राष्ट्रिय वाणिज्य बैंकले एससीटी युपीआई डेबिट कार्ड सञ्चालन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ । यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन् ।
उदिपुर–भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन
लमजुङ । निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन । प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ । तर हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो । प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो । ‘आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ’, उनले भने । आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पुर्याउन उनका एक सय ९३ टावर निर्माण गर्नुपर्नेछ । लमजुङमा ४५ टावर निर्माण हुनेछन् । हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन् । दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ । उदिपुरबाट मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन् । तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ । गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ । रासस
घट्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख तीन हजार तीन सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
तीन तहका सरकारबीच सहकार्यको आवश्यकता : मुख्यमन्त्री गिरी
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन्। उनले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको समेत औँल्याए । प्रदेश स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री गिरीले बितेका पाँच वर्षमा सङ्घीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’को लक्ष्यलाई कार्यान्वयन गर्न लागेको बताए। उनले स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट शून्यदेखि व्यवस्थापनको कार्य थालनी गरिएको बताए । ‘पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ यतिबेला स्थायी राजधानीस्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौँ’, शुभकामना सन्देशमा उनले भने, ‘नदी सभ्यतामा आधारित समुन्नत र योजनाबद्ध सहरसहितको व्यवस्थित राजधानी निर्माण गर्ने कामलाई पूरा गर्ने सङ्कल्प लिएका छौँ ।’ अघिल्लो पाँच वर्षको अवधिमा प्रदेश सरकारलाई नागरिकले सुन्ने र देख्ने विन्दुमा ल्याइपु¥याइएको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्दतिका रूपमा स्थापित गर्न सक्दामात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्न प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री गिरीको भनाइ छ । रासस
भायानेटले विस्तार गर्याे ३ नयाँ शाखा
काठमाडौं । भायानेट कम्युनिकेसनले विभिन्न स्थानमा नयाँ शाखा विस्तार गरेको छ । भायानेटले मोरङ जिल्लाको उर्लाबारी, तनहुँ जिल्लाको आँबुखैरेनी र दाङ जिल्लाको लाल मटियामा नयाँ शाखा विस्तार गरेको हो । ग्राहकहरूका लागि समय समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब यी स्थानका सर्वसाधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको प्रयोग गर्न पाउने कम्पनीले जनाएकाे छ । यसै सन्दर्भमा उर्लाबारी, लाल मटिया र आँबुखैरेनीमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा विशेष ओपेनिङ अफर उपलब्ध गराएको बताएको छ । सुविधा सीमित अवधिको लागि ल्याएको कम्पनीको भनाइ छ । भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ.एस.ओ ९००१.२०१५ प्रमाणिक कम्पनी हो । भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ ।
एनसेलको तीन दिने ह्याकाथनको पहिलो विजेताले पाए साढे एक लाख रुपैयाँ
काठमाडौं । एनसेल आजियाटासँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीन दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न भएको छ । कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगि हुने सोलुसन्सहरुमा काम गरेका छन् । यस ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समुहहरुको पिचिङ् पश्चात विजयी समुहहरुको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार १ लाख ५० हजार रुपैयाँसहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोश्रो स्थानमा रहन सफल भई एक लाख रुपैयाँ जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेश्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जित्न सफल बनेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरुमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । ‘यो कार्यक्रम महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन-बाइनरी छात्राहरुलाई अवसरका साथै उनीहलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ ।’ अनुरुप शिक़्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो । गर्ल्स इन टेक र वुमन इन बिग डेटा सझेदारको रुपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरुलाई एक साथ नविन सोलुसन्स्हरु विकासको लागि अवसर प्रदान गरेको थियो । माघ २७ देखि २९ सम्म आयोजना गरिएको यस ह्याकाथनमा विभिन्न विषयहरुमा टक कार्यक्रम र कार्यशालाहरु आयोजन गर्दै सहभागी छात्राहरुलाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सिपहरु प्रदान गरियो । पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमहरुले तेस्रो दिन आइतबार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए । यस ह्याकाथनमा सहभागी हुँदा सहभागीहरुले विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरुबाट प्रशिक्षण पाएका थिए । शिक़्वल फाउन्डेसनका सह-संस्थापकहरु आस्था शर्मा र मेलिशाा घिमिरेले सहभागी सबैलाई उनीहरुको उत्साह र कडा परिश्रमकोलागी कृतज्ञता व्यक्त गरे र आगामी ह्याकाथनको लागी तत्पर रहेको बताए । यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन-बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटर्फम प्रदान गरेको थियो । महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो । यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व र आबद्घता बढाउँदै डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउन मद्दत गर्दछ र समस्त समाज र अर्थतन्त्रलाई फाइदा पुर्याउँछ ।
बैतडीमा विकास बजेट खर्च न्यून
बैतडी । बैतडीमा विकास बजेट खर्च न्यून भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा यहाँ प्रदेश सरकारतर्फका कार्यालयको विकास बजेट १५ र सङ्घीय सरकारको २१ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टका अनुसार प्रदेशतर्फका कार्यालयको कुल पुँजीगत बजेट दुई अर्ब ४६ करोड ९७ लाख रुपैयाँमध्ये चालु आवको अहिलेसम्म ३८ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको १५ दशमलव ६३ प्रतिशतमात्रै हो । यस्तै प्रदेशतर्फको चालु बजेट ६९ करोड १३ लाख रहेकामा रु २५ करोड ४३ लाख खर्च भएको छ । चालुतर्फ कुल बजेटको ३६ दशमलव ७८ प्रतिशत रकम खर्च भएको छ । यस्तै सङ्घका कार्यालयको पनि विकास खर्च कमै देखिएको छ । चालु आवको अहिलेसम्म जिल्लामा सङ्घका कार्यालयको विकास बजेट २१ दशमलव ६४ प्रतिशत खर्च भएको छ । सङ्घका कार्यालयको कुल पुँजीगत बजेट ७८ करोड ६ लाखमध्ये रु १६ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । यस्तै चालुतर्फ भने सङ्घका कार्यालयको खर्च ५९ दशमलव ७६ प्रतिशत पुगेको छ । नेपाली सेना, प्रहरीको तलबसमेत यसैमा समावेश रहेकाले यो खर्च बढेको हो । सङ्घ मातहत रहेका कार्यालयको कुल चालुतर्फको बजेट ६ अर्ब १० करोड ४७ लाख रुपैयाँ रहेकामा तीन अर्ब ६४ करोड ८२ लाख ८१ हजार रुपैयाँ खर्च भएको भट्टले जानकारी दिए । रासस
केडमा किनमेल गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । सो सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । त्यस्तै, बैंकका कर्मचारीले २५ प्रतिशत छुटको फाइदा लिन सक्नेछन् । बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।