प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छ : आरजु राणा देउवा
काठमाडाैं । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् । आईतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् । ‘जितेर आउनुभएको छ, उहाँहरुले दाबी गर्नु स्वभाविक नै हो, तर प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ, त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिषी ज्ञान आउँदैन, प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ, ठूलो दल पनि हाम्रै छ, धेरै संख्या पनि हामीसँगै छ,’ उनले भनिन् । उनले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको पनि बताइन् ।
फुटबलको फाइनल गेममा नाइक र एडिडास कम्पनीको जर्सी लगाएर प्रतिस्पर्धा हुँदै
काठमाडौं । कतारको लुसेल रंगशालामा आइतबार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा विश्वका दुई ठूला स्पोर्ट्सवेयर कम्पनीहरुको ठूलो प्रचारात्मक पदर्शनी पनि हुनेछ। एडिडास लामो समयदेखि अर्जेन्टिना राष्ट्रिय टोलीको प्रायोजक रहेको छ भने फ्रान्सलाई नाइक कम्पनीले प्रायोजन गरेको छ । यसवर्षको विश्वकप फुटवल प्रतियोगितामा १३ टोलीलाई नाइक र ७ टोलीलाई एडिडासले जर्सी उपलब्ध गराएका थिए । जर्सीको स्पोन्सरमा नाइकले एडिडासलाई उछिनेको यो तेस्रो पटक हो । दशकौंदेखि एडिडास विश्वकप प्रतियोगितामा पहिलो स्पोन्सरको रुपमा रहँदै आएको थियो । एडिडासले जर्मनीमा भएको १९७४ फिफा विश्वकपमा १६ मध्ये ९ टोलीलाई प्रायोजित गरेको थियो । अहिलेसम्म विश्वकपमा धेरै जर्सीको प्रायोजन गर्नेमा एडिडास कम्पनी अगाडि रहेको छ भने नाइक दोस्रो स्थानमा रहेको छ ।
हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै नवलपुरका महिला
नवलपरासी। वनमा पाइने थाकल, काँस, पटेरलगायतका कच्चापदार्थबाट हस्तकालाका सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी गर्ने गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका महिला वनमा आधारित कच्चा पदार्थबाट हस्तकालका सामग्री निर्माण गरी आयआर्जन गर्न थालेका हुन् । वनमा पाइने थाकल, काँस, पटेर, सालको पातलगायत वन पैदावरबाट विभिन्न हस्तकला सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी गरिरहेका छन् । देवचुली नगरपालिकाको नमूना सामुदायिक वनका महिलाले थाकल उद्यमी समूह निर्माण गरी थाकलबाट झोला तयार पार्ने गरेका छन् । देवचुलीकै अमर ज्योति सामुदायिक वनका महिलाले दुनाटपरी समूह र अदुवा बेसार समूह निर्माण गरी आम्दानी गर्दै आएका छन् । वनमा पाइने झारपातबाट हस्तकला निर्माणको काम गरिएको र बजारमा माग पनि राम्रो रहँदा काम गर्न हौसला मिलेको थाकल उद्यमी समूह देवचुलीका अध्यक्ष कोपिला रायमाझीले बताइन् । थाकलबाट झोला बनाउने तालिम लिएपछि अब समूह नै मिलेर अन्य हस्तकलाका सामग्री निर्माण गर्ने योजना रहेको उनको भनाइ छ । ‘अहिले थाकलबाट झोला बनाएका छौंँ, अब अन्य हस्तकला निर्माणको तालिम लिएर, विभिन्न थरिका हस्तकलाका सामग्री निर्माण गर्ने योजना रहेको छ’, अध्यक्ष रायमाझीले भने, ‘हामीकहाँ आवश्यक कच्चापदार्थको कमी छैन, लघु उद्यमकै रुपमा बढाउने तयारी छ ।’ जिल्लाको कावासोती–१४ मा रहेको थारु हस्तकाला प्रगति समूहले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ । चार वर्ष पहिला स्थापना गरिएको यस समूहले वनबाट थाकल, काँस लगायतका वन पैदावर, घोलमा पाइने पटेर, मकैको खोस्टा लगायतबाट कलमदानी, चकटी, टेबुल म्याट, सुकुल, मुढा, टोपी, किस्ती, झोलालगायतका सामग्री उत्पादन गरिरहेको समूहका अध्यक्ष तुल्सीमाया महतोले बताइन् । आफूहरुले उत्पादन गरेका सामग्री चितवन, पोखरा लगायतका बजारमा खपत हुने गरेको उनले बताइन् । वर्षाको समय र धानखेती भित्र्याउने समयमा हस्तकलाको काम गर्न नसकिने र खेतीको कामपश्चात आफूहरुले घरको काम सँगसँगै हस्तकला सामग्री निर्माण गरी आम्दानी गर्दै आएको समूहका सचिव सीता महतोले बताइन् । मागअनुसार समूहमा भएका महिलाले सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ । समूहमा आवद्ध महिलाले उत्पादन गरेका सामग्री बिक्रीपछि केही रकम समूहमा बचत गरी सम्बन्धित सदस्यलाई सामग्री अनुसारको बाँकी रकम दिने गरिएको उनले बताइन् । हस्तकलाका सामग्री निर्माणपछि बिक्रीबाट प्राप्त रकमले महिलाको आर्थिक अवस्था सुधारका लागि सहायोग पुगेको उनले बताइन् । ‘हस्तकलाका सामग्रीको माग रामै्र छ, फुर्सदको समयमा निर्माण गरिएका सामग्रीले समूहमा आवद्ध महिलाको आर्थिक विकासमा टेवा पुगेको छ’, सचिव महतोले भनिन् । गैँडाकोट–३ भुजेल गाउँकी मन्जुकुमारी भुजेलले आफूहरुले बाँसबाट बन्ने हस्तकलाको तालिमबाट राम्रो कमाई गर्ने सीप प्राप्त गरेकोमा खुसी लागेको बताइन् । गैँडाकोट नगरपालिकाको पहाडी भागमा रहेको सो गाउँमा परम्परागत बाँसका सामग्री बनाउने उनीहरु अहिले समूह निर्माण गरी मुढा बनाउन व्यस्त छन् । मागअनुसार मुढा र बाँसको चोयाबाट टोपी निर्माण गर्ने गरेको उनले बताइन् । वनको पातको सही व्यवस्थापन नहुँदा गर्मीको समयमा वनमा डढेलो लाग्ने गरेकोमा अहिले महिलाले पात सङ्कलन गरी दुनाटपरी बनाउन थालेपछि डढेलोको समस्या न्यूनीकरण हुने अमर ज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रुचालले बताए । वनको पातबाट कमाइ हुन थालेपछि र बजारमा पातबाट बनेको दुनाटपरीको माग बढी हुँदा महिलामा कमाइ गर्ने प्रतिस्पर्धा नै चलेको उनले बताए । प्रतिदिन आठ हजार चार सय दुनाटपरी उत्पादन गर्न सक्ने क्षमताको मेसिनबाट दुनाटपरी निर्माण गरिएको र सो सबैको व्यवस्थापन महिला समूहले नै गर्ने गरेको उनले बताए। ‘एकल महिला, दलित, अपाङ्गता भएका तथा कम आयआर्जन भएका महिलालाई प्राथमिकता दिई तालिम प्रदान गरेका छौँ’, रुचालले भने, “यसले थप यो वर्गको आयआर्जन वृद्धि हुने विश्वास छ ।’ फरेष्ट एक्सन नेपालले वन उद्यमीबाट महिलाको आर्थिक सशक्तिकरण परियोजना सञ्चालन गरी विभिन्न सीप प्रदान गर्दै आएको छ । यसले वनमा आधारित आयआर्जनका क्रियाकलापमा महिलाको सहभागिता बढ्दो रहेको छ । ‘खासगरी वनमा यस्तै खेर जाने कच्चापदार्थलाई सदुपयोग गरी आयआर्जनका काममा जोड्न हामीले लगानी गरेका छौँ’, कार्यक्रम संयोजक कमल भण्डारीले भने । नवलपुरको देवचुलीमा रहेको नमुना सामुदायिक वन र अमर ज्योति सामुदायिक वन, गैंँडाकोट नगरपालिकामा रहेको सुन्दरी सामुदायिक वन, शङ्खदेवी सामुदायिक वन र देउराली सामुदायिक वनका महिलालाई विभिन्न कार्यक्रम सञ्चालन गरेको उनले बताए । संस्थाबाट महिलाका लागि आवश्यक पर्ने तालिम, कच्चापदार्थ, मेसिन उपलब्ध गराउने र महिलाबाट निर्मित हस्तकला तथा सामग्रीको बजारीकरणका लागि सहयोग गर्ने गरिएको भण्डारीले बताए । विभिन्न सामुदायिक वनमा आवद्ध महिलाले थाकलबाट झोलो, हर्रो–बर्रोबाट त्रिफलो, बाँसबाट विभिन्न सामग्री, अम्रिसोबाट कुचो, बेसार तथा अदुवाको सुठो तयार गर्ने, दुनाटपरी साथै विभिन्न हस्तकलाका सामग्री निर्माण गर्ने गरेको उनले बताए । रासस
गलकोट दरबार जान पक्की मोटरेवल पुल बन्यो
बलेवा । गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएको यस पुलमा अब नियमित सवारी चल्न थालेका हुन् । गलकोटे राजाको पालामा दरमखोलामा बनेको झोलुङ्गे पुललाई राजाको पुल भनिन्थ्यो । सोही पुल जीर्ण भएपछि केही वर्षदेखि पैदलयात्रीले सास्ती पाएका थिए । भत्केको झोलुङ्गे पुल गत वर्ष बनेर चल्न थालेको छ भने सोही पुलको छेवैमा मोटर चल्ने पुल पनि बनेको हो । यो पुलले गलकोट नगरपालिका वडा नंं ५ र ६ जोड्छ । दरमखोलामाथिको ‘राजाको पुल’ बनेपछि वर्षात्मा पनि यात्रीले सहज यात्रा गर्न पाउने भएका छन् । जीर्ण झोलुङ्गे पुलमा यात्रा गरेकाले सवारीसाधन लिएर यात्रा गर्नसक्ने भएको वडा नंं ५ का अध्यक्ष पवन हमालले बताए । यो पुल बन्नुअघि खोला तर्न नसकेपछि सवारीसाधनले भैँसेस्थित दरमखोलाको पुल तरेर हटिया बजार आउनुपर्ने बाध्यता थियो । यो बाटो कम्तीमा पाँच किमी लामो पर्छ । हरिचौरस्थित गलकोट राजाको दरबार अहिले पनि पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । त्यसैले दैनिक घुम्न जानेका लागि पक्की पुल उपयोगी भएको हो । खोलाको वारिपारि खेत भएकाले किसानले खेती लगाउनेदेखि भित्र्याउने समयमा पनि पुल अभावले समस्या भोगेका थिए । ‘पहिला काम गर्नुपर्दा घुमाउरो बाटो हिँड्नुपथ्र्यो, अहिले सजिलो भयो’, स्थानीय सरिता निउरेले भने, ‘अहिले हटिया बजार जानु परे पनि पैदलै १५ मिनेटमै पुगिन्छ ।’ गाडी चढेर जानुपरेमा भैँसेस्थित मध्यपहाडी लोकमार्गको पुल तरेर घुम्दा भाडा चर्को तिर्नुपरेको उनले बताए । यसअघि बनेको गौदी खोला पुल पनि नियमित भएकाले हरिचौर र हटिया तथा ताराखोलादेखि हटिया बजारसम्म झर्न र दैनिक आउजाउमा सहज भएको हो । गौँदी खोला पुल ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्पनीले साढे तीन करोडमा बनाएको थियो भने दरमखोला पुल जय बाबा गोरखा/ओखलढुङ्गा संयुक्त निर्माण कम्पनीले पाँच करोड नौ लाखमा बनाएको हो । यी दुवै पुल बनेपछि मध्यपहाडी लोकमार्गको हटिया बजारबाट हरिचौरस्थित दरबार र पुरानो सदरमुकाम घुम्न चार किलोमिटर यात्राबाट पुग्न सकिने भएको हो । हटियादेखि हरिचौर पुग्न गौँदीखोला, दरमखोला र खहरेखोला तर्नुपर्छ । खहरे खोलामा भने अझै पुल बन्न बाँकी छ ।
बिजनेस विस्तारमा आक्रामक बन्यो राष्ट्रिय वाणिज्य बैंक, एक महिनामा कुनको कति ?
काठमाडौं । पछिल्लो एक महिनामा राष्ट्रिय वाणिज्य बैंक आक्रामक बनेको छ । बैंक अन्य कम्पनीको तुलनामा बिजनेस विस्तारमा आक्रामक देखिएको हो । गत कार्त्तिकको तुलनामा मंसिरमा बैंकले १०.०५ प्रतिशतले आफ्नो लगानी विस्तार गरेको छ । कार्त्तिकमा २ खर्ब ६७ लाख रुपैयाँ आर्जन गरेको बैंक मंसिरमा २ खर्ब ७७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गर्न सफल भएको छ । त्यस्तै, समीक्षा अवधिमा ६ वाणिज्य बैंकको निक्षेप संकलनमा कमी आएको छ भने बाँकी कम्पनीको बढेको छ । नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार समीक्षा अवधिमा एनआईसी एशिया, कुमारी, मेगा, नेपाल एसबिआई, एनसीसी र सेञ्चुरी बैंकको निक्षेप संकलन घटेको छ । यता कर्जा लगानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंक आक्रामक देखिएको छ । बैंकले समीक्षा अवधिमा १.९४ प्रतिशतले कर्जा लगानी बढाएर ९१ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । वाणिज्य बैंकमध्ये अन्य १० कम्पनीको पनि कर्जा लगानीमा भने गिरावट देखिएको छ । एनआईसी एशिया, ग्लोबल आईएमई, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, मेगा, माछापुच्छ्रे, सनराइज, बैंक अफ काठमाण्डू, सिभिल र सेञ्चुरी बैंकले पछिल्लो एक महिनामा कर्जा लगानी घटाएका छन् । समीक्षा अवधिमा विभिन्न वाणिज्य बैंकले ४६ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् भने ४२ खर्ब २६ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो महिना अर्थात कार्त्तिकको तुलनामा क्रमशः ४५ खर्ब ६३ लाख र ४२ खर्ब २१ अर्ब रुपैयाँ थियो । कुनको कतिले बढ्यो/घट्यो ?
७ दिनभित्र सरकार गठन गर्न राष्ट्रपतिले दलहरुलाई गरिन् आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।
एक हप्तादेखि रोकिएको धरहरा पुनः निर्माण अझै सुरु भएन
काठमाडौं । विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन् । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले काम सुरु हुन नसकेको बताउँछन् । ‘दैनिकरुपमा अवलोकन गर्नेगरी समिति बनाउनेबारे छलफल भइरहेको र समितिलाई एक–दुई दिनमा पूर्णता दिएर निमार्णको काम अघि बढ्छ’ , अध्यक्ष महर्जनले भने । मौलिक कला, संस्कृतिको नमुनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने उनले बताए । उनले ऐतिहासिक सुन्धाराको संरचना जोगाउनकै लागि पहलकदमी अघि बढाएको बताए । ऐतिहासिक महत्व बोकेको सुन्धारामा पानी पठाउने काठको लामो पाइप नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने तयारी गरेपछि धरहरा पुनःनिर्माणको बाँकी काम रोकिएको हो । भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए । बयालिस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरा भित्र २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै विसं २०७८ वैशाख ११ गते नै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म अन्य निर्माणको काम सम्पन्न हुन सकेको छैन ।
चिसोका कारण बढे दम र निमोनियाका बिरामी
दोधारा चाँदनी । दो पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ । चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ उक्त अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखि चार सय बिरामी उपचारका लागि आउने गरेका छन् । ‘चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको चाप बढेको छ’, उनले भने, ‘गत मङ्सिरमा मात्रै चार हजारभन्दा बढी बिरामी उपचारका लागि आएका थिए । गत महिना उक्त अस्पतालमा दुई हजार बिरामी आकस्मिक कक्षमा भर्ना भएका थिए भने चार हजारभन्दा बढीले ओपिडी सेवा लिएका थिए । अस्पताल आउनेमा बढीजसो दम, निमोनिया र रुघाखोकीजस्ता मौसमी बिरामी भएको उनले बताए । अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन डा अर्जुन भट्टले चिसो बढेपछि बिरामीको सङ्ख्या पनि बढेकाले चिसोबाट बच्न आग्रह गरे । ‘चिसोमा बढीजस्तो दम, निमोनिया, प्रेसर र मृगौलाका बिरामीलाई समस्या हुन्छ’, उनले भने, ‘चिसोबाट बच्न मनतातो पानीका साथ झोलयुक्त पदार्थ खाने र न्यायो ठाउँमा बस्ने गर्नुपर्दछ ।’ ‘चिसोमा भाइरस सक्रिय हुन्छ यसले गर्दा बूढापाकामा बढी समस्या बल्झिने हुन्छ’, डा भटृले जोड दिए, ‘चिसोमा मष्तिस्काघात हुने सम्भावना हुने भएकाले बिरामीले नियमित औषधि सेवन गरिराख्नुपर्छ ।’ चिसो बढेपछि कञ्चनपुरका निजी स्वास्थ्य संस्थामा समेत मौसमी बिरामीको सङ्ख्या बढ्न थालेका छन् । रासस