विकासन्युज

निर्मलकुमार थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन

काठमाडौं । लेखक निर्मलकुमार थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थापाको नयाँ कृति बिमोचन गरिएको हो । कलाकार निखिल उप्रेती, साहित्यकार कुमार नगरकोटी र कलाकार घिमिरे युवराजले एकसाथ रुपमा थापाको नयाँ कृति ‘एकान्त’को बिमोचन गरेका थिए । पुस्तकमा १९ वटा कथा संग्रह रहेको छ । लेखकले आफ्नो जीवनयात्रामा ठोक्किएका विषय, दृश्य र र अनुभवलाई गहिरोगरी कथाको रुपमा प्रस्तुत गरेका छन् । लेखकका अनुसार ‘एकान्त एकान्तमा चल्ने घडीले बताएको समय हो ।’ ‘एकान्त खासमा एउटा अन्त हो ।’

हेटौँडाकी चम्पा परियार बनिन् सफल जडीबुटी उद्यमी

हेटौँडा । जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियार हिजो आज बेफुर्सदिलो छन् । घरायसी काम सकेर समूहले सामूहिक जडीबुटी खेती गरिरहेको स्थानमा पुग्नु उनको दिनचर्या नै बनेको छ । घरमा पालिएका गाई–बाख्रालाई जडीबुटी खेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गरेर आउने उनलाई सधैँ सबेरै घरघन्दा सकेर जडीबुटी गोडमेल र रेखदेख गर्न हतार हुन्छ । आयआर्जनको मुख्यस्रोत नै जडीबुटी खेती बनाउन कम्मर कसेर लागेकी परियार सामुदायिक वनको हाईटेन्सनमुनी गरिएको जडीबुटी र घाँसपातसँगको लगाब र झुकाबले आफूलाई घर बस्नै नसक्ने बनाएको बताउछिन् । मुख्यरुपमा सर्पगन्धा खेती गर्दै आएकी उनले समूहसँग मिलेर हाल बेसार र अदुवा खेती पनि गरिरहेकि छन्। सात वर्ष अगाडिदेखि मकवानपुरको मनहरि गाउँपालिकामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले गठन गरेको उक्त समूहका सदस्यले सर्पगन्धाबाट मनग्ये आम्दानी पनि लिइसकेका छन्। सानो उमेरमा दलित भनेर हेपिएकी परियार अहिले समुदायको प्रेरणाको स्रोत बनेकि छन् । समूहमै लागेर साधारण लेखपढ गर्न, बोल्न र नेतृत्व विकाससमेत गर्न सक्षम उनको जीवन अहिले जति सुन्दर देखिन्छ त्यत्तिकै विगतमा भोगिएको दुःखको कथा भने त्यत्तिकै कहालीलाग्दो छ । पेसागतरुपमै तल्लो जात हुनुपर्दाको पीडा र नागरिकतामा पनि त्यस्तै व्यहोराको थर राख्नुपर्दाको हिनताबोध अहिले छोराछोरीमा पनि रहेको उनि सुनाउछिन् । समाजमा महिलाको आदर्श बनेकी परियारले आदर्शको पत्र बन्न निकै सङ्घर्ष गर्नुपरेको थियो । रुख नभएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीलाई आयआर्जनको स्रोत बनाइएको छ । उक्त समूहमा रहेका विपन्न, दलित र जनजाती महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् । सत्र वर्षको उमेरमा दाउरा काट्न लाग्दा रुखबाट लडेर सन्तानसमेत गुमाउनु परेको थियो । मकवानपुरको मकरीमा जन्मनुभएकी परियारको पारिवारिक तथा पुख्यौली काम कपडा सिलाउनु भएपनि छोराछोरीबीचको विभेदले कपडा सिलाउन सिक्नुभन्दा उनलाई खाना पकाउन सिकाइन्थ्यो । परियार भन्छिन्, ‘विवाह पछि खेत जोत्ने, वन जाने, मेला जाने मेरो परिवारको दिनचर्या भएकाले मैले पनि खेत खनजोतका साथै अन्य काम पनि गर्नुपथ्र्यो ।’ ‘त्यही क्रममा गर्भवती हुँदासमेत रुखबाट लडेर थला परेँ र सन्तान गुमाए’ उनि भन्छिन् । मकवानपुरको सरिखेतबाट मनहरिमा बसाइँ आएपछि अनेमसङ्घमा आबद्ध भएर लेखपढ गर्ने तीव्र ईच्छाले प्रौढ शिक्षा पढेर साधारण साक्षर भएँ र सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटामा प्रवेश गरे पनि दलितको आधारमा मात्र आफू सीमित हुन नचाहेको परियार बताउछिन् । उनि भन्छिन्,’दलित त मलाई समुदायले बनाएको हो म के बन्ने भन्ने त मेरो आफ्नो निर्णय हो जस्तो लाग्यो, त्यसपछि सिक्ने र गर्ने काम केही छोडिन, बोल्न पनि सिकेँ, जे भएनी यो अवस्था भने सामूदायिक वनले नै बनायो बोल्ने र गर्ने आँट बढायो ।’ त्यसपछि मात्र आफूले दुःखभित्र लुकेको सुखी जीवन खोज्न थालेको उनि बताउछिन् । सामुदायिक वनबाट आयआर्जन गर्न सात वर्षअघिदेखि उपसमूह बनाएर लागिपरेको परियारको भनाइ छ । समूहकी अध्यक्ष उनि सामूहिकरुपमा जडीबुटी खेती तथा घाँसको बिरुवा रोपेर बाख्रा पालिरहेकाले आर्थिकरुपमा निकै सहयोग पुगेको बताउछिन् । परियार भन्छिन्, ‘अब यो ठाउँमा यसरी हामी दिदीबहिनी मिलेर आम्दानी गर्छमजस्तो लागेको थिएन, गरेदेखिन नहुने केही रहेनछ ।’ हाइटेन्सनमुनिका रुख काटिएपछि खालिरहेको स्थानमा उत्पादन गरेर स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने सोचसहित थालिएको जडीबुटी खेतीले आम्दानी दिन थालेपछि सबैजना उत्साहित हुँदै थप मेहनत गर्न ऊर्जा मिलेको परियार बताउछिन् । यस वर्ष थालिएको अदुवा खेती सप्रिएको तर बजार व्यवस्थापनका लागि सहयोग आवश्यक परेको उनि सुनाउछिन् । जडीबुटी रोपिएको स्थान वरपर घाँस लगाउँदा घरमा पशुपालन गर्न पनि सहज भएपछि उपसमूहमार्फन नै आर्थिक सहयोग र बाख्रा सापटी कार्यक्रम लागू गरेर थप आम्दानी गरिएको परियारको भनाइ छ । हाल जडीबुटी, अदुवा, अम्रिसोसँगै बाख्रा पालन पनि समूहले गर्दै आएको उनि उल्लेख गर्छिन्। हाल उक्त समूहका सदस्यले सर्पगन्धाको बीउ उत्पादन गरेर बिक्रीवितरण गरिरहेका छन् । बिहान बेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेका छन्। परियार भन्छिन्, ‘खेती गरौँ जमिन छैन, अरु काम गर्न लगानी छैन, यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो एउटा कार्यक्रमले साँच्चै भन्नुपर्दा हाम्रो जीवनमा परिवर्तन नै ल्याइदिएको छ ।’ सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमा रहेका विपन्न महिलाको जीवनस्तर उकास्न गरेको गतिविधि सार्थक सावित भएको अध्यक्ष परियारको निष्कर्ष छ । रासस

प्रचण्डलाई दलको नेता बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो । रासस

आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपाल : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताएका छन् । बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अर्थमन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री अध्यक्ष दाहाललाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए । ‘नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाई हो,’ उनले भने । यस्तै, अर्थमन्त्री शर्माले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि दाबी गरे । ‘राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ, वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ, राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ, मैले देखेको दुईजना हुनुहुन्छ, रामचन्द्र पौडेल र माधव नेपाल हुनुहुन्छ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्वका लागि दाबी गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताएका हुन् । बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढने भएकाले आफूहरु सोही अनुसार अघि बढने पनि स्पष्ट पारे । उनले संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहने बताए । सभापति लामिछानेले भने, ‘अब आम नागरिकले मतदान दिएर विश्वास गरेर पठाईसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन । हाम्रा नेतृत्वका सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन हामीले । सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ ।’ सभापति लामिछानेले अदालतमा विचाराधिन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धि विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिए । अदालतको फैसला अनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र सपथग्रहणसमेत गरेको स्मरण गराउँदै उहाँले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गरे । अदालत र अनुसन्धानका लागि सम्बन्धित निकायले काम गरिरहेकाले यस बारेमा आफूले केही पनि बोल्न नचाहेको उनको स्पष्टिकरण थियो । सभापति लामिछानेले भने, ‘अब अनुसन्धानमा रहेको, अदालती प्रक्रियामा रहेको विषयमा त खास बोलिरहन पर्दैन । उनीहरुलाई उपलब्ध गराउनु पर्ला भनेर यो विषयबस्तुनै अनुसन्धान अथवा खोजवीनमा अदालतमा रहेको हुनाले यस्ता विषयमा अधिकार प्राप्त निकायले निष्पक्ष ढंगले छानवीन गर्ने न्याय दिनेछे भन्ने विषयमा म विश्वस्त छु ।’ सभापति लामिछानेले आफ्नो पार्टी राजनीतिक रुपमा पनि स्पष्ट रहेको जिकीर गरे ।

आइडिया स्टुडियो नेपाल सिजन ६ को प्रसारण शुरु

काठमाडौं । आइडियाले सन् २०१४ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्टअपहरूका लागि प्रोत्साहन, स्रोतसाधन, ठाउँ, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको छ । सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल सिजन ६’ को प्रसारण शुरु गरेको छ । स्पेस ४ के टेलिभिजनमार्फत प्रसारण शुरु गरेको उक्त शो यहि पुष ७ गते देखि हरेक बिहीबार र शुक्रबार राति ८:३० देखि ९ बजे सम्म प्रसारण हुनेछ । आइडिया स्टुडियो नेपाले आफ्नो पाचौँ सिजनको प्रसारण सकेर छौटौँ सिजनको प्रसारण सुरु गर्दैगर्दा स्टुडियोले सयौँ आइडियालाई व्यावसायिक बाटो देखाइसकेको छ भने ६५ भन्दा धेरै आइडिया बोकेर आउने व्यवसायीलाई व्यावसायिक रूपमा समाजमा उतारिसकेको छ । यो वर्ष पनि ४० जना प्रतिस्पर्धीलाई स्टुडियोले स्कृनिङ र लाइभ अडिसनको माध्यमबाट छनौट गरि चारवटा विधामा बिभाजन गरिन्छ । जसमा ग्रिनोभेसन, मेड इन नेपाल, हाई फ्लाइङ र सोसियल इम्प्याक्ट नामक विधाहरु हुन्छन् । सहभागीले यी विधासँग सम्बन्धित व्यावसायिक योजना निर्णायकसामु सुनाउँछन् । जसका लागि यसअघि नै सहभागी प्रतिस्पर्धीलाई आइडिया स्टुडियोले व्यावसायिक तालिम दिइसकेको छ । यसरी तालिमपछि कार्यक्रममार्फत प्रतिस्पर्धामा उतार्दै हरेक विधाबाट विजेता छनौट गरिन्छ र उत्कृष्ट बनाउन सर-सल्लाह ,व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम , मेन्टरशिप , रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण गराउन मद्दत पुर्याउदै आएको छ । कार्यक्रमको निणार्यक मण्डलमा डब्लूडब्लूएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ, आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, गायिका तथा समाजसेवी ,आनी छोइङ डोल्मा फाउन्डेसनका कार्यकारी अध्यक्ष र संस्थापक आनी छोइङ डोल्मा, सिएनआइवाइएफकी अध्यक्ष , के-कन्सेप्ट की कार्यकारी निर्देशक प्राची अग्रवाल र सजिलो सेवाका सह-संस्थापकरवित्त प्रमुख,सुजित रेग्मी, क्यापिटल नेपालका प्रबन्ध सम्पादक प्रकट कुमार रहेका छन् । त्यसैगरी काजी स्टुडियो सीईओ कृति शाक्य,ठमेल डट कमका संस्थापक बाल के जोशी, महिलार हुमेन क्यानका संस्थापक अध्यक्ष सुषमा शर्मा, शिक्षा तथा आतिथ्य व्यवसायीका डा. राजेन्द्र केसी, कर्पोरेट ट्रेनर मानसी अग्रवाल, ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनका सीईओ खेम लकाई, मेगा बैंककी एमएसएमई इन्चार्ज रुक्मणी महर्जन, आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडका सह-संस्थापक मनोज पौडेल, किम्बु टेककी सीईओ, कार्भिका थापा निर्णायक मण्डलमा रहेका छन् ।

