विकासन्युज

कांग्रेसले अघि सा‍र्यो नेतृत्व र विधान सुधारको खाका

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।  १५औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठक सम्पन्न भएको हो । प्रवक्ता देवराज चालिसेले बैठकले गरेका  विभिन्न निर्णयहरू सार्वजनिक गरेका छन् । उनका अनुसार विशेष महाधिवेशनबाट निर्माण भएको वर्तमान केन्द्रीय समितिको यो अन्तिम बैठक हो ।  बैठकले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक विषय तथा महामन्त्रीले पेश गरेको पार्टी सञ्चालन र विधानसम्बन्धी प्रस्तावमाथि निर्णय गरेको छ । सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि कांग्रेसको कार्यदिशा, सरकार, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोणसमेत समेटिएको चालिसेले बताए ।  लोकतान्त्रिक संस्थालाई सबल बनाउनु आगामी दिनको प्रमुख चुनौती रहेको उल्लेख गर्दै कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै भएको उनले बताए । कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति अघि सारेको छ ।  नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा अघि सारिएको चालिसेले बताए । यसबाट सक्षम नेतृत्व निर्माण तथा सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ । बैठकले विधान संशोधनसम्बन्धी प्रस्तावमा समेत सुझावसहितको प्रारम्भिक खाका अघि बढाएको छ ।  महामन्त्रीले पेश गरेको प्रस्तावमा पार्टीलाई कसरी सञ्चालन गर्ने, निर्णय प्रक्रिया कसरी अघि बढाउने तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी र संरचना कसरी व्यवस्थित गर्ने भन्ने विषय समेटिएको चालिसेले जानकारी दिए । नयाँ विधानको प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ । तर, यो अन्तिम निर्णय नभएको कांग्रेस प्रवक्ता चालिसेले स्पष्ट पारे ।  उनका अनुसार अहिले सार्वजनिक गरिएको संरचना प्रारम्भिक खाका मात्रै हो । १५औं महाधिवेशनको बन्दसत्रमा प्रस्ताव प्रस्तुत भएर प्रतिनिधिहरूले पारित गरेपछि मात्रै त्यसले अन्तिम रूप पाउनेछ ।

