धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्
जनकपुरधाम । धनुषामा सरकारी कार्यालयको नियमित सम्पर्कमा नआउने करदाताको सङ्ख्या ६६ प्रतिशतभन्दा बढी रहेको पाइएको छ। आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन्। कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले कूल करदातामध्ये ६६ प्रतिशतभन्दा बढीले नियमितरुपमा कर दाखिला नगर्ने गरेको पुष्टि गरे। ‘यहाँ दर्ता भएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाताले तोकिएको समयमा कर विवरण दाखिला गरिरहेका छैनन्’, उनले भने, ‘यस तथ्याङ्कले हामी चिन्तित छौँ। नियमितरुपमा कर विवरण तथा कर रकम दाखिला गराउन पहल भइरहेको छ।’ प्रमुख कर अधिकृत बर्तौला आफ्नो क्षेत्रभित्र रहेका व्यावसायी तथा व्यावसायिक सङ्गठनका प्रतिनिधिसँग छलफल गरेर समस्याको पहिचान र त्यसको समाधानका लागि आफूहरु प्रयासरत रहेको जानकारी दिन्छन्। करदाता शिक्षामार्फत सचेतना अभिवृद्धि र कानुनअनुसार कारबाहीको प्रक्रिया सँगसँगै अगाडि बढाइरहेको उनले बताए। ‘पहिलो चरणमा मोबाइलमा कर विवरण दाखिलाका लागि सन्देश पठाउने र दोस्रो चरणमा हरेक करदातालाई चिठी पठाउने काम गर्छौं’, उनले भने, ‘यसरी पनि सम्पर्कमा नआए अन्तिम विकल्पको रुपमा सम्पत्ति, बैंक खाता रोक्का र आवश्यक रकम असुलउपरका लागि कानुनी बाटो अवलम्बन गर्छौं।’ नेपाल उद्योग वाणिज्य सङ्घ धनुषाका अध्यक्ष जितेन्द्रकुमार महासेठले कर शिक्षाको अभावमा धेरै व्यवसायीले समस्या भोगिरहेको बताए। सरकारी कार्यालयले स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करको प्रमाणपत्र जारी गर्दा नै कर शिक्षा दिएर सचेत गराउनुपर्ने महासेठको भनाइ छ। ‘जुन प्रयोजनका लागि करको दायरामा आएको हो, त्यही बेला भविष्यमा लापर्वाही गर्दा हुने क्षतिका विषयमा जानकारी दिन जरुरी छ’, कर अधिकृत बर्तौलाले भने, ‘असावधानी वा अनभिज्ञता जाहेर गरेर करबाट मुक्ति पाइँदैन। अहिले नतिरे पनि भविष्यमा सम्पत्ति बेचेर साखासन्तानबाट समेत कर असुली हुन्छ भनिदिनुपर्यो नि !’ व्यवसाय दर्ता गर्ने तर कुनै कारणले कारोबारै नगर्ने, व्यवसाय बन्द नगरेरै विदेशिने वा अन्य काममा लाग्ने कारणले अहिलेको समस्या आइरहेको भन्नुहुँदै महासेठले व्यावसायिक सङ्गठन र सरकार मिलेर यो समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याए। नेपाल उद्योग परिसङ्घ धनुषाका अध्यक्ष विजय साहले करदातामैत्री वातावरण नभएकाले समस्या थप विकराल बन्दै गएको बताए। कर तिर्न अभिप्रेरित गर्ने भन्दा निरुत्साहित गर्ने खालको वातावरण रहिरहेसम्म यो समस्या पनि थप बढ्दै जाने उनको भनाइ छ। ‘कर तिर्न लालायित गर्ने वातावरण छैन, कर नतिर्दा हुने जोखिमको विषयमा पनि प्रयाप्त जानकारी छैन। त्यसै कारण बर्सेनि यो समस्या बढ्दै छ’, साहको भनाइ थियो, ‘सरकारले कर असुल्ने नियत मात्रै राख्नुभएन।’ उनले व्यावसायिक सङ्गठन पनि यस विषयमा गम्भीरताका साथ अगाडि बढ्न जरुरी रहेको बताए। करदाताले प्रत्येक महिना आफूले बुझाउनुपर्ने कर रकम स्वयं निर्धारण गरी सो महिना समाप्त भएको २५ दिनभित्र विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान छ। यसो नगर्दा तोकिएको राजस्व लक्ष्य पूरा गर्न पनि समस्या हुने र बक्यौता बढ्दै जाने धनुषाका प्रमुख कर अधिकृत बर्तौलाले बताए। उनले राजस्व नउठेर तत्काल राज्यलाई समस्या भए पनि दीर्घकालमा करदातामाथि नै दायित्व थपिँदै गई जायजेथा बेचेर असुल गरिने सरकारी नीति रहेकाले करदाता सेवा कार्यालयमा आई वा अनलाइनमार्फत समयमै कर बुझाउन सबैलाई आग्रह गरे। जिल्लामा हाल ३४ हजार चारसय ६३ आयकरदाता छन्। त्यसमध्ये सात हजार चारसय ७७ मूल्य अभिवृद्धि कर र एक हजार चारसय ३५ अन्तःशुल्कमा दर्ता भएका आयकरदाता रहेका छन्। यहाँ व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ७१ हजार एकसय ९८ छ। आर्थिक वर्ष २०७७-७८ मा कर विवरण नबुझाउनेको सङ्ख्या १३ हजार पाँचसय २७ रहेकोमा २०७८-०७९ मा त्यो सङ्ख्या बढेर २४ हजार चारसय तीन पुगेको आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाको तथ्याङ्क छ। चालु आर्थिक वर्षमा पनि मूल्य अभिवृद्धि करदातामध्येकै चार हजार नौ सय ९८ फर्म सम्पर्कमा नआएको कार्यालयले जनाएको छ। तोकिएको समयभित्र कर दाखिला नगरेकै कारण हालसम्म कार्यालयले आयकरतर्फ रु २८ करोड ७८ लाख ७२ हजार सातसय ८९ र मूल्य अभिवृद्धि करतर्फ रु २८ करोड ५९ लाख ५९ हजार आठ सय ९६ गरी कूल ५७ करोड ३८ लाख ३२ हजार छसय ८५ बक्यौता उठाउन बाँकी छ। ब्याज, थप दस्तुर, विलम्ब शुल्कसमेत गरेर सो बराबर बक्यौता उठाउन बाँकी रहेको आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ। यस कार्यालयको कार्यक्षेत्रमा सिन्धुली, सर्लाही र महोत्तरी जिल्लासमेत रहेका छन्।
फरवार्ड लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
बजार अभावले गोदाममै थन्किए नेपाली उत्पादनका अल्लोका कपडा
म्याग्दी । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले गोदाममै थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् । विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गरे । उनले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन्ट, टोपी, झोला, जुत्तालगायतका सामग्री बनाउनका लागि बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा बजारीकरण गर्दै आएका छन् । पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ । ‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै पाँच सय मिटर बढी कपडा गोदाममै थन्किएको छ’, उनले भने । उद्योगबाट अल्लोको थान कपडा उत्पादन गरेर बिक्री गर्दै आएका थापाले नौ जनालाई प्रत्यक्षरुपमा रोजगार दिएका छन् । यस गाउँपालिकाको गुर्जा, मुदी, लुलाङ, मल्कवाङलगायतका जङ्गलमा खेर गइरहेको अल्लोलाई स्थानीयवासीबाट सङ्कलन गरी उद्योगमा प्रशोधन गरेर धागो बनाएर कपडा तयार गरिँदै आइएको छ । गत वर्ष स्थानीयवासीबाट तीन हजार किलो अल्लोको पुवा सङ्कलन गरेको उद्योगले यस वर्ष सात हजार किलोसम्म अल्लोको पुवा खरिद गर्ने जनाएको छ । उद्योगमा कपडा बुन्नेसँगै जङ्गलमा अल्लोको पुवा सङ्कलनबाट समेत स्थानीयवासीले अम्दानी गर्दैआएका छन् । उद्योगले अल्लोको पुवालाई प्रतिकिलो एक सय २० रुपैयाँँमा खरिद गर्दैआएको उद्यमी थापाले जानकारी दिए । ‘हामी गाउँपािलकाभित्रका स्थानीयले सङ्कलन गर्ने जति पनि अल्लोको पुवा खरिद