विकासन्युज

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले पाए ४ लाख भत्ता

पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै चार लाख रुपैयाँ वितरण गरेको छ । आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीनदशमलव ६५ वा सोभन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीलाई उक्त रकम उपलब्ध गराइएको हो । अध्ययनमा अब्बल रहेका विद्यार्थीलाई प्रोत्साहन तथा कक्षा १२ सम्म सघाउनका लागि मासिक  दुई हजार पाँच सय रुपैयाँका दरले एक वर्षको रकम दिइएको थियो । योसँगै प्रतिविद्यार्थी ३० रुपैयाँ हजारका दरले कुल तीन लाख ९० हजार रुपैयाँ निकासा दिइएको गुरुङले बताए । यो सुविधा पाउनका लागि कुश्मा नगरपालिकामा रहेका १८ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएको हुनुपर्ने शर्त राखिएको थियो । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले विद्यार्थी सङ्ख्या बढाउन कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइईमा उक्त जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो । ‘सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सहयोग पुगोस्, उसको अध्ययनमा थप प्रेरणा मिलोस् भनेर यो कार्यक्रम स्वीकृत गरिएकाले सोहीअनुसार कार्यान्वयन गरेका हौँ । यसले सामुदायिक विद्यालयमा अध्ययन गर्नका लागि पनि विद्यार्थीलाई प्रेरणा दिने छ’, अधिकृत गुरुङले भने, ‘वर्षमा ३० हजार रुपैयाँ आउनु पनि विद्यार्थीका लागि राम्रो हो । कुश्मा नगरपालिकाका १८ माविबाहेक अन्यत्रबाट उत्तीर्ण भएकाको हकमा यो कार्यक्रम लागू भएको छैन । रकम थोरै भए पनि उनीहरूको थप अध्ययनमा यसले सघाउ पुग्ने छ ।’ नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । सामुदायिक विद्यालयबाट एसइई परीक्षामा समावेश हुने कतिपय विद्यार्थी गरिब तथा विपन्न अवस्थाका हुने भएकाले सामुदायिक विद्यालयका लागिमात्रै कार्यक्रम लागू गरिएको उनको भनाइ थियो । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने तथा कक्षा ११ बाट उत्तीर्ण हुन नसके छात्रवृत्ति भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको पनि नगरप्रमुख जोशीले बताए । नगरपालिकाको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार छात्रवृत्ति प्राप्त गर्ने १३ मध्ये ११ जना सदरमुकाम कुश्माबजारमा रहेको नमूना विद्यालय नारायण माध्यमिक विद्यालयका अभिषेक लामिछाने, आविष्कार पौडेल, सौगात लामिछाने, मुन्दीप भुसाल, केबलकिशोर बाँस्तोला, सागरप्रसाद शर्मा, मानव पोखरेल, प्राची श्रेष्ठ, प्रशन्न श्रेष्ठ, निशा आचार्य र आशिष आचार्य हुन् । यस्तै हिमालय माध्यमिक विद्यालयका रविन सुनाम र शिवालय माध्यमिक विद्यालय कुश्माका सुप्रिम पौडेलले पनि छात्रवृत्ति पाएका छन् ।

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । भवन निर्माणको ठेक्का ऋषि शक्ति/होम निर्माण जेभी कम्पनीले पाएको छ । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कुल लागत १० करोड ५० लाख ४२ हजार दुई सय ७५ रुपैयाँ रहेकामा बोलपत्रमार्फत सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको हो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णयबमोजिम अस्पताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार एचए, दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहनेछ । अस्पताल निर्माण सम्पन्न भएपछि म्याग्दे गाउँपालिकावासीलाई आधारभूत तहको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास लिइएको छ । ‘मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा परेको सन्दर्भमा यो अस्पतालको सुरुआतसँगै जटिल प्रकारको सेवा सञ्चालनमा जोड दिनेछौँ’, अध्यक्ष श्रेष्ठले भने ।

सनराइज क्यापिटलले माघ १० गतेदेखि फोकस्ड इक्विटी फण्ड बिक्री खुला गर्ने

काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फोकस्ड इक्विटी फण्ड एक बन्दमुखि योजना हो । योजनाको अवधि १० वर्षका रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई निष्काशन गर्ने भएको हो । जसमध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्ने भएको हो । क्यापिटलको उक्त फण्ड छिटोमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २४ गतेसम्म लम्बिनेछ । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ्ग प्रदान गरेको छ । कोष प्रबद्र्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

काठमाडौंमा विद्यालयको नामाकरण अंग्रेजी राख्ने अभ्यास बढ्दो, बालेनको पहिचानको मुद्दा छायामा

काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि सोही महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ५ वटा शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरेका छन् । जसमध्ये सबै स्कुलहरुले अंग्रेजी शब्दबाट उच्चारण गरिने विद्यालयको नाम परिवर्तन गरेर नै अंग्रेजी नाम कायम गरेका छन् । त्यस्तै गत मंसिर २० गते काठमाडौं महानगरले ३ वटा निजी विद्यालयको नाम परिवर्तनको लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ । सो प्रकाशित सूचनामा २ वटा विद्यालयले नेपाली नामबाट अंग्रेजी नामको प्रस्ताव गरेका छन् भने अर्को एउटा विद्यालयले अंग्रेजी शब्द उच्चारण हुने नामबाट अंग्रजी नाम नै प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले विकासन्युजलाई उपलब्ध गराएको सूचनाअनुसार शिक्षा सम्बन्धी अधिकार सो महानगरमा आइसकेपछि १७ वटा शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरिसकेको छ । जसमध्ये ९ वटा शैक्षिक संस्थाले अंग्रेजीबाट नेपाली, ४ वटा शैक्षिक संस्थाले नेपालीबाट नेपाली र ४ वटा शैक्षिक संस्थाले अंग्रेजीबाट अंग्रेजीमा नाम परिवर्तन गरेका छन् । त्यस्तै अन्य शैक्षिक संस्थाहरुले पनि कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन गरिरहेको विभागका अधिकारीले बताएका छन् । बालेनको पहिचानको मुद्दा र विद्यालयहरुको नाम काठमाडौंमा मेयर बालेनको उदय हुनुको एउटा कारण उनले उठाएको पहिचानको मुद्दा पनि हो । मेयर बालेनले आफ्नो चुनावी घोषणापत्रमा ४ वटा विषयलाई काठमाडौंको पहिचानसँग जोडेका थिए । घोषणापत्रमा मात्रै नभएर मेयर बालेनले स्थानीय तहको निर्वाचन पूर्व भएका अधिकांश सार्वजनिक कार्यक्रम, अन्र्तक्रिया तथा छलफलहरुमा समेत काठमाडौंको ऐतिहासिकताको संरक्षणलाई निकै जोड दिएर विषयवस्तु राख्ने गर्दथे । काठमाडौंको पहिचानसँग इतिहास, सम्पदा, कला संस्कृति, समुदाय, भाषा, सार्वजनिक क्षेत्र, विकासक्रम लगायत धेरै विषयहरु जोडिएका हुन्छन् । यी मध्ये आम मानिससँग जोडिएको शैक्षिक क्षेत्र पनि एक हो । तर, काठमाडौंमा बालेनको आगमनपछि नै निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको नामाकरण अंग्रेजीकरण गर्ने पहल बढ्न लागेको प्राप्त तथ्यांकले देखाएको छ । मेयर बालेनले काठमाडौंलाई नेपाः उपत्यकाका रुपमा विकास गर्ने विषयको उठान घोषणापत्रमार्फत गरेका थिए । त्यस्तै, स्थानीय संस्कृति, भाषाको पवद्र्धन, पुराना स्तुप, गुम्बा र मन्दिरहरुलाई लिच्छबी तथा मल्लकाल अनुसार पुनर्निमाण गरिने विषयलाई उनले आफ्नो घोषणापत्रमा प्राथमिकता दिएर उठान गरेका थिए । शैक्षिक संस्थाहरु कम्पनीमा दर्ता भएको कारणले गर्दा उनीहरुको नाम परिवर्तनको विषयसँग महानगर नजोडिने शिक्षा विभाग बोर्डिङ शाखाका प्रमुख मोतीराज खनालले बताए । ‘विद्यालयहरु कम्पनीमा दर्ता भएर सञ्चालन भएका छन्, उतैबाट नाम परिवर्तन गरेर आउँछन्, हामीले सो संस्थासँग जोडिएको कुनै विषय कसैको केही छ की भनेर मात्रै सूचना प्रकाशित गर्ने हो’, खनालले भने । कम्पनीको कार्यक्षेत्र राष्ट्रिय स्तरमा हुने भएको र महानगरसँग नजोडिएर नै शैक्षिक संस्थाहरुले आफ्नो नाम हेरफेर गर्न सक्ने भएकाले महानगरले सो विषयमा केही गर्न नसक्ने प्रमुख खनालले बताए । तर, विद्यालयहरुका नामहरुको सन्दर्भमा महानगरको धारणाको विषयमा भने उनले केही बताउन चाहेनन् । शैक्षिक संस्थाहरुको अंग्रेजी नामाकरण नै गर्न नहुने भन्ने नभएको तर मुलुकको पहिचानसँग नै नजोडिएको विदेशी ठाउँ र पहिचानको नाम भने उपयुक्त नहुने प्याब्सनका अध्यक्ष डिके ढुंगाना बताउँछन् । ‘अंग्रेजी नाम नै राख्न हुन्न भन्ने हुँदैन, एउटा राम्रो अर्थ बोकेको अंग्रेजी नाम राख्न सकिन्छ तर विदेशी ठाउँको पहिचान दिने नाम राख्ने विषय भने उपयुक्त हुँदैन’, उनले भने । काठमाडौं महानगरपालिका क्षेत्र भित्र पर्ने १७ वटा शैक्षिक संस्थाले पछिल्लो ३ वर्षमा महानगरबाट स्वीकृति लिएर नाम परिवर्तन गरेका छन् र अरु पनि कम्पनीमार्फत प्रकृयामा रहेको देखिएको छ । शैक्षिक क्षेत्र भनेको स्थायी क्षेत्र हो, जहाँ विद्यार्थीको सर्टिफिकेटको नाता सँधै जोडिएको हुन्छ तर पनि काठमाडौं महानगर क्षेत्रभित्र पर्ने निजी क्षेत्रमार्फत सञ्चालित शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरिरहेका छन् । केही समयअगाडि विद्यालयहरुको नामको सन्दर्भमा प्रश्न उठेको र पछिल्लो समयमा धेरै नेपाली नामाकरण गर्ने होडबाजी देखिएको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए । उनले नाम परिवर्तन गर्दा विद्यालयको पुरानो अस्तित्वलाई पनि ख्याल गरेर कहिँ न कहिँ जोडिनेगरी गर्दा राम्रो हुने बताए । काठमाडौं महानगरले शैक्षिक क्षेत्रमा पहिचानसँग सम्बन्धित पुस्तकको विकास गरेतापनि नामसँग जोडेर अन्य कुनै पहल नभइरहेको सम्बन्धित अधिकारीहरुले बताएका छन् । पछिल्लो ३ वर्षमा नाम परिवर्तन गरेका शैक्षिक संस्थाहरुको नामावली १. ब्लुमिङ फ्लावर प्राइमरी इङ्लिस स्कुल, कामपा–२९ – शिक्षार्थी पाठशाला २. मर्टियन्स मेमोरियल बोर्डिङ, कामपा–३० – शहीद स्मारक आवासीय विद्यालय ३. लिटिल जेनियस इङ्लिस स्कुल, कामपा–१५ – हार्दिक एकेडेमी ४. किण्डरपिलर एकेडेमी, कामपा–४ – शिब नर्सिङ शिक्षालय ५. गोल्डेन होराइजन, कामपा–१६ – बैदिक विद्यापिठ ६. दिव्यतारा बोर्डिङ स्कुल, कामपा–१४ – बोधिसत्व स्कुल ७. शताब्दि बोर्डिङ स्कुल, कामपा–३१ – काठमाडौं निष्ट ८. आशा इङ्लिस बोर्डिङ स्कुल, कामपा–३१ – दिव्य वाणी स्कुल ९. ब्राइट ल्यान्ड स्कुल, कामपा–१६ – ब्रुकलिन एकेडेमी १०. पूर्व पश्चिम मा.वि., कामपा–१४ – दक्षता इन्टरनेशनल स्कुल ११. प्याराडाइज इन्टरनेशनल स्कुल, कामपा–७ – सुनौलो क्षितिज १२. श्री रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, कामपा–३ – श्री रिपुमर्दिनी सैनिक महाविद्यालय १३. एमिटि विट्स को–एजुकेसन इङ्लिस स्कुल, कामपा–३ – सुप्रिम स्कुल १४. प्राक्सिस इन्टरनेसनल एकेडेमी, कामपा–७ – मनास्लु वर्ड स्कुल १५. ड्रिमल्यान्ड पब्लिक एकेडेमी, कामपा– २८ – लिबर्टी सेकेन्डरी स्कुल १६ . भ्याली भ्यू इङ्लिस स्कुल, कामपा–३१ – भ्याली भ्यू स्कुल १७. लोयोला मा.वि., कामपा–३१ – अर्वाना स्कुल अफ साइन्स

