विकासन्युज

एक अर्ब ५० करोडको लागतमा मौलाकालिको मन्दिर जान केबलकार निर्माण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अबको तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले आउँदो फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्त्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए । यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालसहित एक हजार ३८ रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । आइएमई समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबलकार प्रालिले करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाएको हो । यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोरोनालगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ । केबलकार आयोजनामा ५१ प्रतिशत सेयर मुख्य लगानीकर्ता आइएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा पाँच लाख रुपैयाँसम्म लगानी गर्ने ढकालको भनाइ छ । केबलकारले स्थानीयसहित करिब ४०० व्यक्तिलाई रोजगारी दिने कम्पनीले जनाएको छ । मौलाकाली मन्दिरनजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटेल, लज पनि निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापक सावदले बताए । मन्दिरनजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेसन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेसन हुने उनले जानकारी दिए । ‘हेलिप्याड भएको ठाउँमा टपस्टेसन निर्माण गरे पनि हेलिप्याड समेत निर्माण हुन्छ,’ उनले भने, ‘टपस्टेसनको माथि होटेल र त्योभन्दा माथि हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ ।’ केबलकारको एकतर्फी लम्बाइ एक हजार २०० मिटर लामो हुनेछ । यसका लागि ६ टावर निर्माण गरिनेछ । केबलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ । केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एकपटकमा आठ यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेसनबाट अर्को स्टेसन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ । केबलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्ने व्यवस्थापक सावदले बताए । अहिले मन्दिर पुग्न एक हजार ८८२ खुड्किला उक्लँदा करिब ४५ मिनेट समय लाग्ने गरेको छ । केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको जनाइएको छ । रासस

सिद्धार्थ बैंकले एसडब्ल्यूएम ब्राण्डका ८ वटा मोटरबाइक सहित घरजग्गा बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकको शाखा कार्यालय हेटौंडाबाट कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता भुक्तान नगरे ऋणी एवम् धितो जमानतकर्ताले बैंकमा राखेको धितो बिक्री गर्ने जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने र बिक्री हुन नसकेमा बैंक आफैले धितोको सम्पत्ति गैर बैंकिङ्ग सम्पत्तिको रूपमा सकार गर्ने वा अन्य व्यवस्था गरी लेना असुल उपर गर्ने जनाएको छ । यदि धितो बिक्रीबाट असुल उपर हुन नसके वा आंशिक रकम मात्र असुल उपर भई कर्जा बाँकी रहन गएमा अन्य जमानतकर्ताको चल अचल सम्पत्ति समेत लिलाम बिक्री गरी रकम असुल गर्ने बैंकले जनाएको छ । संयुक्त ऋणी मुना कुमारी पाठक र रञ्जन कुमार कठायतले धितोमा राखेको हेटौडा मकवानपुर स्थित कित्ता नम्बर १७६६ को क्षेत्रफल ०-१-० (वि.क.धु) बवमोजिमको घरजग्गा एवम् सोमा जडित सम्पूर्ण सम्पत्ति बिक्री गर्नेछ । यस्तै, मकवानपुर शुसेन्टरले धितोमा राखेको हेटौडा स्थित कित्ता नम्बर ४२९१, ८७४४ र ८०४३ को क्षेत्रफल क्रमशः ०-०-८, ०-०-५ र ०-१-० (वि.क.धु.) जग्गा र मकवानपुर शुसेन्टरको स्वामित्वमा रहेका मालसामानहरु बिक्री गर्नेछ । यस्तै, हेटौडामा रहेको ज्ञान अर्थमुभर्स प्रालिले धितोमा राखेको साविक मनहरी गा.वि.स. ५ स्थित कित्ता नम्बर २५७ र २५८ को क्षेत्रफल क्रमशः ०-६-० र ०-२-०, हेटौंडा ६ स्थित कित्ता नम्बर १५६६२, १६४०७, ४२६२ र ८२०४ क्षेत्रफल क्रमशः ०-०-३.७५, ०-०-४.२५, ०-१-१८, र ०-०-११२५ (वि.क.धु) घरजग्गा बिक्री गर्नेछ । यस्तै, ज्ञान अर्थमुभर्सको स्वामित्वमा रहेको मालसामान र सिद्धार्थ बैंक धनी भई ऋणी ज्ञान अर्थमुभर्स कायम भएको बाग्मती यातायात कार्यालयमा दर्ता रहेका बा ९९ प ६२६५, बा ९९ प ६२६४, बा ९९ प ९९६५, बा ९९ प ९९६४, बा ९९ प ९९६३, बा ९९ प ९९६२, बा ९९ प ९९६१ र बा ९९ प ६२६६ नम्बर रहेका मोटरबाइक बिक्री गर्ने भएको हो ।

काठमाडौं महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा

काठमाडौं । काठमाडौँको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारी साधन समेत उठाएको भन्दै सर्वसाधारण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो । यता महानगरीय प्रहरी भने सडक पेटीमा राखिएका सवारी साधनको व्यवस्थापनमा आफूहरू लागेका बताएको छ । महानगरपालिकाको विरुद्धमा सवारीसाधन चालकहरू विरोधमा उत्रिएपछि यो क्षेत्रमा प्रहरीसमेत परिचालित भएका थिए । महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको सर्वसाधारणको आरोप छ । ‘यही क्षेत्रमा रहेका ट्राफिक प्रहरीले चासो नदिएको ठाउँमा समेत महानगरीय प्रहरी आएर अचानक मोटरसाइकल उठाए।’ विरोधमा उत्रिएका रवीन्द्र महतले भने, ‘उनीहरूको नियत व्यवस्थापन गर्नेभन्दा पनि दुःख दिने देखियो ।’ महानगरपालिकाले एकलाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको उनको गुनासो छ । विरोधमा उत्रेका सर्वसाधारणले काठमाडौँ महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा समेत लिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