गर्न सक्छौँ, उद्योगको क्षमताले उत्पादन बढ्दै गएकाले उत्पादिन सामग्रीको बजारीकरणमा समेत नयाँ ठाउँ र बजारको खोजी थालिएको छ’ उनले भने । उद्योगमा अहिलेसम्म करिब २५ लाख रुपैयाँँ लगानी भएको उनले बताए । उद्योग स्थापनामा डिभिजन वन कार्यालयले मेसिन खरिदमा अनुदान सहुलियत दिएको थियो । अल्लो कपडा उद्योगबाट उत्पादन भएका कपडामध्ये अल्लो मात्रबाट निर्मित कपडाको प्रतिमिटरको आठ सय रुपैयाँँ र कटन मिसाएको पाँच सय ५० रुपैयाँँ, ऊन मिसाएको पाँच सयमा बिक्री हुनेगरेको उद्योगका व्यवस्थापक प्रभात अधिकारीले जानकारी दिए । ‘स्वास्थ्यको लागिसमेत लाभदायी हुने अल्लोको कपडाको प्रयोग नेपालमा धेरै हुन सकेको छैन । अझै पनि नेपालमा उत्पादन भएको कपडाको बजार विदेश नै हो, विदेशी पर्यटकको आगमन प्रभावित भएकाले पनि नेपालमा पछिल्लो समय अल्लो कपडाको बजारीकरणमा समस्या भएको देखिएको छ’ उनले भने । जङ्गलमा पुसदेखि वैशाखसम्म अल्लोको पुवा सङ्कलन गर्ने गरिन्छ । रासस
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ दुई संस्थाहरुसँग सम्झौता गरेको हाे । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले टेसला डाइगनोष्टिकमा अधिकतम १० प्रतिशत र द्रिष्टि आइ केयरमा अधिकतम २० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
स्याटेलाइटद्वारा पृथ्वीको पानीको मापन गरिँदै, भविष्यमा बाढी र आँधीबाट सतर्क रहन सहयोग पुग्ने
एजेन्सी । पृथ्वीमा रहेका सबै पानीका स्रोतहरूको सर्वेक्षण गर्न शुक्रबार पहिलो पटक उपग्रह प्रक्षेपण गरिएको छ । यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र फ्रान्सेली अन्तरिक्ष एजेन्सी नेशनल सेन्टर फर स्पेशल स्टडीजले संयुक्त रुपमा तयार पारेको हो । यस स्याटेलाइटको नाम इन्टरनेशनल सर्फेस वाटर एन्ड ओशन टोपोग्राफी (स्वाट) रहेको छ । यसलाई स्पेस एक्सको फाल्कन नाइन रकेट मार्फत अन्तरिक्षमा पठाइएको थियो । पानी सम्बन्धी प्रकोपमा मद्दत गर्ने मिसनसँग सम्बन्धित अनुसन्धानकर्ताहरूका अनुसार स्वाटबाट प्राप्त जानकारीको सहयोगले भविश्यमा पानीजन्य विपद्बाट बच्न मद्दत पुग्नेछ । पछिल्लो समयमा बाढी र चक्रवात जस्ता घट्नाहरु बढेका छन्, जसका कारण विश्वभरका मानिसहरु प्रभावित भएका छन् । यो जलवायु परिवर्तन को एक भाग हो। महत्त्वपूर्ण कुरा वायुमण्डल र मौसममा परिवर्तन पानीको कारणले बढी हुने गर्छ । यस्तो अवस्थामा सो विषयमा अनुसन्धान गर्नु निकै जरुरी छ । स्वाट स्याटेलाइटसँग का–ब्यान्ड राडर इन्टरफोरमिटर (कारिन) नामक उपकरण रहेको छ, जुन नासाले वर्षौंदेखि निर्माण गर्दै आएको छ । यसले समुन्द्री भू–उपग्रहहरू भन्दा १० गुणा बढी नजिकबाट पानीका विशेषताहरू खिच्न सक्छ । यसबाट वैज्ञानिकहरूले पोखरी, नदी र समुद्रका गुणहरू विस्तृत रूपमा अध्ययन गर्न सक्नेछन् । उदाहरणका लागि– सामान्य स्याटेलाइटले विश्वका केही हजार पोखरीहरूको मात्रै डाटा संकलन गर्न सक्छ । स्वाटले १० लाखभन्दा बढी पोखरीहरूको जानकारी दिनेछ । रातको अँध्यारोमा पनि स्याटेलाइटले अनुसन्धान गर्नेछ नासाले केआरइनमा जडान गरिएका दुईवटा एन्टेनाले पानीको सतहमा राडार पल्स पठाउने र सिग्नल फिर्ता गर्ने बताएको छ। स्याटेलाइट रातको अँध्यारो र बादल हुँदा पनि डाटा सङ्कलन गर्न सक्षम रहेको छ । वैज्ञानिकहरूका अनुसार पहिलो पटक ३३० फिटभन्दा ठूला नदीहरू थ्रीडीमा देख्न सकिन्छ र समुद्रको १०० किलोमिटरभन्दा कम क्षेत्रफल नाप्न सकिन्छ ।