आगलागी हुँदा सुनचाँदी र फेन्सी पसलमा क्षति

  चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४ः१५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।

ब्राउनसुगरसहित झापाबाट चार जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । टाघनडुब्बा प्रहरी चौकीबाट झापा गाउँपालिका–१ स्थित सुकुम्बासी टोलमा खटिएको प्रहरी टोलीले मे८प ५३४४ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा कनकाई–५ का २२ वर्षीय गौरव चुडाल र कनकाई–४ का ४४ वर्षीय भीमबहादुर बस्नेतको साथबाट तीन ग्राम सात सय मिलीग्राम ब्राउनसुगर एक थान डिजिटल तराजु बरामत गरेको थियो । त्यस्तै काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भट्टराई चोकमा पैदल हिँडिरहेका सोही स्थानका २८ वर्षीय दिलीप लिम्बूलाई शङ्का लागेर जाँच गर्दा उनको साथबाट एक ग्राम पाँच सय मिलीग्राम ब्राउनसुगर बरामद गरेको थियो । यसैगरी झापा गाउँपालिका–४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–७ का २३ वर्षीय वामदेव मिश्रको साथबाट ब्राउनसुगर बरामद गरेको थियो । शङ्कास्पद अवस्थामा देखिएका उनलाई जाँच गर्दा तीन ग्राम पाँच सय मिलीग्राम ब्राउनसुगर फेला पारेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

निर्धन उत्थान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।