एमबाप्पेलाई गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

काठमाडौं । कतारमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेपनि फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट पाएका छन् । फिफा विश्वकप फुटबल अवधिभर सर्वाधिक गोलकर्ता नेपछि उनले गोल्डेन बुट अवार्ड पाएका हुन् । एमबाप्पेले कतार विश्वकपको ७ खेल खेलेका थिए । उनले विश्वकपको फाइनलमा ह्याट्रिकसहित प्रतियोगिताभरि ८ गोल गरे । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । यस्तै, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन मेस्सी नायक बने । मेस्सीले कतार विश्वकपमा ७ खेलमा ७ गोल गरेका थिए । फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराएर अर्जेन्टिनाले तेस्रो पटक उपाधि जितेको हो ।

फिफा विश्वकपमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

काठमाडौं । कतारमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विजेता बनेको हो । यससँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । लुसिल स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरेका थिए । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गर्न सफल भए ।

शक्तिशाली ७ पदमा सत्ता गठबन्धनभित्र रस्साकस्सी

काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकमा नयाँ जनादेश पाएको छ । निर्वाचन आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्टपति विद्यादेवी भण्डारीलाई अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको वैधानिक बाटो खुलिसकेको छ । तर, सत्ताको नेतृत्वमा रहेका राजनीतिक दल राष्ट्रपति, प्रधानमन्त्री हुँदै सभामुखसम्मका पदको रस्साकस्सीमा लाग्दा सरकार गठन अन्योलमा छ । सत्ता गठबन्धनको नेतृत्व गरेको दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छ । कांग्रेस राष्टपति पनि आफैं लिनेगरी अघि बढिरहेको छ । वर्तमान प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने प्रयासमा छन् । कांग्रेस प्रतिनिधिसभामा ८९ सिट जित्दै पहिलो दल बनेको छ ।गठबन्धनकै अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि प्रधानमन्त्री आफैं हुनुपर्ने भन्दै भेटघाटमा छन् । उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटमासमेत प्रधानमन्त्री पदमा चाहना राखेको स्रोतले जनाएको छ । यस्तै, दाहालले पार्टीका दोस्रो तहका नेतालाई पनि माओवादीकै नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै संवादमा खटाएका छन् । सोही सिलसिलामा केही दिनअघि माओवादी केन्द्रका नेता देव गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । गठबन्धनभित्र पदमा भागबन्डा गर्दा राष्टपतिदेखि प्रधानमन्त्री हुँदै सभामुखसम्ममा रस्साकस्सी छ । कांग्रेसले सरकारको नेतृत्व र राष्ट्रपति दुवै चाहेको छ । अब बन्ने सरकारको नेतृत्व दुई वर्ष कांग्रेसले गर्ने र त्यसपछि माओवादी केन्द्रलाई दिन कांग्रेस तयार छ । माओवादी केन्द्र भने कांग्रेसको सो आशयप्रति सहमत देखिएको छैन । सो दलले सरकारको नेतृत्व आफूले पाए मात्र राष्ट्रपति छाड्न तयार छ । सोही कारण सरकार गठनको गाँठो गठबन्धनमै अड्किएको छ । संविधानअनुसार नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित सात पद केन्द्रमा शक्तिशाली छन् । यिनै पदमा सत्ता गठबन्धनभित्र रस्साकस्सी छ । यो समाचार राजधानी दैनिकमा छ ।

सेञ्चुरी बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएका हो । नेप्सेले प्रतिकित्ता १७६.६१ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य १८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यका आधारमा सोमबार नेप्सेमा कारोबार हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पौष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

नेपाल एसबिआई बैंकको साधारणसभामा लाभांश र मर्जर प्रस्ताव सहित १३ एजेण्डा

काठमाडौं । नेपाल एसबिआई बैंकले पुस २५ गतेका लागि २९ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । १. आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण (२०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनी नेपाल एसविआई मर्चेण्ट बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने । ४. संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई ७३ करोड ९८ लाख ८६ हजार ७३९.३८ रुपैयाँ बराबर (चुक्ता पुँजीमा ७.५३ प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने । ५. स्वतन्त्र संचालक नियुक्तिको जानकारी सम्बन्धमा (बैंकको संचालक समितिको मिति २०७८ चैत्र ३० मा सम्पन्न ४८३ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान बमोजिम डा.गोपाल प्रसाद भट्टलाई ४ वर्षका लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको) । ६. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने । ७. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई २९ करोड ४७ लाख ७५ हजार ५९३.३८ रुपैयाँ बराबर (चुक्ता पुँजीमा ३ तिशतका दरले) बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । ८. कम्पनीको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा र नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ९. बैंकको रजिष्टर्ड (प्रधान) कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २८, कमलादी, नेपाल कायम गर्न बैंकको प्रबन्धपत्रको दफा २ को उपदफा १ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । १०. संचालक समिति तथा संचालक समितिका उपसमितिहरूको बैठकमा भाग लिएबापत संचालक समितिका अध्यक्ष तथा अन्य संचालकहरूलाई दिइने बैठक भत्ता वृद्धि गरी क्रमशः १० हजार रुपैयाँ, १५ हजार रुपैयाँ प्रतिबैठक कायम गर्न बैंकको नियमावलीको नियम २९ को उपनियम (ख)संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ११. बैंकले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च १ करोड ४ लाख ३१ हजार ११६.८० रुपैयाँ कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्चलाई अनुमोदन गर्ने । १२. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने र गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्नेरगराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने । १३. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने । बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लागि पुस १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन ।