलगायतको सहभागिता थियो ।

मंगलबारदेखि सिक्लेस हाइड्रोपावर दोस्राे बजारमा किनबेच गर्न पाइने

काठमाडौं । सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ । सोमबार हाइड्रोपावर र नेप्सेबीच सेयर सुचिकृत गर्ने सम्झौता भएसँगै कम्पनीको साधारण सेयर नेप्सेमा सुचीकृत भएको हो । यससँगै कार्त्तिक २९ गते, मंगलबारदेखि सिक्लेस हाइड्रोपावरको सेयर दोस्राे बजारमा किनबेच गर्न पाइने छ । कम्पनीले बिओके क्यापिटल मार्केटमार्फत सर्वसाधारणको लागि सेयर बिक्री खुला गरेको थियो ।

माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । माइडियाले सम्पूर्ण उपभोक्ताहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तपाईलाई न्यानो बनाई राख्न बिभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको छ । माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् । नवीन प्रविधिद्वारा उत्पादित माइडियाका घरायसी सामानहरु आजै घर ल्याउनु र यस जाडो मौसममा तातो न्यानो भई जीवन सहज बनाउनु ।

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

ललितपुर । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ। विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो। निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढी मधुमेहका विरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए। एचबिएवान सी, पीपी र फास्टिङ लगायतका ल्याव टेष्टमा पनि निशुल्क परीक्षण गरिएको उनले जानकारी दिए। मधुमेहका विरामीहरुलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्कसको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको उनले बताए। निशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरुलाई २ हप्तासम्म फ्लो अप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ। त्यस्तै अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा विहान जनचेतनामुलक र्याली पनि निकालेको थियो। अस्पताल परिसरबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहुदैँ अस्पताल प्राङगणमा पुगेर टुंगिएको थियो। र्यालीमा अस्पतालका अध्यक्ष कुमार थापा, संचालक रामेश्वर थापा, कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा लगायतकाको उपस्थिति रहेको थियो।