विकासन्युज

कांग्रेस महामन्त्रीमा रञ्जीत कर्णको उम्मेदवारी

काठमाडौं । संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । असोज १८ गतेदेखि काठमाडौंमा जारी कांग्रेसको १५ औँ महाधिवेशनमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका नेता कर्णले सोमबार पत्रकार सम्मेलन गरेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । कर्णले कांग्रेस कमजोर भएको नभइ, कांग्रेसभित्रको संगठनात्मक ऊर्जा कमजोर भएका निष्कर्ष सुनाए । ‘कांग्रेससँग विचारको इतिहास छैन भन्ने होइन, त्यो विचारलाई अहिलेको पुस्तासँग जोड्ने प्रयास कमजोर भएको हो । कांग्रेससँग नेता छैनन् भन्ने होइन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने ढोका पर्याप्त खुला छैन, त्यसैले महामन्त्रीको पद माग्न मात्र आएको होइन, कांग्रेसभित्र एउटा नयाँ बहस सुरु गर्न आएको हुँ,’ कर्णले भने । नेता कर्णले कांग्रेसको संगठनलाई पुनर्जीवित गर्न, कार्यकर्तालाई अधिकार र जिम्मेवारीसँग जोड्न, नयाँ पुस्तालाई नेतृत्वको साझेदार बनाउन र कांग्रेसलाई जनताको विश्वासको केन्द्रमा पुनः स्थापित गर्न नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताए । कर्णले पार्टीभित्रै प्रश्न गरेर समीक्षा गर्ने बेला आएको बताए । ‘कांग्रेसको सदस्यता किन संख्या मात्र बनिरहेको छ ? कार्यकर्ता किन निर्णयको साझेदार होइन, निर्देशनको पर्खाइमा बस्नुपर्ने अवस्थामा छन्रु नयाँ पुस्ता कांग्रेससँग जोडिन चाहँदा हामीले उसलाई कति ठाउँ दिएका छौँ ? र कांग्रेसको संगठन जनताको जीवनसँग कति जोडिएको छ ? यी सबै प्रश्नको जवाफ बोकेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको छु,’ उनले भने । महामन्त्री पदका उम्मेदवार कर्णले आफ्नो उम्मेदवारी कुनै व्यक्तिविरुद्ध नभइ प्रवृत्तिविरुद्ध भएको प्रस्ट पारे । उनले बलियो संगठन निर्माण गर्न, विचारमा स्पष्ट, संगठनमा सक्रिय, नेतृत्वमा लोकतान्त्रिक, आचरणमा अनुशासित र जनतासँग जोडिएको विश्वसनीय कांग्रेस निर्माण र कार्यशैली परिवर्तन गर्ने घोषणा गरेका गरेका छन् । महामन्त्री पदमा वर्तमान महामन्त्रीद्वय गुरुराज घिमिरे, प्रदीप पौडेलसहित १० जनाभन्दा बढीले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

नगरपालिकामा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न नर्वेको १० करोड अनुदान

काठमाडौं । सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा र ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नर्वे सरकारबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय गरेको हो । सरकारका अनुसार उक्त अनुदान नगरपालिकाहरूमा स्वच्छ ऊर्जाको प्रयोग तथा ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालनमा उपयोग गरिनेछ ।

