काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उनले आगामी निर्वाचन र राजनीतिक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेलाई देशको सही विचार बोकेको, सङ्गठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्नेकुरा स्थापित गर्नुपर्ने बताए ।
केन्द्रिय कमिटीले निर्धारण गरेका दुई प्रमुख कार्यभार आन्दोलन र निर्वाचन रहेको उल्लेख गर्दै उनले पार्टीका सबै जनवर्गीय, पेशागत तथा सामुदायिक संगठनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए । कुनैपनि जनसंगठन शिथिल हुन नहुने भन्दै उनले पार्टीप्रतिको निष्ठामा कमी देखिएको भन्दै कार्यकर्ताको भुमिकामाथि समेत प्रश्न उठाए । उनले विशेषगरी वागमती प्रदेशमा एमालेको संगठनात्मक अवस्था कमजोर भएको उल्लेख गर्दै त्यसलाई सुधार्नुपर्ने बताए ।
उनले भने, ‘नेकपा एमाले देशको सही विचार बोकेको, सङ्गठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्ने आन्दोलन र निर्वाचनबाट फेरि हामीले देखाउनुपर्छ । यसका लागि सबैमा तयार रहन आग्रह गर्न चाहन्छु । हामीले दुई कार्यभार भनेका छौं केन्द्रीय कमिटीबाट । एउटा, आन्दोलनको कार्यभार । यो कुरा बेठीक भनेर मात्रै सप्रिनेवाला छैन । त्यसकारण हामीले आन्दोलनमा जान जरुरी छ । चुनावमार्फत नयाँ इम्प्रेसन फेरि जगाउन जरुरी छ ताकि मान्छेहरूले बुझून् । ’
उनले पछिल्लो समय जनता उम्मेदवार तथा राजनीतिक नेतृत्वको पृष्ठभूमि, इतिहास, विचार, चरित्र र आचरणको मूल्यांकन नगरी लहैलहैमा लाग्ने गरेको समेत आरोप लगाए । यस्तो प्रवृत्तिबाट जनतालाई सचेत गराउनु पार्टी कार्यकर्ताको जिम्मेवारी भएको उनको भनाई छ ।
पार्टीको राजनीतिक गतिविधिमा युवाहरूको परिचालनलाई विशेष प्राथमिकता दिन पनि निर्देशन दिनुभयो । युवाहरूलाई पार्टीमा संगठित गर्दै सक्रिय कार्यकर्ताका रूपमा परिचालन गर्न नसके राजनीतिक सफलता हासिल गर्न कठिन उनको भनाई छ ।