लाभांश प्रस्ताव पारित गर्न आईसिएफसि फाइनान्सले डाक्यो साधारण सभा
काठमाडौं । आईसिएफसि फाइनान्सको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण र आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । फाइनान्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १८ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्नेछन् ।
माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बियो
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि समय थप गरिएको हो । विदेशमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन दिने आज पुस ८ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका ८ र ९ धर्मदेवी नगरपालिकाका ३, ४ र ५, मादी नगरपालिका ४ र ६ का वासिन्दाहरुका लागि ६ लाख कित्ता र प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिका माथिका वडा बाहेक स्थानीयका लागि ४ लाख कित्ता छुट्याइएको छ । यस्तै, १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय, प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
२ कम्पनीलाई कारवाही गर्दै नेप्सेले माग्यो ३ दिनभित्र स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीलाई कारवाही गरेको छ । नेप्सेले कालिका पावर र मल्टीपर्पस फाइनान्सलाई कारवाही गर्दै कारोबार रोक्का गरेको हो । दुवै कम्पनीले लाभांश र साधारण सभाको जानकारी धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (घ) बमोजिम नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारीबाट सर्वसाधारणलाई वञ्चित गराएर मूल्यमा प्रभाव पारेको आरोप नेप्सेले लगाएको छ । विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणबाट समयमा जानकारी नदिएको हो ? ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ । फाइनान्सले पुस ६ गते बेलुकी चार बजे सञ्चालक समिति बैठक गरी लाभांश प्रस्ताव गरेको थियो । उक्त सूचना फाइनान्सले भोलिपल्ट बिहान ११ बजेर १८ मिनेटमा मात्रै नेप्सेलाई दिएको थियो । यस्तै, कालिका पावरले ६ गते नै लाभांश प्रस्ताव पारित गरेको थियो । उसले पनि भोलिपल्ट ११ बजेर ३६ मिनेटमा सूचना दिएको थियो ।
मोलुङ्ग हाइड्रोपावरले पुस १९ गतेदेखि आईपीओ बिक्री गर्दै
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले पुस १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र विदेशमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको ४४ प्रतिशत अर्थात् ३५ करोड ३१ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यदरका ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ८ लाख २ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको मोलुङ्ग गाउपालिकाका बासिन्दाहरुको लागि ५ प्रतिशत, सुनकोशी गाउँपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत गरी १० प्रतिशत सेयर निष्काशन गरिएको हो । बाँकी ३४ प्रतिशत अर्थात् २७ लाख २८ हजार ५ सय कित्तासेयरमध्ये वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीहरुलाई २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता समेत साधारणलाई निष्काशन गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरे माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
परिवर्तनको नेतृत्व लिँदै नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक, के हो एन बैंक ?