अदुवाभन्दा पिँडालु महँगो भएपछि किसानको ध्यान मोडियो
दिपायल । दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवालेभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, वीपीनगर र कैलालीको धनगढी र अत्तरियालगायतका बजारमा बिक्री भइरहेको छ । डोटीको बडीकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिल्लो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान व्यवसायको रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दैआएका छन् ।डोटीको बडीकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिल्लो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान व्यवसायको रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दैआएका छन् । पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्ष यता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार –२ का नरबहादुर शाहीले बताए । उनले भने, ‘अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती शुरु गरेको हौं । ‘ पिँडालु बिक्रीबाट वार्षिक रुपमा ३० देखि ४० हजार रुपैयाँँसम्म आम्दानी हुने गरेको उनले बताए । आफुले पिँडालु खेती गरेपछि यस क्षेत्रका अधिकांश किसानले पिँडालु खेती गरिरहेको उनको भनाइ छ । कुनै समय प्रतिकेजीको ९० रुपैयाँँमा बेचिने अदुवा यतिबेला प्रतिकेजी २० रुपैयाँँका दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । पिँडालु खेतीमा सम्लग्न बडीकेदार –५ का तेज कोटकेनीले भने, ‘अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु ३० रुपैयाँँका दरले बिक्री गरिरहेका छन् । पहिले कसैले पनि खरिद नर्गने पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैंभरी किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।’ दुई रोपनीबाट शुरु गरेको पिँडालु खेतीबाट राम्रौ आम्दानी भएको बडीकेदार –४ का घनबहादुर ताडीले बताए । साठीदेखि ७० रोपनीमा लगाउने गरेको अदुवा खेती विचौलिया व्यापारीका कारण मिहिनेत गरेजति मूल्य नपाएको उनको गुनासो छ । भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उनले बताए । यस वर्ष १५ हजार रुपैयाँँ बराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको किसान ताडीले बताए । किसानको जीविकोपार्जन गर्दैआएको अदुवा खेती पछिल्लो समय बजारमा कम मूल्य भएका कारण अधिकांश किसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए । यस क्षेत्रमा पिँडालु राम्रो उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने, बजारीकारण र चिस्यान केन्द्रका लागि पहल गरिने उनले जानकारी दिए । रासस
खर्चको डरले अमेरिकी ज्येष्ठ नागरिकले उपचार गर्दैनन्, आकस्मिक अवस्थामा समेत अस्पताल जाँदैनन्
