असिना नपरेपछि तनहुँमा सुन्तला उत्पादन बढ्यो
तनहुँ । तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ‘गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ । यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला सहरमा बिक्री वितरण हुन्छ’, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने, ‘कहीँ उत्पादन बढेको र कहीँ घटेको अवस्था छ । समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ ।’ उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उहाँ बताउँछन् । ‘यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । फल्ने क्षेत्रफल घटेको छ’, तिवारीले भने । गत वर्ष जिल्लामा एक हजार छ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उनले बताए। उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष फल्ने क्षेत्रफल घटेर एक हजार चार सय ८० हेक्टरमा सुन्तला खेती गरिएको उनले बताए। उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष कुल २७ करोडको सुन्तला बिक्री वितरण हुने अपेक्षा गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका स्थानमा निर्यात गरिन्छ । सुन्तला निर्यातले जिल्लामा आयस्रोतमा थप सहयोग पुगेको उनी बताउँछन् । व्यास नगरपालिका–१३ बेनीकोटका किसान खेमबहादुर रानाले यस वर्ष एकतिहाइ सुन्तला उत्पादन वृद्धि भएको बताउनुभयो । सुन्तलाको दाना ठूला भएकाले ग्राहकले खरिद गर्दा माग गरिएको रकम दिन तयार भएको उनी बताउँछन् । ‘बेनीकोटमा निरन्तर उत्पादन राम्रो हुने हो । यसपटक अझै बढी उत्पादन भएको छ’, किसान रानाले भने। विगतको तुलनामा किसान सचेत भएको उनी बताउँछन् । ‘पहिले मलजल, स्याहारसुसारको कमी हुन्थ्यो । अहिले किसान सचेत भएका छन् । राम्रो उत्पादन लिन सुन्तलाको बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसारसँगै मलजल, पानी समयमा पु¥याउनुपर्छ भन्ने बुझ्दै आएका छन्,’ उनले भने। त्यस्तै शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका किसान जगतबहादुर महतले यस वर्ष करिब रु सात लाख ३० हजारको सुन्तला बिक्री वितरण गर्नुभएको छ । यस क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएकाले यहाँका किसानले गत वर्ष चार÷पाँच लाख आम्दानीलाई बढाएर रु सात देखि १० लाखसम्ममा सुन्तलाको बोटबाटै ठेक्कामा बिक्री गरिएको उनी बताउँछन् । । त्यसैगरी देवघाट गाउँपालिका–३ छिपछिपेका किसान पूर्णिमा थापाले देवघाट क्षेत्रमा पनि सुन्तला उत्पादन राम्रो रहेको बताए । ‘पहिलाको वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने आशा गरेका छौँ । यहाँ उत्पादित सुन्तलाले लोभ्याउनेछ । ठेक्का बिक्री गरेका छौँ । अब केही समयमा यहाँ सुन्तला टिप्न आउनेछन् र लैजान्छन्’, उनले भने । म्याग्दे गाउँपालिका क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । यस क्षेत्रमा सुन्तलाका दाना कम लाग्नु, सुन्तलाको बोटमा रोग लाग्दा उत्पादनमा कमी आएको किसान विश्वबहादुर अधिकारी बताउँछन् । ‘हामीले जिल्लामा समग्र उत्पादन वृद्धि भएको छ भन्ने कृषि ज्ञान केन्द्रमार्फत सूचना पाएका छौँ । तर म्याग्दे गाउँपालिका–४ उमाचोकमा सुन्तला उत्पादन खस्किएको छ’, अधिकारीले भने, ‘कृषि ज्ञान केन्द्रको सहयोगमा अध्ययन गरी सुन्तलाको बोटविरुवालाई उचित तत्त्व पु¥याउन समन्वय गरिरहेका छौँ ।’ तनहुँका सुन्तला पकेट क्षेत्रमध्ये अधिकांश स्थानमा उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रको अनुमान छ । अनुगमन र अध्ययनका क्रममा केही स्थानमा भने सुन्तला उत्पादन खस्किएको पाइएको केन्द्रले जनाएको छ । किसान सचेत विगतमा सुन्तला खेती निर्वाहमुखी भएर चलेको थियो । तर हाल किसान सचेत बन्दै गएका छन् । राम्रो उत्पादनका लागि किसानले सुन्तलाका बोटविरुवालाई खाद्यतत्त्व पु¥याउनुपर्ने कुरामा सचेत भएको कृषक जगतबहादुर महत बताउँछन् । मल, जल र खाद्यतत्त्व नै नराखी उत्पादन हुने निर्वाहमुखी खेती मानिएको थियो । अहिले व्यापारिक तवरबाट उत्पादन वृद्धिका लागि मलजल, खाद्यतत्त्व, स्याहारसुसारलगायतलाई प्राथमिकता दिने गरेको पाइएको महत बताउँछन् । ‘पहिले एक डोको मलसमेत हालिन्थिएन । अहिले चेतनास्तर वृद्धि भएर सुन्तलाको बोटमा एक डोको ठाउँमा दुई डोको प्राङ्गारिक मल हाल्छन् । दुई डोको हाल्ने गरेकोमा चार पु¥याएका छन् । सुन्तलाको उचित समयमा पोशकतत्त्व हाल्ने गरेका छन् । यसले गर्दा उत्पादन वृद्धि हुँदै गएको हो’, उनले भने। ब्लकबाट नै आएको बिरुवा लगाउनु, विरुवालाई पनि मानिसलाई जस्तै हेरचाह र उपयुक्त समयमा खाद्यतत्त्व र भिटामिन हालिएकाले सुन्तला उत्पादन वृद्धि भएको किसान बताउँछन् । मानिसले बालबालिकालाई हुर्काउँदा गरेको हेरचाहजस्तै खेतीबालीलाई पनि हेरचाह गर्न सक्नुपर्ने उनीहरुको भनाइ छ ।