काठमाडौं । नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरीे एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल भएको हो । नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उपाध्यक्ष चौधरीले बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्ने बताए । ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरू प्राप्त गर्न सक्ने नवीन प्रविधिले बैंकिङमा नयाँ तरङ्ग ल्याएको उनको भनाइ छ । उपभोक्ताले विश्वस्नीयता र व्यक्तिगत अनुभवद्वारा मूल्याङ्कन गर्ने बताउँदै उनले भने, ‘एनबैंक कुनै पनि भौतिक शाखाविनाको निजीकृत भर्चुअल बैंकिङ हो ।’ ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकको उपयोगमार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् । एनबैंकले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्ष चौधरीले अबको बैंकिङ भविष्य डिजिटल बैंक नै रहेको स्पष्ट गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘एनबैंकको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु, हामीले सबै डाटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेका छौं र आज नबिल स्मार्ट बैंक एप उत्कृष्ट बैंकिङ अनुभवको लागि एनबैंकमा परिणत भएको छ,’ उनले भने । बैंकिङ रोज्ने ग्राहकलाई एनबैंकले आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा दिने उनले बताए । नबिल बैंकका डिसिइओ विनयकुमार रेग्मीले नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको बताए । ‘आज पूर्णतया डिजिटल बैंक, एनबैंक शुभारम्भ गरेर नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको छ,’ रेग्मीले भने, नबिल बैंकले डिजिटल प्रविधिमा अगुवाई गरिरहेको छ, हामीले डिजिटल उत्पादन र सेवाहरू सिर्जना गरेका छौं जसले तपाईंको बैंकिङ सेवा लिने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।’ नबिल बैंकले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याएको हो । नबिल बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एनबैंक (नियो बैंक) को सुरु गरेको थियो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा एनबैंकको शुभारम्भ गरेका हुन् । के हो एन बैंक, कसरी उपयोग गर्ने ? एनबैंक (नियो बैंक) मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर नेपालमा पहिलो पटक नबिल बैंकले सुरु गरेको डिजिटल बैंक हो । यसअघि नै नबिल स्मार्टबैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले अपडेट प्राप्त गर्नुहुन्छ । जहाँ लोगोे ‘ए’ बाट एनबैंकको ‘एन’ मा परिणत हुन्छ । यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एण्ड फिल अपडेट गरिएको छ । नबिल बैंकमा खाता नखोलेका महानुभावहरुले पनि अब आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैंक खाता खोल्न सक्नेछन् । एनबैंकमार्फत् खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैंकको दाबी छ । एनबैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् । यस्ता छन् एन बैंकका प्रमुख ५ विशेषताहरु १. ३० सेकेन्ड मै खाता खोल्न सकिने एनबैंक एपबाट ३० सेकेण्ड भित्रै एनसेभिङ् खाता खोल्न सकिनेछ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन् । २. डिजिटल ऋण ग्राहकहरूले आफ्नो एनबैंक एपबाट सिधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ । ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोनलोन प्राप्त गर्न सक्छन् । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एनबैंक एपबाट सीधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन् । यसको लागि बैंक धाउनुपर्ने, अन्य कुनै कागजी कार्य गर्नुपर्ने छैन । ३. एन–रेमिट नेपाल भित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछ । ४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एनबैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन् । ५. २४ सै घण्टा सातै दिन सेवा बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवा प्रदान गर्नेछ । एनबैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरेको छ । ग्राहकले आफ्नो एपबाट सीधै बैंकिङ सेवाहरूको होस्टको लागि आवेदन दिन सक्छन्ः क) नयाँ डेबिट कार्ड ख) डेबिट कार्ड प्रतिस्थापन ग) क्रेडिट कार्ड घ) व्यक्तिगत ऋण यसबाहेक, निम्न सूचना सेवाहरू पनि एपबाट पहुँच गर्न सकिन्छः क) सम्पर्क ख) शाखाहरू/एटीएमहरू ग) ब्याजदर घ) विनिमयदर ङ) इएमआई क्याल्कुलेटर
