पुलिस धेरै उत्ताउलिएको थियो, अहिले दुई भागमा विभाजित छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरि दुई भागमा विभाजित भएको बताएका हुन् । 

उनले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताए । प्रहरीसंगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमेत सन्तुष्ट हुन नसकेको उनको भनाई छ । 

सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको उनले बताए । उनले सरकार बनेकै दिन आफूलाई पक्राउ गरेर प्रतिशोध साँधेको आरोप लगाए ।

आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको उनको दाबी थियो । उनले प्रहरी संगठनको सेवा, सुविधा, पोशाक र कार्य वातावरण सुधारमा एमाले नेतृत्वको योगदान रहेपनि प्रहरीको व्यवहार देखेर आफूलाई आश्चर्यचकित बनाएको बताए ।

उनले विचौलिया इनम सापकोटाको सम्बन्धका बारेमा पनि प्रश्न उठाए । सरकारले आफैँले ईनमलाई विचौलियाको रुपमा प्रयोग गरेको उनको भनाई छ ।
 

Share News