एजेन्सी । उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ र रोगले ठाउँ लिन्छ । यस्तो अवस्थामा, धेरै पटक मानिसहरूलाई आकस्मिक उपचार चाहिन्छ। तर, अमेरिकन जर्नल अफ म्यानेज्ड केयरमा प्रकाशित एक अनुसन्धानले २२ प्रतिशत वृद्धहरू खर्च बचाउनको लागि मेडिकल आपतकालीन अवस्थामा समेत अस्पताल जान हिचकिचाउने गरेको देखाएको छ। बिमारीहरु उपचारको सट्टा बरु घरमै बस्न रुचाउँछन्। ५० देखि ६० वर्ष उमेर समूहका व्यक्ति, महिला तथा स्वास्थ्य बीमा नगरेका वा ३० हजार डलर भन्दा कम तलब भएकाले उपचारमा भएको महँगोलाई ध्यानमा राखेर यस्तो गरिरहेका छन् । मेडिकल आकस्मिक अवस्था नभएकाहरू अमेरिकी नागरिकहरु पनि स्वास्थ्य उपचारमा लाग्ने लागतको बारेमा सँधै चिन्तित हुने गर्दछन् । कोरोनाभाइरसको आर्थिक प्रभाव, टेक्सास र फ्लोरिडा लगायत एक दर्जन भन्दा बढी राज्यहरूले इमर्जेन्सी स्वास्थ्य सेवाका विस्तार गरेका छैनन् । जसका कारण कम आय भएका व्यक्तिहरूले पनि आकस्मिक स्वास्थ्य उपचारको लागि आफ्नो आम्दानीबाट खर्च गर्नुपर्ने हुन्छ । स्वास्थ्य बीमा गरिसकेपछि पनि कतिपयलाई बीमा आकस्मिक सेवाको बारेमा जानकारी छैन् । ‘नो सरप्राइज एक्ट’ पनि लागु भएको छ । आकस्मिक सेवा प्रदान गर्ने कुनै पनि अस्पतालले बिरामीको अर्को कम्पनीबाट बीमा गराएको खण्डमा सेवा उपलब्ध गराउने गर्दैन । भास्कर दैनिकबाट ।
भैरहवा भन्सारले २१ वटा आईफोन र ५० हजार केजी चिनीसहित १ करोडको सामान बेच्दै
काठमाडौं । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले मालसामान लिलाममा बिक्री गर्ने भएको छ । भैरहवा भन्सार कार्यालयको मुद्दा शाखाले चोरी निकासी र पैठारीको अभियोगमा पक्राउ परेका मालसामान लिलाम बिक्री गर्ने भएको हो । कार्यालयले झण्डै १ करोड रुपैयाँ बराबरको मालसामान बिक्री गर्ने भएको हो । जसमा आईफोनदेखि लिएर घरायसी प्रयोजनाका लागि आवश्यक बस्तुहरु रहेका छन् । सबैभन्दा धेरै चिनी ५० हजार केजी बराबरको बिक्री गर्ने भएको हो । यस्तै, आइफोन २१ वटा भन्दा बढी रहेका छन् । यस्तै, तेल, कोटरसाइकलका पार्ट्स, मोबाइलका पार्ट्स, कपडा, मिठाई जन्य बस्तु, सुर्तीजन्य बस्तु, रासायनिक मल, कस्मेटिक सामान लगायत १ करोड बराबरको सामानहरु लिलाम गर्ने भएको हो । चोरी निकासी पैठारीको अभियोगमा पक्राउ परेका मालवस्तुहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा पुस १९ गते मंगलबार ११ बजेदेखि साढे १२ बजेसम्म बिक्री गर्ने भएको हो । भन्सार ऐन, २०६४ तथा भन्सार नियमाबली, २०६४ अनुसार लिलाम बिक्री गर्न भन्सार नियमावली, २०६४ को नियम ३५ (२) बमोजिम उक्त मालसामान बिक्री गर्ने जनाएको छ । लिलाम सकार गर्न बोलकबोल गर्ने व्यक्तिले न्यूनतम मूल्यको दश प्रतिशतले हुने रकम नगद धरौटी राख्नुपर्नेछ । कबोल अंक बढ्दै गएमा सोही अनुपातमा धरौटी रकम थप गर्दै जानुपर्नेछ । साथै डाँक सदर भएको मितिले ७ दिनभित्र कबोल रकम र सोमा नियमानुसार लाग्ने राजस्व रकम दाखिला गरी मालबस्तु उठाई लैजानु पर्ने कार्यालयले बताएको छ । सो अबधिभित्र मालबस्तु उठाई नलगेमा धरौटी जफत गरी क्रमशः दोश्रो, तेश्रो र चौथो घटीवालाको कबोल अंक स्वीकृत गर्न सकिने छ्र । लिलामबाट लगेका मालबस्तु नियमानुसार गुणस्तर परीक्षण गर्नुपर्नेको हकमा लिलाम सकारकर्ताले सम्बन्धित निकायबाट परीक्षण गराई उपभोग योग्य भएमा मात्र उक्त मालबस्तु बिक्री वितरण र उपभोग गर्नुपर्नेछ ।