राष्ट्र बैंकको एक झट्काले नेपाल इन्भेष्टमेन्ट बैंकको ५० करोड नाफा घट्छ
नेपाल इन्भेष्टमेन्ट बैंकका २६ वटा र मेगा बैंकको ६२ वटा शाखा कार्यालय उपत्यका भित्र छन् । मर्जरपश्चात् उपत्यका भित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यका बाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय २०२ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । जुन सबैभन्दा बढी शाखा हुने बैंकको सूचीमा तेश्रो हो । त्यस्तै, कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या झण्डै ३० लाख पुग्नेछन् । मर्जरपश्चात् बैंक सबै सूचकमा बलियो, दरिलो र अब्बल हुनेछ । कर्पाेरेट र एसएमईमा क्षेत्रमा कर्जा बढ्नेछ । जसले गर्दा बैंकलाई जोखिम कम हुन्छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकको कूल सम्पत्ति १७९ अर्ब रुपैयाँबाट ७ प्रतिशत बढेर १८६ अर्ब रुपैयाँ, कर्जा १६१ अर्ब रुपैयाँबाट १६४ अर्ब रुपैयाँ, कूल लगानी ३५ अर्ब रुपैयाँबाट ४४ अर्ब पुगेको छ । कूल सञ्चालन नाफा ५.५६ अर्बबाट घटेर ४.९८ अर्बमा झरेको छ । खुद नाफा ३.५५ अर्बबाट बढेर ३.७९ अर्ब पुगेको छ । एनपीए २.४६ बाट १.४९ प्रतिशत झरेको छ । क्यापिटल एडुकेसी रेसियो १४.७१ प्रतिशतबाट १५.९७ प्रतिशतमा पुगेको छ । कर्जा निक्षेप अनुपात ७५ प्रतिशतबाट ८५ प्रतिशत पुगेको छ । गत वर्ष ग्राहक संख्या १ लाख २६ हजार बढेको छ । गत वर्ष बैंकले धेरै ठूलो रकम राइट अफ गर्नुपरेको छ । मेलम्चीमा इटालियन कम्पनीलाई निरन्तर गरेको भए ३/४ महिनामा सम्पन्न हुने थियो । केही पनि समस्या आउने थिएन । आन्तरिक सरकारका मुद्दाहरु, भ्रष्ट्रचारले गर्दा नोक्सानी व्यहोर्नु पर्याे । बैंकका कर्मचारी, व्यवस्थापन समूहलाई आरोप लगाउन मिल्दैन । बैंकको कन्ट्रोल भन्दा बाहिरको विषय हो । इटलीमा रिकोभरी गर्न सफल भएका छौं । हाम्रो एक्स्पोजर एक अर्ब ७ करोड रुपैयाँ थियो । इटालियन कम्पनीले २५ करोडको वित्तीय उपकरण दिएपछि बाँकी ७५ करोड राइट अपमा राखेको छौं । अब सीएमसी अन्तर्राष्ट्रिय अदालतमा गएको छ । सिंगापुरको एआरटी कोर्टमा जान लागेको छ । त्यो अदालतमा गयो भने ९९.९९ प्रतिशत जित्छ । विवाद कमिटिमा २ जना वकिल बाहिरको र एक जना वकिल नेपालको हुनुहुन्छ । अर्काे हप्ता मुद्दा दायर हुन्छ । एकदुई वर्ष समय लाग्न सक्छ । हाम्रो पैसा कहीँ जाँदैन रिकोभरि भएर आउँछ । बैंकको अध्यक्ष भएको नाताले म पूर्ण विश्वस्त छु । हाललाई यसलाई राइट अप गर्नु परेको हो । साँवा मात्रै होइन ब्याज पनि आउँछ । उनीहरुले ७ अर्बको दाबी गरेका छन् । हामीले १ अर्ब ३५ करोड जति पाउने अनुमान छ । हामी विभिन्न मुद्दाहरुमा कन्जरभेटिभ भएर गयौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो कम छ । जब ८० प्रतिशत सीडी रेसियो थियो त्यो बेलामा नेपाल इन्भेष्टमेन्ट बैंकले ७६ प्रतिशत मेन्टेन गरेको थियो । अन्य बैंकको ८० प्रतिशतमा हुन्थ्यो । कोरोना महामारीमा ८० प्रतिशतबाट ९० प्रतिशत पुयाएपछि यस बैंकको सीडी रेसियो ८८ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले स्प्रेड दर घटाएको छ । राष्ट्र बैंकले पेलेको पेलै छ । पहिला–पहिला स्प्रेड रेट नै लागू गरेको थिएन । सुरुमा ५ प्रतिशत कायम गर्याे । घटाउँदै ४.५ प्रतिशतबाट ४.४ प्रतिशतमा झारेको थियो । फेरि अहिले आएर ४ प्रतिशतमा झारेको छ । ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झार्दा बैंकको १० प्रतिशत नाफा घट्छ । राष्ट्र बैंकले बैंकहरुको नाफा मात्रै देखेको छ । उद्योगी व्यवसायीहरुले पनि बैंकका विरुद्ध नै आन्दोलन गरेका छन् । चारैतिरबाट बैंकलाई पेलेको पेलै छ । यहि हिसाबमा बैंक अघि बढ्ने हुन भने बैंकहरुको भविष्य राम्रो छैन । स्प्रेडदर घट्दा बैंकको १० प्रतिशत घट्छ । जसले बैंकको ४०/५० करोड नाफा घट्छ । राष्ट्र बैंकको निर्णयले एक झट्कामा नै ४०/५० करोड रुपैयाँ नाफा घट्छ । आगामी दिनमा पनि राष्ट्र बैंकले अझै कडाई गर्ने देखिन्छ । बैंकको ५७७ औं बैठकले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । गत २ वटा नयाँ शाखा विस्तार मात्रै विस्तार भएका छन् । मर्जर गर्ने भनेर बैंकले शाखा विस्तार गरेन । नयाँ शाखा विस्तार गर्दा ६/७ वर्ष पश्चात् मात्रै नाफा हुन्छ । कोरोना महामारी अघि डिजिटल पेमेन्टमा जोड दिएको हो । कोरोनाले गर्दा मोबाइल वालेटमा सुधार गर्न सकिएको छैन । डिजाइन राम्रो भएन भनेर ग्राहकहरुले गाली गर्नुहुन्छ । त्यसलाई सुधार गर्ने योजना छ । थैली वालेटलाई निरन्तर अपग्रेड गर्दै जाने हो । क्रेडिट रेटिङमा बैंकले ए रेटिङ प्राप्त गरेको छ । बैंकले गत वर्ष एक्सलेन्स इन क्रस बोर्डर बिजनेश अवार्ड प्राप्त गर्न सफल भएको छ । यो फाइनान्सियल टाइम्स अफ लण्डनले उक्त अवार्ड दिएको प्रदान गरेको हो । यो चानचुने अवार्ड होइन । यो बैंकिङ क्षेत्रको ओस्कार अवार्ड हो । गत वर्ष १७४ जना कर्मचारीले बैंक छोडेका थिए । महिला कर्मचारी ४८ प्रतिशत छ । ६८१ जना कर्मचारी १० वर्षभन्दा बढी समयदेखि सेवा गरिहरेका छन् । कर्मचारीलाई पनि तालिम दिइरहेका छौं । कर्मचारीको तालिमको लागि गत वर्ष ९५ लाख रुपैयाँ खर्च भएको छ । सामाजिक उत्तरदायित्वमा नाफाको १ प्रतिशत खर्च गर्नुपर्नेमा १.६७ प्रतिशत अर्थात् ५ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । गत वर्षको साधारण सभाले सामाजिक उत्तरदायित्वमा बढी खर्च गर्नु पर्याे भनेपछि यस वर्ष बढाएको हो । मारवाडी समुदाय समितिलाई २५ लाख रुपैयाँ, डा. भगवान कोइरालाले सञ्चालन गर्नु भएको काठमाडौं इन्स्च्युट अफ चाइल्डलाई ५० लाख रुपैयाँ, पशुपति क्षेत्रलाई सरसफाइ गर्न ९७ लाख रुपैयाँ सहयोग गरेको छ । पशुपति क्षेत्र पहिलाभन्दा अहिले धेरै सफा छ । जसको मुख्य कारण नेपाल इन्भेष्टमेन्ट बैंक हो । पशुपतिलाई हालसम्म बैंकले ५ करोड १४ लाख रुपैयाँ सहयोग गरिसकेको छ । खेलकुदमा पनि सहयोग गरिएको छ । मेलम्चीमा पनि सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वमा सबैभन्दा धेरै पशुपति क्षेत्र विकास कोसलाई सहयोग गरेको हो । आर्मी र प्रहरीले बैंकलाई धेरै सहयोग गर्दा चाहेको बेलामा निक्षेप दिनुहुन्छ । अर्काे वर्ष लुम्बिनीमा सहयोग गर्ने योजना छ । पर्यटन र धार्मीक क्षेत्रलाई सहयोग गर्नु पर्छ । विदेशीलाई मात्रै माग्ने जाने होइन । नेपाल इन्भेष्टमेन्ट बैंकको अनवश्यक खर्च कटौती गरिएको छ । खर्च नियन्त्रणमा कडाइ गरिएको छ । म पनि संस्थापक सेयरधनी हो । त्यो खर्च कटौती गर्याे भने मेरो पनि नाफा बढ्छ । बैंकको २ पैसा बच्यो भने मेरो पनि बच्छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा अप्रेटिङ कस्ट १.४ प्रतिशत छ । सञ्चालहरुले अनावश्यक भत्ता पनि लिएका छैनन्, सञ्चालक समितिको बैठक हेर्दा हुन्छ । मर्जर पश्चात् बैंकका कर्मचारीले खाइअपाई आएको सेवा घट्दैन । नेपाल इन्भेष्टमेन्टको १.४ प्रतिशत र मेगा बैंकको १.७९ प्रतिशत छ । खर्च बढाएर २ प्रतिशतमा जाने हो भने सेयरधनीहरुले लाभांश नै पाउनुहुन्न, कर्मचारीको खर्च १.६ प्रशिशत भन्दा कम गर्ने प्रयास छ । भिआरएस स्किम दिएर कर्मचारीलाई बिदाइ गर्ने हो तर कर्मचारीलाई जबर्जस्ति निकाल्दैनौ । मर्जर पश्चात् यो मेगा बैंकको कर्मचारी, त्यो नेपाल इन्भेष्टमेन्ट बैंकको कर्मचारी भन्न मिल्दैन । सबै नेपाल इन्भेष्टमेन्ट बैंकको कर्मचारी हुन् । सबै कर्मचारीको एक–एक गरी मूल्याङ्कन गर्छु । कर्मचारीको ५ बर्षमा कर्मचारीको बढुवा किन भएन भनेर प्रश्न गर्छु । कर्मचारीको व्यवस्थापनमा म आफै हेर्छु । नेपाल राष्ट्र बैंकको निती, देशको आर्थिक स्थिती, कोरोना महामारीको असर, रुस र यूक्रेन युद्ध र महँगी बढेका कारण सेयरधनीहरुले पाउने लाभांश घट्छ । सबै बैंकको ११ प्रतिशतदेखि १३ प्रतिशतसम्म लाभांश हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरपश्चात् १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने लक्ष्य छ । बैंक ठूलो होस् वा सानो होस्, नेपाल इन्भेष्टमेन्ट बैंक टप थ्रीमा हुन्छ । कहिले एक नम्बर र दुई नम्बरमा हुन्छ होला तर टप थ्रीमा हुनु पर्छ । प्रतिस्पर्धा गरेर नम्बर वान बन्ने होइन, बैंकलाई सुरक्षित गर्ने हो । हिमालयन बैंकसँग मर्जर हुन नसकेपछि दबावमा थियौं । पार्टनर खोज्दा–खोज्दा अहिले एकदमै बेस्ट पार्टनर मेगा बैंक पाएका छौं । (नेपाल इन्भेष्टमेन्ट बैंकका संस्थापक अध्यक्ष पाँडेले ३६ औं वार्षिक साधारण सभामा प्रस्तुत गर्नु भएको मन्तव्य)
चितवमा भेला हुँदै अटो व्यवसायी, आगामी कार्ययोजनाको विषयमा छलफल हुने
काठमाडौं । नेपाल अटोमोबाइल्स एशाेसिएशन अफ नेपाल (नाडा)ले चितवनमा अटोमोबाइल व्यवसायीहरुको बृहत भेला गर्ने भएको छ । नाडाले पुस ८ र ९ गते गते चितवनको पार्क सफारी रिर्सोटमा पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएशनका अध्यक्षहरु लगायत पदाधिकारीहरु तथा केन्द्रिय कार्य समिति भेला गर्ने भएको हो । भेलाबाट नाडाले अटोमोवाइल क्षेत्रले बैंकहरुको उच्च व्याजदर लगायत चालु पूँजी कर्जा लागु गरेको जोखिम भार र एलसी मार्जिनका विषयको सम्बन्धमा कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय गर्ने जानकारी दिएको छ । नाडाले मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी मंसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो । कार्यक्रम सम्पन्न हुन अघि नाडाको १३ औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने बताइएको छ ।
नेपाल डिस्टीलरिले गोर्खा सैनिकका बालबालिकालाई छात्रवृति दिने
पोखरा । खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरुलाई सम्मान गरेको छ । पोखरामा बिहीबार साँझ एक भव्य समारोहको आयोजना गरी सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो । भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मी लगायतमा काम गरी सेवानिवृतहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सो क्रममा कम्पनीले वीरता प्रदर्शन गरी भारतमा विभिन्न पदक पाएका इण्डियन आर्मीका रिटायर्ड सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्वीन एलिजावेथ लगायतका प्रतिष्ठित मेडलबाट सम्मानित ब्रिटिस आर्मीको मेजर पदबाट सेवानिवृत दिलबहादुर गुरुङगलाई विशेष सम्मान गरेको थियो । कम्पनीको तर्फबाट मानव संसाधन प्रमुख जनकराज रेग्मीले श्रेष्ठ र गुरुंगलाई विशेष प्रकारले सुसज्जित खुकुरी उपहार दिई सम्मान गरेका थिए । यस्तै, कार्यक्रममा सहभागी १२० भन्दा बढी पूर्व गोरखा सैनिक र उनीहरुका पत्नीहरुलाई समेत कम्पनीले टोकन अफ लभले सम्मान गरेको थियो । कार्यक्रममा गोर्खा सैनिकहरुले नेपाल र नेपालीको नाम विश्वमा चम्काएका विषयमा वक्ताहरुले चर्चा गरेका थिए । गोर्खा सैनिकको वीरता र त्यसको प्रतिकको रुपमा रहेको खुकुरी र सोही नामबाट सर्वश्रेष्ठ रम उत्पादन गर्दै आएको कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको उनीहरुले बताएका थिए । कार्यक्रममा कम्पनीले आगामी वर्ष लडाईंको मैदानमा वीरता प्राप्त गर्ने गोर्खा सैनिकका २ जना बालबच्चालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृतिको समेत घोषणा गरेको छ ।