नबिल बचत खातामा घातक रोग बीमाले पायो निरन्तरता, ६ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । नबिल बैंकले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ । हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि जीवन बीमा सुवधिा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ । चार वर्ष अगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बीमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालाको लागि गरिँदै आएको छ । बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो । यो योजना सुरुवातबाट नै निकै प्रभावकारी रहेको र यस योजनाले आफ्ना ग्राहकहरुलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ । मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १६ करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ । नबिल बैंकका अनुसार मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बीमा हुने गरेको छ । कसरी पाइन्छ यो सुविधा ? यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनु पर्ने बैंकले जनाएको छ । यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ । नबिल बैंकले विभिन्न १३ घातक रोगहरू जस्तै किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बीमा सुविधा दिने गरेको छ । बैंकका अनुसार प्रिमियम रकमको भार बैंक आफैँले बहन गरिदेने विशेषता भएको यो योजनाले ग्राहकहरुलाई घातक रोगसँग सामना गर्ने र आर्थिक व्यवस्थापनको मानसिक चापलाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नबिल बैंकले यो योजना अन्तर्गतको सुबिधा आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको छ । यस योजनाको सफलता र ग्राहकहरूको चाहनाअनुरुप अबको दिनमा पनि यस योजनाका सुबिधा र सेवालाई थप प्रभावकारी बनाउने र समय अनुसार परिवर्तन गर्न बैंक प्रतिबद्ध रहेको छ ।
एनएमबि बैंकले ल्यायो ९.१३३ प्रतिशत ब्याज दिने ‘अपन बचत खाता’
काठमाडाैं । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने ‘अपन एनएमबि बचत खाता’ सन्चालनमा ल्याएको छ । बैंककाे अनुसार उक्त खाताले उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्नेछ । एनएमबि बैंक विगत २६ वर्ष देखी बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
आईएमईमार्फत पठाएको रेमिट्यान्स रकम एसबिआई बैंकको शाखाबाट भुक्तानी हुने
काठमाडौं । नेपाल एसबिआई बैंक र आईएमईबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमईका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखा मार्फत भुक्तानी हुनेछ । उक्त सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आईएमईका प्रमूख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।
अब टिमुर र मेन्था खेतीको पनि बीमा हुने, बीमाशुल्क ५ प्रतिशत मात्रै, दुई लाखको दुर्घटना बीमा सुविधा
काठमाडौं । अबदेखि टिमुर र मेन्था खेतीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘टिमुर खेती बीमालेख’ र ‘मेन्था खेती बीमालेख’ जारी गर्दै उक्त खेतीको पनि बीमा हुने व्यवस्था गरेको हो । प्राधिकरणका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी गरेपछि मात्रै शुरु हुने छ । बीमालेखको अवधि टिमुर तथा मेन्था खेती बीमालेख जारी गर्दा घण्टा र मिनेटसम्म खुल्ने गरी समय उल्लेख गर्नुपर्नेछ । बीमालेख जारी भएको मिति र जोखिम शुरु भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । टिमुर बीमालेखको अवधि एक वर्ष मेन्था बीमालेखको अवधि ४ महिनाको हुने छ । टिमुरको खेतीको बीमा २० वर्ष उमेरसम्मको बोटको गर्न सकिन्छ । आंशिक बीमा गर्न नपाइने एउटै क्षेत्रफलमा लगाइएको टिमुर खेतीको आंशिक रुपमा बीमा गर्न पाइने छैन । टिमुर खेतीको बीमा लागत र उत्पादनको आधारमा गर्न सकिनेछ । त्यस्तै, बीमालेख बमोजिम गरिने टिमुर खेतीको बीमाशुल्क गणना गर्दा लागतको आधारमा ३ प्रतिशत र उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्ने छ । मेन्था खेतीको