प्रचण्ड हातमा चक्कु लिएर बसेका थिए, मलाई फूल लिएको छु भने : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गरेका छन् । अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या समाधान गर्ने गरि अघि बढ्ने प्रयास गरेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएको बताएका छन् । एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको बोलाइ र काम गराइ फरक भएको टिप्पणी गरे । ‘उहाँ बोल्नु हुन्छ बेग्लै, गर्नुहुन्छ अर्कै काम । हेर्नु देब्रेपट्टी हुन्छ, निशाना दाहिनेतर्फ’ ओलीले भने । आफूलाई छक्याइरहेको बताउँदै ओलीले प्रचण्डले धोका दिन अप्ट्यारो नमान्ने बताए । ‘उहाँले मलाई छक्काइरहनु भयो । उहाँ हातमा चक्कु लिएर बस्नु भएको थियो, मलाई भन्नुभयो फूल लिएको छु । तपाईंलाई भ्रम नपरोस्’ ओलीले भने,’चक्कुजस्तो देख्नु भयो होला यो फूल हो ।’ जवाफमा आफूले भनेको भन्दै ओलीले सुनाए ‘तपाईंले भनेपछि फूलै हो भनेर बसें । तर मेरो आँखाले धोका दिएको थिएन । धोका दिन उहाँ अप्ट्यारो मान्नु हुन्न । सहयोद्धा, जीवन दिने सहिदलाई धोका दिनु भयो भने मलाई धोका दिन कुन ठूला कुरा भयो र?’ एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको तर धोका दिएको ओलीको भनाइ थियो । प्रचण्डले शनिबार ओलीसँग दुई महिनामा गाह्रो भएको बताएका थिए । जसको जवाफ ओलीले दिएका छन् । ‘उहाँले भन्नुभयो दुई महिनामा कस्तो गाह्रो भएको थियो’ ओलीले थपे, ‘हरियो देख्नै नहुने दाम्लो छिनाएर जान खोज्ने मैलै जानै नदिने । गाह्रो त गाह्रो परेको थियो उहाँलाई । झ्याप्पै मुख लगाउन खोज्ने तान्दिएपछि ।’ प्रचण्ड आफूसँग टिक्न नसक्नेबारे जानकार रहेको ओलीको भनाइ थियो । ‘मलाई थाहा थियो उहाँ टिक्न सक्नु हुन्न’ ओलीले भने, ‘मसँग कालेकाले मिलेर खाउ भाले हुन सक्दैन । त्यसैले जहाँ मिल्छ त्यहाँ जान खोज्नु उहाँका लागि सहज थियो ।’ सत्ताका लागि प्रचण्डमा बिरालो प्रवृत्ति देखिएको ओलीको टिप्पणी छ । ‘बिरालो किन्नु पर्दैन । दुध र भात कचौंरामा दियो भने आफ्नो भइहाल्छ । कसले कचौंरामा कति दुधभात दिन्छ त्यस अनुसार खुत्रुक्क छिमेकीको घरतिर सर्ने,’ ओलीले भने,’ त्यस प्रवृत्तिले सरकारमा हुनु, सरकारको नेतृत्व गर्ने सिलसिला जारी छ ।’ प्रचण्डले आफैंले सञ्चालन गरेको जनयुद्धका घाइते अपाङ्गहरुको वेवास्ता गरेको ओलीको आरोप थियो । सत्ता र परिवारका लागि मात्र उनले ध्यान दिएको भन्दै ओलीले भने, ‘परिवारका मान्छे धनी नै भएका होलान् । भान्जा भान्जी, भाइभतिजा, छोरी ज्वाइँ राम्रै ठाउँमा पुगेका होलान् ।’
खराब मौसमका कारण जहाजहरु आकाशमै, दुई डाइभर्ट
काठमाडौं । खराब मौसमको कारण धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि कतार एयरवेज, नेपाल एयरलाइन्स लगायतका केही जहाज नेपाली आकाशमा फन्को मारिरहेका हुन् । यस्तै, भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज भने दिल्ली फर्काइएको छ । काठमाडौंमा परेको पानी र हावाका कारण अन्तर्राष्ट्रियसँगै आन्तरिक उडानहरु समेत प्रभावित बनेका छन् ।
राप्रपाका तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रिले बुझाएको तीन मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन् । शनिबार तीन मन्त्रीले राजीनामा बुझाएपछि उनले उक्त मन्त्रालय आफैंले राखेका हुन् । राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रचण्डले लिएका हुन । शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले शनिबार राजीनामा बुझाएका थिए ।
बजाजको गुलाबी स्टिकर टाँसिएका स्पेयर्स पार्टस् मात्र सक्कली
काठमाडौं । हंसराज हुलास चन्द एण्ड कम्पनीले बजारमा नक्कली स्पेयरपार्ट्सको विगविगीबाट ग्राहकलाई सचेत गराउन क्याम्पेन सञ्चालन गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक रहेको यस कम्पनीले उपभोक्ताहरुलाई सचेत गराउन सुनेर हैन हेरेर मात्र पत्याउँ नामक क्याम्पेन सञ्चालन गरेको छ । कम्पनीले ग्राहकलाई बजाजको स्पेयरपार्ट्स आधिकारिक वर्कसपहरुमा मात्र किन्न आग्रह गरेको छ । आधिकारिक वर्कसपहरुमा पाइने गुलाबी स्टिकर टाँसिएका स्पेयर्स पार्टस्हरु मात्र सक्कली रहेको कम्पनीले बताएको छ ।
अब सबै सरकारी निकायका वेभसाइट एउटै ढाँचामा, नयाँ टेम्प्लेट निर्माण अन्तिम चरणमा
फाइल फोटो काठमाडौं । नेपाल सरकारका बिभिन्न निकायहरुले निर्माण गर्ने वेभपेजहरु एउटा स्टाण्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । राष्टिय सूचना तथा प्रविधि मन्त्रालयले तयार गरेको टेम्प्लेटलाई पछिल्लो विकसित प्रविधि प्रयोग गर्दै उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायहरुले आफू अनुकुल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माणका गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएपछि निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । हाल सरकारी निकायहरुले कार्यालयपिच्छै नीजि क्षेत्रको परामर्श सेवामार्फत वेभसाइट डिजाइन गर्ने गरेका छन् । यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी बाह्यश्रोतको परामर्श सेवा लिएर वेभसाइट बनाउँदा त्यसको गुणस्तरीयता तथा सुरक्षामा समेत समस्या देखिने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले चासो लिएको थियो । अहिले निर्माण भएका कतिपय कार्यालयका वेभसाइटहरु पुरानो सोर्स कोड, प्रविधि तथा टेम्प्लेटहरु प्रयोग भइ निर्माण भएका कारण तिनीहरु साइबर सुरक्षाका दृष्टिले उच्च जोखिममा रहेको गुनासो जनस्तरमा देखिन्छ । अर्कोतर्फ लेआउट तथा प्रयोगका दृष्टिले समेत सहज र सरल बनाउन सूचना प्रविधि केन्द्रलाई नयाँ टेम्प्लेट बनाउन निर्देशन दिइएसँगै यस विषयमा गृहकार्य गर्न सूचना प्रविधि केन्द्र, प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा र डेभलपर टीमसँग निरन्तर छलफलपछि नयाँ टेम्प्लेट परिमार्जन गरिएको हो । एउटै स्टाण्डर्डको ढाँचामा वेभपेज निर्माणले भविष्यमा वेभपेजहरुको सुरक्षा निरिक्षण (सेक्युरिटी इन्सपेक्सन) तथा प्रणाली अपडेट गर्न समेत सहज हुने छ । साइबर सुरक्षामा देखिने जोखिमलाई एउटै प्रणालीबाट हल गर्न सकिने तथा वेभ डेभलपमेन्टको क्षेत्रमा विकास हुने नयाँ प्रविधिलाई समेत एउटै प्लेटफर्मबाट अपडेट गर्न सहज हुने छ । नयाँ बन्ने टेम्प्लेटमा मास्टर हेडबाहेक अरु डिजाईनलाई सम्बन्धित कार्यालयहरुले सिस्टममा उपलब्ध डिजाईन प्रयोग गरी आफ्नो आवश्यकता अनुसार परिमार्जन गरी प्रयोगमा ल्याउन सक्नेछन् । हाल कार्यालयहरुले सरकारी बजेटमा नीजि क्षेत्रको परामर्शमा वेभसाइट बनाउने परिपाटीले राज्यलाई आर्थिक भार समेत थपिँदै गएको छ । हरेक निकायले वेभसाइट निर्माण गर्न प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्ने परिपाटीले वेभसाइट निर्माणमा मात्रै ठूलो बजेट खर्च हुने गरेको छ । प्रधानमन्त्रीले हरेक क्षेत्रमा मितव्ययिता अपनाउन निर्देशन दिए अनुरुप अहिलेको अभ्यासले राज्यको श्रोत अनावश्यकरुपमा खर्च हुने क्रम रोकिने, मितव्ययिता बढने र प्राविधिक तथा प्रयोगका दृष्टिले समेत प्रभावकारी हुने देखिन्छ । त्यसैले स्टाण्डर्ड वेभपेजको ढाँचालाई सबै निकायले प्रयोग गर्नुपर्ने गरी तयारी अघि बढेको छ । प्रधानमन्त्री कार्यालय तथा सिंहदरबारका सबै कार्यालयबाट नयाँ टेम्प्लेट प्रयोगको कार्यलाई अघि बढाउँदै देशैभरीका सबै निकायमा प्रतिस्थापन गर्ने योजना रहेको छ । पछिल्लो समयमा सरकारी वेभपेजहरुमा अनाधिकृत प्रवेश गरी आक्रमण गर्ने, ह्याक गर्ने क्रम बढ्दो रहेको छ । सरकारी सर्भर तथा वेभसाइटहरुको प्राविधिक सुरक्षा कमजोर भएको गुनासो समेत जनस्तरमा देखिन्छ । यसका लागि अहिलेको अभ्यासले वेभसाइटहरुलाई सुरक्षित बनाउन छ । साइबर सुरक्षाका बारेमा अध्ययन गर्न भने मन्त्रीपरिषद्ले उच्चस्तरीय समिति निर्माण गरिसकेको छ । उक्त समितिले साइबर सुरक्षामा देखिएको जोखिमको सूक्ष्म अध्ययन गरी सुधारका उपायहरु पत्ता लगाउने छ । साइबर सुरक्षासँग सम्बन्धित सबै पक्षका बारेमा यो समितिले अध्ययन शुरु गरेको छ भने एउटै स्टाण्डर्ड टेम्प्लेटको काम पनि केही दिनमा पुरा हुन्छ । यसबाट सरकारले प्रयोग गरिरहेका सबै डिजिटल प्लेटफर्महरु उच्चस्तरमा सम्पादन हुने, सेवा तथा सूचना प्रवाह प्रभावकारी हुने तथा सुरक्षित हुने विश्वास लिइएको छ ।
बीमा कम्पनीले राजनीतिक लाभको आधारमा सीएसआर रकम खर्च गर्न नपाउने, यस्ता छन् नयाँ व्यवस्था
काठमाडौं । बीमा कम्पनीका सञ्चालकहरुले राजनीतिक लाभको आधारमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम खर्च गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको चौथो संशोधन गर्दै उक्त नयाँ व्यवस्था गरेको हो । ‘संचालक समितिका सदस्यहरुलाई व्यक्तिगत तथा राजनैतिक लाभ हुने गरी खर्च गर्न पाइने छैन,’ निर्देशिकामा उल्लेख छ । प्राधिकरणका अनुसार यो निर्देशिका तत्काल लागू हुने छ । यसअघि भने कम्पनीका सञ्चालकहरुलाई सीएसआरको रकम खर्च गर्नको लागि कुनै पनि प्रतिबन्ध थिएन । उक्त संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा क्रियाशील हुन कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको खुद नाफाको एक प्रतिशत रकम छुटयाई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने छ । र, उक्त कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा खर्च गर्नुपर्ने संशोधित निर्देशिकामा तोकिएको छ । संशोधित निर्देशिका अनुसार कम्पनीहरुले सामाजिक परियोजनाहरुमा जस्तै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सिमान्तकृत वर्गको बीमा सम्बन्धि कार्यक्रम आदिमा गरिने खर्च गर्न पाउने छन् । त्यस्तै, प्रत्यक्ष अनुदान खर्चतर्फ अति विपन्न तथा सिमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा खर्च गर्न पाउने व्यवस्था छ । त्यसैगरी, नेपाल सरकारको गरिवी निवारण सम्बन्धी रणनीति अन्तर्गत अति विपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्धारा रक्षावरण गर्दा सीएआरको रकम खर्च गर्न पाइने छ । आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको बालबालिकाको लागि चाइल्ड डे केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्च सीएसआरबाट गर्न मिल्ने छ । कम्पनीको ब्राण्ड प्रवर्द्धन गर्दा हुने खर्च भने सीएसआर कोषबाट व्यहोर्न नपाइने भएको छ । तर संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको खर्चमा कम्पनीको नाम सौजन्यको रुपमा उल्लेख गर्न सकिने संशोधित निर्देशिकामा भनिएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तै-शिक्षा, स्वास्थ्यमा मात्रै सीमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनु पर्ने छ । कोषको रकम खर्च गर्दा सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वको लागि यस व्यवस्था अनुसार पहिचान हुने क्षेत्रहरु, सो क्षेत्रमा खर्चको लागि प्राप्त हुने प्रस्ताव मूल्याकंन गर्ने प्रक्रिया, कोषको सञ्चालन तथा व्यवस्थापन लगायतका विषयहरु समेटी छुटै कार्यविधि बनाई लागू गर्नुपर्ने प्राधिकरणको नयाँ व्यवस्था छ । साथै, कोषको व्यवस्था तथा सोबाट भएको खर्च सम्बन्धी जानकारी आफ्नो वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणी अन्तर्गत खुलाउनु पर्ने प्राधिकरणले जनाएको छ । यसअघि तेश्रो पटक संशोधन भएको निर्देशिकामा कम्पनीहरुले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन क्षमता अभिवृद्धि बीमा साक्षरता तथा समितिले समय समयमा तोकि दिएका अन्य क्षेत्रहरुमा मात्रै सीएसआरको रकम खर्च गर्न पाउने व्यवस्था थियो ।
कालिञ्चोकमा पर्यो हिउँ, व्यापार बढ्नेमा व्यवसायी उत्साहित
काठमाडौं । आइतबार दोलखाको कालिञ्चोकमा हिउँ परेको छ । आइतबार परेको पानीका कारण कालिन्चोकमा हिउँ परेको हो । कालिन्चोक कन्ट्री होटल भिल्लाका बिक्री प्रबन्धक रवि मगरातीले कालिञ्चोकमामा यस वर्षकै पहिलो हिउँ परेको जानकारी दिए । ‘हिउँ एकदमै धेरै परेको छ, अत्याधिक हिउँ परेर गएको बत्ति र नेटवर्क बल्ल आयो,’ उनले भने । यस वर्ष हिउँ नपरेको कारण खासै राम्रो नभएको व्यवसाय आइतबार हिउँ परेपछि राम्रो हुने अपेक्षा गरेको उनले बताए । ‘हिउँ नपरेको कारण व्यवसाय खासै राम्रौ थिएन, अब राम्रो हुन्छ भन्नेमा विश्वास छ,’ उनले भने । यस वर्ष पानी नपरेको कारण देशको अधिकांश ठाउँमा हिउँ परेको थिएन ।
चन्द्रागिरिमा लिच्छविकालीन गौरव ब्युँताउने प्रयास
काठमाडौं । काठमाडौंको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास (होमस्टे)मार्फत किसिपिँढी गाउँले पर्यटन प्रवद्र्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल अघि नै ‘किचः प्रिचिङ’ नामका आठ मुख्य द्रन्ध (बस्ती) थिए भन्ने प्रमाणित हुन्छ । तीमध्ये किसिपिँढी एउटा हो । अहिले चन्द्रागिरि नगरपालिका–५ मा पर्ने ‘किचः प्रिचिङ’ले लिच्छविकालीन गौरवलाई पुनःप्राप्ती गर्ने उद्देश्यका साथ वडाध्यक्ष राजेन्द्र महर्जन सक्रिय रुपमा लागेका छन् । पुराना वस्तु खोज्ने तथा बस्तीभित्र नयाँ बन्ने संरचनालाई पुरातात्विक स्वरुप झल्किने गरी निर्माण गरिने उनले बताए । दुई सय ५० घर रहेको किसिपिँढी प्राचिन समयमा गढपर्खालले घेरिएको सुरक्षित र सम्पन्न बस्ती थियो । बस्तीतर्फ आउने बाटामा तेर्सिएका ढुङ्गा त्यसको प्रमाण हुन् । उक्त बाटोमा पाइने ढुङ्गे धारा, पोखरी, मन्दिर र काठका मूर्तिले किसिपिँढी एउटा मौलिक सभ्यता भएको राज्य थियो भन्ने कुराको प्रमाण दिन्छन् । किसिपिँढीबारे अध्ययन गरेका रवीन्द्र रिजालका अनुसार किसिपिँढीभित्र पाँच लिच्छविकालीन शिलालेख छन् । ती शिलालेखले तत्कालीन शासकले यहाँका जनतालाई जमिनको साधसीमा, जोतभोग र कर माफीमिनाहा गरेको तथा कुवा र देवल निर्माणबारे जानकारी पाइन्छ । ‘खासमा किचः प्रिचिङ किरातकालीन बस्ती हो । यो लिच्छविकालमा थप व्यवस्थित बनेको थियो’, उनले भने । मल्लकालमा जात्रा र पर्वको विकास भएको हो । राणाकालअघि घोडेजात्रालाई नयाँ वर्षको रूपमा मनाउने गरिन्थ्यो । किसिपिँढीमा घोडेजात्राको दिन कालिका भैरवको रथयात्रा हुने रिजाल बताउछन् । गढपर्खालले घेरिएको किसिपिँढी ब्यूउँताउने कामको सुरुआत गरिएको वडाध्यक्ष महर्जनले बताए । ऐतिहासिक पक्ष गर्विलो भए पनि आधुनिकताको प्रभावले यस गाउँलाई ओझेलमा पारेको छ । विसं २०७२ को भूकम्पपछि पुरानै शैलीमा रहेका घर भत्किएपछि यहाँको प्राचीन संरचना नासिएको छ । नयाँ बन्ने संरचना पुरानै शैलीमा निर्माण गर्न खर्च बढी लाग्ने भएकाले स्थानीयवासी आधुनिक घर बनाउन सहज मान्छन् । ‘पुराना घरको एउटा झ्याल बनाउने खर्चले अहिलेको साढे दुईतले घरका झ्याल किन्न पुग्छ’, उनले भने । कङ्क्रिटको सहारामा आधुनिक शैलीमा बनाइएका घरका अगाडिका भाग दाची इँटा लगाएर केही हदसम्म भए पनि परम्परागत शैलीका बनाउने प्रयास भएको महर्जनको भनाइ छ । पुराना शैलीमा घर बनाउनेलाई केही अनुदान दिने विषयमा छलफल भइरहेको उनले बताए । कालिका भैरव मन्दिर दाची इँटा र कलात्मक झ्यालसहित पुरानो शैलीमा निर्माण भएको छ । वडाध्यक्ष महर्जनका अनुसार एउटा निजी घर पनि पुरानो शैलीमा बनेको छ । ‘यहाँका सबै घरका अघिल्लो भाग पुरातात्विक शैलीको बनाउने विषयमा गृहकार्य गरिरहेका छौँ, रकम अभावका कारण रोकिएको छ’, उनले भने । रासस