नेपालमै विकास गरिएको ‘कुडोससीआरएम’ सार्वजनिक

काठमाडौं । प्रविधि कम्पनी योद्धाल्याबले नेपालमै विकास गरेको ग्राहक व्यवस्थापन सफ्टवेयर (सीआरएम) ‘कुडोससीआरएम’ सार्वजनिक गरेको छ । साना तथा मझौला व्यवसायलाई लक्षित गरी विकास गरिएको यो सफ्टवेयरमार्फत ग्राहकको पहिलो सोधपुछदेखि बिल भुक्तानी र पुनः खरिदसम्मका काम एउटै प्रणालीबाट व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालका धेरै व्यवसायमा ग्राहकसम्बन्धी विवरण फोन, भाइबर, ह्वाट्सएपका सन्देश, नोटबुक, एक्सेल तथा कर्मचारीको व्यक्तिगत सम्झनामा छरिएर रहने गरेका छन् । यसले ग्राहकको सोधपुछमा समयमै जवाफ दिन नसकिने, कर्मचारी परिवर्तन हुँदा ग्राहकको विवरण हराउने तथा बाँकी भुक्तानी पत्ता लगाउन समस्या हुने गरेको कम्पनीको भनाइ छ । यही समस्या समाधान गर्ने उद्देश्यले कुडोससीआरएम विकास गरिएको कम्पनीले जनाएको छ । कम्पनीका सहसंस्थापक राजेश रेग्मीका अनुसार साना व्यवसायमा ग्राहक गुम्दा त्यसको प्रत्यक्ष असर पर्ने भएकाले ग्राहकसँगको सम्पूर्ण विवरण व्यवस्थित राख्ने प्रणाली आवश्यक छ । कम्पनीका अनुसार वेबसाइटको फारम, बुकिङ लिंक वा वेबसाइट च्याटमार्फत आएको सोधपुछ सफ्टवेयरमा स्वतः सम्भावित ग्राहक अर्थात् लिडका रूपमा दर्ता हुन्छ । ग्राहक कुन माध्यमबाट आएको हो भन्ने विवरणसमेत स्वचालित रूपमा रेकर्ड हुने कम्पनीले जनाएको छ । ग्राहकको नाम, सम्पर्क नम्बर, सोधपुछको विषय, फोन, इमेल तथा भेटघाटसम्बन्धी विवरण एउटै पृष्ठमा राख्न सकिने भएकाले कर्मचारी परिवर्तन भए पनि ग्राहकसम्बन्धी विवरण सुरक्षित रहने कम्पनीको दाबी छ । त्यस्तै, व्यवसायीले सफ्टवेयरमार्फत ग्राहकलाई कोटेसनको लिंक पठाउन सक्नेछन् । ग्राहकले मोबाइलबाटै कोटेसन हेरेर अनलाइन स्वीकृति दिन सक्ने र स्वीकृत कोटेसनबाटै इनभ्वाइस तयार गर्न सकिने कम्पनीले जनाएको छ । कुन बिलको भुक्तानी भइसकेको छ, कुन बाँकी छ र कुनको भुक्तानी म्याद नाघेको छ भन्ने विवरण एउटै स्क्रिनबाट हेर्न सकिने कम्पनीको भनाइ छ । बिक्रीपछि आउने गुनासोलाई पनि सम्बन्धित ग्राहकको पृष्ठमा टिकटका रूपमा दर्ता गर्न र फलोअपका लागि रिमाइन्डर राख्न सकिने सुविधा सफ्टवेयरमा रहेको छ । सफ्टवेयरमा रहेको ड्यासबोर्डबाट कति सोधपुछ आयो, कति बिक्रीमा परिणत भयो र कति सम्भावित ग्राहक गुमे भन्ने विवरणसमेत हेर्न सकिने कम्पनीले जनाएको छ । कुडोससीआरएमको शुल्क खल्तीमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसले विदेशी सफ्टवेयर प्रयोग गर्दा डलर कार्ड आवश्यक पर्ने समस्या हटाउने कम्पनीको दाबी छ । कम्पनीले भारतलगायत अन्य देशका व्यवसायलाई समेत कुडोससीआरएम बिक्री सुरु गरिसकेको जनाएको छ। सफ्टवेयर कम्पनीको वेबसाइटमार्फत उपलब्ध रहेको छ ।

जेनजी आन्दोलनका मुद्दा फिर्ताबारे प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न कानुनी रूपमा मिल्ने वा नमिल्ने विषयमा छानबिन गरी सिफारिस गर्न सरकारले रेग्मीको अध्यक्षतामा समिति गठन गरेको थियो । मन्त्रिपरिषद्ले समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयनको आवश्यक प्रक्रियाका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