सिन्धुपाल्चोकमा बनाइएका एक कोठे नमूना माझी बस्तीका घर प्रयोगविहीन
सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् । भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए। बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन् । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याएका छन् । तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए। तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताए । उनका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् । तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमूना बस्तीका घरमा आधा भागसम्म ढुङ्गाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमूना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए । उनका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई दुईदेखि १० लाखसम्म ऋण लागेको उनले बताए । दीर्घकालीन सोच नराखी बनाइएको नमूना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ ।
नेपाल टेलिकमबाट विश्वकप प्याकेज खरिद गर्दा १२ जिबी डाटा निःशुल्क पाइने
काठमाडौं । नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्वकप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वल्र्ड कप प्याकेज उपलब्ध गराउने भएको छ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ एनटीटीभीका ग्राहकहरुले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसका लागि वल्र्ड कप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्नेछ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि तोकिएको फिफा वल्र्ड कप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकहरुलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ (अठ्ठाइस) दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निःशुल्क उपलब्ध गराइने छ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ एनटीटीभीका ग्राहकहरुले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिन्छ । विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।
रुपन्देही सीमामा सुरक्षा कडा
बुटवल । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् । मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिकरूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन् । सीमामै भेटिनुभएका रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बिरामी, बिरामी बोकेको गाडी, अत्यावश्यक सामान बोकेका मालवाहक गाडी, नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपाली मतदातालाई केहीबेर ‘होल्ड’ गरी आवागमन गर्न दिइएको बताए । सीमामा नेपालबाट भारत फर्किने मालवाहक ट्रकको लामो लाइन लागेको छ । ती ट्रकलाई भारतको समन्वयमा भारत पु¥याउने तयारी भइरहेको छ । शुक्रबार र शनिबार केही छुट रहे पनि मतदानको दिन भने पूर्णरूपमा आवागमन ठप्प बनाउने श्रेष्ठले बताए । ‘भारतीय गाडी नेपालमा राख्दा सुरक्षा चुनौती त हुन्छ नै उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ’, श्रेष्ठले भने, ‘भारतीय सुरक्षा निकायको समन्वयमा यिनीहरूलाई पठाउने व्यवस्था हुन्छ ।’ नेपाल र भारतका सुरक्षाकर्मीसँगै भारतीय उच्च अधिकारीले पनि सीमामा निगरानी गरिरहेका छन् । भारत महाराजगञ्जका सहायक डिस्ट्रिक्ट मजिष्ट्रेट दिनेशकुमार मिश्रले पनि नेपालमा हुने निर्वाचनका क्रममा भारतबाट पूर्णरूपमा सहयोग र समन्वय रहने बताए । रुपन्देहीमा करिब ६० किलोमिटर नेपाल र भारतबीच खुला सीमा रहेको छ । यी सीमा नाकामा अहिले सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटेको छ । मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई लिएर रुपन्देहीका विभिन्न मतदान केन्द्रको निर्माण तीव्र बनाइएको छ । रुपन्देहीका सात सय दुई मतदान केन्द्रमा आठ कर्मचारीका दरले बिहीबारदेखि नै कर्मचारी मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । फिल्डमा सुरक्षाकर्मीसहित पुगेको मतदान अधिकृतको टोलीले निर्वाचनलाई सफल बनाउन विभिन्न मुचुल्का बनाई टाँस गरेको छ । मतदान अधिकृतको टोलीले स्थानीय राजनीतिक दलहरूसँग शुक्रबार सर्वदलीय छलफलसमेत गरेको बेलहिया माविमा खटेका मतदान अधिकृत जगतबहादुर बस्नेतले बताए ।