बीमाशुल्क गणना गर्दा कच्चा पदार्थ उत्पादनको आधारमा ४ प्रतिशत र सुगन्धित तेल उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्नेछ । त्यस्तै, बीमालेख जारी भइसके पश्चात बीमांक रकम परिवर्तन गर्न पाइने छैन । बीमा अवधिभित्र टिमुर खेती थप गर्नु परेमा थप खेतीको लागि छुट्टै बीमालेख जारी गर्नुपर्ने छ । तीन महिनापछि मात्र बीमा टिमुर खेतीको बीमा बेर्ना रोपेको तीन महिनापछि बीमा गर्नुपर्ने छ । उक्त खेती समुन्द्र सतहबाट एक हजारदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाईमा खुकुलो बलौटे माटोमा गर्नुपर्ने व्यवस्था छ । यो बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट टिमुर खेतीको क्षति भएमा क्षति भएको तीन दिनभित्र बीमितले बीमकलाई जानकारी गराउनु पर्ने छ । बीमा अवधिभित्र बीमा गरिएको टिमुर खेतीमा ८० प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षति (टोटल लस) अनुसार दावी भुक्तानी गरिने छ । २ लाखको दुर्घटना बीमा यो बीमालेख अन्तर्गत किसानको २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको सुविधा समेत रहेको छ । आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी रिढंको हड्डी काम नलाग्ने भएमा, एक हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा कम्पनीले बीमितलाई सो मात्राको भुक्तानी गर्नेछ ।
मन्जुश्री फाईनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने
काठमाडौं । मन्जुश्री फाईनान्सले ग्राहकहरुको लागि अनलाइन अकाउन्ट ओपनिङ्गको सुविधा ल्याएको छ । यस सेवाकाे सुरुवातसँगै फाइनान्सका ग्राहकले आफु बसेकाे जुनसुकै ठाउँबाटै खाता खाेल्न सक्नेछन् । मन्जुश्री फाईनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ । साथै, ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सो भन्दा बढि अवधिको ब्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ । यस फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको छ । संस्थाले २०७९ मङसिरसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड कर्जा लगानी गरेकाे छ ।
हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँ : डा. सिके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन् । सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताएका हुन् । ‘पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिवद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउँछाैं, सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा निकास दिनु हाम्राे जिम्मेवारी हाे,’ उनले भने । अध्यक्ष राउतले वर्तमान सत्तारुढ गठबन्धन प्रति आफूहरु सकारात्मक रहेको बताए ।
बचतकर्ताको ११ करोड फिर्ता गर्ने भन्दै खुल्यो मञ्जुश्री सहकारी, पुस ९ गते बोलायो साधारण सभा
काठमाडौं । तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो । बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन । सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय अब नियमति खोलेर कारोबार गरिने प्रतिबद्धता जनाएका छन् । सहकारीको काम गर्न जिम्मेवारी दिएका कर्मचारी जिम्मेवारी नलिई हिँडेपछि समस्या आएको बताउँदै उनले नयाँ कर्मचारी नियुक्त गरेर काम थालिएको सुनाए । बचतकर्ता सबैको साँवा, ब्याजसहित फिर्ता गरिने सहकारीको प्रतिबद्धता छ । सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भए पनि कार्यालय खोलेर कारोबारसहित बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि खुसी लागेको बचतकर्ता उमेश खतिवडाले जानकारी दिए । सकारात्मक सोच लिएर कार्यालय खोलेपछि हामीले पनि सहयोग गर्न थालेको बचतकर्ताको भनाइ छ । पटक–पटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन । दसैँपछिदेखि त कार्यालय नै खुल्न छोडेकामा गत हप्तादेखि कार्यालय खुल्न थालेपछि बचत फिर्ता हुने आशा पलाएको खतिवडाले सुनाए । सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले गुनासो गर्दै आएका छन् । सहकारीले