सुधारिएका कानुन प्रभावकारी रूपमा लागू भएमात्रै लगानी बढ्छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागू हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी ‘लगानी र विकासका लागि कानुन सुधार’ परामर्शको तीनदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले आर्थिक सुधारका लागि तयार पारिएको सुझावलाई कार्यान्वयन गर्न सके नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्नुका साथै रोजगारी र राजस्व सिर्जनामा समेत सहयोग पुग्ने बताएका हुन् । ढकालले महासंघको अध्यक्ष रहँदा नै नेपालको लगानी प्रवर्द्धनसम्बन्धी कानुनहरू पुराना र परम्परागत रहेको भन्दै तिनमा सुधारका लागि उच्चस्तरीय आयोग वा सुझाव संयन्त्र बनाउनुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको स्मरण गरे । त्यसैको निरन्तरताका रूपमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको र आफू निजी क्षेत्रको प्रतिनिधिका रूपमा आयोगको सदस्य भएर काम गरेको बताउँदै कतिपय कानुनहरू नयाँ ल्याइए पनि कार्यान्वयनमा जान नसकेको बताए । ढकालले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक गरिएका सयबुँदे निर्णयमध्ये अधिकांश निर्णय निजी क्षेत्रले दिएका सुझावका आधारमा अघि बढाइएको भए पनि अझै धेरै निर्णय कार्यान्वयनमा जान नसकेको बताए । अहिले मुलुकमा राम्रा कानुनहरू हुँदाहुँदै पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै निवर्तमान अध्यक्ष ढकालले कानुनको भावना र सरकार तथा आम नागरिकको अपेक्षाअनुसार कार्यान्वयन हुन नसक्दा त्यसको प्रभाव लगानीको वातावरणमा परेको बताए । उनले अझै पनि आवश्यक कानुनी सुधार अध्यादेशमार्फत भए पनि जतिसक्दो छिटो अघि बढाउन सरकारसँग आग्रह गरे । ढकालले भने, ‘उद्योग वाणिज्य महासंघको म अध्यक्ष भइरहेको बेलामा एउटा सानो इनिसिएसन हामीले लिएका थियौँ । उद्योग वाणिज्य महासंघको एउटा कार्यसमितिको मिटिङमा हामीले एउटा प्रस्ताव राखेका थियौँ । नेपालको खास गरेर लगानीलाई प्रवर्द्धन गर्ने कानुनहरू धेरै ट्रेडिसनल भए र यी कानुनहरू परिवर्तन गर्नका लागि एउटा त्यस्तो किसिमको उच्चस्तरीय आयोग अथवा सुझाव समिति बनाऔँ, जसले हाम्रा यी ट्रेडिसनल कानुनहरूलाई परिवर्तन गर्न सकोस् र एउटा व्यावसायिक वातावरण र लगानीको वातावरण बनाउन सकोस् भन्ने उद्देश्य राखेर वास्तवमा सुरु भएको थियो ।'  नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने काममा निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै उनले स्वदेशी लगानीकर्ताले गर्ने लगानी र उनीहरूले दिने सन्देशले विदेशी लगानीकर्तालाई समेत प्रभावित गर्ने बताए । उनका अनुसार विदेशी लगानीकर्ताले पहिलोपटक यहाँका लगानीकर्ताले के गरिरहेका छन् र उनीहरूले कस्तो सन्देश दिइरहेका छन् भन्ने हेर्छन्, अनि मात्रै लगानी गर्छन् । ढकालले हालै प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीसँगको भेटमा पनि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र सुधारका विषयमा आफूले सुझाव दिएको बताउँदै अब कार्यान्वयन गर्ने बेला आएको बताए ।

पशुलाई संवेदनशील जीव मानेर छुट्टै कानुन बनाउन एनिमल नेपालको माग

काठमाडौं । जनावरलाई केवल उत्पादन, व्यापार वा आर्थिक लाभको साधनका रूपमा हेर्ने कानुनी व्यवस्था परिवर्तन गर्नुपर्ने माग उठेको छ ।  पशु कल्याणका क्षेत्रमा काम गर्दै आएको एनिमल नेपालले जनावरले पनि पीडा, डर, तनाव र दुःख महसुस गर्ने भएकाले उनीहरूलाई कानुनमै ‘संवेदनशील जीव’ का रूपमा मान्यता दिनुपर्ने माग गरेको हो । विश्व पशु दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा संस्थाले पशु कल्याणका लागि छुट्टै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो । संस्थाले अहिले अघि बढाइएको पशु सेवा तथा पशु कल्याण विधेयक, २०८३ ले पशुको कल्याणलाई पर्याप्त प्राथमिकता नदिएको दाबी गरेको छ । एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले पशु सेवा र पशु कल्याणलाई एउटै विषयका रूपमा हेर्न नमिल्ने बताइन् । उनका अनुसार पशु सेवा कानुन मुख्यतः पशुपालन, उत्पादन, व्यापार र खाद्य सुरक्षासँग सम्बन्धित हुन्छ भने पशु कल्याणको केन्द्रमा जनावरको पीडा, सुरक्षा र जीवनप्रतिको सम्मान हुन्छ । ‘जनावरले पीडा र डर महसुस गर्छन् भन्ने स्वीकार गर्ने हो भने उनीहरूको कल्याणका लागि छुट्टै कानुन आवश्यक हुन्छ,’ राणाले भनिन् । संस्थाका अनुसार प्रस्तावित विधेयकमा पशुपालन व्यवसाय, पशु उत्पादन, बिक्री, आयात–निर्यात तथा खाद्य सुरक्षालाई प्राथमिकताका साथ समेटिएको छ । तर पशु कल्याणका विषयलाई पशु ओसारपसारसँग सम्बन्धित अध्यायको सीमित हिस्सामा राखिएको छ । जनावरलाई ‘संवेदनशील जीव’ का रूपमा स्पष्ट कानुनी परिभाषा दिने व्यवस्था पनि प्रस्तावित विधेयकमा नरहेको संस्थाको भनाइ छ । प्रस्तावित व्यवस्थाअनुसार पशुलाई खाना वा पानी नदिने, क्षमताभन्दा बढी काममा लगाउने, बिरामी अवस्थामा काम गराउने तथा पशु त्याग्नेजस्ता कार्यलाई क्रूर व्यवहारका रूपमा लिइएको छ । यस्ता कसुरमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना, तीन महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजायको प्रस्ताव गरिएको छ । तर अनुसन्धान, प्रदर्शन, तालिम तथा सरकारबाट स्वीकृत चिडियाखानासँग सम्बन्धित केही गतिविधिमा छुटको व्यवस्था गरिएको भन्दै एनिमल नेपालले प्रस्तावित कानुनी संरचनामाथि प्रश्न उठाएको छ । संस्थाले पशुको आधारभूत कल्याणसम्बन्धी कसुर र पशुजन्य वस्तुको व्यापारसम्बन्धी कसुरबीच सजायको गम्भीरतामा देखिएको अन्तरसमेत पुनरावलोकन गर्नुपर्ने बताएको छ । विधेयकमा निषेधित पशुजन्य वस्तु आयात वा निर्यात गरेमा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना तथा दुई वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था प्रस्ताव गरिएको छ । एनिमल नेपालको तर्कमा भने यसले जनावरको पीडा र कल्याणमा हुने प्रत्यक्ष असरभन्दा व्यापारसम्बन्धी कसुरलाई तुलनात्मक रूपमा बढी गम्भीर देखाएको छ । संस्थाले घरपालुवा र सडकमा रहेका जनावरदेखि फार्ममा पालिने पशु, काममा प्रयोग हुने जनावर, बन्दी वन्यजन्तु तथा मनोरञ्जन र अनुसन्धानमा प्रयोग हुने जनावरसम्मलाई समेट्ने गरी छुट्टै पशु कल्याण ऐन ल्याउनुपर्ने माग गरेको छ । एनिमल नेपालले पशु ओसारपसार र वधका क्रममा अपनाउनुपर्ने मापदण्ड, विपद्का समयमा पशु उद्धार तथा पुनःस्थापना, अनुगमन र कानुन कार्यान्वयन गर्ने निकायको जिम्मेवारी स्पष्ट गर्नसमेत माग गरेको छ । संस्थाले अन्य पशु कल्याण संस्था र कानुनविद्सँगको सहकार्यमा तयार पारेको ‘शैडो एनिमल वेलफेयर एक्ट’ करिब चार वर्षअघि नै सरकारलाई बुझाइसकेको जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दिपेन्द्रकुमार मिश्र नियुक्त

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार मिश्र नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार मिश्रलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।  

