यस्ता छन् मन्त्रिपरिषदका महत्त्वपूर्ण ५ निर्णय
काठमाडौं । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै पाँच निर्णय भएको जानकारी दिए । यस्ता छन् सरकारका ५ निर्णय : -नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने । -नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने । -वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने । -जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने । -सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने ।
ठेक्का खुल्नुअघि ई-जीपीमा चलखेल, ८ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ८ जना पक्राउ गरेको छ । साइबर ब्यूरोको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई गत शुक्रबार पक्राउ गरेको हो । ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको विषयमा प्राप्त निवेदनका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेको थियो । अनुसन्धानका क्रममा संलग्नता खुलेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साइबर ब्यूरोले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।
एभरेष्ट बैंकका कार्डवाहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य सेवा लिँदा १५ प्रतिशतसम्म छुट दिने भएको छ । यसका लागि बैंकले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको हो । सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले मेदान्त अस्पतालका विभिन्न शाखामा उपचार गराउँदा छुट पाउनेछन् । बैंकका ग्राहकले नयाँ दिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्त अस्पतालका १३ शाखामा यो सुविधा लिन सक्नेछन् । छुट अस्पतालको ओपीडी सेवाअन्तर्गत डाक्टरको परामर्श, प्रयोगशाला तथा रेडियोलोजी सेवामा लागू हुनेछ । त्यस्तै, आईपीडी सेवाअन्तर्गत बेड शुल्क, प्रयोगशाला तथा रेडियोलोजी सेवा र मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा समेत छुट उपलब्ध हुने बैंकले जनाएको छ । यो सुविधा लिनका लागि अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्नुपर्नेछ । अस्पतालमा उपलब्ध तोकिएका सेवामा मात्र लागू हुने यो सम्झौताले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने बैंकको विश्वास छ ।
नेपाल लाइफको ‘स्टार अवार्ड’ सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गर्न आयोजित कार्यक्रममा १ हजार ६४ जना अभिकर्ता सम्मानित भएका छन् । कम्पनीले देशका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कुल २ हजार ५८१ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने १ हजार ६४ जनालाई स्टार अवार्ड प्रदान गरी सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सेल्स प्रशिक्षक किसु झा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी तथा नेपाल लाइफ बीमक समितिका अध्यक्ष गणेश अधिकारीलगायतको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहकसँग सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई प्राथमिकता दिएर काम गर्न आग्रह गरे । कम्पनीले अभिकर्ताहरूलाई समान अवसर, सम्मान र व्यावसायिक विकासको अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै उनले बीमा सेवाप्रति आम नागरिकको विश्वास बढाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए । उनले हालैका विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे । साथै, विपद्बाट प्रभावित अभिकर्ता तथा बीमितहरूको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि पहल भइरहेको जानकारी दिए । त्यस्तै, कम्पनीका नेसनल सेल्स हेड पोखरेलले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनमा अझ प्रतिबद्धता र व्यावसायिक सोचका साथ काम गर्न आग्रह गरे । उनले कम्पनीको व्यवसाय वृद्धि, ग्राहक सेवा र बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूको योगदान महत्वपूर्ण रहेको बताए । पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केसीले अभिकर्तासँग सम्बन्धित ऐन, नियमावली तथा व्यावसायिक सरोकारका विषयमा सुधार गर्न संघले पहल गरिरहेको बताए । उनले सामाजिक सञ्जालमा तथ्यहीन तथा भ्रामक सामग्री सम्प्रेषण नगर्न र आफ्नो व्यावसायिक जिम्मेवारीप्रति सचेत रहन पनि आग्रह गरे । नेपाल लाइफ बीमक समितिका अध्यक्ष अधिकारीले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै उनीहरूको योगदानले कम्पनीको व्यावसायिक यात्रालाई थप मजबुत बनाएको बताए । उनले कम्पनीको बजार हिस्सा बढाउन सबै अभिकर्तालाई एकजुट भएर काम गर्न आग्रह गरे । कम्पनीका अनुसार ‘स्टार अवार्ड’ सम्मानमा मात्र सीमित नभई अभिकर्ताहरूको ज्ञान अभिवृद्धि, व्यावसायिक क्षमता विकास, प्रेरणा र अनुभव आदानप्रदान गर्ने अवसरसमेत बनेको छ । विभिन्न सहरमा आयोजित कार्यक्रमले अभिकर्ता सञ्जालसँगको सहकार्य थप मजबुत बनाउने कम्पनीको अपेक्षा छ ।
भाटभटेनीमा किनमेल गर्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर
काठमाडौं । दशैं, तिहार तथा छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेका छन् । योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ । योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार दिइनेछ । त्यस्तै, भाटभटेनीमा सामान खरिद गर्दा नेपाल पेको क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकका लागि पनि अर्को टाटा पन्च ईभी जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । यसरी चाडपर्वको अवधिमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले दुई वटा नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन् । योजनाको मुख्य आकर्षण रहेको नयाँ टाटा पन्च ईभी आधुनिक इलेक्ट्रिक एसयूभी हो । यसमा विद्युतीय ड्राइभिङसँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । नयाँ पन्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन् । टाटा मोटर्सका अनुसार नेपालभर रहेका २० वटा शोरुमसँगै अब देशभरका २८ वटा भाटभटेनी स्टोरबाट पनि टाटा कारबारे जानकारी लिन सकिनेछ । चाडपर्वको अवधिमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकले थप सरप्राइज पाउने कम्पनीले जनाएको छ ।
मलेसिया रोजगारीमा सिन्डिकेटविरुद्ध व्यवसायी आक्रामक, राखे ७ बुँदे माग
काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित संस्थालाई मात्रै सहभागी गराएर सिन्डिकेट तथा एकाधिकार कायम गर्न खोजिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । संघले मलेसिया रोजगारी तत्काल सुचारु गर्नुपर्ने र कुनै पनि निजी कम्पनी वा सीमित संस्थालाई एकाधिकार दिन नहुने मागसहित ७ बुँदे माग अघि सारेको छ । संघका अध्यक्ष डिकबहादुरले जारी गरेको विज्ञप्तिमा मलेसियाको एफडब्लुसीएमएस प्रणालीअन्तर्गत सीमित २५ वटा मुख्य संस्था र २५० वटा सहायक संस्थालाई मात्रै सूचीकरण गरी नेपाली श्रमिक पठाउने व्यवस्था गर्न खोजिएको आरोप लगाइएको छ । संघले यस्तो व्यवस्था मलेसिया रोजगारी खुल्ने वा नखुल्ने विषयमा मात्र सीमित नरहेको जनाएको छ । यसले नेपालको संविधान, कानून, खुला श्रम बजार, राज्यको