मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तन महशुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नजाने घोषणा गरेका छन् । शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् । उनले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका लागि नभई मधेसी जनताको मुहारमा खुशी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको बताए । 

जनताको जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने उनको चेतावनी छ । लामिछानेले राजनीतिमा जनतालाई झुक्याएर भोट माग्ने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको बताए । जति बोल्ने हो त्यति नै गर्नुपर्ने भन्दै उहाँले जनतासँग गरेका वाचा पूरा गर्नुपर्नेमा जोड दिए । 

उनले रास्वपाभित्र सरकारका कामकारबाहीबारे हुने आलोचना, सुझाव र बहसलाई पार्टी फुटको संकेतका रूपमा नबुझ्न आग्रह गरे । रास्वपा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले आफ्नै सरकारका काममा पनि आवश्यकताअनुसार आलोचना र सुझाव दिने गरेको उनको भनाइ छ । सरकारले गरेका केही काममा त्रुटी देखिए सुझाव र आलोचना गर्दा पार्टीभित्र विवाद भएको भन्दै विभिन्न भाष्य निर्माण गर्ने गरिएको उल्लेख गर्दै उनले त्यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्न आग्रह गरे । 

लामिछानेले सरकारले आफ्ना प्रतिवद्धता पूरा गर्न काम गरिरहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न पनि आग्रह गरे । उनले सरकारले छठ पर्वलाई महत्व दिँदै बिदा दिने निर्णय गरेको प्रसङ्ग पनि उल्लेख गरे । छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको महत्व रहने भएकाले पर्वका सबै पक्षलाई ध्यानमा राखेर सरकारले बिदा दिने निर्णय गरेको उनको भनाइ छ । 

लामिछानेले भने, ‘सरकारका काममा देखिएका कमजोरीबारे आफ्नै पार्टीभित्र आलोचना, सल्लाह र सुझाव आउनु फुटको संकेत होइन, बलियो आन्तरिक लोकतन्त्रको उदाहरण हो । जनताले दिएको अवसर व्यक्तिगत स्वार्थका लागि होइन, मधेस र देशमा वास्तविक परिवर्तन ल्याउनका लागि हो । हाम्रो प्रतिवद्धता स्पष्ट छ । जति बोल्छौं, त्यति नै गर्छौं । जनतालाई झूटो आश्वासन दिएर राजनीति गर्दैनौं । जनताको विश्वास र जनमतको सम्मान गर्दै मधेसी जनताको जीवनमा परिवर्तन ल्याउनु हाम्रो पहिलो जिम्मेवारी हो । साथै, छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारले दिएको सार्वजनिक बिदाले जनताको भावना र संस्कृतिप्रतिको सम्मान झल्काउँछ ।’

रास्वपाले मधेससहित देशभरका जनताको आवाज सुन्ने उल्लेख गर्दै लामिछानेले जनताको विश्वासलाई कुनैपनि हालतमा ओझेल पर्न नदिन पार्टी पङ्क्तिलाई आग्रह गरे । 

Share News