विकासन्युज

वैदेशिक रोजगार बाध्यता कि विकल्प

काठमाडौं । पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लागेका छन् । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लागेका हुन् । नेपालमै बसेर केही गरौँ न भनेर सुन्तला खेती, कुखुरापालन व्यवसाय सुरु गरेका थिए । व्यवसाय खासै उकास्न सकिन । उनी भन्छन्, ‘झन् ऋण बढ्दै गयो, व्यवहार बिग्रियो । अन्त्यमा परदेश नगइ सुखै पाइन । उनको अङ्समा थोरै जमिन परेको छ । त्यसको आयस्ताले खान पुग्दैन ।’ आफूसँग खास कुनै सीप नहुँदा केही गर्ने आँट नआएपछि विदेश नै जानु उपयुक्त ठानेको उनी भन्छन्, ‘साना लालाबाला छोडेर पर्देशिने मन त कसलाई हुन्छ र छोरीहरु पढाउनु पर्यो । घर चलाउनु पर्यो । महँगी धेरै छ ।’ त्यस्तै व्यथा छ गुल्मी भड्कुवाकी शान्ता ज्ञवालीको पनि । उनी पनि दोहोर्याएर कतार जान लागेकी हुन् । सानोतिनो कामले घरखर्च चलाउन मुस्किल भएपछि उनका लागि पनि वैदेशिक रोजगार नै विकल्प बन्यो । ‘श्रीमान् बिते, एउटा छोरा छ, उसको लालनपालन शिक्षा दीक्षाको जिम्मेवारी म माथि छ । आफूले पढेकी छैन, न कुनै सीप छ हातमा । बाध्य भएर विदेश नगएर के गर्नु ?’ सामाजिक परिवेशले पनि आफूलाई विदेशिन बाध्य बनाएको बताउँदै उनी भनिन्, ‘श्रीमान् बितेपछि परिवारको पनि हेला भइँदो रहेछ । परिवारको हेला सहनुभन्दा विदेश गएर केही कमाउनु नै उत्तम विकल्प ठाने ।’ सानो छोरालाई आफन्तकोमा छाडेर विदेश जानु पर्दा निकै असजिलो अनुभव भए पनि उनले आफ्नो आर्थिक कारोबार व्यवस्था भने सुधार गर्न सकेकामा उनी खुसी छिन् । तर सानो छोराको साथमै रहेर बस्न नपाउँदा भने उनलाई पीडा हुने गर्दछ । उनी भन्छिन्, ‘पैसा मात्र सबैथोक होइन, आमासँग खेल्दै हुर्कने समयमा छोडेर हिँड्नु पर्यो । नेपालमा नै राम्रो सीप र दक्षता अनुसारको रोजगारीको व्यवस्था र हरेक कामको सम्मान भइदिएको भए बुबा गुमाएको कलिलो बच्चा छोडेर म विदेशिनुपर्ने थिएन ।’ सैनामैना–९ का हिमाल भट्टराईको पनि पीडा उस्तै छ । नेपालमा रोजगारी कम छ । कामको सम्मान छैन । उब्जाएको खेतीको राम्रो बजार व्यवस्थापन छैन । परिवारको खुसीको लागि, परिवारका रहर पूरा गर्न र आफ्ना सपना पूरा गर्न परदेशिएको बताउँछन् उनी । उनकै शब्दमा विदेशको काम सजिलो पक्कै पनि छैन । सम्पूर्ण आफ्नो परिवार त्यागेर जानु पर्दा दुःख बिमारमा पर्दा हेरविचार गर्ने कोही हुँदैन । काम नगरे खान पुग्दैन । आमा बित्दासमेत समयमै घर फर्किन नपाउनु भएका उनी भन्छन्, ‘वैदेशिक रोजगारी मेरो लागि रहर नभएर बाध्यता हो । नेपालमा नै रोजगारीको राम्रो व्यवस्था भए पक्कै पनि परिवार र साना बालबच्चा छोडेर विदेश जाँदैनथिएँ होला ।’ चुण्डप्रसाद, शान्ता र हिमालको जस्तो बाध्यताले मात्र नभइ पछिल्लो समय विदेशमा गएपछि राम्रै कमाइ हुन्छ भन्ने भ्रमले पनि धेरै युवा वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन् । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइँको न्यूनता, बाह्र कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने प्रवृत्तिको विकास, देशभित्रै रोजगारीको न्यून अवसर, बढ्दो महत्वाकांक्षा आदिले गर्दा पनि पछिल्लो समय युवा जगतमा विदेशिने क्रम बढेको छ । पछिल्लो समय कतिपय युवाले विदेशबाट सिकेर आएको सीपको उपयोग गर्दै नेपालमा नै उद्यम गरेर राम्रो कमाइ गरेका पनि छन् । तर त्यस्ता युवालाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने, व्यवसायका लागि आवश्यक सामग्री समयमा नै उपलब्ध गराउनेजस्ता कार्य अझै पनि देशव्यापी हुन नसक्दा केही वर्षमै कतिपयले व्यवसाय छाडेर पुनः विदेशमा जानेहरुको सङ्ख्या पनि उत्तिकै रहेको छ । त्यस्ता युवा भन्छन्, ‘के गर्ने हामीलाई राज्यले वास्ता नै गरेन । हामीले उत्पादन गरेका सामग्रीको बजार प्रर्वद्धनजस्ता काममा पनि सहयोग नभएपछि बाध्य भएर विदेशिन पर्यो ।’ वैदेशिक रोजगारमा गएका लाखौँ युवाले विदेशमा कमाएको पैसाले आफ्नो घर व्यवहार मात्र चलाएका छैनन्, राज्यलाई नै ठूलो आर्थिक भरथेग गरेका छन् । विसं २०७८ मा गरिएको जनगणनाको प्रारम्भिक नतिजाअनुरुप २१ लाख ७० हजार युवा विभिन्न देशमा रोजगारीका लागि गएका छन् । आर्थिक सर्वेक्षण २०७८ का अनुसार नेपालको कूल गार्हस्थ उत्पादन जिडिपी जम्मा ४८ खर्ब ५१ अर्ब ६२ करोड छ । सो आर्थिक वर्षमा विप्रेषणले १५ प्रतिशतभन्दा बढी जिडिपीमा योगदान गरेको तथ्याङ्क छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह २०।४ प्रतिशतले वृद्धि भई तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०।८ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको सङ्ख्या १०२।५ प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय ९६ पुगेको छ । वैदेशिक रोजगारबाट गरिबी न्यूनीकरण, नेपालीको क्रयशक्ति वृद्धि गरे पनि दीर्घकालीन फाइदा पुर्याउने विकासका क्रियाकलाप सञ्चालन गर्न र ठूला परियोजना निर्माण गरी थप रोजगारी सिर्जना गर्न सकिएको छैन । सरकारले व्यक्तिगत रुपमा उक सय ७८ र संस्थागत रुपमा एक सय ११ देश वैदेशिक रोजगारीका लागि खूला गरेकोमा हाल अफगानिस्तान, इराक र लिवियामा रोक लगाइएको छ । विप्रेषण आप्रवाह सँगसँगै पारिवारिक विखण्डन, सामाजिक एक्लोपन, विप्रेषणको अनुत्पादक क्षेत्रमा प्रयोग, गलत र विदेशी संस्कृतिको प्रयोग, मुलुकमा युवा शक्तिको अभाव, विप्रेषण आयका कारण आयात वृद्धि भई व्यापार घाटा बढ्दै जानेलगायतका समस्या पनि नदेखिएका होइनन् । जे भए पनि नेपालले बर्षेनि श्रम बजारमा उत्पादन भएका पाँच लाख जनशक्ति खपत गर्ने रोजगारीका क्षेत्र सिर्जना गर्न तत्काल सम्भव पनि देखिदैन । ती जनशक्ति खपत गर्न पुग्ने रोजगारीका आन्तरिक अवसर स्वदेशमा नै व्यवस्थापन गर्न नसक्दा नेपाली युवाको बाध्यता बनेको हो वैदेशिक रोजगार । वैदेशिक रोजगारीलाई सधैँभरि यसरी नै नेपालीको बाध्यता बनाइरहने वा विकल्पको रुपमा स्थापित गर्ने भन्ने बारेमा योजना आयोगका निवर्तमान सदस्य डा रामकुमार फुँयालका अनुसार सरकारको दीर्घकालीन रोडम्याप होइन । उनी भन्छन्, ‘वैदेशिक रोजगारी अल्पकालीन सम्बोधन हो, आन्तरिक रोजगारी नै सिर्जना गर्ने र अधिकतम जनशक्ति आन्तरिक रोजगारीमा नै खपत गरी उक्त जनशक्तिबाट मुलुकमा नै सेवा र उद्यमशीलता वृद्धि गरी मुलुककै विकासमा संलग्न गराउने नै सरकारको दीर्घकालीन योजना हो ।’ डा फुँयाल हाम्रो मानव पूँजीलाई थप सीपयुक्त र क्षमतावान बनाउने हो भने बाहिरबाट श्रमका लागि आउने जनशक्ति विस्थापन गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘हाम्रो जनशक्तिलाई प्रतिस्पर्धात्मक, आकर्षक, मर्यादित तथा सम्मानित रोजगारीका लागि अन्य देशमा पठाउन सकिन्छ, यसले मुलुकको आर्थिक रणनीति र दुई देशबीचको आर्थिक कूटनीति थप मजबुत पुग्छ । यसबाट नेपालीहरु ‘ट्रीपल डी’ अर्थात् ‘डर्टी, डिफिकल्ट र डेन्जर’ काममा जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ ।’ विप्रेषण पठाउने २१ लाख ७० हजार वैदेशिक रोजगारीमा जाने युवामध्ये ७५ प्रतिशत अदक्ष छन् । यसरी अदक्ष जनशक्ति विदेशिदा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको छ । त्यस्तो जनशक्ति हातमा कुनै सीप नलिई जाने भएकोले उनीहरुले नराम्रो, कठिन र जोखिमपूर्ण काम गर्न बाध्य भएका हुन्छन् । नेपालको संविधानले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति अङ्गीकार गरेको छ । त्यसरी दुःख गरी कमाएको धनको पनि सही सदुपयोग हुन नसकेको छैन भने वैदेशिक रोजगारीबाट फर्किएकाको सीपको उचित प्रयोग भएको पाइँदैन । श्रम आप्रवासनबाट मौद्रिक विपे्रषण मात्र नभइ सामाजिक पुँजीको रुपमा सीप, प्रविधि र अनुभवलाई पनि आर्थिक सामाजिक विकासको रुपमा उपयोग गर्ने गरी वैदेशिक रोजगार नीति र राष्ट्रिय रोजगार नीति कार्यान्वयनमा आएका छन् । आर्थिक सर्वेक्षणका अनुसार नेपालमा हाल १८ प्रतिशत निरपेक्ष गरिब छन् । यस्तो गरिबी १८ प्रतिशतमा झार्नमा वैदेशिक रोजगारको प्रमुख भूमिका छ । वैदेशिक रोजगारीबाट विप्रेषण आयमा बढोत्तरी, विदेशी मुद्रा सञ्चिति वृद्धि, शोधनान्तर स्थितिमा सहयोग, नेपाली नागरिकको क्रयशक्ति वृद्धि, अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तार, सीप विकासलगायत विविध कुरामा सकारात्मक परिवर्तन आएका छन् । साना ठूला गरी एक सय २५ देशमा नेपाली वैदेशिक रोजगारीका लागि गएको पाइन्छ । नेपालले श्रम सम्झौता भने नौ देशसँगमात्र गरेको छ । सरकारले प्रमुख श्रमगन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न नसक्दा नेपाली कामदारले विदेशमा अनेकौँ समस्या झेल्दै आएका छन् । सम्झौता नभएका मुलुकमा पुगेका नेपाली कामदारले न्यूनतम पारिश्रमिक, औषधोपचार, बीमा, सुरक्षासहितका कानुनी उपचारबाट विमुख हुँदै आएका छन् । अनौपचारिक रुपमा भारत गएर श्रम गर्नेको, श्रम स्वीकृति नलिइ पर्यटक भिसामा र विद्यार्थी भिसामा जानेको यकिन तथ्याङ्क छैन । श्रम स्वीकृति लिएर पनि युरोप अमेरिका र अष्ट्रेलिया जाने एकदम नगन्य छन् । नेपालीको वैदेशिक रोजगारीको लागि जानेमध्ये मलेसिया, कतार, साउदी, अरब र युएइमा मात्रै ९० प्रतिशत रहेका छन् । रासस

रसुवागढी नाकाबाट ३०० चिनियाँ सवारी साधन भित्रिए, अधिकांश इलेक्ट्रिक

रसुवा । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो । यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार एक सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् । सवारी साधनको साथसाथै चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म पाँच महिनाको अवधि तुलनात्मक गर्दा तयारी पोसाकका सामग्री छ सय ३९, हाइड्रोका सामग्री तीन सय ६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपुर्जा दुई, इलेक्ट्रिक पार्ट १७, टेलिफोनका सामग्री सात, नस्पाती ११ टिपका साथै काठका तयारी फर्निचरसमेत पाँच ट्रक सामग्री आयात भएका छन् । ती सामग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग दुई हजार पाँच सय टिपभन्दा बढी रहेको बताइएको छ । कोभिड सङ्क्रमण सुरु भएसँगै नेपाल–चीन बीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भए पनि माल सामग्री भने चिनियाँ ठूला टिफरद्वारा चिनियाँ सवारी चालकबाटै नेपाल भित्र्याई सहयोग हुँदै आएको छ । प्रत्येक दिन बिहान र दिउँसो दुईपटक चिनियाँ सामग्री आयात हुने गरेको र सामान ल्याउनुपूर्व दुवै देशको ढोका खुल्ला गरी रोग रोकथामका लागि औषधी छ्याप्ने चलन बसालिएको छ । केरूङबाट चिनियाँ माल सामग्री रसुवागढीमा ल्याउँदा जति पटक माल सामग्री आउँछ उत्तिनै पटक रोग निर्मलीकरणसम्बन्धी औषधी छर्किने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले जानकारी दिएका छन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मङ्सिर महिनासम्म चीनबाट आयात भएका सामग्रीको मूल्याङ्कनबाट दुई अर्ब ९० करोड भन्सार शुल्क बापतको राजस्व राज्यकोषमा दाखिला भइसकेको छ । यसैगरी यही मङ्सिर १० गतेबाट सुरु भएको निर्यातको कारोबारबाट भने एक करोड ३१ लाख बराबरको माल सामग्री चीनतर्फ गएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताउनुभयो । दस दिनको अन्तरालमा ११ ट्रक माल सामग्री चीनतर्फ निकासी भएको हो । निकासी सामग्रीहरूमा बस्नका लागि बाँसका मुडा, तामाका भाँडा, क्युरियो मूर्ति, ज्याकेट, स्वेटर र नेपाली कागजलगायत सामग्री रहेको बताइएको छ । कोभिड सङ्क्रमणको समस्यालाई गम्भीरतापूर्वक मनन गरी नेपाली भूभागको क्वरेन्टिनमा बसेका कामदारबाट आयात निर्यातका सामग्री एक आपसी पल्टी गर्ने व्यवस्था मिलाइएको छ । रसुवागढीबाट टिमुरेको भन्सार हातासम्म मालवाहक कन्टेनर डिब्बा ल्याउनका लागि १७ जना सवारी चालक र सामान पल्टीका लागि ३५ जना मजदुर क्वारेन्टिनमा रहँदै आएको सीमा सुरक्षाकर्मीले बताएका छन् । रोग निर्मलीकरणका लागि रसुवागढीमा औषधी छर्कन सुरु गरिएको जनाइएको छ । रसुवागढीदेखि भन्सार हाता टिमुरेसम्म दैनिक करिब तीन सयजना मजदुरले रोजगारी पाएका छन् । रासस

धितोपत्र बोर्डले पनि दियो मेगा र इन्भेष्टमेन्ट बैंकलाई मर्जरको अन्तिम स्वीकृती

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरकाे अन्तिम स्वीकृती दिएकाे छ । बाेर्डले धिताेपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ काे दफा ८ काे उपदफ (४) बमाेजिम अन्तिम स्वीकृती दिएकाे हाे । मेगा र नेपाल इन्भेष्टमेन्टले मर्जरको अन्तिम स्वीकृतीको लागि धितोपत्र बोर्डलाई संयुक्त रुपमा पुस ११ गते पत्र पठाएको थियो । राष्ट्र बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि हुँदैछ ।

सेयर बजारबारे प्रधानमन्त्रीकोे चासो, अनुत्पादक क्षेत्रमा ऋण ठप्प पार्न निर्देशन

काठडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुत्पादक क्षेत्रमा कर्जा लगानी ठप्प पार्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्री विष्णु पौडेलर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै उनले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह ठप्प पार्ने निर्देशन दिएका हुन् । उनले छलफलमान सेयर बजारको विषयमा पनि चासो राखेको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले बताए । ‘प्रधानमन्त्रीज्यूले अनुत्पादन क्षेत्रमा कर्जा लगानी रोक्न निर्देशन दिनु भएको छ, उहाँले सेयर बजारको विषयमा पनि चासो राख्नु भएको छ, देशको अर्थतन्त सुधारका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो,’ उनले विकासन्युजसँग भने । यस्तै, देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए ।

कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे धारण सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसलेसमसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ । कांग्रेसले बुधबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीले आफ्नो धारण सार्वजनिक गर्न लागेको प्रष्ट पारे । यस्तै, कांग्रेसले आज निर्वाचन परिचालन तथा प्रचारप्रसारमा खटिएका पार्टीका नेता/कार्यकर्ता लगायतलाई पनि धन्यवाद दिने कार्यक्रम तय गरेको छ ।

जनशक्ति नहुँदा विकास प्राधिकरणको काममा समस्या

काठमाडौं । काठमाडौं उपत्यकाको समन्वयात्मक रुपमा योजनाबद्ध एवं एकीकृत विकास गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं उपत्यका विकास प्राधिकरणमा स्वीकृत दरबन्दी अनुसारका कर्मचारीको व्यवस्था नहुँदा कार्यसम्पादनमा असर गरेको छ । प्राधिकरणमा स्वीकृत दरबन्दीअनुसार विकास आयुक्तसमेत एक सय ३७ जनाको दरबन्दी छ । तर हाल कार्यरत भने ६० मात्र रहेको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिए । प्राधिकरणमा दरबन्दी अनुरुपका कर्मचारी नभएपछि लेखासहित १३ जना कर्मचारी भने निजामती सेवाबाट काजकमा ल्याएको पनि उनले बताए । लामो समयदेखि पदपूर्ति नभएकाले हाल कार्यालयमा आठौँदेखि दसौँ तहसम्मका कर्मचारी पनि छैनन् । यसका कारण हाल प्राधिकरणमा आठौँ तहका ‘डिभिजनल प्लानर’, ‘डिभिजनल इञ्जिनियर’, ‘वरिष्ठ कानुन अधिकृत’ र ‘प्रशासकीय अधिकृत’ पद रिक्त छ । यसैगरी नवौँ तहका ‘सिनियर डिभिजनल इञ्जिनियर’ र ‘वरिष्ठ प्रशासकीय अधिकृत’ पद पनि रिक्त रहेको छ । दसौँ तहका इञ्जिनियरिङ र प्रशासनतर्फका उपविकास आयुक्त पद पनि प्राधिकरणमा लामो समयदेखि रिक्त रहेको जनाइएको छ । कार्यालय स्वीकृत दरबन्दीको करिब ४० प्रतिशत जनशक्तिका भरमा सञ्चालन गर्नुपर्दा प्राधिकरण ऐन २०४५ र नियमावली २०६८ ले तोकेका काम गर्न असहजता भएको प्रशासकीय अधिकृत अर्यालले बताए । प्राधिकरणलाई ऐनले तोकेका अन्य कार्यसम्पादनमा पनि जनशक्ति अभावले प्रभाव परेको छ ।

आइएमई पेबाट आईएमई लाइफको प्रिमियम तिर्दा १ हजारसम्म क्यासब्याक

काठमाडौं । आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनीबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँँसम्म क्यासब्याक प्राप्त गर्न सकिने भएको हो । कार्यक्रममा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए । सम्झौता पश्च्यात आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सकिनेछ । प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजार रुपैयाँँको बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

‘बैंकको ब्याजदर घटाउनुस्, मौद्रिक नीतिमा गरिएका कडाइ सहज गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् । उनले अर्थतन्त्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए । छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका थिए । निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पूँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका छन् ।