करिब ११ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । बजारमा सात करोड ऋण लगानी रहेको अध्यक्ष लामाले बताए । पाँच करोडको घर सहकारीका नाममा छ । सेयर सदस्यको शुल्क एक करोड गरी १३ करोड रुपैयाँँको पुँजी रहेको पनि उनको भनाइ छ । आगामी पुस ९ गते सहकारीले आफ्नै भवनमा साधारणसभा बोलाएको छ । सहकारीमा लामा २०७५ सालदेखि अध्यक्ष छन् । त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गर्नुभएको थियो । साम्देन लामाले विसं २०६३ मा सहकारी स्थापना भएदेखि २०७५ सालसम्म सहकारीको अध्यक्ष चलाएका हुन् । सहकारीको अहिले रहेको करिब सात करोड रुपैयाँ ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको उपाध्यक्ष विजय तामाङले जानकारी दिए । ‘धेरै ऋणीका घरमा ऋण उठाउन जाँदा साम्देन लामासँग ऋण लिएको हो, उनीसँग कुरा मिलाइसकेको छु भन्छन्, पूर्व अध्यक्ष साम्देन लामा कार्यालयमा आउँछु, सबै मिलाउँछु भन्छन्, तर आउँदैनन्, अब साधारणसभामा यो विषय पनि लैजान्छौँ’ उनले भने । सहकारीको ऋण उठ्न छोडेपछि सञ्चालक एकले अर्कोलाई दोष देखाउन थालेका थिए । केही पदाधिकारी एवं सदस्यले भने राजीनामा दिइसकेको बताउँदै अब आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छने गर्न थालेको बचतकर्ताको गुनासो छ । सहकारीबाट राजीनामा दिइसकेको बताए पूर्व सचिव अमरनाथ घिमिरे स्थापना कालदेखि नै अध्यक्षमुखी भएर सञ्चालन गरेका कारण यस्तो अवस्था आएको बताउँछन् । ‘सहकारी सबै सञ्चालक एवं सेयर सदस्यको सहकार्यमा चल्नुपर्ने हो, अरु सदस्यले पनि अध्यक्षको मात्र संस्थाजस्तो गर्ने र अध्यक्षले पनि व्यक्तिगत कम्पनीजस्तो गरी चलाउने गर्दा धेरै सहकारीमा समस्या आउने गरेको देखिन्छ, यसरी सञ्चालन गर्ने सहकारीको सिद्धान्त नै होइन’, उनले भने । सहकारीमा १४ वर्षदेखि खाता खोलेर बचत गर्दै आएका जोरपाटी माकालबारीमा फर्निचर सञ्चालन गर्ने पन्नालाल ठाकुर आठ महिनादेखि सहकारीबाट बचत फिर्ता पाउन नसकिएको गुनासो गर्छन् । करिब पाँच लाख रुपैयाँ सहकारीमा बचत गरेकाे ठाकुर दिनमा एक पटक सहकारी धाउने गरेपनि पछिल्लो समय खुल्न छोडेको कार्यालय खुलेसँगै डुबे को पैसा पाइने आशा जागेको बताउँछन् । रासस
काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । काभ्रेको खोपासीमा २ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रल, सहयोगी महिला जागरण मञ्च, कल्पना फाउन्डेसनको सँयुक्त आयोजना तथा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड वेष्टको समन्वयमा उक्त शिविर सँचालन गरिएको हो । शिविरमा १ सय ८० जनाल वाथ तथा नशा रोग सम्बन्धि स्वास्थ्य जाँच गराए । काभ्रे खोपासीमा रहेको सहारा जेष्ठ नागरिक समाजको भवनमा नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको प्राविधिक सहयोगमा शिविर सँचालन भयो । उक्त शिविरमा नेशनल बाथरोग सेन्टरबाट निःशुल्क रुपमा ल्याब परीक्षणको साथै वरिष्ठ चिकित्सकबाट बाथरोग र नशारोगको उपचारबारे पनौंती १० का स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परामर्स दिनुका साथै स्थानीय वासिन्दाहरुलाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । उक्त शिविरमा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका अध्यक्ष युवराज श्रेष्ठले सहयोगी विभिन्न संघ सँस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेका थिए । यस्तो खालको कार्यक्रमहरु हरेक ६/६ महिनामा गरिने आयोजक लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका निवर्तमान अध्यक्ष रोशन श्रेष्ठले बताए । दिनदुखी तथा असक्त ग्रामिण वासिन्दाहरुलाई परेको स्वास्थ्य सम्बन्धी समस्यामा सहयोग गर्न पाउँदा आफुलाई निक्कै गौरव महसुस भएको आयोजक सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् । सहारा जेष्ठ नागरिक समाजका अध्यक्ष भरतराज शर्माले यो शिविरका आयोजकहरुलाई माला पहिराई सम्मान गर्दै, निःशुल्क स्वास्थ्य शिविरमा निक्कै टाढा टाढाको ग्रामिण वृद्धवृद्धाको सहभागिता भएकाले पनि शिविर निकैं सफल भएको बताए ।