मजदुरलाई कामकै पिरलो, छोएन चुनावले
बाग्लुङ । ‘गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।’ सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आएका छन् । गाउँमा कुनै काम नपाएपछि बागलुङ आउनुभएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ भन्ने थाहा छ । तर उहाँ यसपालि गाउँमा मतदान गर्न गएनन् । पटक–पटक मतदान गर्दै आउनुभएका पगरीले भोट दिएर जिताएका नेताले गरिब, दुःखी र मजदुरका लागि काम गर्न नसक्दा आफूहरू भौँतारिएर काम खोज्दै बागलुङ आउनुपरेको बताउँछन् । ‘मैले अहिलेसम्म तीन–चारपटक भोट हालेर नेताहरूलाई जिताएँ तर, उनीहरूलाई जिताएर हामी गरिब जनताले केही पाएनौँ, नेताले पद पाए, पैसा कमाए, आफू बने, आफ्ना नातागोता र आसेपासेलाई गतिलो बनाए, हामी भोट हालेर जिताउनेले गाउँमा एउटा सामान्य रोजगार पनि पाएनौँ’, पगरीले भने, ‘त्यही भएर अहिले गाउँमा भोट हाल्न गएनौँ, नेताज्यूले फोन त गर्नुभएको थियो तर यति टाढाबाट हजारौँ खर्च गरेर जानु पर्छ, उता गए खर्च बढ्छ, यहाँ काम गरे थोरै भए पनि कमाइन्छ ।’ काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समूहमा काम गरिराखेका छन् । गाउँमा चुनावी रौनक सुरु भएपछि बागलुङ आउनुभएका मगरलाई निर्वाचनबारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदुरीका लागि बागलुङ आएको बताउने मगर दुईपटक मतदान गरेको अनुभव सुनाउनुहुन्छ । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिएका मगर बाध्यताले बागलुङसम्म आएको बताउँछन् । ‘म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरिब छ, राम्रोसँग खानलाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जानका लागि तयारी गरेको थिएँ, गाउँका एक जना नेताले म तिमीलाई काम दिलाइदिन्छु भनेर भने, चुनाव जितेको यतिका महिना बितिसक्दा पनि केही काम नपाएपछि म यहाँ आएको हुँ’, मगरले भने, ‘विदेश जान लागेको मान्छेलाई यही काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नुपरेको छ, गाउँमा एउटा सामान्य काम मिलाइदिएको भए म किन यहाँ आउनुपथ्र्यो र ?’ मगरले एक दिन काम नगरे खान नपुग्ने भन्दै मतदान गर्ने चाहना भए पनि धेरै खर्च लाग्ने हुँदा जान नसकेको बताए। चुनावमा भोट हाल्दा राम्रो मान्छेले पनि जित्न सक्ने भन्दै गाउँभन्दा धेरै टाढा हुँदा जान नसकेको उनी बताउँछन् । मगरले आफूले पहिलोपटक मतदान गर्ने अवसर गुमाएकामा दुःख व्यक्त गरे । ‘म अघिल्लो निर्वाचनमा विदेशमा थिएँ, भोट हाल्न पाइएन, यसपालि पनि चुनाव आयो, गाउँमा बस्न पाइएन, कामका लागि यहाँ आइएको छ, चुनाव भएको बेला नेपालमा बल्ल भएँ, पहिलोपटक भोट हाल्ने अवसर त थियो तर के गर्नु यहाँबाट भोट हाल्न जाँदा हजारौँ रुप्पे (रुपैयाँ) खर्च लाग्छ, त्यो खर्च कसले दिन्छ र मलाई रु’, उनले भने, ‘भोट हाल्ने मन त थियो तर पाइएन, भोट हालेपछि राम्रो मान्छेले पनि जित्न सक्थे, गाउँ नजिक काम नपाएकै कारण यहाँसम्म आउनुपरेको हो ।’ रामेछापका २३ वर्षीय दिनेश खत्री पनि दुई महिनादेखि यही सडकखण्डमा ढुङ्गा बोक्ने र गिट्टी, बालुवा मुछ्ने काम गर्दै आएका छन् । उनले रामेछापबाट बागलुङसम्म रहरले नभई बाध्यताले आउनुपरेको बताए । उनी गाउँ नजिक रोजगार नपाएपछि दुई महिना अगाडि यहाँ आएको बताउँछन् । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरूको फोन आए पनि वास्तै नगरी काम गरिरहेको खत्रीको भनाइ छ । खत्रीले भने, ‘हामी रहरले आएका होइनौँ, बाध्यताले आएका हौँ, घरमा स–साना छोराछोरी छन्, काम नगरेसम्म उनीहरूको लालनपालन गर्न समस्या हुन्छ, गाउँ नजिक केही काम पाइएन, अहिले यहाँ बाटोको काम गरिरहेका छौँ, चुनाव आयो भोट हाल्न आउनुप¥यो भनेर गाउँबाट फोन आउँछ, भोट हालेर हामीहरूले गाउँमै रोजगार पाउने भए त जान हुन्थ्यो, काम पाइन्नँ, नेताहरूले जिते भने हामीलाई चिन्दैनन्, अहिले हाम्रो भोट मात्रै चिन्छन् ।’ गाउँबाट दैनिक दर्जन बढी युवा रोजगारीका लागि देश–विदेशमा भौतारिँदा जनप्रतिनिधिले यसतर्फ ध्यान नदिएको उनको गुनासो छ । खत्रीले चुनावका बेला रोजगारीका मुद्दालाई नेताहरूले बढी जोड दिए पनि काम भने गर्न नसकेको बताए। उनले भने, ‘नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्, हाम्रा लागि कुनै काम गरेका छैनन्, गाउँमा राम्रोसँग विकास पनि हुनसकेको छैन, भाषणमात्रै ठूला–ठूला काम भने गर्दैनन्, दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्, तर जनप्रतिनिधिले भने यसतर्फ ध्यान दिनसकेका छैनन्, चुनावका बेला रोजगारका बारेमा खुब ठूला–ठूला भाषण गर्छन्, चुनाव सकिएपछि कहाँ हराउँछन् पत्तो हुँदैन । लोकमार्गको घोँडाबाँधेबाट गलकोटको नरेठाँटीसम्म सिन्धुपाल्चोक, काभ्रे र रामछापका दुई सयभन्दा बढी कामदार मतदान गर्न गाउँ फर्किएनन् । अघिल्लो निर्वाचनमा नेताहरूले गरेको बाचा पूरा नगरेपछि निराश भएर यसपालि भोट हाल्न गाउँ नगएको उनीहरू बताउँछन् ।
यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोट
दोधारा-चाँदनी । वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकामा फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको थियो । बन्द प्रशिक्षणमा कञ्चनपुरका हेमन्त धामी, मिलन बोहरा, अनुराग सिंह, राहुल चन्द, आकाश चन्द, डडेल्धुराका दीपक बोहरा, विशाल ऐर, कैलाश ऐर, सचिन साउद, बैतडीका दीपक बोहरा, गजेन्द्र बोहरा, प्रदीप चन्द, सुनिल चन्द, दार्चुलाका विपिन धामी, वीरेन बम, कैलालीका टेक रावत, दिनेश ओड, नरेन साउद, डोटीका किष्ण ऐर, अछामका युवराज खत्री र बझाङका सन्जे बोहरा छन् । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष चन्दले शुक्रबारदेखि खेलाडी बन्द प्रशिक्षणमा रहेको बताए । ‘प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ’, उनले भने, उक्त टोलीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ ।” नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ८ गतेदेखि काठमाडौँमा वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।
नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ पक्राउ
काठमाडौं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई आज पक्राउ गरी थप अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार खेल हेर्ने बहानामा उनीहरू सट्टेबाजीमा संलग्न रहेका पाइएको छ । यसअघि पहिलो खेलमा यस्ता शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी गरी अनुसन्धान गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
अत्याधिक चिसोका कारण ग्यास नबल्दा मनाङ गएका निर्वाचनका कर्मचारीलाई सकस
मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । ‘खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला’, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भने, ‘आगो बाल्न दाउरा किन्दा भारीको रु दुई हजार प¥यो । समस्या टार्नै प¥यो ।’ उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् । सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताए । ‘यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,’ रेग्मीले भने । मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताए । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उनले बताए । ‘यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । दुई दिन लगाएर उनीहरु पुगेका छन् । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,’ उनले भने । नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकै रु एक हजार पाँच सय तिर्नुपरेको उनले बताए । निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक दुई हजार पाँच सय दिन्छ । कार्यालय सहयोगीले एक हजार दुई सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको छ सय पाउँछन् । ‘एक गिलास तातोपानीको एक सय पर्छ । सुगममा छ सयले दुई छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,’ उनले भने । मनाङमा दुई सय कर्मचारी खटिएका छन् । सिङ्गो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन् । वडा नं १ को कार्यालय नारगाउँमा ९६, वडा नं २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन् । फू गाउँअन्तर्गत वडा नं ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नं ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर ) मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन् । रासस