विकासन्युज

सुरु भयो प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न देशैभर मतदान सुरु भएको हो । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १ हजार ५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी १ करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् । चुनावका लागि देशभर १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् । यस्तै, प्रदेश सभाका लागि ३ हजार २२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये २ हजार १३० जना दलका र १ हजार ९४ स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।

भारतबाट पहिलोपटक निजी ‘विक्रम एस’ रकेट प्रक्षेपण

एजेन्सी । भारतको पहिलो निजी रकेट विक्रम एस नोभेम्बर १८ मा प्रक्षेपण गरिएको छ। यो रकेट हैदराबादको एक निजी स्टार्टअप कम्पनी स्काइरुटले बनाएको हो, जसलाई श्रीहरिकोटाको इसरोको प्रक्षेपण केन्द्र सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो। योसँगै भारतको स्पेस टेक्नोलोजीमा निजी रकेट कम्पनीको प्रवेश सुरु भएको छ । भारत अब ती थोरै देशहरूमा परेको छ जहाँ निजी कम्पनीहरूले पनि आफ्ना ठूला रकेटहरू प्रक्षेपण गर्छन्। यसलाई ठूलो उपलब्धि भनिएको छ । विक्रम एस के हो र ? विक्रम एस को नाम इसरोका संस्थापक डा। विक्रम साराभाईको सम्झनामा राखिएको हो। विक्रम शृङ्खलामा तीन प्रकारका रकेटहरू प्रक्षेपण गरिने छ, जसलाई साना आकारका भू-उपग्रहहरू लैजानका लागि विकसित गरिएको छ। विक्रम९१ यस श्रृंखलाको पहिलो रकेट हो। विक्रम–२ र ३ ले पृथ्वीको तल्लो कक्षमा भारी तौल पठाउन सक्ने बताइएको छ । विक्रम एसले पृथ्वीको तल्लो कक्षामा तीनवटा उपग्रह पठाउन सक्छ। यी तीनमध्ये एउटा विदेशी कम्पनीको छ भने अन्य दुई भारतीय कम्पनीका स्याटलाइट छन् । स्काइरुटले यसअघि नै मे २०२२ मा रकेटको सफल परीक्षण भएको बताएको छ। कम्पनीले यस मिसनलाई विक्रम एस : भारतको पहिलो निजी रकेट प्रक्षेपण नाम दिएको छ । स्काइरुटको विज्ञप्ति अनुसार विक्रम एस नोभेम्बर १२ र १६ को बीचमा लन्च हुने थियो तर खराब मौसमका कारण नोभेम्बर १८ मा लन्च गरिएको हो। ‘स्याटेलाइट पठाउन ट्याक्सी बुकिङ जत्तिकै सजिलो’ अरबपति एलन मस्कको स्पेस एक्स कम्पनीले अमेरिकामा हालैको रकेट प्रक्षेपणको लागि धेरै अन्तर्राष्ट्रिय हेडलाइन बनाएको थियो । यो प्रवृत्ति भारतमा पनि पुगेको देखिन्छ । पूर्व वैज्ञानिक पवन कुमार चन्दन र नागा भरत डाकाले २०१८ मा स्काईरूट एयरोस्पेसको स्टार्टअपको रूपमा स्थापना गरेका थिए। यसका सीईओ पवन कुमार चन्दनले यस मिसनका लागि इसरोले धेरै प्राविधिक सुविधा उपलब्ध गराएको बताए। उनी भन्छन्, ‘इसरोले यसको लागि एकदमै मामूली शुल्क लिएको छ।’ स्काइरुट पहिलो स्टार्ट अप कम्पनी हो, जसले सन् २०१८ मा इसरोसँग रकेट प्रक्षेपणको लागि पहिलो एमओयूमा हस्ताक्षर गरेको छ। यस बाहेक चेन्नईमा आधारित अग्निकुल कोसमोस र स्पेसकिड्ज, कोइम्बटूरमा रहेको बेलाट्रिक्स एरोस्पेस जस्ता केही कम्पनीहरू छन् जसले साना उपग्रहहरू पठाउने अवसर खोजिरहेका छन्। स्काइरुट अत्याधुनिक प्रविधिको सहयोगमा ठूलो संख्यामा र आर्थिक रूपमा रकेट बनाउन सक्षम हुनेमा विश्वस्त छ । आगामी दशकमा कम्पनीले २० हजार साना उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । कम्पनीको वेबसाइटमा लेखिएको छ, ‘अब अन्तरिक्षमा उपग्रह पठाउन ट्याक्सी बुक गर्नुभन्दा छिटो, सही र सस्तो हुनेछ।’ यो पनि भनिएको छ कि रकेटहरू यसरी डिजाइन गरिएको छ कि तिनीहरूलाई २४ घण्टा भित्र कुनै पनि प्रक्षेपण केन्द्रबाट जम्मा गरी छोड्न सकिन्छ। भारतीय अन्तरिक्ष क्षेत्रमा निजी कम्पनीहरू सन् २०२० देखि भारतीय अन्तरिक्ष क्षेत्रमा सार्वजनिक र निजी कम्पनीको सहभागिता सुरु भएको छ । जुन २०२० मा, मोदी सरकारले यस क्षेत्रमा परिवर्तनहरू सुरु गरेको थियो । त्यसपछि निजी कम्पनीहरूको लागि बाटो खोलियो। यसका लागि इन९स्पेस ई नामक नयाँ संगठन गठन गरिएको थियो जसले इसरो र अन्तरिक्ष कम्पनीहरू बीच पुलको रूपमा काम गर्दछ। सन् २०४० सम्ममा अन्तर्राष्ट्रिय अन्तरिक्ष उद्योगको आकार एक ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । यो उद्योगमा भारतको हिस्सा २ प्रतिशत मात्रै छ । भारतले नयाँ अन्तरिक्ष प्रविधिका लागि निजी कम्पनीहरूलाई प्रोत्साहन गरिरहेको छ। भारतको अन्तरिक्ष कार्यक्रमको यात्रा यस क्षेत्रमा भारतको यात्रा सन् १९६० को दशकमा सुरु भएको थियो। त्यसपछि डा. विक्रम साराभाईको नेतृत्वमा अन्तरिक्ष अनुसन्धानका लागि भारतीय राष्ट्रिय समितिको स्थापना भयो। भारतको पहिलो उपग्रह आर्यभट्ट तत्कालीन सोभियत रुसको अस्त्रखान ओब्लास्टबाट प्रक्षेपण गरिएको थियो। यसलाई भारतीय अन्तरिक्ष क्षेत्रको इतिहासमा कोसेढुङ्गा मानिन्छ। भारतीय भूमिबाट पहिलो रकेट २१ नोभेम्बर १९६३ मा सफलतापूर्वक प्रक्षेपण गरिएको थियो। यो तिरुवनन्तपुरम नजिकै थुम्बाबाट जारी गरिएको थियो। यो रकेटको तौल ७१५ किलो रहेको थियो, जसले ३० किलो तौलको उपग्रहलाई २०७ किलोमिटर टाढासम्म लैजान सक्ने प्रकारको थियो । सब-ऑर्बिटल रकेट के हो र ? विक्रम एस रकेट सिंगल स्टेज सब९ऑर्बिटल प्रक्षेपण वाहन हो, जसले तीनवटा विभिन्न कम्पनीका स्याटेलाइटहरु बोक्न सक्छ। यसले विक्रम शृंखलाको रकेटको परीक्षण गर्न र यसको प्रविधिलाई प्रमाणित गर्न मद्दत गर्छ । सो विषय स्काइरूट एयरोस्पेसका सीओओ नागा भरत डाकाले एक विज्ञप्तिमा भनेका छन् इसरोका एक पूर्व वरिष्ठ वैज्ञानिकले आफ्नो नाम खुलासा नगरी सब-अर्बिटल रकेटको बारेमा बताए। उनी भन्छन्, ‘सबै ओर्बिटल रकेटहरू अन्तरिक्षमा जान्छन् र त्यसपछि पृथ्वीमा खस्छन्, ढुङ्गा हाने जस्तै । तिनीहरूलाई खस्न १० देखि ३० मिनेट लाग्छ।’ वास्तवमा अर्बिटल र सब-अर्बिटल रकेटहरू बीचको गतिमा भिन्नता छ। एक अर्बिटल रकेटले पृथ्वीको त्यो कक्षको गति हासिल गर्नुपर्दछ। तिनीहरूले २८ हजार किलोमिटर प्रति घण्टाको गति हासिल गर्नुपर्छ, अन्यथा तिनीहरू पृथ्वीमा खस्छन् । यो गति हासिल गर्न रकेट प्राविधिक रूपमा धेरै उन्नत हुनुपर्छ, त्यसैले यो धेरै महँगो छ। तर, यो सब-अर्बिटल रकेटको मामला होइन। तिनीहरूले यति धेरै गति हासिल गर्न आवश्यक छैन। तिनीहरूले आफ्नो गति अनुसार एक निश्चित उचाइमा जानुपर्छ र त्यसपछि इन्जिन रोकिएपछि तिनीहरू भुइँमा खस्छन्। उदाहरणका लागि तिनीहरूका लागि ६ हजार किलोमिटर प्रति घण्टाको गति नै पर्याप्त हुन्छ ।

डिशहोमले विश्वकप २ के रिसोलुसोनमा प्रशारण गर्दै

काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान फिल द म्याजिक अफ फुटबल इन डिशहोम अभियान शुरु गरेको छ । डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् । नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा म्याजिक मुमेन्टसमा उनीहरुको मनपर्ने टिम जस्तै, म्याजिकल मुमेन्टस अफ पोर्चुगल प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु

एजेन्सी । रुसको सुदूर पूर्वीसखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएका छन् । सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले उद्धारकर्ताले अझै तीन जनाको खोजी गरिरहेको बताएका छन् । स्थानीय सरकारले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार अनुचीत भण्डारण र घरेलु प्राकृतिक ग्यास ट्याङ्कीको प्रयोगले विस्फोट गराएको बताएको छ । मस्को समयअनुसार बिहान ५ बजे उक्त विस्फोट भएको र भवनका केही भागमा क्षति पुगेको रुसको सरकारी समाचार एजेन्सी तासले स्थानीय आपतकालीन सेवालाई उद्धृत गर्दै जनाएको छ ।

गलत प्रचार गरेकोमा कांग्रेस र माओवादीको आपत्ति

काठमाडौं । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पनासमेत गर्दैनन्’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’ गत सूचनाप्रति आपत्ति जनाउँदै सो संयुक्त विज्ञप्तिमा यसलाई निर्वाचन अपराधका रुपमा लिएर कानुनी कारबाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ । कांग्रेस र माओवादीले अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ । प्रेस सेन्टरको आपत्ति प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा गलत प्रचार गरेको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले नेकपा (एमाले)को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत केहीले स्थापित अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति ध्यानाकर्षण भएको बताए। केही स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई ‘स्क्रीनसट’ गरेर सामाजिक सञ्जालमा पोष्ट गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । ‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै ‘स्क्रीनसट’ गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो’ अध्यक्ष सापकोटाले भने, ‘यस्तो गलतकार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको उल्लङ्घन पनि हो ।’ आम निर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहितरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने अवस्थामा पेसागत पत्रकार सङ्गठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैलाउनु निर्वाचन आचारसंहिताको घोर उल्लङ्घन भएको ठहर गर्दै प्रेस सेन्टरले उक्त घटनालाई गम्भीररुपमा लिई आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।

पानी ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । चाँगुनारायण नगरपालिका(३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका(२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । आज सडकमा खेलिरहेको बालकलाई पानी ट्याङ्करले ठक्कर दिई घाइते भएका रामेछाप सुनापाती गाउँपालिका ४ घर भई हाल ब्यासीमा बस्ने रबिन्द्र तामाङको छोरा सात वर्षीय विवेश तामाङको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिए । प्रहरीले बालकलाई ठक्कर दिने ट्याङ्करका चालक भक्तपुर नगरपालिका–९ कमलबिनायक बस्ने सिताराम पक्का नेवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आईतवार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले स्थिर समयमा आचारसंहीताको प्रभावकारी कार्यान्वयनको लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चलन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्ता लगायतका सवारीसाधनलाई अनुमति लिनु नपर्ने गरी व्यवस्था गरेको बताए । उनले भने, ‘नेपालको संविधानले प्रत्याभुत गरेको जनताको प्रतिष्पर्धात्मक लोकतान्त्रिक शासनप्रणाली, जनतामा निहीत सार्वभौम सत्ता, नागरिक स्वतन्त्रता,मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगबाट स्वीकृत मापदण्ड बमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकुल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रवन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरु र तोकिएका अधिकारीहरुलाई आग्रह गरिसकेको पनि बताए ।

भोट हाल्न जाँदा मतदाताले मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्ने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताए । उनले मतदाताहरुले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनैपनि निषेधित वस्तुहरु बोक्न नहुने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तुहरु मतदान केन्द्रमा लिएर गए सामग्रीहरु जफत गर्ने चेतावनी दिए । उनले मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र मतदान अधिकृतहरुले मतदाताका हरेक गतिविधिहरुको निगरानी गरिरहेको हुनाले आयोगको आँखा छलेर अनावश्यक गतिविधि नगर्न सचेत गराए । प्रमुख निर्वाचन आयुक्त भण्डारीले अरुको नाममा मत नहाल्न, दोहो¥याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरुलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए÷नभएको यकिन गर्न पनि आग्रह गरे । उनले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, कृयापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरे । उनले भने, ‘मतदान गर्न जाँदा साथमा आफ्नो मतदाता परिचय पत्र लिएर जानुहोस् । यदी मतदाता परिचय पत्र नभए आयोगले तोके बमोजिमको आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै परिचय पत्र लिएर जानुहोस् । तर मोबाइल, कुनै क्यामेरा, सलाई, लाइटर र यस्तै कुनैपनि निषेधित वस्तुहरु साथमा लिएर नजानुहोस् ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनैपनि तर्कवितर्क नगर्न पनि सचेत गराए । उनले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिरि निस्किएपछि आफ्नो सिधा वासस्थानतर्फ लाग्न पनि आग्रह गरे ।