बुटवलको नयाँ ट्रेकिङ रुट, फूलबारीदेखि नुवाकोटगढी सम्म
बेलहिया । बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको छ । नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकारसमेत निर्माण भइरहेको छ । बुटवल–नुवाकोटगढी नयाँ पदयात्रा हाइकिङ पर्यटकीय गन्तव्यका रुपमा विकास थालिएको छ । लुम्बिनी घुम्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी बुटवल–नुवाकोटमा एकदिने हाइकिङका रुपमा विकास गर्ने योजनासहित पर्यटन व्यवसायी लागेका छन् । नेपाल एशोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशको आयोजनामा पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा भन्ने नारासहित पदयात्रा हाइकिङको सुरुआत गरिएको छ । फूलबारी–नुवाकोट हाइकिङ पर्यटन प्रवद्र्धनमा नेपालकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न लाग्नुपर्ने पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । उनले भने, ‘यस क्षेत्रका लागि फूलबारी–नुवाकोट पर्यटकीय दृष्टिकोणले मात्रै नभएर स्वास्थ्य, प्रकृति र वातावरणका हिसाबले पनि महत्वपूर्ण ऐतिहासिक गन्तव्य हो ।’ उनले बुटवल–नुवाकोटगढी हाइकिङले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारका पूर्वपर्यटनमन्त्री लीला गिरीले बुटवलबाट बिहानी हिँडाइमाथि नुवाकोटगढीमा पुगेर पुनःबुटवल फर्किंदा आम मानिसका लागि स्वास्थ्यका हिसाबले अतिउत्तम हुने बताए । उनले विदेशी पर्यटक लागि पनि यो छोटो दूरीको अन्त्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए । प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई फूलबारी नुवाकोटको हाइकिङमा सहभागी गराउने गरी पर्यटन व्यवसायीले प्याकेज तयार गर्नुपर्ने बताए । सिद्धार्थनगर भैरहवाका प्रमुख इस्तियाक अहमद खानले भैरहवाको गर्मी छल्न नजिकै रहेको फूलबारी नुवाकोट हाइकिङ फलदायी हुने बताए । उनले भने, ‘भैरहवाको मात्रै नभएर छिमेकी राष्ट्र भारतका पर्यटकका लागि पनि यो हाइकिङ महत्वपूर्ण गन्तव्य र आकर्षकस्थल बन्न सक्छ । हामी सबै मिलेर यसको प्रचारमा जुटौँ ।’ पर्यटन प्रवद्र्धनका लागि नाट्टाले हाइकिङका रुपमा विकास गर्ने योजनाले यस क्षेत्रको पर्यटनमा नयाँ गन्तव्यको विकास भएको नाट्टा प्रदेश अध्यक्ष रचना पन्तले बताए । यात्रामा विभिन्न सङ्घसंस्थाका प्रमुख, निजी क्षेत्रका अगुवा, सुरक्षाकर्मी, कलेजका विद्यार्थी, पत्रकारलगायत गरी साढे तीन सयभन्दा बढीले साढे तीन किलोमिटरको उकालो चढेर माथि नुवाकोट पुगी पुनःतल फूलबारी फर्केका थिए । पर्या–पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण गन्तव्यका रुपमा रहेको बुटवल–नुवाकोट हाइकिङ यात्रा अत्यन्तै रोमाञ्चक रहेको भैरहवाको सिर्जना जोशीले बताए । नुवाकोट प्रवेशद्वारबाट करिब आठ सय मिटरको सिँढी चढ्दा केहीमाथि समथर भूगोल आउँछ । उक्त समथर भूभागमा हाइकिङमा जाने यसो एकछिन आराम गर्न पनि मिल्छ । हाइकिङमा पहिलो पटक जानेको लागि उक्त ठाउँ पहिलो विश्रामस्थल हो । उत्तर पश्चिम पहाडको सालघारीको यात्रामा हिँडे झैँ लाग्ने र सालका रहर लाग्दा बोटले थप आनन्द दिने हाइकिङका क्रममा पसिनापुछ्दै उकालो उक्लिरहेकी भैरहवाकी ज्ञानुमाया पोखरेलले बताए । जैविक विविधताले भरिपूर्ण फूलबारीदेखि नुवाकोटको यात्रामा लागेको थकानलाई नुवाकोटमा रहेको भैरव मन्दिर, नुवाकोट गढी, भ्यूटावर र नुवाकोट गाउले बिर्साउने पर्यटन व्यवसायी अञ्जन श्रेष्ठले बताए । भ्यूटावरबाट साँझ बुटवल बजारको झिलिमिली अवलोकन गर्न र चिसो मौसममा स्थानीय उत्पादनबाट बनाइएका खानाको परिकारको स्वादमा नाच्दै गाउँदै पर्यटक रमाउँदा साच्चिकै आनन्द अनुभूत हुने नाट्टाका पूर्वध्यक्ष सागर अधिकारीले बताए । त्यस क्षेत्रको विकासका लागि सबैको सहकार्यमा आफूहरुले योजनाबद्ध काम गरिरहेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए । उनले नुवाकोट गढीलाई ऐतिहासिक, धार्मिक र पर्यावरणीय हिसाबले पर्यटन प्रवद्र्धन गर्न योजनाबद्धरुपमा काम भइरहेको बताए । नुवाकोटगढी पुग्न अहिले बुटवल उपमहानगरपालिका–१३ बेलवासदेखि करिब एक घण्टामा सडक मार्गहुदै सवारीसाधनमा पनि पुग्न सकिन्छ ।
आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा
काठमाडौं । आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले आधारभुत सेयरधनी बाहेकका सेयरधनीको पुस ५ गतेदेखि लागु हुने गरी कम्पनीको सेयर फुकुवा गरेको हो । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएपछि आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का रहेको थियो ।
सेयरधितो कर्जामा नबिल, ग्लोबल र राष्ट्रिय वाणिज्य बैंकबीच प्रतिस्पर्धा, कुनको ऋण कति ?
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/०८० को कात्तिक महिना सम्ममा बैंकहरुले कुल ५९ अर्ब ९१ करोड १० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुले कात्तिक महिनामा असोजको तुलनामा ४३ करोड ६० लाख अर्थात् ०.७२ प्रतिशत कम ऋण प्रवाह गरेका हुन् । बैंकहरुले असोजमा ६० अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए भने भदौमा ६० अर्ब ३१ करोड ९० लाख र साउन महिनामा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकमा ८ वटा वाणिज्य बैंकले सेयर धितो कर्जा बढाएका छन् । असोजको तुलनामा राष्ट्रिय वाणिज्य बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट, कुमारी, लक्ष्मी, सिद्धार्थ, कृषि विकास र एनएमबी बैंकले सेयर धितो कर्जा बढाएका छन् । अन्य बैंकको सेयरधितो कर्जा भने घटेको छ । हालसम्म सबैभन्दा बढी नबिल, दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले सेयर धितो कर्जा लगानी गरेका छन् । नबिलले ६ अर्ब ७९ करोड ८० लाख, ग्लोबलले ४ अर्ब ९७ करोड ८० लाख र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५३ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन् । सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक र प्राइम कमर्सियल बैंकले ३ अर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेको छन् भने मेगा, कुमारी, सेञ्चुरी, लक्ष्मी, प्रभु र सिभिल बैंकले २ अर्ब रुपैयाँ बढी सेयरधितो कर्जा लगानी गरेका छन् । यस्तै, सनराइज, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डू, सानिमा, एनआइसी एशिया, एनएमबि, एनसीसी, हिमालयन र कृषि विकास बैंकले एक अर्ब बढी लगानी गरेका छन् । माछापुच्छ्रे, एभरेष्ट र नेपाल एसबिआई बैंकले भने १ अर्ब रुपैयाँ पनि सेयरधितो कर्जा लगानी गरेका छैनन् । माछापुच्छ्रे बैंकले ८२ करोड ८० लाख, एभरेष्टले ७५ करोड ६० लाख र नेपाल एसबिआईले ३२ ३ करोड २० लाख रुपैयाँ लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा केही खुकुलो नीतिको व्यवस्था गरेको थियो । यसअघि सेयर धितो कर्जामा ४/१२ करोडको सीमा रहेकोमा चालु आवको मौद्रिक नीतिमार्फत् ४ करोडको सीमा हटाएर १२ करोडको सीमा मात्रै लागू गरेको थियो । सो पछि पनि बैंकहरुले सेयरधितो कर्जा कम लगानी गरेका हुन् । तरलता अभाव भइरहेको बेला बैंकहरुलाई कर्जा लगानी गर्न समस्या भइरहेको छ । पछिल्लो समय भने केही सुधार हुँदै गइरहेको प्रतिक्रिया बैंकरहरुको छ ।
सरकारले निलगिरी जलविद्युत आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने
काठमाडौं । सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईतबार बसेको मन्त्रिपरिषदको बैंठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि. प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताए । ‘सरकारले माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेकाे छ, संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने निर्णय भएको छ,’ उनले भने ।
सिरहामा बजार नहुँदा बिक्री भएनन् नर्सरीका विरुवा
सिरहा। सिरहाको लहान नगरपालिका कटहाका सत्यनारायण महतो विगत १७ वर्षदेखि नर्सरी फार्ममा विरुवा उत्पादन गरिरहेका छन् । एक विघा क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आएका उनि अब यसलाई बढाएर १५ कठ्ठा पुर्याउने योजनामा छन् । तर नर्सरीमा भएका विरुवा समयमै बिक्री नहुँदा भने उनि चिन्तामा छन् । बिना कुनै तालिम लामो समयदेखि नर्सरीमै व्यस्त रहेको उनको परिवारले यतिबेला नयाँ प्रविधि भित्र्याएर उन्नतजातका विरुवा उत्पादन गरिरहेको छ तर बजारमा विरुवाको माग बढ्न नसक्दा आम्दानी संकुचित हुँदै गएको उनको भनाइ छ । ‘आम्दानी नराम्रो होइन, अहिले पनि वार्षिक २० लाखको कारोबार गर्छौ’, उनले भने, ‘यद्यपि समयमै विरुवा बिक्री हुन सक्यो भने थप पाँच लाखको कारोबार गर्न सक्ने ठाउँ छ ।’ नर्सरीमा उत्पादन भएका विरुवा समयमै बिक्री नहुँदा नर्सरीमै विरुवा सुक्ने गरेको सत्यनारायणका छोरा नरेशको भनाइ छ । ‘नर्सरीमा तयार भएका विरुवा बजार अभावका कारण समयमै बिक्री हुननसक्दा विरुवा बिक्री हुन सकेका छैनन’, उनले भने, ‘विरुवाले समयमै बजार नपाउँदा लगानी घाटामा जाने गरेको छ ।’ महतोले नर्सरी बिस्तारका लागि सरकारसँग अनुदानका लागि आग्रह गरे पनि हालसम्म कुनै सरकारी अनुदान प्राप्त नभएको गुनासो गरे । ‘अहिलेसम्म पाँच पटकसम्म अनुदानका लागि आग्रह गरिसकेको छु’, उनले भने, ‘प्रत्येक पटक खाली हात लाग्छ, अहिले त अनुदान नमाग्ने निर्णयमा पुगेको छु ।’ महतोको नर्सरीमा विभिन्न २२ प्रजातिका ८० हजारभन्दा बढी आँपको विरुवा छन् । जसमा मुख्य प्रजातिमा मालदह, बम्बै, कलकत्तिया, दसहरी, अमरपालिलगायत आँपका विरुवा छन् । साथै लिचीमा साही, मझफपुर, सरलेश, चानीजका विरुवा छन् । महतोका अनुसार नर्सरीमा कटहर, जामुन, अनार, धुपी, नरिवल, अम्बा, बैर, तेजपात, निम्बु, बेल, अमला, निम, सुपारी, अशोक, सफेद, महगनी, टिक, गमहार, बाँस, रक्तचन्दन, सल्ला, पपिता, केला, मरिच, अङ्गुर तथा घर, अफिस, बगैँचाका लागि उपयुक्त फुल पनि उत्पादन हुँदै आएका छन् । रासस
जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम
काठमाडौं । जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा मिलन ब्रजाचार्यले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेको बताउछन् । ‘दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या आउन सक्छन,’ उनले भने,’यस्ता बिरामीलाई सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गर्नुपर्दछ ।’ नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने उनि बताउछन् । डा बज्राचार्यले हप्तामा सात–आठ स्वाब सङ्कलन गरेर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको बताए । इन्फ्लुएन्जा सङ्क्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस जस्ता लक्षण देखा पर्दछन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । यसबाट बच्न बिरामी भएकमा व्यक्तिसंँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, शारीरिक रुप्मा सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने, बेलाबेलामा सावुनपानीले हात हुने र आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ । रासस
२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक
बलेवा । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दव्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार पारेको लागत अनुमान मन्त्रालयमा पुगेर थन्किएको छ । कार्यालयले पहिरो नियन्त्रणका लागि एक करोड ३१ लाख ७७ हजार आठ सय ३७ रुपैयाँको लगत अनुमान गरेको छ । ‘गत वर्ष नै पहिरो नियन्त्रणका लागि लागत अनुमान गरेर पठाएका हौँ, तर बजेट चार लाख मात्रै आयो’, कार्यालयका इञ्जिनियर कृष्ण गौतमले भने, ‘सामान्य पहिरो पन्छाएर सडक खुलाउनसमेत नपुग्ने बजेटले पहिरो रोकथाम गर्न सकिएन ।’ वर्षायाममा बगिरहने पहिरो नियन्त्रणका लागि हिउँदमा सरोकारवालाको चासो नहुने सर्वसाधारणको गुनासो छ । ‘बर्खाभरि हिउँद लागेपछि पहिरो रोक्ने काम होला भनेर आशा गर्छौंं तर हिउँदमा सुनसान हुन्छ’, बागलुङ नगरपालिका–१२ अमलाचौरका कमल हमालले भने, ‘पहिरो खस्न थालेपछि मात्रै कामको चर्चा हुन्छ ।’ पहिरो पन्छाउन मात्रै बागलुङ नगरपालिकाले दुई वर्षमा १० लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष नगरपालिकाले विनियोजन गरेको २० रुपैयाँ लाख बजेटबाट तयार भएका संरचना पहिरोले बगाएको छ । विसं २०७२ मा सडक विभागले कालोपत्र गरेको गलुवादेखि पाग्जासम्मको चार किमी खण्डको ठाउँठाउँमा खसेको पहिरोले सडक नै जोखिममा छ । कतै सडक भासिएको छ भने कतै सडकमाथिबाट आएको पहिरोले सडक नै पुरिएको छ । लामो समय बितिसक्दासमेत सडकको पहिरो सवारीसाधन एकतर्फी चल्ने गरी पन्छाउने गरिएको स्थानीय ज्ञानेन्द्र ढकाल बताउँछन् । पूर्वाधार विकास कार्यालय पर्वतले कालोपत्र गरेको पाग्जादेखि सरङ्गेसम्मको १० किमी खण्डमा खसेका पहिरोकोसमेत अवस्था उस्तै छ । ‘पहिरो नियन्त्रणका लागि पहल भइरहेको छ, स्थानीय सरकारको बजेटले मात्रै थेग्ने अवस्था नरहेकाले माथिल्लो निकायमा पहल गरेका छौँ’, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का भन्छन्, ‘अर्थमन्त्रीसँग सिधा संवाद गरेका छौँ, आशा छ हिउँदमा काम हुने वातावरण बन्छ ।’ सडकको दुरावस्थाले बागलुङलाई नै गिज्याइरहेको भान हुने गरेको छ । बागलुङका मुख्य सडकमध्ये पर्ने यो सडक विभिन्न समयमा विभिन्न योजनामार्फत खण्डखण्डमा कालोपत्र भएको भए पनि अझै दुई किमी सडक कच्ची नै छ । मालढुङ्गादेखि दब्ल्याङसम्मको खण्ड कालीगण्डकी करिडोरसमेत पर्ने भएकाले कालोपत्र गरिएको छैन । बागलुङ नगरपालिका–१२ अमलाचौरको सरङ्गेदेखि टाकुरीसम्मको एक किमी खण्डमा कसैको आँखा नपरेको स्थानीय प्रेम शर्माले बताए । बागलुङ नगरपालिकामा पर्ने उक्त खण्ड जैमिनी र बरेङ गाउँपालिकाको प्रयोगमा आउने भएकाले चपेटामा परेको हो । उपयोग कम हुने भएकाले बागलुङ नगरपालिकाले कम महत्व दिने गरेको छ भने आफ्नो भूगोल नभएकाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई त्यहाँ बजेट खर्चिन कठिन छ । ‘बीचमा परेको बाटो नबन्दा दुःख पायौँँ’, शर्माले भने । यो खण्ड कलोपत्रका लागि जैमिनी नगरपालिकाले ५०/५० प्रतिशत साझेदारीको प्रस्ताव गरेको छ । तर पूर्वाधार कार्यालय बागलुङसँग साझेदारीको बजेट नहुने भएकाले आगामी वर्षको कार्यक्रममा बजेट माग गरिने कार्यालयका निमित्त प्रमुख महेन्द्र शर्माले बताए ।
डोटीका भूकम्पपीडित परिवारलाई काठमाडौं महानगरको १० लाख सहयोग
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख आर्थिक सहयोग गरेको हो । गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए । काठमाडौँ महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताए । उनले भने, ‘भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौँ, आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।’ उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौँ महानगर पालिकाले जनाएको छ ।