नियमनकारी अधिकार र लाखौं नेपाली श्रमिकको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने संघको भनाइ छ । संघले मलेसिया बन्द हुने डर देखाएर कुनै पनि अवस्थामा सिन्डिकेट स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ । ‘मलेसिया पनि खुल्नुपर्छ र सिन्डिकेट पनि हुनुहुँदैन’ भन्दै संघले श्रमिकलाई रोजगारीको अवसरबाट वञ्चित नगरी खुला र प्रतिस्पर्धात्मक प्रणालीबाट मलेसिया रोजगारी सुचारु गर्नुपर्नेमा जोड दिएको छ । नेपाल सरकारबाट इजाजत प्राप्त करिब १ हजार २०० वैदेशिक रोजगार व्यवसायीमध्ये केही सीमित संस्थालाई मात्र छनोट गरी कामदार पठाउने व्यवस्था गरिए त्यसले नेपालको कानून र राज्यको नियमनकारी अधिकारमाथि प्रश्न उठाउने संघको दाबी छ । संघले विगतमा जिएएमसीए मलेसिया बायोमेट्रिक मेडिकल, भीएलएनरओएससी, क्युभीसी तथा साउदी भिसा सेन्टरलगायतका सीमित प्रणालीका कारण वैदेशिक रोजगार क्षेत्रमा एकाधिकारको समस्या देखिएको पनि स्मरण गराएको छ । संघका अनुसार सीमित संस्थाको नियन्त्रणमा श्रम बजार पुगेमा प्रतिस्पर्धा घट्ने, श्रमिकको लागत बढ्ने, पारदर्शिता कमजोर हुने, अनौपचारिक रकम असुली बढ्ने तथा रोजगारदातासँग नेपाली व्यवसायीको पहुँच घट्नेजस्ता समस्या आउन सक्छन् । बंगलादेशमा प्रयोग भएको यस्तै प्रणालीको उदाहरण दिँदै संघले सीमित संस्थामार्फत ठूलो रकम संकलन हुने अवस्था आएमा विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणाली, राजस्व तथा नेपालको अन्तर्राष्ट्रिय वित्तीय प्रतिष्ठामा समेत जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । संघले सञ्चारमाध्यमलाई ‘मलेसिया बन्द हुनु हुँदैन’ भन्ने चिन्तालाई ‘सिन्डिकेट स्वीकार गर्नुपर्छ’ भन्ने निष्कर्षसँग नजोड्न पनि आग्रह गरेको छ । सिन्डिकेटको विरोध गर्ने व्यवसायी वा पदाधिकारीमाथि उजुरी गर्ने, प्रशासनिक तथा कानुनी दबाब सिर्जना गर्ने, भ्रम फैलाउने वा कर्मचारी तथा राजनीतिक नेतृत्वमार्फत राज्य संयन्त्रलाई प्रभावित पार्ने प्रयास भए त्यसको निष्पक्ष छानबिन हुनुपर्ने संघको माग छ । संघका ७ बुँदे माग संघले मलेसिया रोजगारीसम्बन्धी विवाद समाधानका लागि कूटनीतिक संवादमार्फत कानुनसम्मत र नियमित प्रक्रियाबाट रोजगारी तत्काल सुचारु गर्न माग गरेको छ । त्यसैगरी, कुनै निजी कम्पनी वा सीमित संस्थालाई नेपालको वैदेशिक रोजगार बजारमा एकाधिकार दिन नहुने, सरकारबाट इजाजत प्राप्त सबै व्यवसायीलाई समान अवसर दिनुपर्ने र एफडब्लुसीएमएस प्रणालीमा सूचीकृत संस्थासहित सम्पूर्ण प्रणालीको कानुनी आधार, स्वामित्व, आर्थिक कारोबार, शुल्क संरचना तथा लाभग्राहीबारे पारदर्शी छानबिन गर्नुपर्ने माग अघि सारिएको छ । नेपालको कानूनभन्दा माथि कुनै विदेशी निजी प्रणाली वा संस्था हुन नसक्ने स्पष्ट पार्दै संघले सिन्डिकेटका पक्षमा राज्य संयन्त्र, राजनीतिक नेतृत्व, कर्मचारी वा अन्य प्रभावशाली माध्यमबाट दबाब सिर्जना भएको भए त्यसको निष्पक्ष अनुसन्धान गर्न पनि माग गरेको छ । अध्यक्ष डिकबहादुरले वैदेशिक रोजगार क्षेत्रलाई बचाउने कि सिन्डिकेटलाई भन्ने प्रश्न गर्दै श्रमिकको अधिकार, खुला श्रम बजार र नेपालको कानुनको पक्षमा उभिन सबै सरोकारवालालाई आग्रह गरेका छन् ।
निओ स्टोरको दशैं अफर ‘फेस्टिभ फिएस्टा’ सार्वजनिक