केन्द्रीय सदस्यमा सौगात थापाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सौगात थापाले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा ३५ वर्ष मुनिका केन्द्रीय सदस्यमा उनले उम्मेदवारी घोषणा गरेका हुन् । थापा कास्की २ बाट महाधिवेशन प्रतिनिधि भएर महाधिवेशनमा सहभागी छन् । उनी ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा थापा  निर्वाचित भएका थिए । पार्टीभित्र जेन्जी प्रतिनिधिको रुपमा उनी परिचित छन् । नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने थापाले बताए । 'यस पटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदै छ, यो हाम्रा लागि खुसीको कुरा हो,’ थापाले भने, ‘महाधिवेशनले युवाको मर्म र भावनालाई आत्मसात् गरेर विचार, संगठन र कार्यक्रममा प्रस्ट नीति बनाउनुपर्छ । प्रवेशसँगै बहिर्गमनको व्यवस्था पनि हुनुपर्छ । यसले पार्टीलाई गतिशील बनाउँछ ।' जेन–जी आन्दोलनपछि पार्टीले युवालाई थप ‘स्पेस’ दिने गरी लिएको नीतिगत सुधारको प्रभाव पार्टीका अधिवेशनहरूमा देखिएको उनले बताए । 'महाधिवेशनले युवा समूहलाई अनि लामो आन्दोलन र विरासत धानेर आएको पुस्ताबीच तालमेल गरेर अघि बढ्न सक्ने कार्यक्रम र योजना ल्याउनुपर्छ,' उनले भने,'जेन–जी आन्दोलनले युवामा राजनीतिप्रति प्रत्यक्ष चासो बढाएको छ । त्यसैले पार्टीभित्र यसलाई बैचारिक रूपमा जोड्नुपर्छ ।' राजनीतिमा नलागेका विभिन्न पेसा, व्यवसायमा दक्षता प्राप्त व्यक्तिहरूलाई समेत राजनीतिमा ल्याउन नेतृत्वले पहल गर्नुपर्ने थापाको भनाइ छ । 'वडादेखि केन्द्रीय तहसम्मै गरेको सुनिश्चितताले राम्रो सन्देश दिएको छ,' उनले भने,' यो व्यवस्था स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको बेला पनि गरिनुपर्छ ।' थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उनी निर्वाचितसमेत भएका छन् । उनी पर्यटन व्यवसायी समेत हुन् । थापा अंशुभरा ग्रुपका निर्देशक समेत रहेका छन् । थापा पोखरा महानगरपालिकाको नेवीसंघको सभापति भइसकेका छन् ।  उनी क्षेत्रीय प्रतिनिधि २ पटक भइसकेका छन् । १४ ‍औं महाधिवेशनमा पनि विजयी भएका थिए । १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भए ।  पोखरा उद्योग वाणिज्य संघमा २ पटक सदस्य  भइसकेका छन् ।  आइतबारदेखि काठमाडौंमा नेपाली कांग्रेसको १५ औं महाधिवेशन सुरु भइसकेको  छ । 

ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा बैकुण्ठराज तिमसेना नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट बैकुण्ठराज तिमसेना नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आश्विन १८ गते आइतबार बसेको २५७औँ बैठकले तिमसेनालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर (एमबीए) गरेका तिमसेनासँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको कार्यअनुभव रहेको बैंकले जनाएको छ । उनले यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । नवनियुक्त सञ्चालक तिमसेनालाई बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी तथा व्यवस्थापन समूहले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् । तिमसेनाको बैंकिङ क्षेत्रको अनुभव र दूरदृष्टिले सञ्चालक समितिको निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने बैंकको अपेक्षा छ । उनको अनुभवबाट शेयरधनी, ग्राहक तथा अन्य सरोकारवालाको हितमा बैंकलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । नवनियुक्त सञ्चालक तिमसेनाले आफूलाई सञ्चालक समितिमा नियुक्त गरेकोमा आभार व्यक्त गर्दै सेयरधनीको हित संरक्षण तथा बैंकको संस्थागत सुशासनलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

धादिङबाट बिक्रिका ल्याइएको काँक्रोमा भेटियो विषादी, बिसर्जन गर्न निर्देशन

काठमाडौं । फलफूल तथा तरकारी बजार कालीमाटीमा बिक्रिका लागि राखिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । सोमबार धादिङको थाक्रेबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको काँक्रोमा ४९.५ प्रतिशत  ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १० पसलको १० थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा  काँक्रोमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त काँक्रो उपभोग अयोग्य रहेकाले विसर्जन गर्न समितिले निर्देशन दिएको छ ।  सरकारले रोकावट गरेको दर ३५ प्रतिशतभन्दा कम हुँदा उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । 

एनएलजी इन्स्योरेन्सको सीईओमा पन्त पुनः नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  पन्तको हालको सीईओको कार्यकाल असोज २३ गतेदेखि सकिँदैछ ।  नयाँ नियुक्ति यही असोज २४ गतेदेखि लागू हुने छ ।