जनताको अपेक्षानुसारको भुमिका निर्वाह गर्छु : सभामुख जबरा

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले जनताको अपेक्षानुसारको सभामुखको भुमिका निर्वाह गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाका सदस्यहरुलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । उनले असल र इमान्दारिताका साथ सभामुखको भुमिका निर्वाह गर्ने बताए । उनले जनताले चाहेको भुमिका आफूले सदनमा निर्वाह गर्ने पनि जोड दिए । ज्येष्ठ सदस्य सभामुख जबराले सदनमा निष्पक्ष रहेर आफूले संसदीय भुमिका निर्वाह गर्नेकुरामा अडिग रहेको स्पष्ट पारे । उनले भने, ‘यो पटक सदनको साथ सदस्य भएर यो सदनलाई थर्काउँछु । असल र इमान्दारीसाथ सभामुखको भुमिका निर्वाह गर्नेछु ।’ ज्येष्ठ सदस्य सभामुख जबराले ज्येष्ठ सदस्यको हिसावले आफूले कार्य सकेपछि सदनमा जनताका भनाइहरुलाई बुलन्द पार्ने बताए ।

पृथ्वी राजमार्गमा दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति दिने

तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब आठ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण गरिने आयोजनाले जनाएको छ । उक्त खण्डमा अझै दुई सय घरटहरा भत्काउन बाँकी रहेको तनहुँस्थित मुग्लिन–पोखरा सडक आयोजना पूर्वीखण्डका इञ्जीनियर एवं सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए ।हाल उक्त सडकखण्डमा रोड कटिङ, पर्खाल, पुल, कल्भर्ट निर्माणलगायत कार्य भइरहेका छन् । हालसम्म करिब आठ प्रतिशत कार्य सम्पन्न भएको र सडक फराकिलो बनाउने क्रममा सडक आसपासका विद्युत् पोल, खानेपानी पाइप, टेलिफोन, इन्टरनेटलगायतलाई सम्बन्धित निकायसँग समन्वय गरी हटाउने प्रक्रियामा रहेको उनले बताए । जिल्लाको आँबुखैरेनी पुलजीपबाट म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर सडकमा गैरसहरी क्षेत्र ३९दशमलव९३, सहरी क्षेत्र एक दशमलव५२ र १८ वटा पुल निर्माण हुनेछन् । उक्त सडक निर्माणका लागि चिनियाँ कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनी लिमिटेडले सम्झौता गरी ठेक्का पाएको होे । त्यसैगरी मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँका चार हजार दुई सय पाँच रुख कटान गरेकोे छ । करिब चार सय ६६ रुख काट्न बाँकी रहेको आयोजनाका वातावरणविज्ञ युवराज ढकालले जानकारी दिए । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना छ । ‘सबै रुख नकाटिन पनि सक्छन्’, उनले भने, ‘काट्नैपर्ने रुखमात्रै कटान गरी रुख बचाउन आयोजनाले योजना बनाएको छ ।’ सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बन्ने गरेका छ । उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनुपर्ने विज्ञ ढकालले बताए । आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना छ ।