काठमाडौं । दशैंलाई लक्षित गर्दै निओ स्टोरले ‘निओ फेस्टिभ फिएस्टा’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘यस दशैं, अपग्रेड पनि सेलिब्रेसन पनि !’ नाराका साथ ल्याइएको योजनामा ल्यापटप तथा स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहार र छुट सुविधा पाउनेछन् । योजनाअन्तर्गत ल्यापटप खरिद गर्ने ग्राहकले तत्कालै सातवटा एसेसोरिज निःशुल्क पाउनेछन्। ग्राहकले ल्यापटप ब्याग, माउस, हेडफोन, क्लिनिङ किट, पेनड्राइभ, माउसप्याड र किबोर्ड कभर उपहारका रूपमा प्राप्त गर्नेछन् । त्यसैगरी, ल्यापटप खरिदकर्तालाई साप्ताहिक लक्की ड्रमा सहभागी हुने अवसरसमेत दिइनेछ। योजना अवधिको सात सातासम्म हरेक हप्ता तीन जना विजेता छनोट गरिनेछ । विजेताले एक्युफिट ब्रान्डको स्मार्टवाच पाउनेछन्। यसरी सात सातामा २१ जना ग्राहकले स्मार्टवाच जित्नेछन् । अभियानको अर्को मुख्य आकर्षण बम्पर लक्की ड्र रहेको निओ स्टोरले जनाएको छ । बम्पर ड्रमार्फत तीन जना विजेता छनोट गरिनेछ । एक जनाले हायर वासिङ मेसिन, अर्का एक जनाले हायर रेफ्रिजेरेटर र तेस्रो विजेताले हायर टेलिभिजन पाउनेछन् । स्मार्टफोन खरिदकर्ताका लागि पनि निओ स्टोरले विशेष अफर ल्याएको छ । छनोट गरिएका मोडलका स्मार्टफोन खरिद गर्दा ग्राहकले निःशुल्क वायरलेस इयरबड पाउनेछन् । यो अफर साओमी, रेड्मी, नथिङ, सामसङ, वनप्लस, ओप्पोलगायत ब्रान्डका छनोट गरिएका स्मार्टफोनमा लागू हुने कम्पनीले जनाएको छ । यसैगरी, सामसङका स्मार्टफोन खरिदमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी अर्थात् ईएमआई सुविधा उपलब्ध गराइएको छ । दसैंमा नयाँ ग्याजेट खरिद गर्न चाहने ग्राहकलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले यो सुविधा ल्याइएको निओ स्टोरले जनाएको छ । निओ स्टोरका अनुसार अभियानअन्तर्गतका अफर तथा सर्तहरू स्टोरअनुसार फरक हुन सक्नेछन् ।
नेप्से २२ अंकले घट्यो, ३ अर्ब १८ करोडको कारोबार
काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.८८ अंकले घटेर २५६४ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १७ कम्पनीको सेयर मूल्य बढ्दा २५८ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५९ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १८ करोड रुपयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै हाथवे इन्भेष्टमेन्टको ८ करोड २९ लाख, शिवम् सिमेन्टको ८ करोड ८ लाख, हिमालयन डिस्टीलरीको ७ करोड ६७ लाख र पिपुल्स हाइड्रोको ७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको कारोबारमा नेप्सेका अधिकांश उपसूचक घटेका छन् । १३ मध्ये १२ वटा उपसूचक ओरालो लाग्दा ट्रेडिङ उपसूचक मात्रै बढेको छ । बैंकिङ उपसूचक १०.७३ अंकले घटेर १ हजार ४८३.७३ विन्दुमा झरेको छ । विकास बैंक उपसूचक २९.१६ अंकले घटेर ५ हजार ३१०.२१ विन्दुमा पुगेको छ । त्यस्तै, फाइनान्स उपसूचक २४.३६ अंकले घटेर २ हजार १७४.६३ विन्दुमा झरेको छ । होटल तथा पर्यटन उपसूचक ७३.२८ अंकले घटेर ६ हजार ९०३.८० विन्दुमा पुगेको छ । जलविद्युत् उपसूचक ३६.९५ अंकले घटेर ३ हजार ४८९.६७ विन्दुमा झरेको छ भने लगानी उपसूचक १.०१ अंकले घटेर ९३.६३ विन्दुमा कायम भएको छ । जीवन बीमा उपसूचक ९३.८१ अंकले घटेर ११ हजार ५५७.८९ विन्दुमा पुगेको छ । उत्पादन तथा प्रशोधन उपसूचक १०४.५१ अंकले घटेर १० हजार ५२८.३१ विन्दुमा झरेको छ । लघुवित्त उपसूचक २७.२४ अंकले घटेर ४ हजार ४४७ विन्दुमा पुगेको छ भने म्युचुअल फन्ड उपसूचक सामान्य ०.०१ अंकले घटेर १९.४६ विन्दुमा कायम भएको छ । निर्जीवन बीमा उपसूचक ६०.९९ अंकले घटेर ९ हजार ३९७.१७ विन्दुमा झरेको छ । अन्य समूहको उपसूचक १६.६७ अंकले घटेर १ हजार ७९२.८१ विन्दुमा पुगेको छ । यता, ट्रेडिङ उपसूचक भने १०.७१ अंकले बढेर ३ हजार १९९.६० विन्दुमा पुगेको छ । ट्रेडिङबाहेक सबै उपसूचकमा गिरावट आएको हो ।