भक्तपुरमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ शोरुम

काठमाडौं । भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधा र बढ्दो मागलाई ध्यानमा राख्दै देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । शोरुमबाट ग्राहकले अन्य शोरुमसरह बिक्री, सेवा तथा सुविधाहरू पाउनेछन् । नयाँ शोरुममा कम्पनीले हालै सार्वजनिक गरेको नेपालकै पहिलो १७५ सीसीको अप्रिलिया एसआर १७५ पनि उपलब्ध रहेको छ । त्यस्तै, लाइल्याक र गोल्डेन ओरो रंगमा सार्वजनिक गरिएका नयाँ भेस्पासहित भेस्पा तथा अप्रिलियाका सम्पूर्ण मोडल शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । दसैंलाई लक्षित गर्दै शोरुमले विशेष अफरसमेत ल्याएको छ । अफरअन्तर्गत भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । साथै, प्रत्येक खरिदमा अनर एक्स५ प्ले स्मार्टवाच पक्का उपहारका रूपमा प्रदान गरिनेछ । त्यस्तै, एक्सचेन्जमा ग्राहकले २५ हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । नागरिकताको आधारमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भेस्पा र अप्रिलियाको इटालियन विरासतलाई भक्तपुरसम्म पुर्‍याउन पाउँदा खुसी व्यक्त गरे । उनले नयाँ शोरुममार्फत भक्तपुरका ग्राहकलाई इटालियन डिजाइन, उत्कृष्टता र पर्फर्मेन्सको अनुभव प्रदान गर्ने बताए । त्यस्तै, कम्पनीका निर्देशक केतन भिमसारियाले भक्तपुरको समृद्ध सम्पदा र संस्कृतिसँग भेस्पा तथा अप्रिलियाको इटालियन पहिचानलाई जोड्न पाउँदा खुसी लागेको बताए । उनले नयाँ शोरुममार्फत स्थानीय ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने उद्देश्य रहेको उल्लेख गरे । नयाँ शोरुम सञ्चालनमा आएसँगै भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई भेस्पा र अप्रिलियाका स्कुटर खरिद तथा बिक्रीपछिको सेवा लिन सहज हुने कम्पनीको विश्वास छ ।

फार्मेसी परिषद् र नर्सिङ परिषदमा नयाँ सदस्य नियुक्त

काठमाडौं । नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषदमा नयाँ सदस्य नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपाल फार्मेसी परिषद्को सदस्यमा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नरिज बर्तौला नियुक्त भएका छन् । त्यस्तै, नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे विष्ट नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूले आजै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

को हुन् सचिवमा बढुवा भएका मैनाली ?

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीलाई नेपाली इन्जिनियरिङ सेवा, सामूहीकरणतर्फको सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले मैनालीलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए। यसअघि सचिव बढुवा समितिको बैठकले मैनालीलाई प्राविधिक सचिवका लागि सिफारिस गरेको थियो । मैनाली शहरी विकास मन्त्रालयमा सात वर्षभन्दा बढी समयदेखि सहसचिवका रूपमा कार्यरत थिए । शहरी विकास क्षेत्रसँग सम्बन्धित नीति निर्माण तथा कार्यान्वयनमा लामो समय काम गरेका उनले राष्ट्रिय शहरी विकास रणनीति र राष्ट्रिय शहरी नीति, २०७९ को मस्यौदा तयार गर्ने कार्यमा समेत योगदान गरेका छन् । मैनालीले शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए । २०७२ सालको भूकम्पपछि विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) तयार गर्ने तथा आवास पुनर्निर्माण कार्यक्रमको अवधारणा विकास गर्ने कार्यमा पनि उनी संलग्न थिए । शैक्षिक रूपमा मैनालीले बेल्जियमको युनिभर्सिटी अफ लुभेनबाट आर्किटेक्चरमा स्नातकोत्तर गरेका छन् । उनले बेलायतको युनिभर्सिटी अफ न्युक्यासल अपन टाइनबाट प्रशिक्षण लिनुका साथै युरोपियन स्पेसियल प्लानिङमा स्नातकोत्तर तहको प्रमाणपत्रसमेत प्राप्त गरेका छन् । सचिवमा बढुवा भएसँगै मैनालीले पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक सचिवका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

यस्ता छन् मन्त्रिपरिषदका महत्त्वपूर्ण ५ निर्णय

काठमाडौं । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ ।  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै पाँच निर्णय भएको जानकारी दिए । यस्ता छन् सरकारका ५ निर्णय : -नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने । -नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने । -वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने । -जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने । -सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने ।