काठमाडौं । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताएका छन् ।
बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अर्थमन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री अध्यक्ष दाहाललाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए । ‘नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाई हो,’ उनले भने ।
यस्तै, अर्थमन्त्री शर्माले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि दाबी गरे । ‘राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ, वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ, राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ, मैले देखेको दुईजना हुनुहुन्छ, रामचन्द्र पौडेल र माधव नेपाल हुनुहुन्छ,’ उनले भने ।